साइलेन्ट ह्विसपर : हजुरआमासँग जोडिएका कथा र कल्पनाहरू
यसपालिको आलखेमा दुईवटा कला प्रदर्शनीको चर्चा गर्दै छु । सिद्धार्थ कला दीर्घामा यतिबेला युवा कलाकार मुना भडेलको ‘साइलेन्ट ह्विस्पर’ (मौन कानेखुसी) नामक एकल कला प्रदर्शनी चलिरहेको छ । अगस्ट १८ बाट सुरु भएको यो प्रदर्शनी सेप्टेम्बरको १८ मा सकिँदै छ ।
यस्तै नेपाल आर्ट काउन्सिलमाा ‘स्वतन्त्र सोच’ नाम दिएर भर्खरै पाँचदिने (अगस्ट १५–१९ सम्म) मिथिला कलाको सामूहिक चित्रकला प्रदर्शनी गरियो । यी दुवै प्रदर्शनीको खास पक्ष केलाउने कोसिस गर्दै छु ।
- ‘साइलेन्ट ह्विस्पर’
अत्याधुनिक कलागत प्रवृत्तिमा काम गरिरहेका थोरै सशक्त महिला युवा कलाकारमध्येकी एक हुन्, मुना भडेल । आफ्ना कलामा नेपाली पहिरन (वेशभूषा, गरगहना आदि)लाई विशेष चासोका साथ ल्याउन खोज्ने उनी फिगरेटिभ आर्टिस्ट हुँदाहुँदै ‘सुपर रियालिस्टिक’ फर्ममा काम गर्छिन् । पछिल्ला केही वर्षदेखि महिलाका वेशभूषालाई लक्षित गरी नितान्त नौलो अवधारणा र सोचमा देखिएको उनको कामले निकै चर्चा पाउने गरेका छन् ।
‘मौन कानेखुसी’मा यसपल्ट उनी आफ्नै स्मृति, अनुभव वा अनुभूति हराएकी छन् । आफूमा आएका विचारलाई समग्रमा एकीकृत गरेर अमूर्तन भावमा उनका कला देखापरेका छन् । परम्परागत चित्रका पात्रलाई आफ्ना हजुरआमाहरूसँग मौन संवाद गराउनु उनको यसपालिको कलागत स्वभाव देखिन्छ ।
यासपालि मुनाले बुवातिरका र आमातिरका आफ्ना हजुरआमाहरूलाई पात्र बनाएकी छन् ।
एउटा चित्रमा हजुरआमा गम्भीर मुद्रामा छन्, उनको छेउमा तीनवटा स–साना चित्र राखिएको छ । एउटा राधा र कृष्णको चित्र छ, जसमा कृष्णले राधाको केश कोरीबाटी गरिरहेका छन् । अर्को चित्र छ, हिन्दु राजाको, जसमा रानीलाई राजाले बिन्ती भावका साथ सेवा गरिरहेकै देखिन्छ । अर्को चित्र छ, जसमा मुस्लिम सम्राटले आफ्नी रानीलाई सेवा गरिरहेका छन् ।
यस्तो लाग्छ, गम्भीर मुद्रा वा शान्त भावमा देखिने हजुरआमा बितेका जवानीका दिनहरूको सम्झना वा कल्पनामा हराएकी छन् ।
के मुनाकी हजुरआमाले पनि जवानीका दिनहरूमा आफ्नो जीवनसाथीबाट त्यस्तै प्रकारको साथ, सहयोग र स्नेह पाएकी थिइन् ? चित्रमा आएका दृश्यहरू हजुरआमाका सम्झना हुन् कि कल्पना ?
यस प्रश्नको जवाफमा मुनाले अनौठो कुरा सुनाइन् । एकपटक उनले आफ्नी हजुरआमालाई सोधिछन्— हजुरबाले छाडेर गएपछि तपाईंलाई न्यास्रो लाग्यो होला हगि ? एक सेकेन्ड पनि नपर्खी जवाफ आएछ— अहँ लाग्दैन । बाँचिरहँदा चाहि के माया देखाएको थियो र ?
वास्तवमा चित्रमा आएका दृश्य मुनाको कल्पना रहेछ ।
यस्तै, एउटा चित्रमा दुईजना हजुरआमाहरू गम्भीर मुद्रामा कुराकानी गरिरहेका छन् । अर्को छ, जसमा पुराना परम्परागत पात्रले हजुरआमाको स्याहार गरिरहेका छन् । एउटा हजुआमाको ठुलो व्यक्तिचित्र छ, उनको पछाडि भित्तामा पत्नीको सेवा गरिरहेका परम्परागत चित्र टाँगिएका देखिन्छन् । अरु स–साना चित्रमा हातका मुद्राबाट अनेक स–साना लघुकथा निर्माण गरिरहेका देखिन्छन् । मुगल, राजस्थानी वा पहरी शैलीलाई आजको कलासँग संयोजन गर्नुले अतीतलाई प्रतीकात्मक ढंगले ल्याएको आभास हुन्छ ।
मुनाले यतिखेर आफ्ना चारजना हजुरआमाहरूलाई आफ्नो चित्रको माध्यमबाट सम्झन पुगेकी छन् । हजुरआमाहरूसँग विभिन्न विषयवस्तु गाँसिएर चित्रमा उत्रिएका छन् । हजुरआमाहरूका भावना, संवेदना, सपना, सम्झना र कल्पनाहरू उनका चित्रमा आएका हुन् । यद्यपि यी सबै परिकल्पना सर्जक मुनाकै हुन् ।
आज कतिपय युवाहरू घरमा आफ्ना वृद्ध भएका आमाबाबुलाई छाडेर विदेश पलायन हुँदै छन् । आज जसले देश वा विदेशमा प्रगति गरिरहेको छ, त्यसको मूल जरामा वृद्ध आमा वा हजुरआमाहरू छन् । सन्तान हुर्काउन उनीहरूको दुःख साधारण होइन, असाधारण हुने गर्छ । यसपालिका मुनाका कामले हेर्दै जाँदा भावकले पनि यस्ता थुप्रै कथा कल्पन्छन् ।
एकपटक उनले आफ्नी हजुरआमालाई सोधिछन्— हजुरबाले छाडेर गएपछि तपाईंलाई न्यास्रो लाग्यो होला हगि ? एक सेकेन्ड पनि नपर्खी जवाफ आएछ— अहँ लाग्दैन । बाँचिरहँदा चाहि के माया देखाएको थियो र ?
उनका चित्रका पात्रमा पहिरन स्वैर–काल्पनिक देखिन्छ, यो उनको मौलिकता पनि हो । १८औँ शताब्दीतिर देखापरेका परम्परागत कला शैली र त्यसका पात्रलाई उनले निम्त्याएकी छन् । त्यसवेला विशेष गरेर भारतको पहरी कला शैलीबाट नेपाली कला प्रभावित थियो । पहरी शैली मुगल र राजस्थानी शैलीको विकसित रूप हो, अनि भारतको पहाडी राज्यहरूमा आफ्नै मौलिक विशेषताका साथ यस्ता चित्र बनाइन्थ्यो ।
भारतमा १७ देखि १९औँ शताब्दीसम्म सक्रिय रहेको पहरी स्कुलिङ राजपुत शासकको सक्रियतामा भारतको हिमालय र हिल्ली रिजन (पहाडी क्षेत्र)मा फैलिएको थियो । विशेष गरेर हिमालय र हिल्ली रिजनका बासोहिल स्कुल, चम्बा स्कुल, मानकोट स्कुल, मन्डी स्कुल, नुरपुर स्कुल, गरवाल स्कुल, गुलेर स्कुल काँगडा स्कुल आदिमा फरक–फरक विशेषताका साथ पहरी कलाशैली पल्लवित भएको थियो ।
मुनाको यसपालिको काममा भारतीय कलाको छाया भए पनि त्यसमा कल्पनाशीलता व्यापक रूपमा आएको छ । मैले उनलाई सोधेको थिएँ– ह्विसपरको अर्थ कानेखुसी अर्थात् सानो स्वरमा कानमा खुसुक्क भनिने कुरा नै हो नि ? उनले जवाफमा भनिन्— त्यसमा साइलेन्ट अर्थात् मौन जोडेर मैले भावकसँग खानेखुसी गर्न खोज्दै छु । मैले गरेको महसुस, मैले सम्झनाभित्र गरेको कल्पना, जसमार्फत म हजुरआमाहरूसँग पनि कानेखुसी गर्दै छु । जुन हजुरआमा यो संसारमा हुनुहुन्न, त्यसैले पनि मैले यहाँ साइलेन्ट शब्द ल्याएकी हुँ ।
- मिथिला कला
अहिले कला प्रदर्शनीमा मूल थिम राख्ने चलन छ । मिथिला कलाको सामूहिक चित्रकला प्रदर्शनीको थिम थियो, ‘स्वतन्त्र सोच’ । स्वतन्त्र सोच आधुनिक कलाको मूल प्रवृत्ति हो ।
विश्वको कला इतिहास हेर्दा शासकले लाए–अह्राएको कला सिर्जना गर्न छाडेर कलाकारहरू स्वतन्त्र तरिकाले कला सिर्जना गर्न थाले । स्वच्छन्द भाव र आफ्नै निजी विचारहरू प्रस्फुटन गर्न थालेपछि कलामा आधुनिकता आएको व्याख्या गरिन्छ ।
कलाकारले जतिजति प्रतिक्रियात्मक (निर्भीक भएर आफूलाई लागेको कुरा भन्ने, लेख्ने र कोर्ने) रूपमा सामाजिक, राजनीतिक अवस्थालाई सम्बोधन गर्न थाल्यो, त्यतित्यति नै कलाका विभिन्न अवधारणा विकास भए, कलाकारले व्यङ्ग्य पनि गर्न थाले, यसरी कलाको प्रवृत्ति आधुनिक, उत्तरआधुनिक, वैकल्पिक कलातर्फ उन्मुख भएको विश्वास गरिन्छ । तथापि यी सबैमा ‘स्वतन्त्र सोच’को कहीँ न कहीँ भूमिका रहँदै आयो ।
मिथिलाकलाको सामूहिक प्रदर्शनी यसपालि भारतीय गणतन्त्र दिवसका अवसर पारेर गरियो । भारतले ब्रिटिसबाट पाएको स्वतन्त्रता पनि यसमा जोडिन पुगेको देखिन्छ । तथापि मिथिला चित्रकला (लोककला)को प्रदर्शनीको नाम ‘स्वतन्त्र सोच’ राखिनुले थोरै अन्योल पनि सिर्जना गरेको आभास हुन्छ । किनकि लोककलाले ‘स्वतन्त्र सोच’ बोक्न सक्तैन । लोककला मूलतः संस्कार, परम्परागत रीतिरिवाज वा धर्मका अवयवसँग गाँसिएर देखापर्ने गर्छ । जहाँ कलाकारको स्वतन्त्र सोच हुनै सक्तैन । कलाकार एउटा निश्चित दायरामा बाँधिएका हुन्छन् । संस्कारको एक भाग भएर देखापर्ने यस्ता कला भुईं र भित्तामा, अंकित हुने गर्दथ्यो ।
त्यसकारण यी कलाहरूलाई लोक–समसामयिक कलाका रूपमा हेर्दा र भन्दा ज्यादा उपयुक्त होला । जहाँ लोककला र समसामयिक कलाको फ्युजन हुन्छ । अर्थात् यी दुवै कलाका विशेषतालाई बान्की पारेर कलाभित्र घुसाइएको हुन्छ । हिजोआजका अधिकांश मिथिला कला यस्तै स्वरूपमा देखापर्ने गरेका छन् ।
घरका भित्ता, आँगन वा भाडावर्तन र अन्य उपयोगी सामग्रीमा देखापर्ने लोककला आज क्यानभासमा देखिन थालेका छन् । हिजो आस्था र सौन्दर्यको उद्देश्यसहित लोककलाको प्रयोग हुन्थ्यो । आज यसको बिक्री हुन्छ, यसले आय–आर्जनको बाटो समातेको छ । प्रकृतिका ढुङ्गा, काठपात र वा फूलहरूबाट रस निकाली बनाइने रङहरूको सट्टा आज आज बजारिया रङहरू प्रयोग हुन थालेका छन् । यसरी लोककलामा विदेशबाट भित्रिएको प्रविधि, प्रवृत्ति अनि माध्यम घुसेकाले यो समसामयिक कलाका रूपमा पनि देखिन पुगेको छ ।
निश्चित ठाउँमा, निश्चित उद्देश्यका साथ देखापर्ने यस्ता कलाहरूले आम मान्छेको सोच वा विचारमा सकारात्मक परिवर्तन गर्छन् भन्ने आस्था र विश्वास लिने गरिन्थ्यो । घर–परिवार जम्मैजसो संलग्न भएर बनाइने यस्ता चित्र बाङ्गाटिङ्गा रेखाहरू र प्राकृतिक रङहरू (प्रकृतिबाट जे–जस्ता रङ निकाल्न सकिन्छ)को संयोजनबाट देखापर्थे । पात्रहरूको चयन पनि धर्ममा ज्यादा आश्रित भएर देखापथ्र्यो ।
समयसँगै समुदायको सोचमा परिवर्तन हुँदै जाँदा कलाहरू पनि त्यसैअनुरूप देखिन थाले । लोककलाले आज समसामयिक कला बन्न खोज्नु अचम्मलाग्दो वा अस्वाभाविक भएन ।
यसपालि नेपाल र भारतका मिथिला कलाको संयुक्त प्रदर्शनी भनिए पनि भारतबाट आएका प्रख्यात (पद्मश्री सम्मानबाट विभूषित) कलाकारसँगै बसेर काम गर्न पाएका नेपाली कलाकारले पनि उनीहरूकै शैली अनि अंकन पद्धतिबाट कलाको निर्माण गरेको देखिन्छ । जसले गर्दा सबैजसो कला एकैनासका देखिन्छन् । विशेषतः पद्मश्रीबाट विभूषित भारतीय चार कलाकार (बौआ देवी, शिवन पासवान, शान्ति देवी र दुलारी देवी) का कलाले पनि यो कला प्रदर्शनी विशेष बनाएको थियो ।
यसबाहेक केही नेपाली कलाकार रेवती, एरिना ताम्राकार, रागिनी उपाध्याय, शालिनी यादव, अमृता दत्त, राजकुमारी, मधुमाला मण्डल, शुधिरा कर्ण, रुद्राणी देवी दास, रिनुकुमारी कर्ण, सुमित्रा यादवका कला थिए भने । भारतबाट चाँदनी कुमारी, दीपाकुमारी आदि आफ्ना कलासहित सहभागी भएका थिए ।
- केही चित्रको चर्चा
पद्मश्री विजेता शान्तिदेवीले भर्खरै सन् २०२४ मा बनाएको एउटा चित्रलाई हेरौँ । झन्डोत्तलोनको एउटा दृश्यलाई चित्रपटको केन्द्रमा राख्दै बनाइएको चित्र सपाट पातला पहेँला, नीला, हरिया अनि राता रङको लेपन गरी तयार भएको देखिन्छ । यसबाहेक चित्रमा सपाट नीलो आकाश, आकाशबाट पुष्पवृष्टि, हेलिकप्टरसँगै अन्य काल्पनिक अलौकिक रूपका चराहरू देखिन्छन् ।
आधारभूत रङहरू प्रयोग भएको यो चित्रमा रेखाङ्कनको बाहुल्य देखिन्छ । रेखाहरूबाटै अजीव किसिमका पहिरनमा दुई व्यक्तिहरू चित्रपटको मध्य भागमा देखिन्छन् । अनौठो प्रकारको टोपी, अनुहारमा जुँगा आदिले गर्दा यो चित्र मिथिला कलाको वास्तविक विशेषताबाट थोरै अलग्ग भई आफ्नै मौलिकतासहित उभिएको आभास हुन्छ ।
समग्रमा भन्दा यो चित्र स–साना बालबालिकाले बनाएको जस्तो देखिन्छ । बालबालिकाका चित्रमा यसरी नै कल्पनाको भरमार प्रयोग हुन्छ । अनि आफ्ना भावनालाई स्वैरकाल्पनिक ढंगले संयोजन गरिन्छ । यसर्थ पनि बालकला, लोककला र आधुनिक कलामा सिर्जनशील तत्त्वमा एकरूपता छ भन्ने गरिन्छ । तथापि बालकलामा आकस्मिकता हुने हुँदा, लोककला वा आधुनिक कला, बालकला भने होइन ।
स्वभावतः यहाँ बालकलाझैँ सहज रूपमा देखापरेका यस्ता चित्रमा बाल सुलभता र सरलता झल्केको देखिन्छ । अनि स्पष्ट रूपमा पात्रलाई उभ्याउने तरिकाले गर्दा पनि यी कलो कलाकारको निजी स्वभावको प्रत्याभूति गराउँछन् । यति मात्र होइन, यसले आफ्नो राष्ट्रप्रतिको सद्भाव र आदर–सम्मान भावलाई सहज तरिकाबाट चित्रित गरेको पनि देखिन्छ ।
शिवन पासवानका एउटा चित्रमा एक महिलाले भारतको झन्डा बोकेको देखाइएको छ । चारैतिर सर्पहरू, उल्लु (चरा)हरू, फूलहरू आदि देखिन्छन् ।
रातो, हरियो अनि पहेँलो रङको सरल र सपाट लेपनसहितको उनको चित्रले भावकलाई भावनामा गहिराइमा लैजान्छ । यद्यपि उनको चित्रमा लोककलाको पूर्ण विशेषता देखिन्छ ।
अन्य कलाकारका चित्रमा माछा बेच्न हिँडेका महिलाहरू, ढिँकीमा अन्न पिस्दै गरेका महिलाहरू, केटाकेटीलाई स्कुल पु¥याउन गाडी चलाउने महिलाहरू आदि आएका छन् । महिलाले सबथोक गरिरहेका छन् वा गर्न परिरहेको छ आदि लैङ्गिक मुद्दालाई पनि हल्का रूपमा कलामा उठाइएको पाइन्छ । यसैले यी कला लोक समसामयिक कलाका नमुना नै हुन् ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
-
सेयर बजार ३१ अंकले घट्यो, सवा ८ अर्बको कारोबार
-
भारतीय स्थल सेना अध्यक्ष द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान
-
करिब १७ प्रतिशतले राजस्व वृद्धि
-
हिट किक बक्सिङका खेलाडी घिमिरे नेपाल आउँदा विमानस्थलमा भव्य स्वागत
-
अबदेखि ‘फर्मासिष्ट’ले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने