शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

पेरिस पारा ओलम्पिक : हिट चरणबाटै बाहिरिए भीमबहादुर, सकियो नेपालको स्पर्धा

सोमबार, १७ भदौ २०८१, १४ : ४०
सोमबार, १७ भदौ २०८१

काठमाडौँ । फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिक खेलकुद प्रतियोगितामा नेपाली पौडी खेलाडी भीमबहादुर कुमाल हिट चरणबाटै बाहिरिएका छन् । एस–९ समूहअन्तर्गत पुरुषतर्फको ५० मिटर फ्रिस्टायल स्पर्धामा सोमबार भीम हिट चरणबाटै बाहिरिएका हुन् ।

उनले निर्धारित दुरी ३५.०८ सेकेन्डमा पार गरे । कुल ६ खेलाडी रहेको हिट–१ मा भीम अन्तिम स्थानमा रहे । पारा ओलम्पिकमा भीमको यो पहिलो सहभागिता हो । उनी पारा ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो पौडी खेलाडी पनि हुन् ।

विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त गरेर उनी पेरिस ओलम्पिकमा सहभागी भएका हुन् । पेरिस पारा ओलम्पिकमा उनी आफ्नै यसअघिको समयभन्दा पनि पछाडि रहे । यो स्पर्धामा उनकै नाममा ३५.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको छ ।

गोर्खा जिल्लाको नारेश्वर बेनिखोला निवासी ४१ वर्षीय भीमले आफ्नो सक्रिय खेलजीवनमा चारवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले चीनको हाङ्जाउमा भएको चौथो एसियाली पारा खेलकुद, इन्डोनेसियामा भएको तेस्रो एसियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।

पेरिस ओलम्पिकअघि भीमले विश्व पारा पौडी सिरिज पनि खेलेका थिए । त्यो प्रतियोगिता पेरिस पारा ओलम्पिकको छनोटको आधारसमेत रहेको थियो । सिंगापुरमा मे १७ देखि १९ तारिखसम्म भएको त्यही प्रतियोगितामा भीमले ५० मिटर फ्रिस्टायल स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

योसँगै जारी पेरिस पारा ओलम्पिकमा नेपाली खेलाडी स्पर्धा पनि सकिएको छ । तेक्वान्दो खेलाडी भरतसिंह महता पहिलो चरणमै पराजित भएका थिए । तर, पेरिस पारा ओलम्पिक नेपालका लागि निकै उपलब्धिपूर्ण रह्यो ।

पेरिस पारा ओलम्पिकमा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले देशका लागि ऐतिहासिक कांस्य पदक जितिन् । नेपालले कुनै पनि ओलम्पिकमा जितेको यो पहिलो पदक हो । त्यसैले पलेशाले जितेको यो पदक नेपाली खेलकुद इतिहासको सबैभन्दा ठुलो पदक हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप