कांग्रेस बैठक : तीन प्रस्ताव परिमार्जनसहित पारित

काठमाडौँ । नेपाली कांग्रसको केन्द्रीय कार्यसमितिको बैठकले महासमितिको बैठकमा प्रस्तुत तीनवटा प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा साउन २३ देखि भदौ १६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चालन भएको बैठकले ती प्रस्तावहरू पारित गरेको हो ।
२०८० फागुन ७ देखि १० गतेसम्म गोदावरी ललितपुरमा सम्पन्न नेपाली कांग्रेसको महासमितिको बैठकमा केन्द्रीय कार्यसमितिको तर्फबाट उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनैतिक पेस गरेका थिए । प्रस्तावहरूमाथि महासमितिको बैठकमा बृहत् छलफलबाट प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन गरी प्रस्तुत परिमार्जित प्रस्ताव केन्द्रीय कार्यसमितिको यो बैठकबाट सर्वसम्मत पारित गरिएको छ ।
त्यस्तै, नेपाली कांग्रेस र नेकपा एमालेबिच २०८१ असार १७ गते भएको ७ बुँदे सहमति पश्चात् सहमतिमा उल्लेखित "संविधान प्रारम्भ भए पश्चात् अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने" भन्ने लगायतका विषयलाई लिएर गरिएका टिका- टिप्पणी र सिर्जना गरिएका भ्रमप्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘७ बुँदै सहमति राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तीव्रता दिन राजनैतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समानुपातिक समावेशी प्रतिनिधित्वलाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्ने उद्देश्य प्राप्तिका लागि हो भन्ने कुरामा नेपाली कांग्रेस प्रष्ट छ र उक्त सहमतिलाई कार्यान्वयन गर्न नेपाली कांग्रेसको यो बैठक पुनः दृढता व्यक्त गर्दछ,’ पार्टीले भनेको छ ।
आफ्नो नेतृत्वमा बनेको संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको स्वामित्व र यसको रक्षा एवं कार्यान्वयनको मूल दायित्व नेपाली कांग्रेसको नै हो भन्ने कुरालाई हृदयङ्गम गर्दै संविधान संशोधन गर्दा यसको कार्यान्वयनमा देखिएका चुनौती र जटिलताको समीक्षा गर्दै संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र वास्तविक रूपमा संविधानको मर्म बमोजिम सबै जाति, भाषा, लिङ्ग, धर्म, क्षेत्र, समुदाय, वर्गको समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता गर्ने गरी नेपाली कांग्रेसले सघन छलफल गर्नेछ र त्यसको पहलकदमी लिने पनि पार्टीले स्पष्ट पारेको छ ।
‘संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्माण र परिमार्जन गर्न बाँकी रहेका कानुनहरूको प्रक्रिया अविलम्ब प्रारम्भ गर्न नेपाली कांग्रेस आफ्नो स्पष्ट दृष्टिकोण र प्रतिबद्धता दोहोर्याउँदै त्यसमा अग्रसरता लिने निर्णय गर्दछ,’ पार्टीको निर्णयमा भनिएको छ, ‘अतः यस सन्दर्भमा कुनै पनि भ्रममा नपर्न र राजनीतिक सङ्कट सिर्जना गरेर मुलुकलाई पछाडि धकेल्न उद्धत संविधान विरोधी प्रवृत्तिबाट हमेसा सचेत रहन आम नेपाली जनता, सम्पूर्ण सरोकार राख्ने समूह, समुदाय र राजनीतिक दलहरूलाई नेपाली कांग्रेस विशेष आग्रह गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुलिस क्लबका बलरसामु निरीह बने गण्डकी प्रदेशका ब्याट्सम्यान
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
-
मध्यवर्ती क्षेत्रको पुनःसीमाङ्कन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
-
बजेट अभावले बैजपुरको अस्पताल सञ्चालनमा ढिलाइ
-
पहिलो सहभागितामै आईपीएलमा चम्कन सक्ने यी पाँच युवा खेलाडी
-
बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो