बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
शिक्षा सरोकार

शिक्षक पाउनै मुस्किल

आठ पटकसम्म विज्ञापन आह्वान गर्दा पनि पाइएन
आइतबार, १६ भदौ २०८१, ११ : १७
आइतबार, १६ भदौ २०८१

काठमाडौँ । रसुवाको नौकुण्ड गाउँपालिका–३, फाम्चेतस्थित गौतम बुद्ध माध्यमिक विद्यालयले आठ पटक विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन सकेको छैन । पालिकाको निर्देशनानुसार अब नवौँ पटक विज्ञापन आह्वानको तयारी भइरहेको छ ।

gautam

विद्यालयले माध्यमिक तह गणित विषयको अस्थायी करारको शिक्षक माग गरेको थियो । भदौ १३ गतेसम्म अन्तिम मिति राखेर आठौँ पटक विज्ञापन आह्वान गरेकोमा दुई जनाको आवेदन परेको थियो । तर, उनीहरूले नआउने खबर पठाइसकेका छन् ।

एक जनाले गोरखातिर राहत शिक्षकमा जागिर पाएको, अर्कोले लोक सेवाको तयारी गर्न लागेको भन्दै नआउने जानकारी दिएको विद्यालयका प्रधानाध्यापक धनबहादुर बोगटीले बताए ।

विज्ञापन अनुसार आवेदन दिने र अन्तिममा अन्त जागिर पाएको भन्दै परीक्षा दिनै नआउने गरेको उनको भनाइ छ । रसुवा विकट हिमाली जिल्ला भएकाले कसैको पनि रोजाइमा पर्दैन ।

‘हिमाली जिल्ला भएर कोही पनि आउन खोज्दैनन् । आएका पनि टिक्दैनन् । शिक्षक नपाउँदासम्म विज्ञापन आह्वान गर्नुको विकल्प छैन,’ प्रधानाध्यापक बोगटीले भने ।

अछामको चौरपाटी गाउँपालिका–५, दुनीमा रहेको देवीमाण्डौ माध्यमिक विद्यालयले शिक्षक भर्तीका लागि सातौँ पटक विज्ञापन आह्वान गरेको छ । संघीय शिक्षण सिकाइ अनुदानमार्फत शिक्षकका लागि सातौँ पटक विज्ञापन आह्वान गरे पनि पाउन सकेको छैन ।

455282331_903801931853503_5434632675328266162_n

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झंकर साउदले ६ पटक विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन नसकेको बताए । अहिले सातौँ पटक विज्ञापन आह्वान गरिएको र भदौ १८ गतेसम्म म्याद रहेको उनले बताए ।

अहिले सातौँ पटकको विज्ञापन आह्वानमा एक जनाले फोन गरेको तर, आवेदनचाहिँ अहिलेसम्म नदिएको उनको भनाइ छ ।

शैक्षिक योग्यतामा बीएससीसँगै एक वर्षे बीएड गरेर शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) भएको हुनुपर्ने भन्ने छ । लाइसेन्स अनिवार्य गरिएकाले हालसम्म शिक्षक पाउन नसकिएको अध्यक्ष साउदले बताए ।

बाग्लुङको ताराखोला गाउँपालिकामा रहेको नेपाल माध्यमिक विद्यालयले शिक्षकका लागि पाँच पटक विज्ञापन आह्वान गरे पनि पाउन सकेको छैन । माध्यमिक तह रसायनशास्त्र विषय पढाउने शिक्षक पाउन नसकेको हो ।

त्यस्तै रोल्पा, थवाङको वीर बलभद्र नमुना माध्यमिक विद्यालयले समेत पाँच पटक विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन सकेको छैन । उसले माध्यमिक तह गणित विषय शिक्षकका लागि विज्ञापन आह्वान गर्दै आएको छ ।

455339530_903801935186836_338243847461790440_n

दैलेखको भगवतीमाई गाउँपालिका–१, गन्ममा रहेको सरस्वती माध्यमिक विद्यालयले निमावि तह गणित विषय पढाउने शिक्षकका लागि चौथो पटक विज्ञापन आह्वान गरेको छ । तीन पटक विज्ञापन गर्दा पनि शिक्षक नियुक्ति हुन नसकेपछि विद्यालयले चौथो पटक विज्ञापन आह्वान गरेको हो ।

455228583_903801995186830_4710803011504092414_n

भगवतीमाई गाउँपालिकाले राहत शिक्षकका लागि विज्ञापन आह्वान गर्न अनुमति दिएको थियो । साउन २६ गते चौथो पटक विज्ञापन आह्वान गरेकोमा सात जनाको आवेदन परेको विद्यालयका प्रधानाध्यापक खगेन्द्र कुमार खड्काले बताए ।

विगत तीन पटकमा आवेदन दिने तर, परीक्षामा कोही पनि पास नभएको खड्काको भनाइ छ । चौथो पटकमा आवेदन दिएका सात जनाको केही दिनमा परीक्षा गरिने उनले जानकारी दिए ।

बैतडीको पञ्चदेव आधारभूत विद्यालयले तेस्रो पटक शिक्षकका लागि विज्ञापन आह्वान गरेको छ । संघीय शिक्षण सिकाइ अनुदान कोटामा निमावि अंग्रेजी शिक्षकका लागि तेस्रो पटक विज्ञापन आह्वान गरिएको छ ।

455352049_903784188521944_5278350609226265640_n

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणाकर भट्टले यसअघि दुई पटक विज्ञापन आह्वान गर्दा शिक्षकको पदपूर्ति हुन नसकेको बताए । अहिले तेस्रो पटक आह्वान गरेको र ९ जनाको आवेदन परेको उनको भनाइ छ ।

भट्टका अनुसार अब केही दिनमा परीक्षा गरिनेछ । दुई पटकको दरखास्त आह्वानमा आवेदन परे पनि कुनै पनि उम्मेदवार सफल हुन सकेका थिएनन् ।

डोटीको खत्याडी माध्यमिक विद्यालयले जीव विज्ञान विषय पढाउने शिक्षकका लागि तेस्रो पटक विज्ञापन आह्वान गरेको छ । करार अनुदान शिक्षकका लागि तीन पटक विज्ञापन आह्वान गर्दासमेत कोही नआएका हुन् ।

khataydi school doti

अहिले भदौ १८ गतेसम्मको म्याद दिएर तेस्रो पटक विज्ञापन आह्वान गरिएको छ । अनुदान करारतर्फ माध्यमिक तहमा बाली विज्ञान पढाउन शिक्षकको माग गरेको हो । तर, हालसम्म पाउन नसकेको विद्यालयले जनाएको छ ।

हाल मुलुकभर १ लाख १० हजार दरबन्दी र राहत तथा अन्य गरेर एक लाख ९१ हजार शिक्षक कार्यरत छन् ।

गणित, विज्ञान, अंग्रेजी लगायतका विषयका शिक्षक पाउनै मुस्किल छ । विशेषगरी शिक्षकका लागि लाइसेन्स अनिवार्य गरिँदा त्यस्तो समस्या देखिएको हो ।

  • शिक्षण पेसाप्रतिको आकर्षण घट्यो : अध्यक्ष मोक्तान

सामुदायिक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष गुणराज मोक्तानले शिक्षण पेसाप्रतिको आकर्षण घट्दै गएको बताए ।

‘क्यापेबल मान्छेको रोजाइमा शिक्षा नै परेन । शिक्षक नपाउने भनेको विज्ञान, गणित तथा अंग्रेजीमा हो । शिक्षक बन्नका लागि माविको शिक्षक बन्न चार वर्षे ब्याचुलर पढ्नुपर्ने,’ अध्यक्ष मोक्तानले भने, ‘ब्याचुलर सकिन ६ वर्ष लाग्ने । त्यसपछि लाइसेन्सको परीक्षा समेत कडा ढङ्गको हुने । लाइसेन्स पास गर्ने शिक्षक पाउनै गाह्रो हुने भयो ।’

बीएससी गरेकाहरू शिक्षक बन्न खोजिरहेका तर, लाइसेन्सका कारण गाह्रो भइरहेको उनले बताए । यसको विकल्पको विषयमा राज्यले सोच्नुपर्ने उनले प्रस्ट पारे ।

कतिपय बेला शिक्षक ठिक पारेरमात्रै विज्ञापन गर्नुपर्ने अवस्था छ । अरूले लैजालान् कि भन्ने डरले पहिला शिक्षक तयार पार्ने र त्यसपछि मात्रै विज्ञापन गर्नुपर्ने अवस्था रहेको अध्यक्ष मोक्तानले बताए ।

शिक्षक नपाउनुमा अर्को कारण हो, सुविधा । ‘जागिर नै गरेर राम्रो आम्दानी नहुने भयो । गाउँमा शिक्षक भएर बस्दा उसको सबै खाले अवसर गुम्दा रहेछन् । गाउँमा शिक्षक भएर बस्दा अरूतिर अवसर नपाउने, अरू केही गर्न नपाउने अवस्था रहेछ,’ उनले भने ।  

सहरमा पढाउने एक जना मावि शिक्षकले दुई लाख रुपैयाँसम्म कमाउँछन् । तर, गाउँको शिक्षकले तलबबाहेक केही कमाउन नपाउने उनको भनाइ छ ।

‘सहरको एक जना मावि शिक्षकले दिउँसो स्कुलमा पढाउँछन् । बिहानको समयमा प्लस टुमा पढाउँछन् । त्यसपछि बेलुका ट्युसन पढाउँछन् । त्यति गर्दा मासिक दुई लाखसम्म कमाउँछन् । गाउँमा त्यस्तो अवसर हुँदैन,’ अध्यक्ष मोक्तानले भने ।

गाउँमा हिजोकोजस्तो शिक्षकले सम्मान पाउने अवस्था अहिले नरहेको उनको भनाइ छ ।

शिक्षक माथिबाट पठाउने र पठाइएको ठाउँमा नजाने समस्या देखिएको भन्दै त्यसमा अब विद्यालयहरूले समेत आधारभूत आवश्यकता पूरा गर्ने गरी थप सेवा सुविधा दिएर भएर पनि शिक्षकको व्यवस्थापन पर्नुपर्ने अवस्था रहेको मोक्तानको भनाइ छ ।

शिक्षकलाई ल्याएर सबै कुरा बेहोरिदिने, आवासको व्यवस्था गरिदिने गरेको तर, अहिले समाज र विद्यालयको बिग्रिँदै गएको सम्बन्धले शिक्षक अभाव हुन थालेको मोक्तानको भनाइ छ ।

अब शिक्षकलाई एउटै नजरले हेर्न नहुने उनले बताए । राम्रो खालको शिक्षकलाई त्यही अनुसारको सुविधा दिनुपर्ने उनले प्रस्ट पारे ।

शिक्षक माथिबाट पठाउने र पठाइएको ठाउँमा नजाने समस्या देखिएको भन्दै त्यसमा अब विद्यालयहरूले समेत आधारभूत आवश्यकता पूरा गर्ने गरी थप सेवा सुविधा दिएर भएर पनि शिक्षकको व्यवस्थापन पर्नुपर्ने अवस्था रहेको मोक्तानको भनाइ छ ।

‘निजी स्रोतको शिक्षक राख्नुपर्ने भयो भने के के सुविधा थप गर्नुपर्ने हो, त्यो थपेर, फकाएर लैजानुपर्ने छ । कोठा भाडा तिरिदिने, तरकारी ल्याइदिने, खानामा सघाइदिने, अतिरिक्त कक्षाको व्यवस्था मिलाइदिने जस्ता व्यवस्था गरेर शिक्षक ल्याउनुपर्ने अवस्था छ,’ मोक्तानले भने, ‘शिक्षकलाई कक्षामा बस्नका लागि थप आकर्षणको व्यवस्था गर्नुपर्छ ।’

त्यसरी शिक्षकलाई फकाएर ल्याउन नसकेको खण्डमा शिक्षक नपाएर विद्यालयको गुणस्तर झन् खस्किने सम्भावना रहेको अध्यक्ष मोक्तानले बताए ।

‘गाउँमा राम्रो शिक्षक, राम्रो विद्यार्थी तथा राम्रो अभिभावक नै नबस्ने अवस्था भयो । गाउँ पूरै रित्तिँदै गयो । राम्रो शिक्षा गाउँमा पुर्‍याउन सकियो भने, राम्रो अभिभावक पनि गाउँमा बस्छन् र राम्रो विद्यार्थीसमेत हुन्छन् । त्यसैले भूगोल तथा ठाउँ अनुसारको राम्रो सुविधा शिक्षकलाई दिनुपर्छ,’ अध्यक्ष मोक्तानले भने ।

सहरमा शिक्षकको सङ्ख्या धेरै हुने, कम पढाउँदा पनि हुने र अन्य अवसर पनि हुने भएकाले आफ्नो क्षमता अभिवृद्धि गर्न सहज हुन्छ । कमाइसमेत राम्रो हुन्छ ।

अहिले शिक्षण पेसा नै नरोज्ने अवस्था देखिएको उनको भनाइ छ । शिक्षक सेवा आयोगले लिने परीक्षामा समेत कतिपय कोटा नै खाली हुने गरेको छ । विशेषगरी गणित, विज्ञान विषयको कोटा खाली हुने अर्को वर्षमा विज्ञापन गर्ने गरेको देखिन्छ ।

‘शिक्षक पाउन गाह्रो हुने ८/९ वटा विषय आइडेन्टिफाइ गरेका छौँ । ती विषयको शिक्षक पाउन गाह्रो छ,’ उनले भने ।

अब यसका लागि विश्वविद्यालयको शिक्षा नै फरक ढङ्गबाट अगाडि बढाउनुपर्नेमा मोक्तानको जोड छ ।

‘विश्वविद्यालयलाई विद्यालयसँगै जोडेको देखिँदैन । विश्वविद्यालयमा विज्ञान, गणित अंग्रेजीजस्ता विषय पढ्नका लागि उत्प्रेरित गराउनुपर्छ,’ उनले भने, ‘यसलाई सपोर्ट गर्ने खालको कार्यक्रम ल्याउने । राम्रा विद्यार्थीलाई एजुकेशन पढ्नतिर आकर्षित गराउनुपर्छ ।’

  • विज्ञापनबारे थाहा नहुँदा अभाव देखियो  

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले दुर्गम जिल्लाहरूमा राहत तथा करारमा शिक्षक नपाउने समस्या रहेको बताए ।

केन्द्रले अंग्रेजी, गणित, विज्ञान लगायत ८/९ त्यस्ता विषयको सूची तयार पारेको छ । ती विषयमा शिक्षक पाउन गाह्रो भइरहेको र त्यसका लागि जुनसुकै विषय पढेकाले लाइसेन्सको परीक्षा दिन पाउने व्यवस्था गरिएको महानिर्देशक शर्माले बताए ।

‘शिक्षक पाउन गाह्रो हुने ८/९ वटा विषय आइडेन्टिफाइ गरेका छौँ । ती विषयको शिक्षक पाउन गाह्रो छ,’ उनले भने, ‘त्यसका लागि जुनसुकै विषय पढेकाले पनि लाइसेन्सको परीक्षा दिन पाउने व्यवस्था गरेका छौँ । तर, त्यसबारे जानकार नहुँदा सोचेअनुसार आउनुभएको छैन ।’

अर्को समस्या भनेको चाहिने क्षेत्रमा शिक्षक नहुनु र सहर केन्द्रित बढी हुनु नै रहेको उनको भनाइ छ ।

‘गाउँमा साइन्स पढेको शिक्षक चाहिएको हुन्छ । साइन्स पढेको मान्छे सहरभन्दा बाहिर जान खोजेको देखिँदैन । कतिपय अवस्थामा गरिएको विज्ञापन समेत थाहा नपाउने समस्या । जान नहुने तयार एउटा समस्या छ,’ महानिर्देशक शर्माले भने, ‘अर्को भनेको गरिएको विज्ञापन नै थाहा नपाउनु हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप