राजेन्द्रप्रसाद सुवेदीलाई प्रश्न: महासचिव पदमा तपाईंको उम्मेदवारी किन ?
धादिङको नीलकण्ठ निवासी राजेन्द्रप्रसाद सुवेदी अपि हिमाल ट्रेक्स एन्ड एक्सपिडिसनका सञ्चालक हुन् । गणेश हिमाल पर्यटन विकास समितीको उपाध्यक्ष समेत रहेका सुवेदीले विगतमा टानको कार्य समितिमा रहेर काम गरिसकेका छन् । पर्यटनलाई समाज, संस्कृति, र शिक्षासँग जोडेर राष्ट्र विकासको विशेष माध्यम बनाउन सकिन्छ भन्नेमा उनी जोड दिन्छन् । टानको चुनावमा राजेन्द्रप्रसाद सापकोटाको प्यानलबाट महासचिव पदको उम्मेदवारी दिएका सुवेदीसँगको सम्पादित अंश-ः
महासचिव पदमा तपाईँको उम्मेदवारी किन ?
म पर्यटन पेसामा विगत २५ बर्षदेखि सक्रिय छु । पोर्टर, गाइड हुँदै कम्पनीको मालिकसम्म भइयो । पर्यटनकै सिलसिलामा हिमाल, पहाड, तराई सबैतिर घुमेको छु । यस क्षेत्रका समस्याहरू मैले बुझेको छु । आफूले बटुलेको अनुभवलाई टानको नेतृत्वमा पुगेर म बाँड्न चाहन्छु ।
तपाईंको प्यानलका मुख्य एजेन्डाहरू के–के छन् ?
पदयात्रा व्यवसायलाई बचाउन पदमार्गहरूलाई बचाउन आवश्यक छ । पदमार्ग नै नरहे कसरी हाम्रो व्यवसाय रहन्छ ? हाल रहेका पदमार्गहरू सुरक्षित राखी थप नयाँ पदमार्ग निर्माण गर्न स्थानीय निकाय, नेपाल सरकार, पर्यटन विभागसँग समन्वयन गरी कार्यान्वयन गर्ने सोच छ । हालसम्म नेपाल सरकारले पदमार्गहरूलाई अपनत्व गरेको छैन । सबै पदमार्गहरूलाई राष्ट्रिय महत्वको पदमार्ग घोषणा गराउनुपर्छ ।
नेपालमा पदयात्रा पर्यटनको महत्त्व छ र यसका माध्यमबाट स्वदेशमै रोजगारी प्राप्त हुनेछ भनेर बुझाउनका माध्यमिक शिक्षादेखिनै पदयात्रा पर्यटनको अध्ययन गराउने व्यवस्था लागु गराउन पहल गर्नेछौँ । ट्रेकिङ कम्पनीले पर्यटकलाई सेवा प्रदान गर्दा चेन सप्लाइका क्षेत्रहरूमा भुक्तानी गरेपछि त्यस्ता क्षेत्रबाट अनिवार्य भ्याट बिल उपलब्ध गराउने सरकारी व्यवस्थाका लागि सशक्त र परिणाममुखी प्रयास गर्नेछौँ ।
पदयात्रासँग सम्बन्धित सबै अनुमतिपत्रहरु र हिमाल आरोहण अनुमतिका लागी भुक्तानी गर्नुपर्ने सरकारी राजस्वमा समेत लगाइएको १३% भ्याट फिर्ता गर्ने र अबदेखि सरकारी राजस्वमा भ्याट लगाउने गरेको अव्यवहारिक र अन्यायपूर्ण नियमको खारेजीका लागी ब्यबसायिक आवाज बुलन्द गरी समाधानको लागी अग्रसर हुने छु ।
हाल अनलाइन प्रणालीमार्फत टानमा आबद्ध ट्रेकिङ कम्पनीहरूले आफै टिम्स कार्ड जारी गर्नसक्ने व्यवस्था छ । यो व्यवस्थालाई चुस्त दुरुस्त पारी कार्यान्वयन गर्ने र गाइड वा सहयोगी लिएर ट्रेकिङ कम्पनीमार्फत मात्र ट्रेकिङ जानु पर्ने व्यवस्था लागु गर्न अझै दरिलो प्रयास गर्ने छु।
विगतमा पनि टानको कार्यसमितिमा रहेर काम गर्नुभयो ? त्यसबेला मुख्य काम के–के गर्नुभयो ?
पर्यटकीय क्षेत्र रुवी भ्यालीको खोज अनुसन्धान गरी प्रचारप्रसार र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको छु । पर्यटन क्षेत्रबाहेक भूकम्प पीडितलाई सहयोग, स्कुल निर्माण, अनाथ असहाय बालबालिकालाई गाँसबासको व्यवस्था लगायतका काममा भूमिका खेलेकाे छु ।
पदयात्रामा जाने मजदुरहरूका लागि पोर्टरसेन्टर निमार्णका लागि के कस्ता योजनाहरू छन् ?
टिम्सबाट आम्दानी भएको रकम र दातृ निकायको सहयोगमा सगरमाथाको आधार शिविर, जोग्ला, मनास्लुको धर्मशाला, मेरा बेसक्याम्प, धौलागिरिको इटालियन क्याम्प लगायत अन्य आवश्यक क्षेत्रहरूमा क्रमशः पोर्टर सेल्टर निर्माण गर्नमा हामी प्रतिबद्ध छौँ ।
पर्वतीय पर्यटनमा लाग्ने श्रमिकहरूका समस्या कसरी समाधान गर्नुहुन्छ ? सामाजिक सुरक्षा कोषमा कसरी आबद्ध गराउनुहुन्छ ?
विगतमा टिम्सबाट भएको आम्दानी रकम टान र नेपाल पर्यटन बोर्डबिच सृजना भएका सम्पूर्ण समस्याहरू समाधान गर्नेछौँ । हालसम्म पर्यटन बोर्डले टानलाई भुक्तानी दिन आनाकानी गरिरहेको छ । भविष्यमा टिम्सबाट आम्दानी हुने रकम समेतलाई पर्वतीय पर्यटन श्रमिकहरूको सुविधा र सामाजिक सुरक्षा कोष, पोर्टर सेल्टरहरूको निर्माण गर्नमा हामी गम्भीर छौँ ।
आफ्नो प्यानलको जितको सम्भावना कत्तिको देख्नुहुन्छ ?
टानको पूर्व कार्य समितिका अध्यक्ष र महासचिवको हामीलाई समर्थन छ । यस्तै ठुला कम्पनी र व्यवसायीको समर्थन पनि पाएकाले जितको सम्भावना धेरै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १०% सम्मको छुट
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप