शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

मकवानपुर जिल्ला लिग फुटबल : गोर्खा ब्वाइजको सुखद सुरुवात

२ खेल बराबरी, एक खेल स्थगित
शनिबार, १५ भदौ २०८१, २० : ४३
शनिबार, १५ भदौ २०८१

हेटौँडा । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत गोर्खा ब्वाइजले  सुखद सुरुवात गरेको छ । शनिवार भएको ४ वटा खेलमध्ये गोर्खा ब्वाइजले इन्टरनेट सिटीलाई ३–१ ले हराएर सुखद सुरुवात गरेको हो ।

हेटौँडा–६ गौरीटारस्थित खेल मैदानमा भएको खेलमा गोर्खाका लागि अनिल घलान, प्रताप थोकर र रिहान लामा एक÷एक गोल गरेका थिए । इन्टरनेटको तर्फबाट सिजन खड्कीले एक मात्र गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच गोर्खा ब्वाइजका अनिल घलान घोषित भए ।

शनिवार नै भएको २ खेल भने बराबरीमा टुङ्गिएको छ भने एक खेल वर्षका कारण स्थगित भयो । हेटौँडा–११ स्थित सिमलटार खेल मैदानमा भएको सक्षम युवा क्लब नेवार पानी र हेटौँडा भेट्रान्सको खेल वर्षाका कारण स्थगित भएको थियो ।

खेलको २३ औँ मिनेट चलिरहँदा वर्षाका कारण खेल स्थगित भएको थियो । खेलमा दुवै टिम गोलरहित बराबरीको अवस्थामा रहेका थिए । उपयुक्त समयमा खेल खेलाउने टिमको सहमतिमा खेल स्थगित गरिएको आयोजकले जानकारी दिएको छ ।

यस्तै शनिवार गौरीटार रंगशालमा भएको परेली युवा क्लब बस्तीपुर र विजय यूथ क्लब हेटौँडाबिचको खेल एक/एक गोलको बराबरीमा सकिएको छ । विजय यूथले सुरुवाती गोल गरेको थियो । खेलको निर्धारित ९० औँ मिनेटसम्म खोल गर्नबाट चुकेको परेलीले अतिरिक्त समयमा गोल फर्काएको थियो ।

अतिरिक्त समयमा विजय यूथले गोल खाएपछि परेलीसँगको खेल बराबरीमा टुगिंएको हो । विजय यूथका लागि २३ औँ मिनेटमा विनिस अमात्यले गोल गरेका थिए भने परेलीका तर्फबाट अतिरिक्त समयमा प्रविन गोलेले गोल गरेर खेललाई बराबरी गरेका थिए । खेलको म्यान अफ द म्याच विजय यूथका सरोज राई घोषित भए ।

शनिवार नै सम्पन्न आरआर एफसी र एफसी इन्टरनेट पनि १/१ गोलको बराबरीमा रोकिएका छन् । सिमलटार खेल मैदानमा भएको खेलको अन्तिम समयमा सम्हालिन नसक्दा उपहार गोलबाट अग्रता लिएको इन्टरनेट आरआर एफसीसँग बराबरीमा रोकिएको हो ।

खेलको २३ औँ मिनेटमा आरआर एफसीका तीर्थ लामा आत्मघाती गोल गरेपछि इन्टरनेटले अग्रता बनाएको थियो । तीर्थले क्लियर गर्न खोजेको बल आफ्नै पोस्टमा छिर्दा इन्टरनेटले गोल उपहार पाएको थियो ।

खेलको निर्धारित ९० औँ मिनेटसम्म गोल आरआरलाई गर्नबाट रोकेको इन्टरनेटले अतिरिक्त समयमा अग्रता गुमाएको थियो । अतिरिक्त समयमा आरआरका सुदीप सापकोटाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । सुदीपको गोलले आरआरलाई हारबाट जोगाएको थियो । खेलको म्यान अफ द म्याच इन्टरनेटका अविनाश बोम्जन घोषित भए ।

जारी प्रतियोगितामा आइतबार पनि ४ खेल हुनेछ । जिल्ला लिगमा मकवानपुरका २८ क्लबको सहभागिता रहेको छ । लिगको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप