रुस–युक्रेन युद्धमा आफन्त गुमाएकाको आक्रोश
विराटनगर । मोरङको बेलबारी–११ का रोनाल मिश्र २०८० असोज २७ गते रुस हिँडे । सन् २०२२ को फेब्रुअरी २४ देखि सुरु भएको रुस–युक्रेन युद्धमा रुसको तर्फबाट लड्न उनी अवैध तरिकाले त्यहाँ पुगे ।
उनी हिँडेको ४ दिनमै उनको उताकै आर्मी लगाएको फोटो सार्वजनिक भयो । उनी परिवारको सम्पर्कमा पनि थिए । तर, २ महिना अगाडिदेखि उनी अहिले सम्पर्कविहीन छन् । उनको अवस्थाबारे परिवारलाई कुनै जानकारी छैन ।
आफ्नो छोराको अवस्था अज्ञात भएपछि चिन्तामा डुबेका बुबा राजकुमार मिश्रले गत साउन ९ गते आत्महत्या गरे । अब मिश्र परिवारमा १५ वर्षका रिजन मिश्र र उनकी आमा मात्रै बाँकी छिन् । ‘कुनै व्यापार व्यवसाय छैन । आम्दानी पनि छैन । आमा घरमा एक्लै हुनुहुन्छ । मैले दाजु खोज्न कहाँ जानु ? स्रोत पनि छैन,’ १५ वर्षका रिजन भन्छन् ।
विराटनगरस्थित कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आइतबार ‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियान’ले गरेको कार्यक्रममा सहभागी उनले प्रदेशका मन्त्री लिलाबल्लभ अधिकारीसँग ‘कि आफ्नो दाजु ल्याउनु, कि पद छोड्नु’ भन्दै आक्रोश पोखे ।
‘हामीले हाम्रो मान्छे फिर्ता पाउने हो कि ? हामी जानुपर्ने हो ? अहिलेसम्म कुनै अवस्थाबारे जानकारी छैन । काउन्सलर अफिसमा २ पटकसम्म निवेदन हाल्दा पनि कुनै खबर आएन । सरकारले के गर्न खोजेको ?,’ उनले मन्त्री अधिकारीतिर लक्षित गर्दै भने, ‘तपाईंको पद एक महिनाको लागि मलाई दिनु । एक महिनामा ५० जनाभन्दा बढी रुसबाटै मान्छे ल्याइदिन्छु । कि तपाईंहरू गर्नुहोस् कि हामीलाई त्यो पद दिनुहोस् ।’
उनले यसोभन्दा मन्त्री अधिकारी अक्क न बक्क भएका थिए । ९ कक्षामा अध्ययनरत उनले अन्तिममा भावुक हुँदै भने, ‘अब उता जान सक्ने अवस्था मेरो छैन । बुबा खस्नुभयो, दाइ बेपत्ता हुनुभयो । एक्लो आमा घरमा हुनुहुन्छ । कुनै व्यापार, व्यवसाय र पेसा छैन । अब कसरी गरिखानु ? ।’
यस्तै एक वर्ष अगाडि बेलबारी ११ का प्रितम राई रुसतिर लागे । युद्ध छ भनेर जान्दा जान्दै हिँडेका उनको मृत्यु भएको खबर आयो । आफ्नो छोरो मरेको खबर पाएपछि देखि आमा लिलामाया राईका आँसु थामिएका छैनन् । कार्यक्रमका केही कुरा राख्न भन्दा उनी भक्कानिइन् । आफ्नो नाम समेत भन्न सकिनन् ।
उनको तर्फबाट देवर धर्मराज राईले सरकारलाई खबरदारी गर्दै भने, ‘यसरी किन जान्छन् । किन जान दिइन्छ ? ।’ नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगेजस्तै रुसको युद्धमा पहुँचवाला दलालहरूले नै लगिरहेको हुनसक्ने उनले आशङ्का गरे ।
‘नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने जस्तै ठुला ठालु दलालहरूले रुसी सेनामा नेपालीलाई लगिरहेको जस्तो लाग्छ,’ राईले भने, ‘मेरो भतिजो नआउँदा मलाई कस्तो भइरहेको होला । मलाई भन्दा चार जना बच्चाको आमा विधवा बन्दा प्रितमको श्रीमतीलाई कस्तो भएको होला । वृद्ध आमाको मन के भएको होला ? ।’
उदयपुर नगरपालिका कटारी २ का ओमबहादुर आलेमगर (३९) कार्तिकमा रुस गए । रुसमै हुँदा परिवारसँग अब एकहप्ता म काममा जान्छु कनट्याक्ट हुँदैन भनेका मान्छे अहिलेसम्म कनट्याक्ट भएन । तीन छोरी र एउटा काखे बच्चा (बालक) लिएर कार्यक्रममा गुनासो गर्न आइपुगेकी ओमबहादुरकी श्रीमती विनुकुमारी मगरले भनिन्, ‘लामो समयसम्म सम्पर्क नभएपछि त्यहाँका दुई जनालाई सोध्दा दाइ बितेको हो भनेर खबर आयो ।’ उनी भूपू आर्मी थिए । उनी उपदान लिएर निस्किएपछि रुस लागेका हुन् ।
रुसी सेनामा भर्ती हुने नेपालीहरूको सङ्ख्या कति छ भनेर सरकारले अझै यकिन गर्न सकेको छैन । रुसको तर्फबाट युद्ध लडेर फर्किएका इटहरीका हेमराज बुढाथोकी भने त्यहाँ नेपालीको सङ्ख्या १० हजार बढी भएको अनुमान गर्छन् ।
‘नेपालबाट कतार, मलेसियाबाट जानेहरू रसियाको मस्को एयरपोर्टमा सयौँ हुन्थे । मेरो विचारमा त्यहाँ युद्ध लड्न जाने नेपालीको सङ्ख्या १० हजार बढी छ,’ युद्धमा घाइते भएपछि त्यहाँबाट नेपाल फर्किएका बुढाथोकीले भने ।
उनले अरू देशका राजदूतहरू फिल्डमा पुगेरै आफ्ना नागरिकलाई फिर्ता ल्याउने गरेको भए पनि नेपालको राजदूतले कुनै पहल नगरेको बताउँछन् । नेपालबाट आफूसहित ४८ जनाको ग्रुप एकै पटक गएको उनको भनाइ छ । युद्धका क्रममा घाइते भए पनि उनी भागेर नेपाल आइपुग्न सफल भएका छन् । उनी पनि सशस्त्र प्रहरीका वरिष्ठ हवलदार पदमा कार्यरत थिए । बिचैमा उनले जागिर छोडेका हुन् ।
‘लडाइ लड्नेहरूले पनि तलब पाउनुभएको छैन । इन्स्युरेन्स पनि पाएका छैनन् । कागजपत्र पनि जफत भएको छ । त्यस्तो बिजोग अवस्थामा छ नेपालीको,’ रुसी सेनामा भर्ती भएका नेपालीको अवस्थाबारे उनले भने ।
धनकुटा सागुरीगढीका खगेन्द्र मगर (४०) २०८० मङ्सिरमा घरबाट रुस हिँडे । उनी मस्को झरेको खबर आयो । ‘तर, गत फेब्रुअरी ९ देखि कन्ट्याक्टमा आउनु भएन । एकै पटक २०८१ साल जेठको १७ गते मृत्युको खबर आयो,’ उनकी श्रीमती रैता मगरले भनिन्, ‘त्यहाँ जाँदा हाम्रो पनि लापरबाही भयो होला ? त्यसबेला त्यहाँ त्यस्तो हुन्छ भन्ने थाहा भएन होला । घर, परिवार पाल्नुपर्ने, कमाउनु पर्ने बाध्यता थियो । तर, सरकारले हामीलाई यथार्थ विवरण दिन किन सक्दैन ? ।’
दुई दर्जन बढी पीडित परिवार जम्मा भएको कार्यक्रममा सबैको गुनासो एउटै थियो । सरकारले उद्धार गरेन । मृतकको शव ल्याउन पहल गरेन । यथार्थ विवरण दिन सकेन । पीडितहरूले भनेका छन्, ‘पहल गर्न पनि काठमाडौँ जानुपर्छ । काठमाडौँ धाउने अवस्था अन्त्य होस् । आफ्नै पालिकामा निवेदन दिने व्यवस्था होस् ।’
‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियान’ की अभियानकर्मी कृतु भण्डारीका अनुसार अहिले दलालहरू घर घरमा गएर शव ल्याइदिन्छु, बेपत्ता खोजी गरिदिन्छु समेत भनेर पीडित परिवारसँग पैसा असुल्न थालेका छन् ।
‘दलालहरूले घरमा गएर प्रेसर गरिरहेका छन् । अहिले म तेरो मान्छेको मृत्यु भएको छ भने शव ल्याइदिन्छु भन्छन् । बेपत्ताको खोजी गरिदिन्छु भनेर पनि दलालहरूले परिवारलाई ठगिरहेका छन् ।
यस्तै अस्पतालमा भएका घाइतेहरूको क्षतिपूर्ति दिलाइ दिन्छु पनि भनिरहेका छन्,’ उनले भनिन्, ‘यो कुरा सरकारले रोक्नु पर्छ ।’ उनले अहिलेसम्ममा ३ हजार बढी रुसमा भएकाहरूले आफूसँग कनट्याक्ट गरेको दाबी गरिन् । ‘हामीसँग अहिलेसम्म प्रत्यक्ष रूपमा ३ हजार बढी परिवार जोडिनु भएको छ । पहिले त्यहाँ अमानवीय व्यवहार गरिन्थ्यो । खान दिइदैनथियो । गोली नलागेसम्म युद्धबाट फिर्ता ल्याइँदैन थियो । तर, अहिले अलिक सुधार भएको छ,’ उनले भनिन् ।
सरकारलाई आफूले १७७ जना दलालको विवरण पनि बुझाएको उनले बताइन् । सन् २०२२ को फेब्रुअरी २४ देखि सुरु भएको रुस–युक्रेन युद्धमा अहिलेसम्म ३६ जना नेपालीको मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ । प्राप्त विवरणमा हालसम्म सरकारी संयन्त्रमा सम्पर्कमै नरहेको भनी खोजी र फिर्ताका लागि निवेदन दिएको र घाइते वा अन्य कारणले फिर्ता गराइदिन अनुरोध गरिएको गरी कूल ३३१ वटा निवेदन परेको छ ।
यस्तै नेपाली राजदूतबासबाट मृत्यु प्रमाणित भएर आउन बाँकी रहेकाहरू ८ जना छन् । हालसम्म ६ जना नेपाली युक्रेनी सेनाको कब्जामा रहेको सरकारी तथ्याङ्क छ । यस्तै घाइते भएर उपचाररत रहेका नेपालीको सङ्ख्या ५ जना रहेको र स्वदेश फर्किएकाहरूको सङ्ख्या १६२ जना रहेको जनाइएको छ ।
अभियानकर्मी भण्डारी भने रुसमा मर्ने नेपालीको सङ्ख्या धेरै भएको बताउँछिन् । रुस युद्धमा ६१ जनाको मृत्यु भएको र १८ जनाको मृत्यु भनिए पनि पुष्टि हुन बाँकी रहेको उनले दाबी गरिन् । उनले हालसम्म रुसी सेनामा भर्ती भएका ६९९ जनाको विवरण सङ्कलन गरेर सरकारलाई हस्तान्तरण गरेको पनि जनाएकी छिन् ।
जसमध्ये ६१ जनाको मृत्यु भएको, १८ जना मृत्यु भएको भनिए पनि पुष्टि हुन बाँकी रहेको, २१ जना युक्रेनको कब्जामा रहेको, १७७ जना घाइते भएको, २७८ जना सम्पर्कविहीन रहेको, ११ जना रुसी राहदानीका लागि आवेदन दिएको र १९ जना रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेको, ५ परिवारले अस्त धातु बुझाएको, ६ जना क्षतिपूर्तिका लागि नेपाली राजदूतावास मस्कोबाट कागजात माग भई आएको उनले बताइन् ।
यस्तै १७९ जना स्वदेश फर्किएको, ३१ जना १ वर्षे करार सम्झौताको अवधि सकिएर उद्धारको पर्खाइमा रहेको र बाँकी व्यक्तिहरू सम्पर्कमा रहेको जनाइयो । अहिले पनि ह्वाट्सएप ग्रुपमा जोडिएका ४२० जना रुसी सेनामा आबद्ध नेपालीले प्रत्येक दिन युद्ध मैदानबाट त्यहाँको विवरण, वस्तुस्थिति, श्रव्यदृश्य सामाग्रीहरू पठाउने गरेको भण्डारीको भनाइ छ । कार्यक्रममा बोल्दै मन्त्री लिलाबल्लभ अधिकारीले रुसी सेनामा रहेका नेपालीको अवस्थाबारे चासो दिने र संघ सरकारसँग थप पहल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने
-
कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म