शनिबार, १२ माघ २०८१
ताजा लोकप्रिय

देश अहिले आँधी आउनु पूर्वको सन्नटाको अवस्थामा छ : लिङ्देन

शनिबार, १५ भदौ २०८१, १७ : १०
शनिबार, १५ भदौ २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको विरोध गर्ने युवाहरूलाई खोजी खोजी पक्राउ गरी थुन्ने काम भइरहेको भन्दै विरोध गरेका छन् । शनिवार काठमाडौँको साँखुमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन शंखरापुर नगर अधिवेशनमा सम्बोधन गर्दै लिङदेनले सरकार अप्रजातान्त्रिक बनेको उल्लेख गरे । 

उनले भने–‘प्रजातन्त्रमा शान्तिपूर्ण रूपमा विरोध गर्न नपाउने, लेख्न नपाउने भनेपछि कस्तो व्यवस्थाको अभ्यास गरिरहेका छन् त ? आज हामीले यिनीहरूलाई सोध्नुपर्छ, कांग्रेस र एमाले सरकारमा छन्, आफ्नो विरोध गर्नेलाई उनीहरूले धमाधम पक्राउ गर्न थालेका छन् । उनीहरू अहिले जुन हैसियतमा छन्, उनीहरू दौडिएर वा हिँड्दै हिँड्दै आएका हुन ? उनीहरू हिजो यसरी नै विरोधको बाटोबाट आएका हैनन् ? यसै प्रकारको नारा जुलुस, यसै प्रकारको विद्रोह गरेर आएका होइनन् ? आजका यी युवाहरूले भन्दा हजारौँ गुणा विध्वंसको काम गरेर आएका होइनन् ?’ 

देशमा युवाहरू बस्न लायक नभएको बताउँदै उनले १२ कक्षा पास गरिसकेपछि विदेश जानुपर्ने अवस्था आएको बताए । खर्च जुटाउने अमेरिका, क्यानडा, अस्ट्रेलिया र खर्च जुटाउन नसक्नेहरू मलेसिया र साउदी अरब जानुपर्ने अवस्थामा रहेको बताए । देशमा उचित शिक्षा र रोजगारीको अवसर नरहेको बताउँदै अध्यक्ष लिङदेनले आज हरेकको रोजाई विदेश हुने यो अवस्था कसले सिर्जना ग¥यो भन्दै प्रश्न गरे ।

उनले देशमा संकट नदेखिए पनि सङ्कट आउनुपूर्वको अवस्थामा रहेको टिप्पणी गरे । उनले भने–‘देशमा अहिले बन्द हडताल जुलुस नहुँदा केही भएको छैन जस्तो देखिन्छ तर देशको अवस्था ठिक छैन । देश अहिले आँधी आउनु अगाडिको शान्ति जस्तो छ । आँधी आउनु अघि कहिले कस्तो चकमन्न हुन्छ त्यस्तो अवस्थामा छ । अब आउने आँधी देशको बरबादीको लागि हुनुहुँदैन । देशको हितको लागि हुनुपर्छ । अहिलेसम्म जरा गाडेर बसेको विकृति विसङ्गति र भ्रष्टाचारलाई बढार्ने खालको आँधी हुनुपर्छ र आँधीलाई हामीले त्यस दिशामा परिणत गर्नुपर्छ ।’ 

कांग्रेस एमालेको गठबन्धन राजनीतिक दुनियाँमा अचम्मको परिदृश्य देखिएको बताउँदै पहिलो र दोस्रो राजनीतिक दल मिलेर सरकार बनाउनु दुर्लभ परिस्थितिमा मात्र हुने उल्लेख गरे । सङ्क्रमणकालीन व्यवस्था आयो, एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा जानुपर्ने अवस्था आयो, देशलाई एउटा अवस्थाबाट अर्को अवस्थामा लानुपर्ने अवस्था आयो भने यस प्रकारको गठबन्धन र सहमति बन्ने भएपनि आज यो उनीहरुको सहमति के का लागि ? भन्दै प्रश्न गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप