बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

मकवानपुर जिल्ला लिग फुटबल : कम्बाइन र नामटार विजय

आइतबार, १६ भदौ २०८१, २१ : ४२
आइतबार, १६ भदौ २०८१

हेटौँडा । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको २ खेलमा न्यु कम्बाइन क्लब र कैलाश एफसी विजयी भएका छन् । प्रतियोगितामा न्यु कम्बाइन क्लब हेटौँडाले ७ नम्बर फुटबल टिम हेटौँडालाई हराएको हो भने कैलाश एफसीले साबिक उपविजेता हटिया स्पोर्टस् एकेडेमीलाई पराजित गरेको हो ।

आइतबार दिउँसो भएको २ खेलबाट जित निकाल्दै कम्बाइन र नामटारले विजय यात्रा सुरु गरेको छन् । कम्बाइनले हेटौँडाको ७ नम्बर फुटबल टिमलाई ३–० ले हराएको हो ।

खेलमा कम्बाइनका लागि सुरज थिङले २ र विशाल भ्लोनले एक गोल गरे । खेलमा ७ नम्बरले गोल गर्न सकेन । खेल अवधिभर पाएका अवसरको सदुपयोग गर्न नसक्दा ७ नम्बरले हार व्यहोर्नु परेको हो । उक्त खेलमा २ गोल गरेका सुरज नै खेलको म्यान अफ द म्याच घोषित भए ।

यस्तै कैलाश एफसीले साबिक उपविजेता हटिया स्पोर्टस् एकेडेमीलाई २–१ ले पराजित गरेको छ । कैलाशको तर्फबाट सविन भ्लोन र सञ्जीव भोम्जनले गोल गरेका थिए । खेल अवधिभर हटियाका लागि सुरज मोक्तानले मात्र गोल गरे । उनको गोलका बाबजुद पनि हटियाको पराजय रोकिएन । खेलको म्यान अफ द म्याच कैलाशका सञ्जीव भोम्जन घोषित भए ।

त्यस्तै आइतबारका लागि तय भएका २ खेल भने वर्षका कारण प्रभावित भयो । वर्षाका कारण पिप्ले युवा क्लब र रियल स्टार क्लब पदमपोखरी तथा एफसी मल्टिभिजन र पदमपोखरी यूथ क्लब बिचको खेल प्रभावित भएको हो ।

वर्षाका कारण दुवै खेलहरू स्थगित गरिएको छ । यी दुई खेल दिउँसो १ बजेबाट गौरिटार रङ्गशाला र सिमलटार खेल मैदानमा हुनु तय भएको थियो । खेल समयमा भारी वर्षा भएपछि स्थगित गरिएको थियो ।

वर्षाकै कारण शनिबार हेटौँडा भेट्रान्स र सक्षम युवा क्लबको खेल समेत स्थगित भएको थियो । पहिलो हाफ चलिरहँदा रोकिएको यो खेल आइतबार बिहान सञ्चालन गर्ने आयोजकको तयारी रहेकोमा वर्षाका कारण पुनः स्थगित भएको हो ।

यी तीनवटै खेल सम्बन्धित क्लबसँग छलफल गरेर उपयुक्त समयमा आयोजना गरिने प्रतियोगिता संयोजक मकवानपुर जिल्ला फुटबल सङ्घका उपाध्यक्ष युवराज लामाले जानकारी दिए ।

जारी प्रतियोगितामा सोमबार पनि ४ खेल हुनेछ । जिल्ला लिगमा मकवानपुरका २८ क्लबको सहभागिता रहेको छ । लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप