बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

यसकारण खेलिँदैछ न्युजिल्यान्ड र श्रीलंकाबिच ६ दिने टेस्ट क्रिकेट !

सोमबार, १७ भदौ २०८१, १४ : ०३
सोमबार, १७ भदौ २०८१

काठमाडौँ । निकट भविष्यमा न्युजिल्यान्डको क्रिकेट टोलीले भारत भ्रमण गर्दैछ । भारत भ्रमणका क्रममा न्युजिल्यान्डको टोलीले अफगानिस्तानसँग एउटा टेस्ट खेल्ने कार्यक्रम छ । न्युजिल्यान्ड र अफगानिस्तानबिचको टेस्ट नोएडामा खेलिने छ ।

त्यसपछि न्युजिल्यान्डको टोली श्रीलंका भ्रमणमा जानेछ । न्युजिल्यान्ड र श्रीलंकाबिच दुई टेस्टको शृंखला खेलिने छ । त्यसमध्ये पहिलो टेस्ट ६ दिनको हुनेछ । विश्व क्रिकेटको सबैभन्दा पुरानो ढाँचा हो, टेस्ट । पहिले टेस्ट क्रिकेट ६ दिनकै खेलिन्थ्यो ।  

त्यतिबेला ६ मध्ये एक दिन आरामका लागि छुट्याइन्थ्यो । करिब ३५ वर्षयता टेस्ट क्रिकेटलाई पाँच दिनमा झारिएको छ र यसमा आरामका लागि छुट्टै दिन निर्धारण गरिएको हुँदैन । तर, न्युजिल्यान्ड र श्रीलंकाबिचको एउटा टेस्ट भने ६ दिनको हुनेछ ।

यसको पछाडि पनि रोचक कारण रहेको छ । खासमा न्युजिल्यान्ड र श्रीलंकाबिचको पहिलो टेस्ट सेप्टेम्बर १८ देखि २३ तारिखसम्म हुनेछ । त्यसबिचमा एकदिन आरामका लागि छुट्याइएको छ । पहिलो टेस्टको चौथो दिन श्रीलंकामा राष्ट्रपति पदका लागि मतदानको समय परेको छ ।

श्रीलंकाली खेलाडीहरु पनि त्यो दिन मतदानमा ब्यस्त हुनेछन् । त्यसैले पहिलो टेस्टमा एक दिन आरामका लागि छुट्याइएको हो । पछिल्लो तीन वर्षको अवधिमा किविज टोलीले दोस्रो पटक ६ दिनको टेस्ट खेल्न लागेको हो ।

यसअघि न्युजिल्यान्डले वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतविरुद्ध ६ दिनको टेस्ट खेलेको थियो । त्यतिबेला सम्भावित वर्षाको जोखिमलाई ध्यानमा राख्दै ६ दिनको टेस्ट खेलिएको थियो । पहिलो दिनको खेल वर्षाका कारण सम्भव नभएपछि त्यसैलाई ‘रेष्ट डे’ मानिएको थियो ।

२१ औँ शताब्दीमा दोस्रो पटक ६ दिने टेस्ट खेल्न लागिएको हो । यसअघि सन् १९९३ मा वेस्ट इन्डिज र श्रीलंकाबिच ६ दिनको टेस्ट खेलिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप