शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
जलन

जब अभिनेत्री रचनालाई ‘एसिड’ छ्यापियो

आइतबार, १६ भदौ २०८१, १६ : ३०
आइतबार, १६ भदौ २०८१

अभिनेत्री रचना गौतम स्कुल ड्रेसमा बिहान ६ः४५ बजे एक्लै स्कुल गइरहेकी हुन्छिन् । बाटोमा नाजिद (कलाकार वीरेन्द्र सिंह कुसुहा) र सांसद (कलाकार क्रान्ति शाह)ले उनलाई कुरेर बसिरहेका हुन्छन् । नाजिद र सांसदले उनलाई रोकेर पानी पिउन अनुरोध गर्छन् । उनले मान्दिनन् । सांसदले त्यो पानी उनको अनुहारमा छ्यापिदिन्छ र दुवै भाग्छन् । त्यो पानी नभएर एसिड हुन्छ ।

आफू अभिनीत फिल्म ‘नमेटिने घाउ’को एक दृश्य सुनाउँछिन् रचना । एसिड आक्रमणमा परेका मुस्कान खातुनसहित ६ पीडितको कथामाथि निर्माण भएको फिल्म हो, ‘नमेटिने घाउ’ । फिल्ममा उनले एसिड पीडित मुस्कान खातुनको भूमिका निर्वाह गरेकी छिन् । 

‘फिल्मका लागि दृश्य दिँदै थिएँ । बोतलमा एसिड नभएर पानी छ भन्ने थाहा थियो,’ रचना भन्छिन्, ‘छायाङ्कनका क्रममा जब एसिड भनेर पानी ममाथि फालियो । मेरो आँखाबाट रियलमै आँसु झर्‍यो ।’ 

टेक ओके भए पनि निर्देशकले यो रियल होइन, सुटिङ हो भनेर उनलाई उल्टै सम्झाउनुपरेको उनी बताउँछिन् ।

यो दृश्यको छायांकन वीरगन्जको त्यही ठाउँमा गरिएको थियो, जहाँ मुस्कानमाथि एसिड प्रहार भएको थियो । त्यो दृश्य छायांकनमा क्रममा मुस्कान पनि सुटिङ युनिटसँग थिइन् । ‘उक्त दृश्यले मुस्कानको घटना फेरि ताजा गरिदियो । उनी भक्कानिएर रोइन्,’ रचना भन्छिन् ।

यस फिल्ममा काम गर्दा आफूले एसिड पीडितहरुको दर्द र पीडालाई केही हदसम्म महसुस गरेको रचना बताउँछिन् । 

म्युजिक भिडियो अभिनयमा रमाइरहेकी रचना फिल्म अभिनय गर्ने मौकाको खोजीमा थिइन् । ‘नमेटिने घाउ’मा अफर आयो । अडिसनमार्फत उनी मुस्कानको भूूमिकामा छानिएकी हुन् ।

457002683_3936722889985963_5096431925790316377_n

उनका लागि मुस्कानको भूमिका त्यति सहज थिएन, चुनौती धेरै थिए । मुस्कानलाई भेटेर उनको बोल्ने शैली, हाउभाउ लगायत सिक्न उनलाई एक वर्षजति लाग्यो । ‘म काठमाडौंमा हुर्किएकी हुँ । काठमाडौंदेखि कहिल्यै बाहिर गएकी थिइनँ,’ रचना भन्छिन्, ‘छायांकनका क्रममा वीरगन्ज बसाइ निकै कठिन भयो । अभिनय गर्दा त मन भारी भएर आउँथ्यो । भोग्नेले कसरी भोग्यो होला ?’ 

फिल्म ‘नमेटिने घाउ’ अहिले प्रदर्शनरत छ । गएको ७ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मलाई उनले मुस्कानका आमाबुबासँगै बसेर हेरेकी थिइन् । सो क्रममा मुस्कानका आमाबुबाले आफूलाई साँच्चिकै मुस्कान देखेको बताएका थिए । ‘मुस्कानकी आमाले मेरो छोरी नै देखिनुभएको छ । म अबदेखि छोरी नै भन्छु है भनेर भन्नुभयो,’ रचना भन्छिन्, ‘अनि मेरो बुबाले मुस्कान बन्ने म हँु भनेर पनि चिन्नुभएन ।’ 

यसलाई उनी अभिनयको सफलताको रुपमा लिन्छिन् । ‘नमेटिने घाउ’मा उनी अनुबन्धित हुँदा मुस्कानको मात्र कथामा फिल्म बन्ने कुरा थियो । निर्माणका क्रममा फिल्ममा ६ एसिड पीडितको कथा राखियो । यसले पनि फिल्म अझ सशक्त भएको उनको बुझाइ छ ।

  • किन बन्यो ‘नमेटिने घाउ’

अभिनेता रमित ढुंगानाले निर्माण र निर्देशन गरेको फिल्म ‘नमेटिने घाउ’को नाम गृह मन्त्रालयका उपसचिव डिजेन भट्टराईले जुराएका हुन् । भट्टराईसँग एक दिन निर्देशक रमितले कथाको कुरा गरेका थिए ।

456574754_3934731870185065_2760634009317820535_n

‘आफन्त वा चिनेको मानिसले एसिड आक्रमण गर्छन् । यो पीडा मनबाट कहिल्यै मेटिन्न,’ रमित भन्छन्, ‘त्यसैले फिल्मको नामै नमेटिने घाउ राखिएको हो ।’

रमितले निर्माण गरेको ‘बुद्ध बर्न इन नेपाल’ फिल्मलाई एकपटक लाइन्स क्लबले बिग मुभिजमा च्यारेटी गरेको थियो । उक्त समय एसिड पीडित मुस्कानका समाचार मिडियामा निकै आएका थिए । सोबाट उठेको दुई लाख रुपैयाँ रमितले मुस्कानलाई सहयोग गरे । त्यही क्रममा मुस्कानले रमितलाई समातेर ‘दाइ म पनि केही गर्न चाहन्छु’ भनेर रोइन् ।

‘त्यही समय मलाई मुस्कानको कथामा फिल्म बनाउन मन लाग्यो,’ रमित भन्छन्, ‘कार्यक्रमबाट फर्किएपछि मैले दाइ अमितसँग फिल्मका विषयमा सल्लाह गरेँ ।’ दाइसँगको छलफलबाट समाजका लागि फिल्म गर्ने निर्णयमा पुगेको उनी बताउँछन् । 

त्यसपछि रमितले फिल्म बनाउन रिसर्च सुरु गरे । रिसर्चको सिलसिलामा प्रहरी कहाँ पुग्दा उनले देशभर ३३ जनामाथि एसिड आक्रमण भएको थाहा पाए । ३३ जनामाथि एसिड आक्रमण हुँदा एकजनाको मात्र गर्दा अन्याय हुने देखेर ६ जनाको कथा फिल्मा राखिएको रमितले खुलाए ।

‘मुस्कानको जीवनी लेख्न म र लेखक शिवम् अधिकारी ५० पटक भन्दा बढी वीरगन्जस्थित मुस्कानको घरमा गएका थियौँ,’ रमितले भने, ‘फिल्ममा चपुरमा दुई दिदीबहिनी, कालोपुलकी जेनी खड्का, नवलपरासीकी वसन्ती परियार, रामराज थापा लगायतको घटना जोडिएको छ ।’ सबैलाई पटकपटक भेटेर कथा तयार गर्न मात्र आफूलाई तीन वर्ष लागेको रमितले बताए ।

‘बायोपिक भनेको अरुको जीवनकथा हो । त्यसमा खेलबाड गर्नु पनि भएन,’ रमित भन्छन्, ‘कथा तयार भएपछि पनि उहाँहरूलाई देखायौँ । उहाँहरुले ठिक छ भनेपछि मात्र फिल्म बनाएका हौँ ।’

फिल्मको सुटिङ ५८ दिनमा सकिएको थियो । पोखरा, नवलपरासी, वीरगन्ज, चपुर, बनेपा र काठमाडौँ लगायत विभिन्न स्थानमा फिल्मको छायांकन भएको छ । साढे दुई करोड खर्च भएको फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको पनि अभिनय छ । 

फिल्ममा सुरवीर पण्डित, सुनिल कटुवाल, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना रचना, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतले अभिनय गरेका छन् । 

मुस्कान खातुनले समेत अभिनय गरेको फिल्ममा प्रहरी उपरीक्षकद्वय बालनरसिंंह राणा, कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सयभन्दा बढी प्रहरी समेत समेटिएका छन् ।

फिल्मले सार्वजनिक प्रदर्शनमा भने त्यति दर्शक पाउन सकेन । ‘मलाई फिल्मको लगानी नउठेकामा त्यति दुःख छैन, निर्माण गर्न सकेकामा गर्व छ,’ रमित भन्छन्, ‘प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री लगायत धेरैलाई फिल्ममा खेलाउन सकेँ ।’ विश्वमा प्रधानमन्त्रीलाई अहिलेसम्म कसैले फिल्म नखेलाएकोे दाबी गर्ने रमित अहिले वल्र्ड रेकर्डको तयारीमा छन् ।

‘आफूहरुको पीडा सबैतिर देखाइदिएकामा सबै एसिड पीडितले हामीलाई धन्यवाद दिएका छन्,’ रमित भन्छन्, ‘यो हाम्रा लागि अर्बाैंको आम्दानी हो ।’ 

  • के–भन्छिन् मुस्कान खातुन ?

फिल्ममा एसिड आक्रमणभन्दा अगाडिको भूमिकामा कलाकार रचना रचनाले अभिनय गरेकी छन् । आक्रमणपछिको आफ्नो भूमिका मुस्कानले आफैँ निभाएकी छन् । 

‘एसिड आक्रमणको घटनाबाट बाहिर आउनुपर्छ । धेरैका लागि प्रेरणा मिल्छ भनेर यो फिल्म निर्माण भएको हो,’ मुस्कान भन्छिन्, ‘मेरो विचारमा फिल्मले एसिड आक्रमणको घटनाबाट बाहिर आउन नसकेकालाई सजिलो गर्छ । एसिड आक्रमणपछि कतिले आफूबाट ठुलो पाप भएको रहेछ भनेर हिम्मत हार्न सक्छन् । फिल्मले उनीहरुलाई हिम्मत दिन्छ, बाँच्न र अगाडि बढ्न बल प्रदान गर्छ ।’

मुस्कानलाई सुरुमा अभिनय गर्न सक्छु जस्तो लागेको थिएन । समाजमा एउटा राम्रो सन्देश जान्छ भन्ने भएपछि उनी फिल्म खेल्न मञ्जुर भएकी थिइन् । अभिनय गर्दा उनले पुराना दिनलाई पुनः स्मरण गर्नुपर्ने हुन्थ्यो, वास्तवमा उनी पुराना दिन बिर्सन चाहन्थिन् । ‘एक किसिमले घटनाबाट धेरै टाढा आइसकेकी मलाई फेरि पहिलेको स्थितिमा उभ्यायो । खाटा बसेको घाउ, कोट्टियो । त्यो समय निकै पीडा हुन्थ्यो,’ उनी भन्छिन्, ‘एउटा घटनाले जीवनभरका लागि सुन्दरता गुमाउनुपर्दाको पीडा शब्दमा गर्न वर्णन सक्दिनँ म । सुटिङमा म पटकपटक रोएँ । खाटा बसेको घाउ कोट्ट्याउँदा पहिलेभन्दा बढी दुख्दो रहेछ ।’

त्यतिबेला बजारमा खुलेआम एसिड किनबेच गर्न नदिएको भए आक्रमणका घटना हुँदैनथ्यो कि भन्ने उनलाई लाग्छ । 

मुस्कानको बुझाइमा एसिड आक्रमण रोक्न एउटा मात्र फिल्म बनाएर पुग्दैन, यो सुरुवात मात्र हो । ‘यो फिल्म कतिले हेर्नुभयो, कतिले हेर्न पाउनुभएन होला, तर मेरो चाहना यस्ता विषय राज्यले पाठ्यक्रममा समेट्नुपर्छ । यसमा पनि मैले पहल गर्नेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप