के सहरका मानिसको कथा अर्ग्यानिक हुँदैन र ?
काठमाडौंँ । सुदर्शन थापा नेपाली फिल्म उद्योगका एक सफल निर्देशक हुन् । प्रेमकथामा आधारित फिल्म ‘मेरो एउटा साथी’ निर्देशन गर्दै फिल्म क्षेत्रमा प्रवेश गरेका थापाले दर्जनभन्दा बढी फिल्म निर्देशन गरिसकेका छन् ।
प्रेमकथामा फिल्म बनाउन माहिर उनका ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ धेरै चलेका फिल्म हुन् । व्यावसायिक रूपमा धेरै सफल फिल्म दिएका थापाले अहिले ‘रावायण’ बनाएका छन् । सधैँ प्रेमकथाको फिल्म बनाउँदै आएका थापाले ‘रावायण’मा भरपुर एक्सन राखेका छन् । आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने ‘रावायण’ले नेपाली फिल्मको धार परिवर्तन गर्ने उनको दाबी छ ।
निर्देशक सुदर्शन थापासँग फिल्म ‘रावायण’ र फिल्म क्षेत्रको विषयमा गरिएको कुराकानीको सम्पादित अंश ।
पछिल्लो समय के–केमा व्यस्त हुनुहुन्छ ?
मेरो नयाँ फिल्म ‘रावायण’ आगामी २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको प्रचारप्रसार, प्राविधिक कार्य लगायतमै व्यस्त छु । यो फिल्म सुरु गरेको तीन वर्ष भयो । बिचमा मेरो जीवनमा विभिन्न उतारचढाव आए । तर पनि म यो फिल्ममा लागिरहेँ । यो छोडेर अर्काे गर्न सक्थेँ । योप्रति मलाई धेरै विश्वास छ । यसले फिल्म क्षेत्रको मुहार परिवर्तन गर्छ ।
कस्तो फिल्म हो ‘रावायण’ ?
प्रेमकथा र एक्सनले भरिएको फिल्म हो । कतिले यसलाई पूरै एक्सन फिल्म भनेका छन् । त्यो पनि होइन । प्रेमकथा र अन्य सामाजिक विषयबस्तुले समेत फिल्म भरिएको छ ।
प्रेमकथाको फिल्म नै राम्रो गरिरहनुभएको थियो । किन एक्सन पनि समेट्न मन लाग्यो ?
प्रेमकथा, कमेडी, रोमान्स, एक्सन, थ्रिलर र हरर लगायत बाहेक फिल्ममा त्यस्तो के हुन्छ र ? यहीभित्र फिल्म निर्माण गर्ने हो । प्रेमकथा प्रस्तुत गर्दा पनि त्यसमा हरर, थ्रिलर वा एक्सन केही न केही राख्नुपर्छ । मैले यो फिल्ममा एक्सन अलि बढी राखेँ । तर यो एक्सन फिल्म होइन । फिल्ममा दर्शकले एकदमै मज्जाको कन्टेन्ट पाउनुहुन्छ । हामीले फिल्ममा भन्दै आएको कथाको आर्ट छ । त्यो यो फिल्ममा अलि फरक तरिकाबाट प्रस्तुत गर्न खोजेका हौँ ।
हामी नेपाली, हिन्दी र हलिउड फिल्म एउटै थिएटरमा हेर्छाैं । त्यसैले पनि हाम्रो नेपाली फिल्मको साउन्ड भएन भन्ने गरेका छौँ । हामी विदेशी फिल्मको तुलनामा साउण्डमा सधैँ लापरवाह छौँ । साउन्ड भनेको आधा फिल्म हो । त्यस हिसाबले यो फिल्मको साउण्डको काम भारतमा गरिरहेको छु ।
के नेपालमा साउन्डको राम्रो प्रविधि छैन ?
त्योभन्दा पनि हामीले कसरी आफूले आफूलाई अगाडि बढाउने, कहाँबाट सिक्ने भन्ने हिसाबले भारत पुगेको हो । दर्शकले फरक टेस्ट पाउन्, सबैले सिक्लान् भन्ने पनि हो । नेपालमा प्राविधिक नभएर होइन । आफूलाई अपग्रेड गर्नु जरुरी छ ।
फिल्मको ट्रेलर र टिजर हेर्दा तपाईंले यसअघि बनाएको छवि परिवर्तन गर्न खोजेजस्तो देखिन्छ नि ?
मलाई जहिले पनि रोमान्टिक फिल्मका निर्देशक भन्ने गरिन्छ । हो, मैले धेरै फिल्म रोमान्टिक जनरामै बनाएको छु । कहिलेकाहीँ फरक टेस्ट पनि दिनुपर्छ भन्ने लाग्छ । दर्शक मेरो परिवार हो । जसरी घरको परिवारलाई फरक खाना खुवाउँदा खुसी हुनुहुन्छ । त्यसैगरी दर्शकका लागि पनि केही फरक टेस्ट दिनुपर्छ । ‘रावायण’ फिल्मको उद्देश्य त्यही हो । ‘रावायण’ हेरेपछि दर्शक हलबाट खुसी भएर निस्किनुहुन्छ ।
कोरोनापछि फिल्मको धेरै चिज परिवर्तन भइसकेको छ । हिजोको दिनमा भारतको साउथ फिल्मलाई एक क्षेत्रको फिल्म मानिन्थ्यो । बलिउडको दबदबा थियो । आज बलिउड कलाकारसमेत साउथ फिल्ममा लोभिएका छन् । यो साउथ फिल्मले मारेको फट्को हो । उनीहरूको सङ्घर्ष हो । हामीले पनि सङ्घर्ष गर्नुप¥यो । सधैँ एउटैमा अलमल गरेर बस्नु भएन नि । हामीले समयमा आफूलाई परिवर्तन गर्न सकेनौँ भने समयले हामीलाई धकेलेर पनि परिवर्तन गराउँछ ।
फिल्ममा एक्सन राख्नु चुनौतीपूर्ण हुन्छ भनिन्छ त ?
एक्सन भन्ने बित्तिक्कै मेकरको हिसाबले खर्चैखर्च हो । एक्सन राखिएको हो कि, फिल्मको डिमान्ड हो । यो बुझ्नु जरुरी छ । फिल्ममा एक्सन चुनौतीपूर्ण भए पनि मज्जा रहेछ । ट्रेलर, टिजर सार्वजनिक भएपछि पब्लिकले दिएको रेस्पोन्सबाट त्यो अनुभूति हुन्छ ।
‘रावायण’ले फिल्म उद्योगलाई नयाँ गति दिन्छ भन्ने तपाईंको विश्वास हो ?
‘रावायण’ले नै गर्छ कि गर्दैन, त्यो अहिलै भन्न सक्दिनँ । नेपाली फिल्म उद्योगले एउटा मुहार परिवर्तन गर्न खोजिरहेको छ । त्यसको सूत्रधार यो फिल्म हुन्छ । ‘मेरो एउटा साथी छ’ फिल्म गर्ने समय एक्सन फिल्महरूको ट्रेन्ड थियो । मेरो फिल्मपछि लभस्टोरी फिल्मको ट्रेन्ड भित्रियो । त्यसपछि रोमान्टिक, कमेडी फिल्मको लहर भित्रियो । यी दुई खालका फिल्म दर्शकले हेरेको १०-१२ वर्ष भइसक्यो । अहिले नेपाली फिल्मका दर्शकले केही फरक खोजिरहेका छन् । दर्शकले खोजेको जस्तो फरक दिनु हामी मेकरको कर्तव्य पनि हो ।
पललाई फरक दुई चरित्रमा उभ्याउनु भएको छ, सहज पक्कै पनि भएन हो ?
फिल्मका कथा मैले आफैँबाट निकालेको हो । मभित्र राम पनि छ । मभित्र रावण पनि छ । म राम हुँदा के–के गर्थें, रावण हुँदा के–के गर्थें ! यी कुरा दुई चरित्रमा राखेँ । छायाङ्कनमा अलि कठिन थियो । राम्रो फिल्म बनाउन मेहनत गर्नैपर्छ ।
‘रावायण’ नाम राखिएको छ । धार्मिक कुरा पनि छ कि ?
फिल्मभित्र धार्मिक कुरो केही राखिएको छैन ।
पल शाहलाई रोमान्टिक हिरोको रुपमा चिनाउने तपाईं नै हो । अहिले एक्सन गराउँदा दर्शकले पत्याउलान् त ?
शाहरुख खानले एकसमय ‘बाजीगर’, ‘डर’ जस्ता नेगेटिभ फिल्ममा अभिनय गरेका थिए । तर ‘डीडीएलजे’मा यस चोपडाले उनलाई कसरी रोमान्टिक हिरो सोचे त ? फेरि जवान, पठानमा एक्सनमा कसरी आए ? अभिनेता काँचो माटो हो । त्यसलाई कस्तो बनाउने भन्ने निर्देशकले हो । शरीर दुब्लो–पातलो भएका मानिसमाथि पनि अत्याचार भयो भने एक्सनमा उत्रिँदैन र ? एक्सन गर्न ठुला पाखुरा चाँहिदैन । हिम्मत चाहिन्छ । त्यो परिस्थितिले दिन्छ । हामी सबै कमन मानिस हो । हामीभित्रै संसारमा चमत्कार गर्ने क्षमता छ ।
अर्ग्यानिक कथाका दबदबा रहेको समय प्रेमकथामा एक्सन मिसाउनु जोखिम छैन ?
अहिले अर्ग्यानिक भनेको मैले बुझिनँ । अमेरिकामा खाए पनि, नेपालमा खाए पनि पानी त पानी हो । दुर्गम गाउँमा पुगेर टुकीबत्ती बाल्दै, ढिँडो पकाउँदैमा, टालेको लुगा लगाउँदैन फिल्म अर्ग्यानिक हुँदैन । सहरको मानिसको कथा अर्ग्यानिक हुँदैन र ? इमोसन जहाँको मानिसको पनि एउटै हो । भोक, प्यास लगायत संसारभरका मानिसलाई हुन्छ । अर्ग्यानिक केलाई भनिरहेका छन्, मैले बुझेको छैन ।
फिल्म नचल्नुको कारण के हुनसक्छ ?
दर्शकले हेर्न मन लागेको फिल्म पाएनन् । दर्शकले कुन समय के रुचाउँछन्, मेकरले बुझेनन् ।
निर्देशकको रूपमा आफूलाई सफल, असफल के मान्नुहुन्छ ?
काम गर्दै जाँदा कहिले सफल भए, कहिले असफल भएँ होला । नेपाली फिल्म उद्योगबाट मेरो नाम बनेको छ । मैले यो उद्योगबाट जे पाएको छु, एकदमै खुसी छु ।
आगामी प्रोजेक्ट के–के छन् त ?
३-४ वटा फिल्म स्क्रिप्टमा काम भइरहेको छ । म ‘रावायण’ रिलिजपछि प्रेमगीत टाइपको फिल्म बनाउने कि, ‘रावायण’ टाइपको भनेर डिसिजन गर्न ‘रावायण’को रिलिज कुरिरहेको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई