शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
द्वन्द्वकालका बमले मारिँदै मानिस

विस्फोटक पदार्थ ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान किन रोकियो ?

आइतबार, १६ भदौ २०८१, १६ : २२
आइतबार, १६ भदौ २०८१

विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाँडाँगाउँ टोलमा गत बिहीबार दुई जना बालबालिकाको ज्यान जानेगरी बम विस्फोट भयो । उक्त बम सशस्त्र द्वन्द्वकालकै भएको प्रहरीले जनाएको छ ।

बम विस्फोटबाट स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्साको मृत्यु भयो भने अर्का ७ वर्षीय बालक दिप्सन राई घाइते भए । विस्फोट भएको बम ‘होम मेड सकेट बम’ भएको प्रहरीको निष्कर्ष छ । सो घटनापछि गरिएको सर्च अभियानका क्रममा अर्को बम पनि सोही ठाउँमा फेला परेको थियो ।

सशस्त्र द्वन्द्वकालमा सो गाउँमा दुई पक्षका सेनाबिच भिडन्त भएको स्थानीय बताउँछन् ।

यसअघि पनि पाँचथरमा द्वन्द्वकालीन बम पड्किएको थियो । २०७४ वैशाख ४ गते हिलिहाङ गाउँपालिका–७ स्थित जङ्गलको ओढारमा बम पड्किएको थियो । त्यसबेला बाख्रा चराउन गएका १५ वर्षीय लक्ष्मी राई र १७ वर्षीय सुजन राई घाइते भएका थिए । उनीहरूले ओढारमा आगो बालेपछि बम पड्किएको थियो ।

पाँचथरका गाउँहरूमा जस्तै देशभरका द्वन्द्व प्रभावित क्षेत्रमा अझै बम तथा विस्फोटक पदार्थ हुनसक्ने स्वयं प्रहरी बताउँछ । तर, त्यस्ता बम र विस्फोटक पदार्थहरू खोजी गर्ने र ‘डिस्ट्रोय’ (नष्ट) गर्ने अभियान भने चलेको छैन । जसका कारण नागरिकले अनाहकमा ज्यान गुमाउनु परिरहेको छ ।

पाँचथरबाट निर्वाचित सांसद मैया श्रेष्ठ शान्ति प्रक्रिया अगाडि बढेको दुई दशक भइसक्दासम्म पनि यस्ता अकल्पनीय घटना कसरी र के कारणले भइरहेको भन्ने खोजी गर्नुपर्ने बताउँछिन् । ‘घटनास्थलको प्रकृति बुझ्दा विस्फोट भएको घर १० वर्षदेखि सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्षको कार्यकर्ता रहेको भन्ने आएको छ । द्वन्द्वको क्रममा छाडिएका हतियार र विस्फोटक पदार्थबाट उत्पन्न हुने क्षतिको न्यूनीकरण गर्नेबारे प्रभावकारी कार्य गरिएको छैन,’ श्रेष्ठले भनिन् ।

तत्कालीन विद्रोही पक्ष र राज्य पक्षको लापरबाहीको कारण जथाभावी छोडिएका विस्फोटक पदार्थको खोजी र अनुसन्धान गरी डिस्पोज गरिनुपर्ने सांसद श्रेष्ठको भनाइ छ । उनले बम विस्फोट भएर मृत्यु भएका बालबालिकाको परिवारलाई उचित क्षतिपूर्ति चाँडो दिनुपर्ने र घाइते बालकको उपचारको जिम्मा राज्यले लिनुपर्ने बताइन् ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआइजी चन्द्रकुबेर खापुङले बम डिस्पोज गर्ने कार्यक्रम गर्नुपर्ने महसुस गराएको बताए । ‘प्रहरीसँग पनि यो–यो गर्नुपर्छ भन्ने कार्ययोजना थिएन । सुरुमा सर्च गर्ने र त्यही अनुसार काम गर्ने भन्ने कार्यक्रम थियो । तर, अहिले पनि त्यस्ता घटना भइसकेपछि थप केही गर्नुपर्छ कि भन्ने भइरहेको छ,’ उनले भने ।

द्वन्द्वको लामो समय भइसकेकाले त्यस्तो अप्रिय घटना नहोला भन्ने लागे पनि फेरि देखिएको उनको भनाइ छ । उनी ‘डेट एक्स्पाएर’ भएका विस्फोटक पदार्थको असर झन् खतरनाक हुने बताउँछन् ।

‘डेट एक्स्पाएर हुने त्यस्ता वस्तुहरू झन् खतरनाक हुन्छ । त्यस्ता वस्तुले क्षति नगर्ने पनि र बढी क्षति गर्न सक्ने दुवै सम्भावना हुनसक्छ,’ उनले भने, ‘माइनिङहरू पनि हुनसक्छ । यो विषयमा थप छलफल गर्नुपर्ने आवश्यकता देखियो ।’

नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले द्वन्द्वकालमा छोडिएका त्यसखालका विस्फोटक पदार्थहरूको खोजी गरेर निस्क्रिय गराउने काम राज्यले गर्नुपर्ने बताए । ‘यस्तो विषयमा राज्यले नै पहल लिनुपर्छ । हिजो द्वन्द्व व्यवस्थापनको सन्दर्भमा त्यस्ता विस्फोटक पदार्थ धेरै ठाउँमा हुन सक्छ,’ उनले भने, ‘माओवादीले त्यो विषयको व्यवस्थापन गर्न पनि सक्दैन । सरकारले आवश्यक जनशक्ति खटाएर, अध्ययन गरेर खोजी गर्दै निक्रिय पार्नुपर्छ ।’

यसको मूल दायित्व राज्यकै भएको भन्दै उनले राज्यले नै जिम्मेवारी लिनुपर्ने बताए ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले घटना अकल्पनीय भएको भन्दै प्रदेश सरकारले आवश्यक नीति बनाएर विस्फोटक पदार्थ खोजी गर्ने बताउँछन् ।

‘यो कल्पना बाहिरको घटना भयो । यो विषयमा हामी आवश्यक छलफल गर्छौं । अबको सुरक्षा संयन्त्रको बैठकमा यो विषय एजेण्डा बन्छ,’ अधिकारीले भने, ‘सुरक्षा निकायबाट आएको सुझावको आधारमा केन्द्रसँगको समन्वयमा आवश्यक कार्यक्रम बनाउँछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप