बिहीबार, २९ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

‘क्याडर’ जुधाउँदा माधव र घनश्याममाथि प्रश्न, असन्तुष्टि थामथुमको प्रयास

आइतबार, १६ भदौ २०८१, १४ : ४९
आइतबार, १६ भदौ २०८१

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गर्दै गठन भएको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले झण्डै तीन वर्षपछि कर्मकाण्डी महाधिवेशन गर्‍यो ।

महाधिवेशनको डेढ महिनापछि भदौ दोस्रो साता पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि पार्टीका नेता कार्यकर्ताहरूमा चर्को असन्तुष्टि पैदा भएको छ । जसका कारण गोरखा, बाग्लुङ, चितवन, दोलखा लगायतका नेताहरू पार्टी नै छाड्ने अवस्थामा पुगेका छन् ।

नेतृत्व चयनका सवालमा मुल नेतृत्वले अविवेकी व्यवहार गर्नुका साथै अनुहार र गन्ध हेरेर काखापाखा गर्दा पार्टीको समग्र अस्तित्वमाथि नै प्रश्न उठ्न पुगेको असन्तुष्ट नेता कार्यकर्ताहरूको भनाइ छ ।

किस्ताबन्दी र नेताका खल्तीका मान्छे राखेर तीन वटै कमिटीले पूर्णता पाए पनि यो पार्टीका नेता–कार्यकर्ता (अवसरवादी बाहेक)अलपत्र परेको महसुस गर्दै आफ्नो राजनीतिक भविष्यप्रति चिन्ता प्रकट गर्न बाध्य भएका छन् । एमाले अध्यक्ष ओलीसँग विद्रोह गरेर पार्टी गठन गर्न अगुवाइ गर्ने नेता–कार्यकर्ता नै पार्टीमा भविष्य नरहेको भन्दै विकल्प सोच्न थाल्दा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसालमा भने शक्ति क्षीण हुँदै गएकोमा कुनै चिन्ता नदेखिएको धेरैको बुझाइ छ ।

नेताद्वयलाई मजबुत संगठन निर्माणको चटारोभन्दा पनि पद बचाउने पिरलो बढ्ता हुँदा पार्टीको अस्तित्व खिइँदै गएको भेउ नै पाउन छाडेको अनुभव कार्यकर्ता पंक्तिको छ ।

अहिले नै कतिपय केन्द्रीय तहका नेता र सिंगै जिल्ला कमिटीहरू एमालेमा विलिन भैसकेका छन् भने कतिपय प्रक्रियामा छन् । अझ सांसदहरू त सबैजसो निष्क्रिय भइसकेका छन् ।

पार्टी गठन हुँदा उत्साह र विद्रोही चेतका साथ जोडिएका नेता कार्यकर्तामा यो हदसम्मको निराशा छाउनुमा अध्यक्ष नेपालसहित महासचिव भुसालको कार्यशैली र व्यवहार नै प्रमुख कारण रहेको उनीहरूको दाबी छ ।

‘नेतृत्व चयनमा देखाइएको रवैयाले अब यो पार्टी बन्दैन, बरु विघटनमा जान्छ भनेर धेरै साथीहरूले भन्न थालेका छन् । पार्टी निर्माणका क्रममा एकतामा आएका धेरै साथीहरूलाई लाखापाखा लगाइयो’, पुराना नेता केशवलाल श्रेष्ठ भन्छन्, ‘घातमात्र होइन, ममाथि नै ठुलो अपमान भयो ।’

नेता श्रेष्ठले पछिल्लो घटनाले पार्टी एकताका साथै पार्टीलाई मजबुत बनाउनुपर्छ भन्ने मान्यता राख्ने इमानदार नेता कार्यकर्ताको उत्साह र जोश मरेको पनि बताए ।

‘पार्टी नेतृत्वको अविवेकपूर्ण व्यवहार तथा अनुहार र गन्ध हेरेर काखापाखाको शैलीले पदाधिकारी र पोलिटब्युरोसहित नेतृत्व चयन गर्ने कोसिस भयो’, नेता श्रेष्ठले रातोपाटीसँग भने, ‘यसले पार्टीभित्र एकता होइन, अनेकता सिर्जना गर्ने र पार्टी बनाउने उत्साहसहितको जोश–जाँगरलाई मार्ने काममात्र भयो, जुन दुर्भाग्यपूर्ण हो ।’

श्रेष्ठ पदाधिकारीको चुनावमा उपाध्यक्ष पदका उम्मेदवार थिए । सहमतिमा पदाधिकारी चयन भए कुनै पद नलिने घोषणा गरेका श्रेष्ठलाई अध्यक्ष नेपालसहितका नेताहरूले नै उपाध्यक्षको उम्मेदवार बन्न भनेका थिए । तर नेपालकै असहयोगले आफू पराजित बन्नुपरेको श्रेष्ठले बताए ।

आए आँप, गए झटारो

नेपालसहितका नेताहरूले तत्कालीन एमालेसँग विद्रोह गर्दा महासचिव भुसाल नेपालको समूहमा नलागी १० बुँदे सम्झौता गरेर एमालेमै बसेका थिए । प्रकारान्तरमा एमालेले कुनै स्थान नदिएपछि भुसालको यात्रा एकीकृत समाजवादीतर्फ मोडियो । त्यसैले पनि होला, भुसाललाई कतिपयले भन्छन्,— उनका लागि एकीकृत समाजवादी ‘आए आँप, गए झटारोमात्र हो ।’

जतिबेला माधव नयाँ पार्टी गठन गरेर संरचना निर्माणमा व्यस्त थिए, त्यतिबेला अर्थात् २०७८ मंसिरमा भुसाल एमालेको सौराहा महाधिवेशनमार्फत उपाध्यक्षका लागि मैदानमा उत्रिँदै थिए । त्यो पनि एमाले अध्यक्ष केपी ओलीको चाहाना विपरीत । ओलीको चाहानाविपरीत भुसाल उपाध्यक्षमा निर्वाचन लडे पनि सफलता प्राप्त गर्न सकेनन् । आफ्नो चाहनाविपरीत महाधिवेशनमा उम्मेदवारी दिएका भुसाललाई ओलीले २०७९ को निर्वाचनमा सांसदको टिकट दिनै कुरै थिएन । एमालेबाट टिकट नपाएपछि भुसाल कांग्रेस–माओवादीसहितको तत्कालीन गठबन्धनको सहयोगमा स्वतन्त्र निर्वाचन त लडे तर त्यहाँ पनि उनलाई सफलता मिलेन ।

त्यसपछि औपचारिक रूपमा एकीकृत समाजवादीमा प्रवेश गरेका भुसाल केही समयपछि महासचिवमा मनोनीत भए । पार्टी संगठनको जग निर्माणको चरणमा महासचिवको जिम्मेवारी पाएका भुसालले पहिलो कार्यकालमा गर्वलायक संगठन निर्माण गर्न छाडेर बरु भित्रभित्रै गुट निर्माणमा ब्यस्त बनेको परिणाम नेतृत्व छनोटमा देखिएको धेरै नेता कार्यकर्ताको बुझाइ छ । 

नेपाललाई भुसालको चुनौती

गुटकै कारण भुसालले पहिलो महाधिवेशनमै अध्यक्ष नेपाललाई चुनौती दिएर अध्यक्षमा प्रतिस्पर्धा गर्न खोजेका थिए । भुसालको यस्तो चाहना पूरा हुन दिने पक्षमा माधव कुनै हालतमा तयार भएनन् । त्यसका लागि नेपालले भुसाललाई रोक्नुपर्ने चुनौती छँदैथियो । पुस्तान्तरणको माहोल खडा गरेर अध्यक्षको दाबीसहित (झलनाथ खनालको आडमा) महाधिवेशनमा हेलिएका भुसालकोे चुनौती पन्छाउनुपर्ने बाध्यता नेपालमाथि जब आइलाग्यो, तब झण्डैझण्डै ‘एक्जिट’ कै बाटो रोज्नुपर्ने त होइन भन्नेको चर्चा पार्टीभित्र चल्न पुग्यो ।

भुसालको मनसाय बुझेका र झण्डै ६ दशक लामो राजनीतिक इतिहास बोकेका नेपालले उपाय लगाए– ‘सहमतिका आधारमा अध्यक्ष, महासचिव र सम्मानित नेताको पदमा सर्वसम्मत गराउने ।’

सोही योजना मुताविक ती पदमा क्रमशः आफैँ (माधव नेपाल), भुसाल र खनाल सर्वसम्मत निर्वाचित भएको घोषणा पनि गरियो । तर महाधिवेशन प्रतिनिधिहरू अध्यक्षबाहेकको पदमा निर्वाचन हुनुपर्ने पक्षमा थिए ।

मतदानमार्फत सिङ्गो केन्द्रीय कमिटी र पदाधिकारी चयन गर्नुपर्ने आवाजलाई नेतृत्वको स्वार्थले दबाउने प्रयास महाधिवेशन हुँदै पहिलो पूर्ण केन्द्रीय कमिटी बैठकमा पुग्दासम्म प्राथमिकता पायो ।

Madhav-Ghana_IQOueE7rN1

मतदानमार्फत नेतृत्व चयन गर्दा पुराना धेरै नेताहरू फालिने भएपछि सहमतिको नाममा असारमै तीन पदाधिकारीसहित ९३ जना केन्द्रीय सदस्य घोषणा त भयो, सँगसँगै त्यहीँबाट यो पार्टीमा गुटको गन्ध पनि औपचारिक रूपमा सतहमै फैलन पुग्यो ।

त्यसपछि बाँकी २५१ जना केन्द्रीय सदस्य मनोनीत गर्दा पनि नेपाल, भुसाल र खनालले गुटगत आधारमा ‘पजनी’ गरे । पजनीमा परेका ३४४ जना केन्द्रीय कमिटी सदस्यमार्फत १८ पदाधिकारी र पोलिटब्युरो सदस्य छान्नुपर्ने काम अझै बाँकी नै थियो । त्यो कामका लागि केही समय नेताहरू सहमतिका नाममा भागबण्डाकै खेलोमेलोमा अल्मलिए तर आकाङ्क्षी धेरै हुँदा त्यो प्रयास पनि सफल भएन ।

नेतृत्वलाई भागबण्डा र गुट व्यवस्थापन कठिन भइरहेका बेला भदौ ९ गते बोलाएको केन्द्रीय कमिटी बैठकलाई अध्यक्ष नेपालले केही दिन लम्ब्याए पनि वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे बाहेकमा सहमति भएन र अरु पदाधिकारीसहित पोलिटव्युरो सदस्य छान्न मतदानकै प्रक्रिया रोज्नुपर्‍यो । अनि तिनै ३४४ जनाबाट मतदान गराएर ६ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव निर्वाचित गरियो ।

पोलिटव्युरो र पदाधिकारी चयन गर्ने बेलासम्म पुग्दा यो पार्टीमा झलनाथ गुट भने लगभग निस्तेजजस्तै भइसकेको थियो । भुसाल गुट माधवसँगको प्रतिस्पर्धीका रूपमा उदाइसकेको थियो । जबकि नेतृत्वको अविवेकपूर्ण ढङ्गले छानिएका १७ पदाधिकारीमध्ये उपाध्यक्षहरू प्रकाश ज्वाला, भानुभक्त जोशी र धर्मनाथ साह भुसाल पक्षबाट निर्वाचित बन्न पुगे । त्यसैगरी उपमहासचिव गरिमा साह र सचिवमा बलदेव चौधरी पनि भुसाल समूहको साथ र समर्थनबाटै निर्वाचित भए । बाँकी पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे( निर्विरोध), उपाध्यक्षहरू जयन्ती राई र जगन्नाथ खतिवडा तथा उपमहासचिवतर्फ मेटमणी चौधरी, रामकुमार भटट्राई र राजेन्द्र राई तथा सचिवतर्फ गणेशबहादुर विश्वकर्मा, श्रीनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय र सावित्रीकुमारी भुसाल माधव पक्षबाट निर्वाचित भए ।

उचाल्ने र पछार्ने रणनीति

रोचक त के छ भने उपाध्यक्षमा निर्वाचित जयन्ती राई भुसाल पक्षबाट उम्मेदवार बनिन् तर माधव नेपाल पक्षको मतबाट निर्वाचित भइन् । जबकि माधव नेपाल आफैँले जयन्ती भुसाल समूहबाट उठ्ने भएपछि रामकुमारी झाँक्रीलाई आफ्नो समूहबाट उपाध्यक्षको उम्मेदवार बन्न सुझाएका थिए । तर, नेता नेपालले झाँक्रीसहित केही नेतालाई जिताउने नभइ पछार्ने रणनीति अनुसार उम्मेदवार बनाएर आफ्ना कोटरीका आसेपासेलाई झाँक्री लगायतका नेताविरुद्ध परिचालन गरेको चर्चा पार्टीभित्र व्याप्त छ ।

माधवको आडमा उनको सचिवालयका केही सदस्यहरू आफूलाई हराउने र जयन्ती जिताउने अभियानमा लागेको झाँक्री आफैँले आफ्ना नजिककालाई बताउने गरेकी छन् । त्यसो त झाँक्रीको आरोपमा मोहन गौतम लगायतले मतदातालाई खुलेआम चिट बाँडेर गुटभित्र पनि उपगुट सक्रिय बनाएको (भदौ ९ देखि १२ गते) अपर्ण पार्टी प्यालेसको दृश्यले पनि झल्को दिन्थ्यो । जुन खेल नियन्त्रण गर्न मूल नेतृत्वको हिसाबले अग्रसर हुनुपर्ने माधव नेपाल आफ्नो स्थान सुरक्षित बनेकोमा मख्ख परेर मौन स्वीकृति दिइरहेका थिए । 

ओलीपथको पुनरागमन ?

एमालेमा रहँदा बारम्बार केपी ओलीले विधि र पद्धति मासेको गुनासो गर्ने माधव प्रायः सामूहिकताको पनि आवाज उठाउने गर्थे । तर उनको त्यो बोली र व्यवहारमा आकाश पातालको भिन्नता पछिल्लो तीन वर्षमा पुष्टि हुँदै गइरहेको पार्टी निर्माणमा साथ दिएका नेताहरू नै बताइरहेका छन् । उनले बारम्बार भन्ने विधि र पद्धतिको कुरा पनि आफ्नो स्वार्थका लागिमात्र हो भन्ने कुरा मन्त्री र सांसद बनाउँदाका बखत होस् वा अहिले पार्टी नेतृत्व चयनसम्म पुग्दा होस् ‘ओलीपथ’ भन्दा फरक नभएको ती नेताहरूको भनाइ छ ।

‘यसरी कार्यकर्ताहरू जुधाउँदै नेपाल र भुसालले तत्काललाई पार्टीमा आफ्नो शीर्षस्थान सुरक्षित गरे पनि आन्दोलनले बोेकेका कार्यक्रम, विचार, नीति र सिद्धान्तको लक्ष्य चुम्ने तथा जनताको साथ पाउने यात्रालाई अवरुद्ध बनाउनुका साथै नेपाल र भुसालकै राजनीतिक भविष्य धरमराउन पुगेको छ’, एक केन्द्रीय सदस्य भन्छन्, ‘नेतृत्वको कार्यशैली यस्तै रहने हो भने ०८४ सम्म यो पार्टी नै रहने देखिँदैन ।’

नेतृत्व सम्हाल्न पुगेका नेपाल र भुसाल तत्काल खुसी भए पनि किन आफ्नै राजनीतिक भविष्यलाई समेत धरमरको दिशातर्फ उन्मुख गराउन खोजिरहेका छन् भन्ने बुझ्न नसकेको एक पदाधिकारी नै बताउँछन् ।

असन्तुष्टि थामथुमको प्रयास

पार्टीभित्र चर्को असन्तुष्टि पैदा भएपछि त्यसलाई नेतृत्वले थामथुम पार्ने प्रयास गरेको छ । आइतबार बिहान बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकले सातै प्रदेशका असन्तुष्ट नेता–कार्यकर्तालाई सम्झाइ बुझाइ गर्न विभिन्न नेतालाई जिम्मेवारी दिएको बुझिएको छ । स्रोतका अनुसार असन्तुष्ट पक्षलाई फकाउन कोशीमा जगन्नाथ खतिवडा, मधेसमा धर्मनाथ साह, बागमतीमा गंगालाल तुलाधर, कर्णालीमा प्रकाश ज्वाला, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा मेटमणि चौधरी र सुदूरपश्चिममा भानुभक्त जोशीलाई जिम्मेवारी दिइएको छ ।

तर माधव नेपाल निकट मानिएका उपाध्यक्ष जगन्नाथ खतिवडा केही नेताको असन्तुष्टि स्वाभाविक भए पनि सोही कारण पार्टी विघटनको दिशामा जाने कुरा कल्पनासमेत गर्न नसकिने बताउँछन् ।

उनले पदाधिकारी र पोलिटब्युरो चयनका क्रममा पराजय भोगेका र विभिन्न कारणले चित्त दुखाएका नेताहरूलाई पार्टीको स्थायी कमिटी बैठकले संवाद गरेर समाधानको बाटो खोज्दै उचित मूल्याङ्कनका आधारमा जिम्मेवारी प्रदान गर्ने बताए ।

‘पार्टी विघटनको दिशामा होइन, बरु आउँदो उपनिर्वाचनमा हाम्रो पार्टीले सशक्त भूमिका निर्वाह गर्ने गरी खेल मैदानमा उत्रनेछ । जसका लागि हामी अघि बढिसक्यौँ’, खतिवडाले भने, ‘आउँदो मंसिरभित्र प्रदेश र चैतभित्र जिल्ला अधिवेशन गरेर पार्टी संगठनलाई डेढ लाख सदस्यबाट ३ लाख पुर्‍याइनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप