बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
जलन

‘आवाज उठाएर मात्र केही हुँदैन भनेर संसद्‍मा विधेयक नै दर्ता गरेँ’

आइतबार, १६ भदौ २०८१, १५ : ०८
आइतबार, १६ भदौ २०८१

प्रतिनिधिसभा सदस्य विन्दवासिनी कंसाकार नेपालमा जलन उपचारसम्बन्धी अस्पताल हरेक प्रदेशमा विस्तार गर्न आवश्यक रहेको बताउँछिन् । स्वयं जलनपीडित कंसाकारले जलनसम्बन्धी समस्यालाई समेटेर गैरसरकारी विधेयक पेस गरेकी छन् । उक्त विधेयकले यससम्बन्धी धेरै विषयलाई सम्बोधन गरेको उनको भनाइ छ । 

प्रस्तुत छ, उनै कंसाकारसँग गरिएको संवादको सम्पादित अंश :

  • प्रतिनिधिसभाको सदस्यका रूपमा यहाँले जलनसम्बन्धी कुन कुन विषय उठान गर्नुभएको छ ?

एक सांसदका रूपमा सुरुदेखि नै जलनसँग सम्बन्धित समस्यालाई उठान गर्दै आइरहेकी छु । जलन कुनै एउटा मात्र कारणले हुने होइन । जलनका घटना हुने धेरै कारण छन् । त्यसमध्ये पहिलो कारण आगलागी हो । घटना, दुर्घटना, आपराधिक क्रियाकलापका साथै मुख्य रूपमा लापरवाहीपूर्ण कामबाट जलनका घटना हुने हुन् । यी सबै विषयलाई मैले सदनमा धेरैपटक उठाएकी छु । 

मैले उठाएका विषयमा खासै सुनुवाइ त भएको छैन । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा जलनका लागि भनेर सानो बुँदा समावेश गरेको पाएकी छु । नीति तथा कार्यक्रममा आएको कुरा बजेटमा जान्छ भन्ने निश्चित नहुने भए पनि यस वर्षको बजेटमा पनि थोरै समावेश चाहिँ भएको छ । 

अघिल्लो वर्ष पनि थोरै जलनको कुरा बजेटमा आएको थियो । तर जलनको कुन क्षेत्रमा काम गर्ने भन्ने थिएन । सधैँ यस्तै हुने हो भने सदनमा आवाज उठाएर मात्र पनि केही हुँदैन भनेर मैले विधेयक नै दर्ता गरेँ । 

  • तपाईंले संघीय संसद्मा दर्ता गरेको गैरसरकारी विधेयक अझै किन अघि बढ्न सकेको छैन ?

यो मानवतासँग जोडिएको विधेयक हो । सन् २००६ को डब्लुएचओको डाटा अनुसार वार्षिक ६० देखि ६५ हजार मानिस जलिरहेका छन् । यीमध्येकै केही प्रतिशत मान्छे मात्र अस्पताल पुगिरहेका छन् । यति धेरै मानिसलाई राज्यका तर्फबाट कुनै किसिमको सुविधा हुने गरेको छैन । 

हामीले जलनसम्बन्धी विधेयक बनाउँदै गर्दा विभिन्न निकायबाट तथ्याङ्क पनि मागेका थियौँ । यद्यपि यसबारे वास्तविक तथ्याङ्क हामीले कतैबाट पाएनौँ । 

धेरै मानिस अस्पताल त पुग्छन् तर उनीहरूसँग कहिले कुरुवा हुँदैनन् । कुरुवा नभएपछि अस्पताल उपचार गर्न डराउँछ । कहिलेचाहिँ बिरामी र बिरामीको परिवारसँग पैसा हुँदैन । यसकारण पनि उहाँहरू उपचारबाट वञ्चित भइरहेको अवस्था छ । यी सबै विषयलाई हामीले विधेयकमा राखेका छौँ । राज्यले उहाँहरूलाई कसरी मद्दत पुर्‍याउनुपर्छ, राज्यले कसरी आफ्नो दायित्व निभाउनुपर्ने हो भन्ने मानवताको विषय हो । 

हरेक प्रादेशिक अस्पतालमा जलनसम्बन्धी वार्ड छुट्ट्याउन आवश्यक छ । जहाँ कुनै नागरिक कुनै कारणले जलनका घटनामा पर्छन्, त्यहीँको अस्पतालमा सेवा–सुविधा लिन पाऊन्, यसो गर्दा उनीहरूको परिवारलाई पनि सहज हुन्छ ।

शरीरमा अरु कुनै रोग भए अप्रेसन गरेर त्यो रोगलाई हटाउने गरिन्छ, तर यस प्रकृतिको उपचारले जलनको उपचार हुँदैन । जलनको उपचार जिन्दगीभरि चलिरहन्छ । म आफैँ पनि जलन पीडित हुँ, मैले उपचार गराइरहेको ११ वर्ष भइसक्यो । अझै कहिलेसम्म उपचार गराइरहनुपर्छ भन्ने थाहा छैन । 

सरकारी स्वास्थ्य संस्थामा जलनका बिरामीले कम्तीमा प्राथमिक उपचार पाउनुपर्‍यो भनेर मैले विधेयक दर्ता गराएकी हुँ । नेपालमा जति पनि जलनका अस्पताल छन्, ती सबै काठमाडौँकेन्द्रित छन् । उपत्यका बाहिरका अस्पतालले सामान्य जलनका बिरामीलाई पनि काठमाडौँमा पठाउने गर्छन् । सामान्य जलन भएका बिरामीलाई जिल्ला अस्पतालमा पनि उपचार गरेर पठाउन सक्नुपर्ने हो खासमा ।

हरेक प्रादेशिक अस्पतालमा जलनसम्बन्धी वार्ड छुट्ट्याउन आवश्यक छ । जहाँ कुनै नागरिक कुनै कारणले जलनका घटनामा पर्छन्, त्यहीँको अस्पतालमा सेवा–सुविधा लिन पाऊन्, यसो गर्दा उनीहरूको परिवारलाई पनि सहज हुन्छ । कुनै परिवारको एकजना मानिस अस्पतालमा भर्ना हुनुपर्‍यो भने त्यस परिवारका आफन्त समेत गरी पाँच जनासम्म प्रभावित हुन्छन् । त्यसैले नजिक अस्पताल हुन आवश्यक छ  ।

  • यति राम्रा प्रावधान राखेर यहाँले संसद्मा दर्ता गराएको विधेयकलाई सरकारले अगाडि बढाउन चासो नदिएजस्तो देखियो, यसमा यहाँले के कस्ता पहल गर्दै हुनुहुन्छ ? 

व्यक्तिगत रूपमा मैले पहल गरिरहेकी छु । पार्टीको तर्फबाट पनि पहल गर्छौं नै । हामीले यो विधेयक सभामुखमार्फत संसदमा लिएर जानुपर्ने हो । पहिले केही दिन संसद बन्द थियो । फेरि संसद सुरु भएको छ । विधेयकका बारेमा सभामुखसँग कुरा गर्ने तयारी गरेका छौँ । मैले हरेक पार्टीका सांसदसँग यस विधेयकबारे कुरा गर्दा सबै सकारात्मक हुनुहुन्छ । 

अहिलेको विधेयकमा जलनका घटना गराउने अपराधीलाई कडा कारबाही र सजायको व्यवस्था गर्ने प्रावधान प्रस्तावित छ ।
  • नेपालमा अपराधीका कारण जलनपीडित हुनुपर्ने अवस्था छ । तेजाब आक्रमण पनि भइरहेका छन्, त्यसो गर्नेमाथि कानुनी कारबाहीको अवस्था कस्तो पाउनुभएको छ ? 

केही दिनअघि मात्रै मैले जलनपीडितहरूलाई भेट्ने मौका पाएकी थिएँ । श्रीमती जलाउने र आत्महत्याका लागि उक्साहट गर्नेजस्ता घटना पनि मैले भेटेकी छु । यस्ता घटनामा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता हुने गरेको छ । ज्यान मार्ने कसुरमा जुन सजाय हुन्छ, त्यही अनुसार नै अपराधीमाथि कारबाही हुँदै आएको छ । मेरै घटनामा ममाथि आक्रमण हुँदा पनि अपराधीलाई ज्यान मार्ने मुद्दा चलेको थियो र त्यही अनुसार नै फैसला भयो । 

अहिलेको विधेयकमा जलनका घटना गराउने अपराधीलाई कडा कारबाही र सजायको व्यवस्था गर्ने प्रावधान प्रस्तावित छ । सकेसम्म आफूले जानेको, बुझेको, देखेको विषय समेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका टिम नै संलग्न रहेर विधेयक निर्माण भएको हो । जलनका घटनाबाट घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राज्यका तर्फबाट गर्नुपर्ने उद्धार, उपचार र क्षतिपूर्ति दिनुपर्ने प्रावधान विधेयकमा राखेका छौँ । उनीहरूको योग्यता अनुसार राज्यले रोजगारीको व्यवस्था गर्नुपर्ने प्रावधान पनि छ ।

  • जलनका घटनाका पीडितले क्षतिपूर्ति पाउने, उपचार सुविधा पाउने आदि सुविधा अहिले छन् कि छैनन् ? 

राज्यका तर्फबाट राहत र क्षतिपूर्तिको कुनै व्यवस्था छैन । गैरसरकारी संस्थाहरूले भने विभिन्न खालका सहयोग गर्ने गरेको अवस्था छ । नेपालमा क्षतिपूर्ति पाउन भने धेरै गाह्रो छ । 

  • जलनका घटनामा परेका व्यक्तिको उपचारको प्रक्रिया कतिको कठिन छ ? 

म तपाईंलाई सानो उदाहरण दिन चाहन्छु, कसैलाई छालाको रोग भयो भने त्यसै ठिक हुन्छ त ? कति कठिन हुन्छ, त्यो छालासम्बन्धी रोग ठिी पार्न ! कति थरीका औषधी प्रयोग गर्नुपर्ने हुन्छ । 

एक ठाउँबाट निकालेको छाला जलन भएको ठाउँमा सपोर्ट नगर्दा फेरि अर्को प्लास्टिक सर्जरी गर्नुपर्ने हुन्छ । त्यसबाट दुःख–कष्ट कति हुन्छ भन्ने वर्णन गरेरै सकिँदैन ।

जलनका घटनामा त छाला जलेको हुन्छ । ६ तहको छालाभन्दा पनि बढी जलेको पाइन्छ । त्यो जलेको ठाउँमा आफैँ छाला पलाउँदैन । हामीले आफ्नै शरीरको अन्य कुनै भागको छाला निकालेर हाल्नुपर्छ । पोलेको ठाउँको घाउ त छँदै छ, अर्को ठाउँबाट निकालेर फेरि त्यहाँ टाँस्न झनै पीडादायक छ । त्यहाँ अन्य कुनै अर्को व्यक्तिको छाला ल्याएर राख्न मिल्दैन । शरीरको एक ठाउँको छालाले अर्को ठाउँमा सपोर्ट गर्छ कि गर्र्दैन भन्ने पनि समस्या हुन्छ । 

एक ठाउँबाट निकालेको छाला जलन भएको ठाउँमा सपोर्ट नगर्दा फेरि अर्को प्लास्टिक सर्जरी गर्नुपर्ने हुन्छ । त्यसबाट दुःख–कष्ट कति हुन्छ भन्ने वर्णन गरेरै सकिँदैन । अहिले हेर्ने हो भने सबैभन्दा धेरै जलनका घटनामा गरिबहरू नै पर्ने गरेका छन् । छारे रोगको सिकार भएकाहरू धेरै जस्तो जलनको घटनामा परेर अस्पताल पुगेको पनि धेरै भेटिनुहुन्छ । खाना बनाइरहेका बेला छारे रोगले समाउँदा तातो खाना नै आफूमाथि घोप्टिने, नजिकै भएको आगोले जलेर अस्पताल पुगेको घटना पनि हुन्छन् ।

  • नेपालमा जलनको उपचार सुविधालाई तपाईंले कसरी लिनुभएको छ ? 

पहिलेको तुलनामा अहिले उपचार सेवा धेरै राम्रो छ, तर पनि डाक्टरहरु विभिन्न उपकरणको अभाव रहेको सुनाउँछन् । सरकारले आवश्यक त्यस्ता उपकरणको व्यवस्था गर्नुपर्छ  । 

राज्यले नै पीडितलाई हेर्नुपर्छ । ‘मेड इन नेपाल, मेक इन नेपाल’को जुन नारा छ, जलनको उपचार भएका व्यक्तिले पनि यस्ता योजनामा काम गर्न सक्छन् ।
  • जलनका घटनामा परेका व्यक्तिलाई उपचारपछि समाजमा पुनस्र्थापित हुन के–कस्ता समस्या आइलाग्छन् ? 

जलनमा परेर उपचार गरेकाहरूको अवस्था गम्भीर छ । धेरैजसो विभिन्न सामाजिक संस्थाको साथमा बस्नुभएको छ । खानाको पनि समस्या भएका कारण कतिपय विभिन्न संघ–संस्थाको सहयोगमा रहेका छन् । जलन भएका व्यक्तिको बच्चा छ भने उसको पनि जीवन खराब भइरहेको अवस्था छ । उपचारपछि पहिलेकै काम गर्छु भनेर जाँदा समाजले उहाँहरूलाई स्वीकार गर्दैन । आफ्नो शारीरिक समस्या छुट्टै छ, अर्कोतिर मानसिक समस्या थपिन्छ । त्यसमाथि समाजले नअपनाइदिँदा वा सहयोग नगर्दा धेरै गाह्रो हुन्छ । विभिन्न एनजीओकै छानामुनि बस्नुपर्ने बाध्यता छ । काम गर्न चाहन्छु भन्नेहरूले काम नपाएको अवस्था छ । मैले उहाँहरूलाई अध्ययन गरेर आफ्नो योग्यता, सीप बढाउन र त्यही अनुसारको काम गर्न सुझाव दिने गरेको छु । 

  • जलन पीडितहरूलाई राज्यले कसरी सम्बोधन गर्नुपर्छ त ?

राज्यले नै पीडितलाई हेर्नुपर्छ । ‘मेड इन नेपाल, मेक इन नेपाल’को जुन नारा छ, जलनको उपचार भएका व्यक्तिले पनि यस्ता योजनामा काम गर्न सक्छन् । उहाँहरूले अहिले पनि हस्तकलाका सामान बनाइरहेको अवस्था छ । विभिन्न प्रकारका ह्यान्डीक्राफ्ट बनाएर उहाँहरूले बिक्री–वितरण गरिरहेको अवस्था छ । उहाँहरूले कम्पनी नै खोलेर काम गर्न सक्नुहुन्छ । नेपालमा मात्र नभएर यसको बजार विदेशमा विस्तार गर्न सरकारले पहल गर्नुपर्छ । 

मैले विधेयकमा धेरै कुराहरू लेखेकी छु, जलनमा परेका व्यक्तिको पहिलो उपचारका लागि कम्तीमा २५ हजार रुपैयाँ राज्यले व्यवस्था गर्नुपर्छ भन्ने मेरो धारणा छ । जलेर अस्पताल आएको मान्छेका लागि यति रुपैयाँ त केही पनि होइन, तर प्राथमिक उपचारका लागि सहयोग हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप