शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय

प्रभावशाली स्ट्राइकर सलाह भन्छन्– ‘लिभरपुलमा यो मेरो अन्तिम वर्ष हो’

सोमबार, १७ भदौ २०८१, ११ : २६
सोमबार, १७ भदौ २०८१

काठमाडौँ । इजिप्टका प्रभावशाली स्ट्राइकर मोहम्मद सलाहले इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलमा यो आफ्नो अन्तिम वर्ष भएको बताएका छन् । ३२ वर्षीय सलाहले नयाँ सम्झौता नविकरण गर्ने विषयमा क्लबका कुनै पनि पदाधिकारीसँग आफ्नो कुराकानी नभएको दाबी पनि गरेका छन् ।

एनफिल्डमा सलाहको सम्झौता आगामी समरमा सकिँदैछ । लिभरपुलले इङ्लिस प्रिमियर लिगको आफ्नो पछिल्लो खेलमा आइतबार बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले हराएको थियो । त्यो खेलमा सलाहले पनि गोल गरेका थिए ।

म्यानचेस्टर युनाइटेडविरुद्धको खेलका क्रममा ओल्ड ट्राफोर्डमा आफूमाथि अन्तिम खेल खेलिरहेजस्तो ब्यवहार भएको दुःखेसो पनि  गरेका छन् । उनले आफू जुनसुकै क्लबबाट फुटबल खेल्न पनि स्वतन्त्र रहेको धारणा समेत ब्यक्त गरेका छन् ।

‘सम्झौता नविकरणको विषयमा क्लबमा मेरो कसैसँग पनि कुराकानी भएको छैन । त्यसैले म्यानचेस्टर युनाइटेडविरुद्धको खेलका क्रममा मैले आफ्ना लागि यो अन्तिम खेल हुनसक्ने बताएको थिएँ । मेरो विचारमा म जुनसुकै क्लबमा जान पनि स्वतन्त्र छु,’ उनले भनेका छन् ।  

लिभपुलका प्रशिक्षक आर्ने स्लटले भने सलाह अहिले पनि टोलीको महत्वपूर्ण सदस्य भएको प्रतिक्रिया दिएका छन् । ‘म खेलाडीको सम्झौताको विषयमा कुरा गर्न चाहन्न । तर, अहिलेको अवस्थामा सलाह टोलीका महत्वपूर्ण सदस्य हुन् । उनी हामी सबैका लागि प्रिय पनि छन्,’ प्रशिक्षक स्लट भन्छन् ।

सालह सन् २०१७ मा इटालियन क्लब रोमाबाट लिभरपुल पुगेका थिए । उनले सन् २०२२ मा क्लबसँग तीन वर्षका लागि सम्झौता नवीकरण गरेका थिए । उनी क्लबको इतिहासमा सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी पनि बनेका थिए । उनले साताको तीन लाख ५० हजार पाउण्ड पाउने सम्झौतामा उल्लेख छ ।

साउदी क्लब अल–इत्तिहादले सलाहलाई भित्राउन लिभरपुलसँग छलफल पनि गरेको थियो । तर, लिभरपुलले अल–इत्तिहादको १५ करोड पाउण्डको प्रस्ताव पनि अस्वीकार गरेको थियो । सलाहले नयाँ सिजनको प्रिमियर लिगमा लिभरपुलका लागि तीनवटै खेलमा गोल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप