नगरपालिकाले वृद्धि गरेको करका विरुद्ध माओवादी केन्द्रले बुझायो ज्ञापन
सिरहा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गोलबजार नगर कमिटीले गोलबजार नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि मालपोत लगायतका अन्य करको दरमा अत्यधिक वृद्धि गरेको विरोधमा ज्ञापन पत्र बुझाइएको हो ।
पार्टीद्वारा तयार ज्ञापन पत्रमा भनिएको छ, ‘गोलबजार नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नगरसभाले पारित गरेको जग्गामा लाग्ने मालपोत (कर) वृद्धि र भूमि वर्गीकरण प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
कृषक र कृषि क्षेत्रलाई अनुदान र आधुनिकीकरण गर्न टेवा पुर्याउँदै आत्मनिर्भर बनाउनुपर्नेमा कृषकको ढाड सेक्ने र कृषि व्यवसायलाई धराशायी बनाउने नगरपालिकाको नीति तथा कार्यक्रमप्रति पार्टीले खेद प्रकट गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्रमा उल्लिखित भए अनुसार गोलबजार नगरपालिका आफैँमा विविधतापूर्ण कृषि क्षेत्र हो भन्दै यो तरकारी, फलफूल, धान, मकै, दलहन, तेलहन लगायतका बाली उत्पादन हुने क्षेत्र हो । नगरले यस क्षेत्रको विकासमा टेवा पुग्ने गरी नीति, कार्यक्रम तथा योजनाहरू तर्जुमा गर्नुपर्नेमा सामन्ती जमिनदारी प्रथाको मालपोत भन्दा पनि चर्को कर निर्धारणले यहाँको सरकार आम जनताप्रति अनुत्तरदायी रहेको प्रमाणित गरेको छ सो पार्टीले आरोप लगाएको छ ।
पार्टीले ज्ञापन पत्रमार्फत आर्थिक वर्ष २०८१/०८२ मा वृद्धि गरिएको मालपोत (भूमि कर) एक हप्ता (७ दिन) भित्र खारेज गरी जग्गाको वर्गीकरण र मूल्याङ्कन वैज्ञानिक ढङ्गले गर्न माग गरिएको छ । अन्यथा विभिन्न चरणका संघर्षका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने भन्दै अल्टिमेटम दिएको छ ।
पत्रकारहरूको जिज्ञासामा उत्तर दिँदै नेता प्रवेश लामाले भने,‘जनताको प्रत्यक्ष जीवन र सरोकारसँग गाँसिएको सवाल कर हो । करको दायरा बढाउने हो । करको दर बढाएर जनताको शोषण गर्ने होइन । अहिले बढाइएको कर अत्याचारी कदम हो । हामी यसमा संघर्ष गर्छौँ ।’
ज्ञापन पत्रमार्फत राखिएका मागहरू
- आर्थिक वर्ष २०८१/०८२ मा वृद्धि गरिएको मालपोत (भूमि कर) खारेज गरी जग्गाको वर्गीकरण र मूल्याङ्कन वैज्ञानिक ढङ्गले गरियोस् ।
- सिफारिस शुल्क सहज/सुलभ र अन्य शीर्षकमा गरिएको कर वृद्धि आर्थिक मन्दीको मारमा परेका जनताको अवस्थालाई मध्यनजर गरी खारेज गरियोस्।
- नागरिकले कानुन बमोजिम सूचना माग्दा कानुनले तोकेको समयावधि भित्र सरल र सहज तरिकाले सूचना उपलब्ध गराइयोस् ।
- हाट बजार ठेक्का र असुली पारदर्शी गरियोस् ।
- नगरपालिकाको निर्माणाधीन प्रमुख प्रशासकीय भवन निर्माण कार्य अविलम्ब सुचारु गरियोस् ।
- सार्वजनिक शिक्षा र स्वास्थ्य सेवालाई प्रभावकारी तथा सबलीकरण गरियोस्।
- विकास निर्माणको काममा पारदर्शिता र सुशासन कायम गरियोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिला पछाईंले पनि बुझाइन् धरौटी
-
बौद्धिक पलायन रोक्न स्थानीय सेवालाई प्रदेश निजामती सेवाको अङ्ग बनाउनुपर्छ : अध्यक्ष भट्ट
-
आगामी वर्षदेखि चस्माको भ्याट र भन्सार लिँदैनौँ : मन्त्री पौडेल
-
सूर्यदर्शन सहकारी पीडित भन्छन्– हामी रतीभर खुसी छैनौँ
-
ट्रेड युनियन खारेज गर्न मिल्दैन : अध्यक्ष पोखरेल
-
‘महिन्द्रा उत्सव, छड्के सलाम’, योजनाको विजेता घोषणा