आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
संसदीय सुनुवाइ समिति

भारतका लागि प्रस्तावित राजदूत शर्मा एक पानाको कार्ययोजना बोकेर सुनुवाइ समितिमा गएपछि...

आइतबार, १६ भदौ २०८१, १९ : ५६
आइतबार, १६ भदौ २०८१

काठमाडौँ । भारतका लागि प्रस्तावित राजदूत डा.शंकर प्रसाद शर्मामाथि संसदीय सुनुवाइ भएको छ । आइतबार सिंहदरबारस्थित संसदमा सचिवालयमा भएको सुनुवाइका क्रममा उनले समिति समक्ष एक पानाको लिखित कार्ययोजना प्रस्तुत गरेका छन् भने झण्डै १ घण्टाभन्दा बढी मौखिक कार्ययोजना प्रस्तुत गरे ।

शर्माले १ पानाको कार्ययोजना समितिको बैठकमा पेस गरेपछि एमाले सांसदहरूले उनको आलोचना गरे । सबैभन्दा धेरै क्षेत्रमा सम्बन्ध, व्यापार, सीमा समस्या रहेको देशमा जान लागेको राजदूतले आवश्यक लिखित कार्ययोजना नल्याएको भन्दै एमाले सचेतक सुनिता बराल, ईश्वरी घर्ती लगायतले आलोचना गरे ।

बैठकमा सांसद बरालले भनिन्, ‘तपाईंले संसदीय सुनवाइ समितिभन्दा पनि माथि उठेर आफ्नो धारणा राख्नुभयो । यो विधिमात्रै त हो नि भनेजस्तो पो गर्नुभयो । कार्ययोजना लेखेर ल्याउन अलिकति मेहनत गर्नुभएको भए हुन्थ्यो । लिखित कार्ययोजना तपाईंले दिन नचाहेको जस्तो देखियो ।’

दार्चुलामा भारतले नेपालको भूमिमा एस्काभेटर चलाएको, त्यसलाई नेपालीले रोक्न खोज्दा भारतीय सुरक्षाकर्मीले ढुङ्गा हान्ने काम गरेको तर दूतावासले त्यसमा पहल नगरेको सम्बन्धमा पनि उनले प्रश्न गरिन् ।

बरालले अगाडि भनिन्, ‘नेपाल–भारत सिमानाका समस्याका बारेमा दूतावास कहिले पनि बोलेको देखिँदैन, किन ? भारतमा समस्यामा परेका नेपालीहरू दूतावास आएको देखेँ तर दूतावासले समन्वय गरेको देखिएन । पर्यटन कूटनीतिमा तपाईंले धेरै भूमिका खेलेको बताउनुभयो तर ती भूमिका के–के हुन् ?’

यस्तै सांसद ईश्वरी न्यौपानेले १९५० को सन्धि पुनरवलोकनका लागि नेपाल–भारत प्रबुद्ध समूहले प्रतिवेदन बनाए पनि भारत सरकारले किन नबुझेको र त्यसलाई कसरी समन्वय गर्नुहुन्छ भन्दै प्रश्न गरिन् ।

भारतले नेपालमा आफैँले विद्युत आयोजना बनाउने र आफैँले विद्युत लैजान खोजेको त होइन भन्दै उनले प्रश्न गरिन् । भारतले नेपालको पानी कब्जा गर्न खोजेको र भोलिका दिनमा पानीको लागि युद्ध हुन्छ भन्ने छ भन्दै उनले शर्मालाई ‘यसमा तपाईंको के धारणा छ ?’ भन्दै प्रश्न गरिन् ।

सांसद लिलानाथ श्रेष्ठले दुई देशका बिच लिपुलेक, लिम्पियाधुराको बारेमा छलफल हुन आवश्यक रहेको बताए । नेपालले लिम्पियाधुरा सहितको नक्सा  प्रकाशित गरेको छ । यस बारेमा नेपालको दूतावासले भारतमा अहिलेसम्म किन बोल्दैन भन्ने प्रश्न उनले गरे ।

सांसद ईश्वरी घर्र्तीले पनि एक पानाको मात्र कार्ययोजना देखेपछि आलोचना गरिन् । उनले भनिन्, ‘तपाईंको एक पानाको कार्ययोजना हेर्दा त भारतको पक्षमा बखान गरेरमात्र बनाउनुभएको रहेछ । नेपालीहरूले भारतमा कस्तो पीडा भोग्नु परेको छ ? उनीहरू कस्तो समस्यामा परेका छन् ? तिनीहरूको समस्या समाधान गर्नका लागि तपाईंले खाका किन प्रस्तुत गर्नुभएन ? भारतसँग नेपालको कहालीलाग्दो व्यापार असन्तुलन छ, त्यसलाई एकरूपता ल्याउन तपाईं कसरी पहल गर्नुहुन्छ ?’

घर्तीले भारतीय वस्तुहरू सजिलै नेपाल आयात हुने तर नेपाली वस्तु भारत निर्यात गर्न सधैँ सास्ती भोग्नुपर्ने अवस्था रहेको सुनाउँदै त्यसलाई कसरी पहल गर्नुहुन्छ भन्दै शर्मालाई प्रश्न गरिन् । उनले शर्मालाई सोधिन्, ‘दोहोरिएर राजदूतको रुपमा जाँदा चाहिँ तपाईंले के फरक गर्नुहुन्छ ?’

नेपाल–भारत बिचका सन्धि पुनरावलोकनका लागि बनाएको प्रबुद्ध समूहको प्रतिवेदन भारतीय प्रधानमन्त्रीले बुझ्न नचाहेको हो कि त्यो बुझ्न दिनका लागि व्यवस्था नभएको हो कि अथवा राजनीतिक समस्या वा कर्मचारीको समस्या के हो भन्दै उनले प्रश्न गरिन् ।

घर्तीले प्रस्तावित राजदूत शर्मालाई भनिन्, ‘खुला सिमानाका कारण नेपालीहरू भारतीय सुरक्षाकर्मीबाट कुटिएका छन्, लुटिएका छन्, महाकालीमा तुइन काट्दा दार्चुलाका जयसिंह धामीले ज्यान गुमाउनु पर्यो । भारत सरकारले राहतसमेत दिएन । सीमा नाकामा यस्ता घटना हुँदा दूतावास किन बोल्दैन ? यस्ता विषयमा तपाईंको भूमिका के हुन्छ ?’

सांसद प्रकाश अधिकारीले शर्मालाई यसअघिको कार्यकालमा पनि खासै प्रगति नदेखिएको भन्दै फेरि किन दोहोर्‍याउने भन्ने प्रश्न गरे ।

सांसद जीवन परियारले नेपाल–भारतबिच अब सीमा विवाद छैन भन्न के गर्नुपर्ला र त्यसमा तपाईंको के भूमिका हुन्छ भन्दै शर्मालाई प्रश्न गरे । उनले भने, ‘हामीले चुच्चे नक्सा सार्वजनिक गरिसकेको अवस्था छ । त्यसबारेमा भारत सरकारसँग तपाईंले कुरा गर्नुहुन्छ कि हुँदैन ? बेलाबेलामा नेपाल–भारतबिच चिसोपना बढ्ने गरेको छ, किन होला ? कूटनीतिमा विगतको भन्दा तपाईंले केचाहिँ राम्रो गर्न सक्छु भन्ने लागेको छ ?’

सांसद आनन्दप्रसाद ढुङ्गानाले राजदूतका रूपमा भारत गएकाहरूले राम्रोसँग काम गर्न नसकेको बताए । दुई देशका बिचमा सहमति भएर बनेको प्रबुद्ध समूहको प्रतिवेदन भारतको प्रधानमन्त्रीले नबुझेको अवस्थामा त्यसलाई कसरी पहल गर्नुहुन्छ भन्दै प्रश्न गरे ।

जवाफ दिन अघि सरे ज्ञानेन्द्रबहादुर कार्की

प्रस्तावित राजदूत शर्मालाई सोधेको प्रश्नको जवाफ दिन अघि सरे कांग्रेस सांसद ज्ञानेन्द्र कार्की । प्रस्तावित राजदूत शर्माले दिनुपर्ने उत्तर उनी आफैँले दिए ।

कार्कीले भने, ‘यहाँले प्रस्तुत गरेका कार्यजनाहरूमा सबै कुरा समेटिएको देखेँ । हामीले संसदमा नेपाल–भारत समस्या उठाएर मात्र पनि समाधान हुँदैन । सरकारी तवरबाट नै त्यसको समाधान खोज्नुपर्छ । नेपाल–भारतको व्यापार घाटा कम गर्न जलस्रोत, ऊर्जा व्यापार अघि बढाउन सकिन्छ । ऊर्जा व्यापारका लागि द्रुत गतिमा काम गर्न सक्यो भने व्यापार घाटा कम गर्न सकिन्छ ।’

शर्मालाई किन दोहोरिएर राजदूतमा पठाएको होला भन्ने सांसदको जवाफ कार्की आफैँले दिँदै भने, ‘उहाँको क्षमता देखेर नै दोहोर्‍याएको होला । सरकारले नबुझिकन दोहोर्‍याएर राजदूत बनाएको त होइन होला । जसरी हामी सांसदहरू राम्रो काम गरेपछि जनताले निर्वाचनबाट दोहोर्‍याएका छन्, त्यस्तै उहाँमा पनि कुनै क्षमता भएर त सरकारले दोहोर्‍याएको होला ।’

प्रस्तावित राजदूत शर्मा : कार्ययोजना कम, भारतको प्रशंसा बढी

भारतका लागि प्रस्तावित राजदूत शंकरप्रसाद शर्माले आफ्नो कार्ययोजना भन्दा पनि भारतले गरेका राम्रा कामहरूको बखान गर्न संसदीय सुनुवाइ समितिमा समय खर्च गरे ।

उनले नेपाल–भारत सम्बन्ध विशिष्टिकृत, पुरानो र ऐतिहासिक रहेको बताउँदै आफू राजदूत भएपछि सरकारले दिएको निर्देशन अनुसार काम गर्ने बताए । धेरै नेपालीहरू भारतमा रहेको र भारतबाट मात्रै २० प्रतिशत रेमिट्यान्स नेपाल आउने भन्दै उनले आर्थिक अवस्थाका हिसाबले पनि नेपालले सबैभन्दा धेरै भारतबाट ६३ प्रतिशत आयात गर्दै आएको बताए ।

कूटनीतिक सम्बन्धका हिसाबले र उच्चस्तरीय भ्रमणका हिसाबले नेपाल र भारतबिच धेरै भ्रमण आदानप्रदान हुने र त्यसका लागि आफूले काम गर्ने शर्माले बताए ।

भौतिक पूर्वाधारका लागि भारतले नेपाललाई सबैभन्दा धेरै सहयोग पुर्‍याएको उनको दाबी थियो । उनले बिजलपुरादेखि रक्सौलसम्म रेलमार्गको बारेमा कुरा गर्नुपर्ने अवस्था रहेको बताए । बेलाबेलामा चिया, अलैँची लगायतका सामग्री निर्यातमा समस्या आउने र त्यसलाई अन्त्य गर्न पहल गर्ने उनको भनाइ थियो ।

यस्तै अघिल्लो वर्ष नेपालले ६ सय मेघावाट विद्युत भारत पठाउँदा १६ अर्ब बराबरको आम्दानी भएको शर्माले बताए । यो वर्ष ३५ अर्ब कमाउन सकिएला भन्ने आशा रहेको भन्दै उनले यसका लागि प्रसारण लाइन बढाउन आवश्यक रहेको औँल्याए ।

भारतीय पर्यटक नेपाल आउँदा २५ हजार भारु भन्दा बढी बोक्न नहुने, ५ सय भारु पनि बोक्न नमिल्ने अवस्थामा फोन पे अर्थात डिजिटल पेलाई अघि बढाएको र यो राम्रो रहेको शर्माको भनाइ छ । यसका लागि आफूले पनि अघिल्लो कार्यकालमा उल्लेखनीय भूमिका खेलेको उनको दाबी छ ।

शर्माले भारतका राम्रा कामहरूबाट नेपालले सिक्नुपर्ने भन्दै भारत सरकारले गरेको कामको प्रशंसामा समय खर्च गरे । उनले भने, ‘विदेशी लगानी र सहायता जुटाउन पनि भारत अगाडि छ । भारतले अघिल्लो वर्षमात्रै ७१ बिलियन अमेरिकी डलर विदेशी सहायता पाएको थियो । यस्तै १२ अर्ब डलर त एप्पलको फोन भारतबाट बिक्री भएर गएको थियो । एप्पललाई भारतमा उत्पादन अनुमति दिएपछि भारतले धेरै आम्दानी गर्‍यो ।’

शर्माका अनुसार भारतले ८० करोड जनतालाई खाद्यान्न सहुलियत दिने गरेको छ ।  भारतले स्वास्थ्य बीमा सुविधा दिएको,  मलखादमा सुविधा दिएको, जुनसुकै कुनामा बस्ने किसानले कति रासायनिक मल अनुदानमा पाउँछ भन्ने कुरा दिल्लीमा बसेर थाहा पाउन सकिने उनको भनाइ थियो ।

उनले अगाडि भने, ‘भारतले डिजिटल ट्रान्सफर्मेसनमा उल्लेखनीय प्रगति गरेको छ । ५० वटा सेवा त अनलाइनबाट घरमै बसेर लिन सकिन्छ तर नेपालमा को मान्छे चिनेको छ भनेर खोज्नुपर्ने हुन्छ । एउटा सवारी लाइसेन्स रिन्यू गर्नुपर्‍यो अथवा लिनुपर्‍यो भने पनि चिनेको मान्छे खोज्नुपर्छ । राष्ट्रिय परिचयपत्र चाहियो भने पनि चिनेको मान्छे खोज्नुपर्छ । तर भारतमा त्यस्तो छैन । त्यहाँ घरमै बसेर ५० प्रकारका सेवा अनलाइनबाट लिन सकिन्छ ।’

उनले रामायण पर्यटन सर्किटको धेरै कुरा उठ्ने गरे पनि त्यो आयोजना अघि नबढ्नुमा नेपालको कमजोरी रहेको दाबी गरे । उनले नेपालले परियोजना प्रस्ताव दिन नसक्दा भारतले सोधिरहने अवस्था आएको दाबी गरे ।

शर्माले भने, ‘प्रणव मुखर्र्जी आएको बेलाको कागज छैन, उहाँले के आश्वासन दिनुभएको थियो ? तर नरेन्द्र मोदीले १ सय करोड भारु दिने सम्झौता भएको तर त्यसका लागि हामीले सामान्य परियोजना प्रस्ताव समेत दिन सकेको अवस्था छैन । भारतले परियोजना प्रस्ताव समेत दिन सकेन भनेर हामीलाई भनिरहेको अवस्था छ ।’

प्रस्तावित राजदूत शर्माले राजदूत नियुक्ति सम्बन्धी निर्देशिका २०७५ अनुसार आफू दोहोरिएको भन्दा पनि एउटा सरकारले पठाएर फिर्ता बोलाइसकेको र फेरि अर्को सरकारले राजदूतका लागि प्रस्ताव गरेको अवस्था रहेकाले आफूलाई दोहोर्‍याएको भन्न नमिल्ने तर्क गरे ।

उनले भारतमा रहेका नेपालीहरूलाई बैंक खाता कसरी खोल्ने, आधार कार्ड कसरी लिने भन्ने बारेमा सचेतना जगाउने काम आफूले अघिल्लो कार्यकालमा गरेको बताए ।

भारतमा जाने न्यून आय भएका वर्गका लागि अप्ठ्यारो परेको बेलामा सहयोग गर्न वा राहत दिन दूतावासमा सहयोग कोष नहुँदा समस्या रहेको पनि शर्माले गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप