बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

बहुपहिचानका आधारमा कोशी प्रदेशको पुनः नामकरण गर्न माओवादीको माग

आइतबार, १६ भदौ २०८१, १७ : ५६
आइतबार, १६ भदौ २०८१

विराटनगर । नेकपा माओवादी केन्द्रले बहुपहिचानका आधारमा कोशी प्रदेशको पुनः नामकरण गर्न माग गरेको छ ।  सो पार्टीका कोशी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईंले आइतबार प्रदेशसभा बैठकमा बोल्दै कांग्रेस र एमालेको दुई तिहाइको सरकार बन्न लागेकाले नामकरणका लागि उपयुक्त समय आएको बताए । 

विगतमा सरकारमा छँदा कोशी प्रदेश राख्ने निर्णयमा गल्ती भएको आफ्नो दलको स्थायी समितिले स्वीकार गरिसकेको, कांग्रेसका १४ जिल्ला सभापतिले सामूहिक विज्ञप्ति जारी गर्दै पुनः नामकरणको माग गरेको तथा नेकपा एकीकृत समाजवादीले फरक मत राखेको स्मरण गरे ।

‘आज प्रदेश सरकारमा नेकपा एमालेसँग नेपाली कांग्रेस सत्ता साझेदार  रूपमा छ । प्रदेश नामकरणपछि उत्पन्न समस्या र निकासका बारेमा तत्कालीन अवस्थामा नेपाली कांग्रेसका १४ जिल्लाका सभापतिहरूले विज्ञप्ति नै जारी गरेर जनभावनाअनुसार प्रदेशको पुनः नामकरण गरौँ भन्नु भएको विषय म उहाँहरूलाई स्मरण गराउन चाहन्छु’, चापागाईंले भने, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिले गल्ती भयो भनेको सन्दर्भ र नेकपा एकीकृत समाजवादीको फरक मतसमेतको पृष्ठभूमिमा म आग्रह गर्दछु, प्रदेश नामकरणले उत्पन्न गरेको  समस्या हल गर्ने उपयुक्त समय यही हो किन कि दुईतिहाई बहुमतको सरकार तपाईंहरुसँग छ ।’  

चापागाईंले प्रदेशको पुनः नामकरणका लागि साथ दिन प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले निःसर्त सत्तापक्षलाई साथ दिन तयार रहेको प्रतिबद्धता जनाए । प्रदेशसभाको २० महिनाको कार्यकालमा छैटौंपटक सरकार फेरबदल भएको भन्दै चापागाईंले नाटकीय र रहस्यमय ढङ्गले रातारात सङ्घमा पहिलो र दोस्रो ठुला  दल कांग्रेस–एमालेको निर्माण भएसँगै प्रदेशमा पनि सरकार परिवर्तन भए पनि ननभिजिनरी र अविश्वसनीय छविका ‘क्याट्रीकवाला मुख्यमन्त्री पाएको भन्दै व्यङ्ग्य गरे । कोशीमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री छन् । कार्की यसअघि पनि दुई पटक मुख्यमन्त्री भइसकेका छन् ।

प्रदेश सरकारप्रति आशा, विश्वास र भरोसा नभए पनि शंकाको संविधान दिने भन्दै उनले प्रदेशले स्थायित्व पाउने र समस्याहरूको वस्तुसंगत समाधान हुने आशा आफूहरूले लिएको बताए । उनले दुईतिहाई बहुमत प्रदेशको विकास र समृद्धिमा प्रयोग गर्ने कि  आग्रह–पूर्वाग्रह, छलछाम, उपयोग र निषेधका निम्ति दुरुपयोग गर्ने भन्ने प्रश्न मुख्यमन्त्री कार्कीसँग गरे । चापागाईंले 

दुईतिहाई बहुमत सुशासन, पारदर्शिता र विकासका निम्ति प्रयोग गर्न सुझाव दिँदै विगतकै जस्तो प्राथमिकताविहीन शिलान्यास र उद्घाटनमा  समय नखर्चन सुझाए । चापागाईंले  भौतिक पूर्वाधार क्षेत्रमा रणनीतिक महत्वका योजनाहरूको सञ्चालनसहित विकसित र र समृद्ध प्रदेश निर्माणमा लाग्न तथा विगतमा जस्तो आफू र आफ्नालाई पोस्न सेटिङ र कमिसनका निम्ति कनिका छरे जसरी बजेट नछर्न चेतावनी दिए । चापागाईंले जनतामा उत्पन्न भय ,निराशा र असन्तोष सम्बोधन गर्ने गरी काम गर्न प्रदेश सरकारलाई आग्रह गरे । 

प्रदेश संरचना र यसको स्थायित्व तथा समानुपातिक निर्वाचन प्रणाली र समावेशितालाई लिएर जबरजस्त प्रश्नहरू उठाउन खोजिएको भन्दै संविधान संशोधनसहित दुई दलीय व्यवस्था स्थापना गर्ने  काँग्रेस–एमाले सहमतिलाई प्रतिगमनको संज्ञा दिए । गणितको घमन्डमा गरिने त्यस्ता प्रतिगामी हर्कत मान्य नहुने भन्दै उनले त्यसो गरिए संसद् र सडकबाट सशक्त प्रतिवाद गरिने चेतावनी दिए । 

फरक प्रसङ्गमा उनले निवर्तमान मुख्यमन्त्री एवं सत्तारुढ काँग्रेस संसदीय दलका नेता केदार कार्कीले पत्रकार सम्मेलनमार्फत सेटिङमा आएको बजेट स्वीकार्य नहुने अभिव्यक्ति दिएको विषयमा समेत चापागाईंले सत्तापक्षको जवाफ माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप