शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, १६ भदौ २०८१, २२ : ०१
आइतबार, १६ भदौ २०८१

आज २०८१ भदौ १६ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा कांग्रेस बैठकमा देउवाले गरे ओलीको प्रशंसा, एसिड आक्रमण र जलन : मर्ने त मरिगए; बाँच्नेलाई कम छैन सास्ती, प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ, एकीकृत समाजवादीमा असन्तुष्टि साम्य पार्न नेताहरूलाई जिम्मेवारी, एमाले र माओवादीबिच ‘वाकयुद्ध’ बढ्यो, बालेनले बढाए प्रधानमन्त्री ओलीमाथि दबाब लगायत छन् ।

१. कांग्रेस बैठकमा देउवाले गरे ओलीको प्रशंसा
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन् । बैठकमा सत्ता गठबन्धन र प्रधानमन्त्री ओलीबारे केहीले असन्तुष्टि राखेपछि देउवाले प्रत्युत्तरमा ओलीको प्रशंसा गरेका हुन् ।

२. एसिड आक्रमण र जलन : मर्ने त मरिगए, बाँच्नेलाई कम छैन सास्ती
नेपालमा पछिल्लो १० वर्षमा एसिड आक्रमणका ३३ घटना भएको प्रहरीले जनाएको छ । एसिड आक्रमणबाट पीडितलाई जलन सम्बन्धी उपचार गर्ने विशेष अस्पतालमा निकै लामो समयसम्म उपचार गराउनुपर्ने हुन्छ । यस बाहेक जलेका घटनामा पनि लामो समय उपचार गराउनु पर्छ । जलन सम्बन्धी उपचार गर्ने अस्पताल नेपालमा सीमितमात्र होइन, राजधानी काठमाडौँमा मात्र केन्द्रित छन् । यसको उपचार निकै खर्चिलो हुने गर्दछ । यस विषयमा रातोपाटीले विशेष सामग्री प्रकाशित गरेको छ । 

३. प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ
विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइका क्रममा उनीहरूको कार्ययोजना सुन्न थालिएको छ । यस क्रममा सांसदहरूले प्रस्तावित राजदूतहरूसँग विभिन्न प्रश्न पनि गरेका छन् । 

४. एकीकृत समाजवादीमा असन्तुष्टि साम्य पार्न नेताहरूलाई जिम्मेवारी
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीभित्र बढेको असन्तुष्टि साम्य पार्न नेतृत्वले सात जना नेतालाई जिम्मेवारी दिएको छ । आइतबार बिहान बसेको पदाधिकारी बैठकले सातै प्रदेशका असन्तुष्ट नेता तथा कार्यकर्ताका समस्या सुन्न र समस्या सम्बोधन गर्न नेताहरूलाई जिम्मेवारी दिएको हो ।

५. एमाले र माओवादीबिच ‘वाकयुद्ध’ बढ्यो
सत्तारूढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रबिच पछिल्लो समय राजनीतिक द्वन्द्व बढ्दै गएको छ । साढे अठार महिना सरकारको नेतृत्व गरेको माओवादी सत्ताच्युत भएसँगै एमालेसँग ‘वाकयुद्ध’ बढेको हो । संसद, सामाजिक सञ्जाल, मिडियाबाट एमाले र माओवादीका नेता तथा कार्यकर्ताहरूले एक आपसमा दिएको शत्रुतापूर्ण अभिव्यक्तिबारे सत्तारुढ अर्को दल नेपाली कांग्रेस रमिते बनेको छ ।

६. बालेनले बढाए प्रधानमन्त्री ओलीमाथि दबाब
काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री केपी ओलीलाई सामाजिक सञ्जाल मार्फत दबाब दिएका छन् । आइतबार साँझ मेयर बालेनले ८ वर्षदेखि बालिकालाई बन्दी बनाएर घरेलु कामदार राखेर बाल श्रमशोषण गरेकोमा पक्राउ नगरेको भन्दै आपत्ति जनाएका छन् । 

७. न्याय परिषद नियमावलीको संशोधन खारेजको मागसहित बार आन्दोलित
नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) खारेज नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेको छ । नियमावली गैरसंवैधानिक भएको भन्दै यसबारे सरोकारवाला निकायलाई ध्यानाकर्षण गराइए पनि सच्याउन चासो नदिएको बारको विज्ञप्तिमा उल्लेख छ ।

८. मुख्य सचिव नियुक्तिले कर्मचारीमै असन्तुष्टि
सरकारले हालै गरेको मुख्य सचिव नियुक्तिको विषय विवादमा परेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मुख्य सचिवमा एकनारायण अर्याललाई नियुक्त गरेपछि उनीभन्दा वरिष्ठ रहेका २ जना वहालवाला सचिवले राजीनामा दिएका छन् । चौथो वरीयताका अर्याललाई मुख्यसचिव बनाउँदा वरीयता मिचिएपछि उनीहरूले राजीनामा दिएका हुन् ।

९. सहकारी पीडित उत्रिए सडकमा
राजधानीमा सहकारी पीडितले सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । आइतबार सहकारी पीडितसहितका समूहले सडकमा विरोध प्रदर्शन गर्दा यातायात समेत केहीबेर अस्तव्यस्त भएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप