बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

आइजीपीले त्यस्तो कुरा बोल्न मिल्दैन : सञ्चारमन्त्री गुरुङ

शनिबार, १५ भदौ २०८१, २१ : ५०
शनिबार, १५ भदौ २०८१

पोखरा । नेपाल सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्ने बताएका छन् । सङ्घीय प्रहरी ऐन लागू गर्दिनँ भनेर प्रहरी प्रमुखले भनेको भन्दै उनको जिब्रो थुत्नुपर्ने गुरुङको भनाई छ ।

‘मैले यहाँ हुँदा (मुख्यमन्त्री हुँदा) आफ्नो प्रहरी र कर्मचारी प्रशासन नभएको सरकार सरकार नै हुँदो रहेनछ । यो व्यवहारले पुष्टि भैसकेको छ,’ उनले भने, ‘यो वर्ष सङ्घीय निजामती ऐन र सङ्घीय प्रहरी ऐन लन्च गर्ने तयारी छ । त्यसलाई अवरोध गर्ने त्यही सेक्टरको मान्छेबाट भइरहेको छ ।  अहिले प्रहरीको आइजीपीले यो कानुन मान्दिन भनिरहेका छन् । त्यस्तो बोल्न पाउने कि नपाउने ? उनको जिब्रो थुत्नुपर्थ्यो मैले भन्दाखेरि । उनले त्यसरी बोल्न पाउँदैनन् नि ।’

उनले निजामती ऐनमा समेत सबैभन्दा बढी कर्मचारीबाटै ‘डिवेट’ भइरहेको बताए ।  अर्को प्रसङ्गमा गुरुङले देशैभर नयाँ समीकरणको सरकार बनिसकेको अवस्थामा गण्डकीमा ‘हाडीगाउँको जात्रा’ भइरहेको टिप्पणी गरेका छन् ।

‘कहीँ नभएको जात्रा हाडीगाउँमा भन्थे, अहिले कहीँ नभएको जात्रा गण्डकीमा भइरहेको छ । माथि समीकरण फेरिए पछि तल पनि फेरिनुपर्छ,’ उनले भने, ‘मुख्यमन्त्रीले दुःखमा साथ दिएको भएर मन्त्री राखिराख्छु भन्नलाई उहाँको निजी शासन हो र ? प्राइभेट कम्पनी चलाएको त होइन होला नि । उहाँले अराजनीतिक काम गर्नुभएको छ ।’

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिँदा मत दिएका माओवादीको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाइराख्ने अडान लिएका छन् । 

पाण्डेको सोही अडानलाई पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले गलत भनेर टिप्पणी गरेका हुन् । गत १७ असारको मध्यराति ओली–देउवाबिचको सहमतिमा ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । तर, गण्डकीमा एमाले सरकारमा गइसकेको छैन ।

यदि २ जनालाई मन्त्री राखिराख्ने भए कांग्रेसले आफ्नै कोटामा राख्नुपर्ने उनको भनाई छ । ‘सात वटा भन्दा धेरै मन्त्रालय नबनाऊ भनेको छ । दुई वटा दलका नेताबिच सहमति हुनुपर्यो नि । दुःखमा साथ दिएकै भन्ने लागेको छ भने आफ्नो भागमा रहेको मन्त्रालय दिए हुन्छ,’ अघि भने, ‘उहाँहरूलाई सरकारमा राख्दा राजनीतिक रूपमा हामी गलत हो भन्छौँ । तर आफ्नै सिटमा मिलाउँछु भन्नुहुन्छ भने एमालेको धेरै टाउको दुखाई छैन ।’ 

प्रेस चौतारी नेपाल गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले टीआरसी विधेयक पास भएकोले अहिलेको गठबन्धन लामो समय टिक्ने आधार बलियो बनेको बताए । अहिलेको गठबन्धन ८४ को चुनावसम्मै जाने उनले दाबी गरे । ‘टीआरसी विधेयक आउनु ‘माइल स्टोन’ हो,’ उनले भने, ‘२०६२/०६३ देखि अल्झिएको यो समस्या समाधान भयो । सरकार टिक्ने आधार पनि यहि हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप