सीमित अस्पतालका कारण जलनको उपचार पाउन हम्मे, पाँच वर्षमा ८७ जनाको मृत्यु
काठमाडौँ । मोरङ पथरीका कृष्ण कार्कीको दायाँ हातको पाँचपटक र बायाँ हातको दुईपटक अप्रेसन भयो । तर उनको हात अझै निको हुन सकेको छैन । सातपटकको अप्रेसनमा सङ्क्रमण भएर बायाँ हातका दुई औँला काट्नुपर्यो । साढे एक महिना अस्पताल भर्ना भई उपचार गर्दा पाँच लाखभन्दा बढी खर्च भएको कृष्ण बताउँछन् । अझै कतिपटक अप्रेसन गर्नुपर्ने हो र कति खर्च लाग्ने हो यकिन छैन ।
५४ वर्षीय कृष्ण कार्की एक इन्टरनेट कम्पनीमा ६ वर्षदेखि काम गर्दै आएका छन् । सोही क्रममा गत असार २५ गते उनलाई ४४० भोल्टको नाङ्गो तारमार्फत करेन्ट लाग्यो । करिब तीन फिट माथिबाट उनी भुईंमा बजारिन पुगे । घटनापछि उनी उपचारका लागि स्थानीय अस्पताल गएका थिए । तर उनलाई काठमाडौँ कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरियो ।
‘इन्टरनेटमा काम गर्नेहरू जोखिममा छन्, जहाँ ट्रान्समिटर हुन्छ, त्यसदेखि करिब तीन मिटरसम्म नाङ्गो तार राखिदिन भएन,’ कृष्ण भन्छन्, ‘यस्तो घटनाको उपचारका लागि सरकारले हरेक जिल्लामा राम्रो अस्पताल बनाउनुपर्यो ।’
कीर्तिपुर अस्पतालको शय्यामा भेटिएका काभ्रेका ३१ वर्षीय हरि (नाम परिवर्तन) को दायाँ हात करिब ७ प्रतिशत जलेको छ । गत असार १३ गते फोहोर जलाउने क्रममा उनको मोबाइल बलेको आगोमा खसेको थियो । मोबाइल निकाल्न खोज्दा उनको हात जलेको थियो । जल्नेबित्तिकै उनले २० मिनेटजति हातलाई पानीमा डुबाएर राखे, जसकारण भित्री भागसम्म असर भएन । अबको एक–दुई दिनमै उनी डिस्चार्ज हुँदै छन् । ‘उपचारका क्रममा पाँच लाख रुपैयाँ खर्च भयो,’ उनी भन्छन् ।
कीर्तिपुर अस्पतालमा कृष्ण र हरिजस्ता २४ जना जलनका बिरामी हाल उपचाररत छन् ।
अस्पतालकी कर्मचारी (तथ्याङ्क संकलनकर्ता) पद्मा शोभा महर्जन अनुसार, बर्सेनि जलनका बिरामीको सङ्ख्या बढ्दो छ ।
नेपालमा विभिन्न खालका आगलागीमा परी मानिसहरू घाइते हुने गर्छन् । खासगरी डढेलो नियन्त्रणको प्रयास गर्दा, खाना पकाउने क्रममा आगो लाग्दा, आगो ताप्ने क्रममा दुर्घटना हुँदा, एसिड आक्रमण हुँदा, करेन्टमा लागेर, चट्याङमा परेर, तातोपानीमा परेर वा आत्मदाहको प्रयास गर्दा जलेका बिरामी उपचारका लागि कीर्तिपुर आउने गरेको महर्जनको भनाइ छ ।
‘यहाँ उपचाका लागि आउनेमा सबैभन्दा बढी आगोमा परेका छन् । बढी मात्रामा तराई भेगमा जाडो मौसममा आगो ताप्ने क्रममा आगोमा परेका महिला बिरामी आउँछन्,’ उनी भन्छिन्, ‘तातोपानी वा पदार्थ पशुवस्तुलाई खुवाउने क्रममा बालबालिका त्यसमा पर्दा रहेछन् । यस्ता बिरामीको सङ्ख्या दोस्रो नम्बरमा छ । यस्तै करेन्ट लागेका र एसिड लगायत विभिन्न रासायनको आकक्रमणमा परेका बिरामी उपचारका लागि आउनुहुन्छ ।’
अस्पतालको तथ्याङ्क अनुसार, यस अस्पतालमा गत वर्ष आगोमा परेका ४५३ बिरामी भएका थिए । यस्तै, तातो तरल पदार्थ (तातोपानी वा गाईवस्तुलाई खुवाउन पकाइएको पदार्थ) मा परेका २३२ जना थिए । यस्तै करेन्ट लागेका ७९ जना, एसिडमा परेका ७ जना, चट्याङमा परेका ५ जना, विभिन्न तातो वस्तु छुँदा जलेका १५ जना अस्पतालमा भर्ना भएका थिए ।
- जलनको उपचार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार कीर्तिपुर अस्पताल र सुष्मा कोइराला मेमोरियलमा मात्रै पूर्ण क्षमतामा जलनको उपचार हुने गरेको छ । यसबाहेक अन्यत्र जलनको उपचार सहज नभएकाले देशभरका बिरामी उपचारका लागि काठमाडौँ नै आउनुपर्ने हुन्छ । सरकारी निकाय अन्तर्गतका त्रिवि शिक्षण (टिचिङ), कान्ति, पाटन र वीर अस्पतालमा जलनको उपचार हुन्छ तर केही युनिटमा मात्रै उपचार हुने गरेको छ ।
जलनमा परेको व्यक्तिको उपचारमा के कति खर्च लाग्ने भन्ने बिरामीको उमेर, जलन प्रतिशत, जलनको प्रकार लगायतमा भर पर्छ । ‘जलनको उपचारमा अस्पताल खर्चभन्दा औषधि महँगो पर्छ,’ कीर्तिपुर अस्पतालकी कमर्चारी महर्जन भन्छिन्, ‘एउटै औषधिको ३५ सयभन्दा बढी पर्छ, पटक–पटक अप्रेसन गर्नुपर्छ, सर्जरी खर्च लगायत कारणले उपचार खर्च बढी हुन्छ, आमनागरिकका लागि खर्च बढी पर्ने भएकाले यो सहज हुन नसकेको हो ।’
जलनको उपचार खर्च महँगो पर्ने, जनशक्ति अभाव हुने र भौतिक संरचना नभएका कारण जलनको उपचार सहज हुन नसकेको कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख डा. विशाल कार्की बताउँछन् ।
‘बर्न (जलन) को उपचार महँगो छ, पैसा तिर्न नसकेपछि उपचार गर्न खोज्दैनन्,’ कार्की रातोपातीसँग भन्छन्, ‘सरकारीमा उपचार त हुन्छ तर त्यहाँ भनेजस्तो बर्न टिम हुँदैन, आईसीयु हुँदैन ।’
- प्राथमिक उपचार पालिका स्तरमा हुनुपर्ने
जलनबाट हुने मृत्युदर घटाउनका लागि पालिकास्तरमै प्राथमिक उपचार केन्द्र हुनुपर्ने सरोकारवालाहरु बताउँछन् ।
आगलागी, करेन्ट, चट्याङ, तातोपदार्थ आदिबाट घटना हुने सम्भावना जहाँसुकै हुन्छ । जलनका घटनाबाट हुने मृत्युदरलाई कम गर्न पालिकास्तरमै जलनसम्बन्धी प्राथमिक उपचार केन्द्र हुनुपर्ने कीर्तिपुर अस्पतालका डा. कार्की बताउँछन् । ‘हाम्रो एक्सपेरियन्स अनुसार पोलेका जति पनि बिरामी छन्, उहाँहहरुको प्राथमिक उपचार हुनु जरुरी छ,’ उनी भन्छन्, ‘देशभर नै जिल्ला, वडा, पालिकास्तरमा जलनसँग सम्बन्धित प्राथमिक उपचार केन्द्र हुन आवश्यक छ ।’
यसो भए देशभरका लागि जलनसँग सम्बन्धित रिफरल सेन्टर एउटै भए पनि पुग्ने कार्की दाबी गर्छन् । ‘हरेक ठाउँमा जलनको अस्पताल खोल्नु भन्दा एक ठाउँमा बनाउनुपर्छ,’ उनी भन्छन्, ‘बिरामी बचाउनका लागि प्राथमिक उपचार आवश्यक छ, अप्रेसन गर्न वा जटिल समस्या भएपछि सुविधा सम्पन्नमा पठाउने हो ।’
पछिल्लो समय देशभरका विभिन्न अस्पतालले उपचारका लागि प्रयास गर्ने भन्दै बिरामी राख्ने तर जटिलता बढेपछि वा बिरामीको खर्च सकिएपछि कीर्तिपुर पठाउनले गरेको कार्की बताउँछन् । ‘यहाँ आएर पनि अन्तिम अवस्थामा बचाउन समस्या हुन्छ,’ उनी भन्छन् ।
- जलनका बिरामीलाई काउन्सिल आवश्यक
परामर्शदाता (काउन्सेलर) जेनी खड्का जलनका बिरामीका लागि एक भरोसा हुन् । २०७६ जेठ १ मा काठमाडौँको एक सडकमा जेनीमाथि श्रीमानले एसिड आक्रमण प्रहार गरेका थिए । अहिले उनी कीर्तिपुर अस्पतालमा उपचारका लागि आउने जलनका बिरामीलाई परामर्श गर्ने गर्छिन् ।
जलनमा परेका कस्ता बिरामीलाई परामर्श (काउन्सेलिङ) को आवश्यक पर्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘१२ वर्षमुनिका बालबालिका वा कतिपय छोरा मान्छेलाई काउन्सेलिङको आवश्यक पर्दैन । तर १२ वर्ष माथिका र छोरी मान्छेलाई पर्छ,’ उनी भन्छिन्, ‘१२ वर्षभन्दा माथिका व्यक्ति शरीरमा दाग हुने बित्तिकै विभिन्न कारण असहज महसुस गर्छन् । यस्तोमा बिरामीलाई मात्रै होइन, उसको परिवारलाई काउनसेलिङ गर्नुपर्छ ।’
जेनीले अस्पतालमा आउने हरेक जलनका बिरामीसँग कुराकानी गर्छिन् । उनीहरूका कुरा सुन्छिन् । उनको अनुभवमा शरीरमा दाग बसेपछि कतिपय युवतीहरू विवाह नहुने त्रासमा हुँदा रहेछन् । ‘अविवाहित युवती, अझ तराईतिरको हुनुहुन्छ भने शरीरमा दाग भएपछि बढी नै चिन्ता गर्नुहुँदो रहेछ । बिरामीसँगै उहाँहरूको परिवारले पनि छोरीको विवाह नहोला भन्ने चिन्ता गर्नुहुँदो रहेछ ।’
- पाँच वर्षमा ८७ जनाको निधन
नेपालमा पाँच वर्ष (सन् २०१९ देखि २०२३) मा जलनको घटनामा परेकामध्ये ८७ जनाको मृत्यु भएको छ । यो पाँच वर्षको अवधिमा तीन हजार २१६ जना जलनको घटनामा परेका छन् । सोमध्ये एक हजार ६०९ जना महिला र एक हजार ६०७ पुरुष छन् ।
सन् २०१९ मा कीर्तिपुर अस्पतालमा उपचारका लागि ६२३ जना (३३० महिला र २९३ पुरुष) जलनका बिरामी भर्ना भएका थिए । सोमध्ये २३ जनाको मृत्यु भएको थियो ।
सन् २०२० मा यस अस्पतालमा ५१९ जना (२८७ महिला र २३२ पुरुष) जलनका बिरामी भर्ना भएका थिए । तीमध्ये २० को मृत्यु भएको अस्पतालले जनाएको छ ।
सन् २०२१ मा भर्ना भएका ६२३ जना (२९८ महिला र ३२५ पुरुष) जलनका बिरामीमध्ये १६ जनाको मृत्यु भएको थियो ।
यस्तै, सन् २०२२ मा भर्ना भएका ६६० जना (३२७ महिला र ३३३ पुरुष) जनका बिरामीमध्ये १४ जनाको मृत्यु भएको थियो ।
गत वर्ष (सन् २०२३ मा) यस अस्पतालमा भर्ना भएका ७९१ (३६७ र ४२४ पुरुष) जलनका बिरामीमध्ये १६ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
पाँच वर्षमा जलनको घटनामा परेका विवरण ः
नेपालमा जलनका बिरामीहरूको उपचार गर्ने छुट्टै सरकारी अस्पताल छैनन् । पछिल्लोपटक सरकारले जलनसम्बन्धी गैरसरकारी विधेयकमा जलन पीडितलाई उपचारका लागि प्रादेशिक अस्पताल र केन्द्रमा सरकारी र निजी क्षेत्र अन्तर्गतका एक सय शय्या माथिका अस्पतालमा आकस्मिक सेवासहित कम्तीमा दुई प्रतिशत शय्याको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ । विधेयकले देशभर नै जलनसँग सम्बन्धित उपचार सहज बनाउने मन्त्रालयका प्रवक्ता बुढाथोकी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुम्बन गर्दा सर्छ माउथ अल्सर ?
-
कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस–एमाले सहमत
-
सुरक्षित कारोबार ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयकमा सांसदको विरोध
-
भन्सार शुल्क घटाउँदा पनि किन घट्यो सुन आयात ?
-
सुशासन स्थापित गर्न दुई ठुला दल मिलेर सरकार बनाएका हौँ : मन्त्री राणा
-
इसेवा र मोबाइल बैंकिङमा समस्या