तीनमहिने छोरासँग सुतिरहेको बेला श्रीमतीले एसिड छ्यापेपछि...
काठमाडौँ । नारी दिवसको दिन थियो अर्थात् २०७६ फागुन २५ गते । दिनभरि माइक्रो चलाएर थाकेका रामराजा थापा क्षेत्री बेलुकी श्रीमती र सानो छोरासँग काठमाडौंको माछापोखरीस्थित डेरामा सुतेका थिए । अकस्मात उनले आफ्नो अनुहार बेसरी पोलेको महसुस गरे ।
उनले आँखा खोल्ने कोसिस गरे तर सकेनन् । त्यसपछि जोडले चिच्याए, उनीसँगै श्रीमतीले पनि चिच्याइन् ।
अर्को कोठामा सुतेका दुई भाइ (सालोहरू) आत्तिँदै आए । यता रामराजा ‘पोल्यो’ भन्दै चिच्याइरहेका थिए । यो पौने १२ बजेतिरको घटना थियो । उनीमाथि एसिड खन्याइएको रहेछ । सालोहरूले उनलाई धारामा लगेर नुहाए । एसिडमाथि चिसो पानी खन्याउँदा आगोमा घिउ थपेझैँ भयो । जलन खप्न नसकेर उनले चिच्याइरहेका थिए ।
सडकमा गुडिरहेको मोटरसाइकलसँग लिफ्ट मागेर कान्छो सालोले उनलाई हतारहतार सामाखुसीस्थित विनायक अस्पताल पुर्याए । कान्छो सालोले उनीसँगै सहचालकको काम गर्थे ।
‘त्यो अस्पताल पुग्दासम्म मैले अलिअलि आँखा देखिरहेको थिएँ । अस्पताले यहाँ उपचार सम्भव छैन भन्यो । त्यसपछि मेरा आँखा बन्द भए,’ लामो सुस्केरा हाल्दै रामराजा सुनाउँछन्, ‘त्यसपछि त मेरो होसहवासै उड्यो । त्यहाँबाट मलाई कान्छो सालोले टिचिङ अस्पतालमा पुर्याए ।’
उनकी श्रीमती प्रतिमा र उनको माइलो सालो ट्याक्सी लिएर टिचिङ अस्पताल आइपुगे । कान्छो सालोले रामराजाका दाजुलाई फोन गरेर खबर गरिदिए । त्यसपछि दाजु पनि रामराजालाई भेट्न अस्पतालमा आए ।
‘मलाई भेटेपछि दाइले कान्छो सालोलाई स्कुटरको पछाडि राखेर कोठा हेर्न गएछन् । तर दाइभन्दा छिटो त श्रीमती कोठामा पुगेर घटना भएका ठाउँको बोतलको टुक्रा टिप्न थालिछन् । दाइले नटिप्नुभन्दा उनले मानिनन्,’ रामराजा भन्छन् ।
त्यसपछि रामराजाका दाइले प्रहरीलाई खबर गरे । प्रहरीले घटनास्थलको अनुगमन गरी घटना भएको कोठा नखोल्न भन्दै बन्द गरेर गए ।
दोषी ठहर भई प्रतिमा जेल परिन् । तर सात महिनापछि उनी धरौटीमा छुटिन् । यो खबरले रामराजाको घाउ फेरि बल्झियो ।
यता रामराजाको बायाँ कान, दुवै आँखा, दाहिने हात र दाहिने खुट्टामा बढी एसिड परेको थियो । टिचिङ अस्पतालले पहिल्यै मान्छे बचाउन सक्छौँ तर आँखा बचाउन सक्दैनौँ भन्यो । त्यहाँको उपचारपछि कीर्तिपुर अस्पताल लगियो । कीर्तिपुर अस्पतालले पनि आँखाको उपचारको ग्यारेन्टी दिन सक्दैनौँ भन्यो ।
यता प्रतिमाले प्रहरीले लगाएको ताल्चा अर्को चाबीले खोलेर भित्र पसेको घरबेटीले देखेछन् र प्रहरीलाई खबर गरिदिए । प्रहरीले अनुसन्धानका लागि प्रतिमासहित दुई सालोलाई पनि पक्राउ गरे ।
हिरासतमा राखेर उनलाई सोधपुछ गरियो । प्रतिमाले बाहिरबाट कसैले छ्यापेर गएको हुन सक्ने बताइन् । प्रहरीले रामराजालाई पनि अस्पतालमै आएर सोधपुछ गर्यो । रामराजाले बाहिरबाट छ्यापेको नभएर प्रतिमाले छ्यापेको हुन सक्ने प्रहरीलाई बताए ।
सुत्नुअघि राजारामले कोठाको एउटा बत्ती बालेका थिए । झ्याल–ढोका दुवै बन्द गरेर सुतेका थिए । कम्पाउन्ड भएको घरको एक तलामाथि जो–कोही छिर्न सहज थिएन ।
बाहिरबाट आएर छ्यापेको भए कि झ्यालको सिसा फुटेको हुनुपर्ने कि त ढोका खुलेको हुनुपथ्र्यो तर त्यसो भएको थिएन ।
घटना भएको दिन कुनामा रामराजा, बिचमा प्रतिमा र छेउतिर छोरा सुतेका थिए । बाहिरबाट हानेको भए श्रीमतीलाई र छोरालाई पनि पर्नुपर्ने प्रहरीले अनुमान लगायो । तर एसिड रामराजालाई मात्रै परेको थियो ।
प्रतिमाले नै प्रतिशोध साँधेको हुन सक्ने भनी राजराजाले प्रहरीलाई बताएका थिए । धरान–काठमाडौँ माइक्रो चलाउने रामराजालाई महिला प्यासेन्जरको फोन आइरहन्थ्यो । काठमाडौँ आएकाहरूले धरान फर्कन र धरान गएकाहरूले काठमाडौँ फर्कनका लागि रामराजालाई प्यासेन्जरले फोन गर्ने गर्थे, जसमा महिला पनि हुन्थे । रामराजा भन्छन्, ‘महिलाहरूको फोन आउँदा उनीसँग मसँग झगडा गर्थिन् ।’
दोषी ठहर भई प्रतिमा जेल परिन् । तर सात महिनापछि उनी धरौटीमा छुटिन् । यो खबरले रामराजाको घाउ फेरि बल्झियो ।
यो बिचमाा रामराजाको कान, आँखा र अनुहारको आठपटक शल्यक्रिया भएको थियो । धेरै सन्चो भइसकेका थिए राजाराम । एसिडले पोलेको घाउमा खाटा बस्न लागेको थियो ।
धरौटीमा छुटेकी श्रीमतीलाई उनले आफूसँग राखेनन् । उनी छुट्टै डेरा खोजेर बसे । रामराजाका दाजुले फेरि बालाजु प्रहरीमा निवेदन दिए । निवेदन दिएको दुई वर्षपछि मात्रै प्रतिमालाई अदालतले तीन वर्ष कैद र ५० हजार जरिवाना सहितको फैसला सुनायो ।
अझै पनि रामराजाको मनमा शान्ति छाउन सकेन । अहिले उनकी श्रीमती कारगारमा छिन् । आगामी मंसिर २२ गते उनको कारागार अवधि सकिँदै छ ।
‘उनलाई पाँच वर्षदेखि आठ वर्ष कैदको सजाय हुनुपर्ने हो तर थोरै भयो । पाँच वर्ष कारबाही भएको भए पनि मेरो मनमा शान्ति मिल्थ्यो । उनीलाई पनि चेत आउँथ्यो,’ रामराजा भन्छन्, ‘अब म उनीसँग सम्बन्ध विच्छेद चाहन्छु । बरु कसरी हुन्छ उनी जेलमा छँदै सम्बन्धविच्छेद गर्ने तयारीमा छु । म उनलाई माफ गर्न सक्दिनँ ।’
झगडा हुँदा आवेशमा कुनै धारिलो हतियारले नै हानेको भए पनि माफी दिन सक्ने उनी बताउँछन् । षड्यन्त्रपूर्वक प्रतिशोध साँधेकाले माफ गर्न नसक्ने उनको भनाइ छ ।
- अझै ५ लाख छ ऋण
नुवाकोटको विदुर नपा– १३ का रामराजाले २०६६ सालमा एसएलसी गरे र २०६८ सालमा काठमाडौँ आए ।
काठमाडौँमा दाजुको डेरामा बसेर उनले चकलेट कम्पनीमा मार्केटिङको काम गर्न थाले । दिनभर पसल–पसलमा गएर चकलेटको अर्डर लिनुपथ्र्यो । उनका दाजुले गाडी चलाउँथे । उनलाई पनि गाडी चालक बन्ने रहर लाग्यो । दाजुले पनि गाडी सिक्न सल्लाह दिए । त्यसपछि उनी लगनखेल–रत्नपार्क चल्ने दाजुकै गाडीमा तीन महिना सहचालकको काम गरे । त्यसपछि चालक अनुमतिपत्र प्राप्त गरेर काठमाडौँ–धरान माइक्रो चलाउन थालेका थिए ।
२०६९ सालमा उनको विवाह प्रतिमासँग भयो । विवाहपछि उनीहरू माछापोखरीमा डेरा गरी बस्न थालेका थिए । विवाह भएको सात वर्षपछि (२०७६ साल) उनीहरूले छोरालाई जन्म दिए । तर त्यसको तीन महिनामै राजाराम एसिड आक्रमणको सिकार भए ।
घटना भएको दिन उनी ५ बजेतिर डेरामा पुगेका थिए । पहिले उनीसँग सहचालकको काम गर्ने माहिलो सालो पनि आएकाले त्यस दिन उनीहरू केहीबेर सँगै तास खेलेर साढे ९ बजेतिर खाना खाएर सुतेका थिए ।
उपचार सकिएपछि उज्ज्वलविक्रमकै पहलमा रामराजाले महान्यायाधिवक्ताको कार्यालयमा कार्यालय सहयोगीको रूपमा काम पाए । तत्कालीन महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले करारमा जागिर लगाइदिएका सुनाउँछन् ।
एसिड आक्रमणमा परेपछि राजारामको उपचार खर्च जुटाउन निकै कठिन भएको थियो । सुरुमा त उपचार गर्न पैसा नभएकाले बाँचिएला भन्ने आशा मारेका थिए । उनका दाजुले ऋणधन गरेर उपचार गराए ।
समाजसेवी उज्ज्वलविक्रम थापाको सहयोगले रामराजाको बाँच्ने आशा जगायो । ‘जलनको उपचार धेरै महँगो रहेछ । मेरो उपचारका लागि १३ लाखभन्दा बढी खर्च भयो । त्योबेलामा लिएको पाँच लाख ऋण अझै पनि तिर्न सकेको छैन,’ रामराज भन्छन्, उज्ज्वलविक्रम दाइले त्योबेला ठुलो गुन लाउनुभो । ५–६ लाख सहयोग आयोे ।’
- करारको जागिर स्थायी बनाउन माग
उपचार सकिएपछि उज्ज्वलविक्रमकै पहलमा रामराजाले महान्यायाधिवक्ताको कार्यालयमा कार्यालय सहयोगीको रूपमा काम पाए । तत्कालीन महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले करारमा जागिर लगाइदिएका सुनाउँछन् ।
पहिला जागिर गर्दा उनको मासिक तलब २१ हजार ५०० रुपैयाँ थियो । अहिले बढेर २४ हजार ४ सय पुगेको छ ।
अहिले रामराजा कलंकीमा डेरा गरेर बस्छन् । साथमा पाँच वर्षीया छोरा पनि छन् । छोरा प्लेग्रुपमा अध्ययनरत छन् । ‘काठमाडौँमा बाबु पढाउनुपर्यो । कोठाभाडा तिर्नैपर्यो । केले पुग्छ र ? यस्तो महँगी छ, जसोतसो गुजारा गर्न ठिक छ । ऋण तिर्ने त कहिले पो हो ।’
यस्तै कार्यालय आउँदा कहिले दाजुले ल्याइदिन्छन्, कहिले कार्यालयकै गाडीले । कहिले आफैँ सार्वजनिक यातायातमा पनि आउँछन् ।
उनलाई डाक्टरले घामबाट जोगिन भनेका छन् तर कार्यालयको चिठीपत्र पुर्याउन बाहिर जानुपर्छ । त्यति बेला उनको घाउ चर्किन्छ । जीवनभर उपचार गरिराख्नुपर्ने उनको चोट छ ।
पुनः सवारी चालक बन्न पनि सक्ने अवस्थामा उनी छैनन् । किनभने उनको दुवै दृष्टि निकै कमजोर भएको छ । चस्माको सहारामा अलिअलि मात्रै देख्छन् ।
करारको जागिर आज हो कि भोलि हो भन्ने टुङ्गो छैन । सरकारले स्थायी बनाइदिए हुन्थ्यो भन्ने आशामा छन् उनी । जलनका पीडितका लागि औषधि उपचारका लागि सरकाले आर्थिक सहयोग गर्ने नीति ल्याए पनि कार्यान्वयन हुन नसकेको उनको गुनासो छ ।
‘यो मेरो मात्र समस्या होइन, सबै एसिड पीडितको समस्या हो । सरकारले नीतिगत रूपमा जलनसम्बन्धी औषधि उपचार खर्च सहयोग गर्ने भनेको छ,’ उनी भन्छन्, ‘तर कार्यान्वयन हुन नसक्दा पीडितहरू समस्यामा छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षित कारोबार ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयकमा सांसदको विरोध
-
भन्सार शुल्क घटाउँदा पनि किन घट्यो सुन आयात ?
-
सुशासन स्थापित गर्न दुई ठुला दल मिलेर सरकार बनाएका हौँ : मन्त्री राणा
-
इसेवा र मोबाइल बैंकिङमा समस्या
-
राजधानीमा बलात्कारपछि १७ वर्षीया किशोरीको हत्या प्रकरण : आरोपी नातेदार
-
समितिमा विचाराधीन विधेयकको विषयमा सत्तारूढ दलहरूले छलफल गर्ने