आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

दोस्रो टेस्टमा पनि केही लागेन श्रीलङ्काको, इङ्ल्यान्डले जित्यो शृङ्खला

सोमबार, १७ भदौ २०८१, १० : १३
सोमबार, १७ भदौ २०८१

काठमाडौँ । घरेलु टोली इङ्ल्यान्डले दोस्रो टेस्ट क्रिकेटको चौथो दिन श्रीलङ्कालाई एक सय ९० रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै इङ्ल्यान्डले तीन खेलको शृङ्खलालाई पनि २–० ले आफ्नो पक्षमा पारेको छ ।

जितका लागि चार सय ८३ रनको विशाल लक्ष्य पछ्याउँदै दोस्रो पाली ब्याटिङ गर्न ओर्लिएको भ्रमणकारी टोली दुई सय ९२ रनमै समेटिएपछि इङ्ल्यान्डले जित हासिल गरेको हो । दोस्रो पालीमा इङ्ल्यान्डका मध्यम तेज गतिका बलर गस एटकिन्सन श्रीलङ्काली बलकार लागि घातक बने ।

२६ वर्षीय एटकिन्सन एक्लैले पाँच विकेट लिए । उनले १६ ओभरमा चार मेडन राख्दै केवल ६२ रन खर्चिए । कृश वाक्स र ओली स्टोनले पनि दुई–दुई विकेट हात पारे । सोएब बसिरले पनि एक विकेट लिए ।

दोस्रो पालीमा तीन जना श्रीलङ्काली ब्याट्सम्यानले अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । ओपनर दिमुथ करुणारत्ने ५५ रन बनाए । दिनेश चण्मिलले ५८ रनको योगदान गरे ।

यसैगरी, कप्तान धनन्जय डा सिल्भाले पनि ५० रन बटुले । मिलन रत्नायकेले पनि टोलीको खातामा ४३ रन थपे । त्यसअघि इङ्ल्यान्डले पनि दोस्रो पालीमा दुई सय ५१ रनमात्र बनाउन सक्यो । दोस्रो पालीमा इङ्ल्यान्डका लागि जो रुटले शतकीय योगदान गरे ।

रुटले एक सय २१ बलको सामना गरी १० वटा चौका पनि हिर्काए । अन्य ब्याट्सम्यानको प्रदर्शन निराशाजनक रह्यो । दोस्रो पालीमा श्रीलङ्काली बलर असिथा फर्नान्डो र लाहिरु कुमाराले तीन–तीन तथा मिलन रत्नायके र प्रभात जयसूर्याले दुई–दुई विकेट लिए ।

त्यसअघि श्रीलङ्काली टोली आफ्नो पहिलो पालीमा पनि एक सय ९६ रनमा समेटिएको थियो । श्रीलङ्काका लागि पहिलो पालीमा कामिन्दु मेन्डिस बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । उनले ७४ रन बनाएका थिए ।

श्रीलङ्कालाई पहिलो पालीमा सस्तोमा समेटेन घरेलु टोलीका बलर कृश वाक्स, गस एटकिन्सन, ओली स्टोन र म्याथ्यू पट्सले दुई–दुई विकेट लिएका थिए । टस हारी ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले भने पहिलो पालीमा उत्कृष्ट प्रदर्शन गर्दै चार सय २७ रन बनाएको थियो ।

पहिलो पालीमा इङ्ल्यान्डका लागि दुई ब्याट्सम्यानले शतकीय पाली खेले । जो रुटले एक सय ४३ रन बनाएका थिए । उनले दुई सय ६ बलको सामना गरी १८ वटा चौका हिर्काएका थिए । इङ्ल्यान्डका लागि पहिलो पालीमा गस एटकिन्सनले पनि एक सय १८ रन बनाएका थिए ।

उनले एक सय १५ बलमा चार छक्का र १४ चौका प्रहार गरेका थिए । ओपनर बेन डकेटले पनि ४० रन बनाएका थिए । उनी प्लेयर अफ दि म्याच पनि घोषित भए । श्रीलङ्काली टोलीका बलर असिथा फर्नान्डोले पाँच विकेट लिएका थिए ।

मिलन रत्नायके र लाहिरु कुमारले पनि दुई–दुई विकेट हात पारेका थिए । दोस्रो टेस्ट लर्डसमा खेलिएको थियो । तेस्रो टेस्ट आगामी शुक्रबार सुरु हुनेछ । यसअघि पहिलो टेस्टमा इङ्ल्यान्ड पाँच विकेटले विजयी भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप