मङ्गलबार, १८ मङ्सिर २०८१
ताजा लोकप्रिय
रुस–युक्रेन युद्ध

रुस–युक्रेन युद्धमा ३६ जना नेपाली मारिएको सरकारद्वारा पुष्टि

युक्रेनी सेनाको कब्जामा ६ जना नेपाली, थप ८ जनाको मृत्यु भएको आशङ्का
सोमबार, १७ भदौ २०८१, ०९ : ४१
सोमबार, १७ भदौ २०८१

विराटनगर । सन् २०२२ को फेब्रुअरी २४ देखि सुरु भएको रुस–युक्रेन युद्धमा अहिलेसम्म ३६ जना नेपालीको मृत्यु भएको सरकारको एक तथ्याङ्कले देखाएको छ । यद्यपि उक्त तथ्याङ्क सरकारले अहिलेसम्म आधिकारिक रूपमा सार्वजनिक गरेको छैन ।

प्राप्त विवरणमा हालसम्म सरकारी संयन्त्रमा सम्पर्कमै नरहेको भनी खोजी र फिर्ताका लागि निवेदन दिएको र घाइते वा अन्य कारणले फिर्ता गराइदिन अनुरोध गरिएको गरी कुल ३३१ वटा निवेदन परेको छ ।

हालसम्म मृत्यु भएको भनेर परराष्ट्र मन्त्रालयले पुष्टि गरेका व्यक्तिहरूमा राजकुमार रोका, शुक्रबहादुर तामाङ, भरतबहादुर शाह, देवन राई, प्रितम कार्की, गंगाराज मोक्तान, रूपक कार्की, सन्दीप थपलिया, कन्दन सिंह नागल, हरिप्रसाद अर्याल, राजकुमार गिरी, धनसिंह पुन, पूर्णबहादुर गुरुङ, सुन्दर मुक्तान, गंगाराम अधिकारी, पदमबहादुर घिमिरे, सञ्जय केसी, नवीन शाही, जितबहादुर वि.क., अनितकुमार साह, खगेन्द्र राईका मगर, विरवल राई, बलराम गुरुङ, तेजबहादुर शाही, सुरेन्द्र राना,, लालबहादुर बुढा, राज थारु, फुर्वा शेर्पा, सुरज वि.क., नेत्रबहादुर घर्ती, शङ्कर दमाई, साजन गुरुङ, घनश्याम परियार, शान्तबहादुर मोक्तान, सञ्जीव आचार्य र नवीन शाही छन् ।

यस्तै नेपाली राजदूतावासबाट मृत्यु प्रमाणित भएर आउन बाँकी रहेकाहरूमा विकाश राई, नेत्रबहादुर थापा, उदयराज थारु, प्रितम राई, ललित सिंह डोबाल, हेमकुमार मगर, तारा प्रकाश घर्ती र रामकुमार बुढा मगर छन् ।

सरकारी तथ्याङ्क अनुसार हालसम्म युक्रेनी सेनाको कब्जामा ६ जना नेपाली रहेको जनाइएको छ । जसमा विवेक खत्री, सिद्धार्थ ढकाल, विकास राई, प्रितम पुन, सुजन सुवेदी र ईश्वर लामिछाने छन् ।

यस्तै घाइते भएर उपचाररत रहेका नेपालीको सङ्ख्या ५ जना रहेको र स्वदेश फर्किएकाहरूको सङ्ख्या १६२ जना रहेको जनाइएको छ । डीएनए टेष्टका लागि अनुरोध भएकाहरूको सङ्ख्या २२ जना छ । जसमध्ये १५ वटा डीएनए टेष्ट नतिजा रुसको मस्कोस्थित नेपाली दूतावासमा पठाइएको छ । यस्तै २ जनाको डीएनए टेष्टका लागि परिवारलाई जानकारी गराइएको छ । ५ जनाको डीएनए टेष्टका लागि प्रहरी प्रधान कार्यालय, नक्साललाई पछिल्लो पटक पठाइएको छ ।

परिवारका सदस्यबाट सहमति लिएर उतै दाहसंस्कार भई ५ जनाको अस्तुधातु नेपाल पठाएर परिवारलाई बुझाइएको छ । तथ्याङ्क अनुसार क्षतिपूर्तिका लागि नेपाल राजदूतावास मस्कोबाट ६ जनाको कागजात माग भएको छ । जसमा रूपक राई, देवान राई, प्रितम कार्की, गंगाराज मोक्तान, सन्दीप थपलिया र राजकुमार रोका छन् ।

रुसी सेनामा भर्ती हुने नेपालीहरूको सङ्ख्या भने सरकारले यकिन गर्न अझै सकेको छैन । रुसको तर्फबाट युद्ध लड्न पुगेर फर्किएर आएका एक युवाले भने त्यहाँ नेपालीको सङ्ख्या १० हजारभन्दा बढी भएको अनुमान गरेका छन् । ‘नेपाल, कतार, मलेसियाबाट जानेहरू रसियाको मस्को एयरपोर्टमा सयौँ हुन्थे । मेरो विचारमा त्यहाँ युद्ध लड्न जाने नेपालीको सङ्ख्या १० हजारभन्दा बढी छ,’ युद्धमा घाइते भएपछि नेपाल फर्किएका इटहरीका हेमराज बुढाथोकीले भने ।

उता, रुसी सेनामा भर्ना भएर युद्धकै क्रममा मृत्यु भएका र बेपत्ता भएका परिवारको रक्षार्थ गठन भएको ‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियान’ले भने युद्धमा ६१ जनाको मृत्यु भएको र थप १८ जनाको मृत्यु भनिए पनि पुष्टि हुन बाँकी रहेको जनाएको छ ।

कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलगायतका सरकारी अधिकारीसँगको छलफलमा उक्त अभियानकी अभियन्ता कृतु भण्डारीले यस्तो जानकारी दिएकी हुन् ।

उनले हालसम्म रुसी सेनामा भर्ती भएका ६९९ जनाको विवरण सङ्कलन गरेर सरकारलाई हस्तान्तरण गरेको पनि जनाएकी छन् । २१ जना युक्रेनको कब्जामा रहेको, १७७ जना घाइते भएको, २७८ जना सम्पर्कविहीन रहेको, ११ जनाले रुसी राहदानीका लागि आवेदन दिएको र १९ जना रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेको, ५ परिवारले अस्तुधातु बुझेको, ६ जनाको क्षतिपूर्तिका लागि नेपाली राजदूतावास मस्कोबाट कागजात माग भई आएको उनले बताइन् । यस्तै १७९ जना स्वदेश फर्किएको, ३१ जना १ वर्षे करार सम्झौताको अवधि सकिएर उद्धारको पर्खाइमा रहेको र बाँकी व्यक्तिहरू सम्पर्कमा रहेको जनाइयो ।

Chhalfal (8)

अहिले पनि ह्वाट्सएप ग्रुपमा जोडिएका ४२० जना रुसी सेनामा आबद्ध नेपालीले प्रत्येक दिन युद्ध मैदानबाट त्यहाँको विवरण, वस्तुस्थिति, श्रव्यदृश्य सामग्री पठाउने गरेको भण्डारीको भनाइ छ ।

सो क्रममा भण्डारीले रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार गरी नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने, करार सम्झौता रद्द गरी उद्धारको पर्खाइमा रहेका व्यक्तिहरूलाई पुनः युद्ध मैदानमा लगिएकाले उनीहरूलाई तत्काल उद्धार गरी नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने बताइन् । युद्धमा घाइते नेपालीको उचित उपचार, क्षतिपूर्ति र नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने, युक्रेनको कब्जामा रहेका २१ जना युद्धबन्दीको सकुशल उद्धार गर्नुपर्ने, मृतकको शव ल्याउने र क्षतिपूर्तिसहित रुसी सेनाबाट पाउने तलब, भत्ता उपलब्ध गराउनु पर्ने उनले माग गरिन् ।

भण्डारीले बेपत्ताको अवस्था खोजी गर्न विधि र प्रक्रिया घोषणा गरी तत्काल कार्यान्वयन तहमा ल्याउनुपर्ने, रुसी सेनामा कार्यरत नेपाली नागरिकको तथ्याङ्क सार्वजनिक गर्ने व्यवस्था गर्नुपर्ने, प्रलोभनमा पारी रुस पठाउने बिचौलियाको पहिचान गरी तत्काल कारबाही गर्ने व्यवस्था गर्नुपर्नेमा पनि जोड दिइन् । उनले रुस जानेहरूलाई रोक्नुपर्ने,  पीडित परिवारको उद्धार, राहत र पुनर्स्थापनाका लागि मन्त्रीस्तरीय समिति गठन गर्नुपर्ने, रुसी सेनामा कार्यरत रहँदा प्राप्त गरेको तलब भत्ता र क्षतिपूर्ति कानुनी ढंगले नेपाल ल्याउने र श्रोत नखुलेको भनेर बैंकले रोकेको पैसा खुलाउने व्यवस्था गर्नुपर्ने बताइन् ।

विभिन्न माध्यमबाट रुस गएका सबै नेपालीको अवस्था सार्वजनिक गर्नुपर्ने, रुसी सेनाबाट फर्किएर आएका युवाको पुनर्स्थापना तथा पीडित परिवारको उचित हेरचाहको व्यवस्था गरिनुपर्ने र कूटनीतिक सम्बन्ध भएका देशहरूमा नेपालले आफ्ना नागरिकलाई सैन्य सम्झौताविना सैन्य सेवामा भर्ती नगर्न पहल गर्नुपर्ने उनको माग छ ।

विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा प्रदेशसभाका सांसदहरू तिलकुमार मेन्याङ्बो, गोपाल तामाङ, गीता तिम्सिना, सपना परियार, हिमाल कार्की, बाबुराम गौतम, अन्य सरकारी अधिकारी तथा  रुसी सेनामा भर्ती भएकाका परिवार सहभागी थिए । मृतकका परिवारले क्षतिपूर्तिको माग गरे भने बेपत्ताका परिवारले उद्धारको माग गरे । सम्पर्कमै रहेकाहरूको परिवारले घर फर्किने वातावरण सिर्जना गर्न माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप