धर्म बजारको अङ्ग कसरी बन्यो र धन्दामा बदलियो ?
पशुपतिमा चलेको एक महिने कोटिहोमको समापन भएको दुई साता भएको छ । यसका सञ्चालक, आर्थिक पारदर्शिता, केही कथावाचक र उनीहरूद्वारा व्यक्त विचारका कारण कोटिहोमको निकै आलोचना भयो । धर्म, धार्मिक आस्था, धार्मिक गतिविधि र अनुष्ठानहरूबारे त्यति आलोचनात्मक हुन नचाहने नेपाली समाज यसपटक थोरै आलोचनात्मक बन्यो । धर्मको विस्तार, आलोचनात्मक विवेक एवं वैज्ञानिक चेतनामा ह्रास आउँदै गरेको समयमा नेपाली समाज थोरै आलोचनात्मक देखिनु पनि सकारात्मक कुरा थियो ।
२०६० को दशकको आरम्भसँगै नेपालमा धार्मिक गतिविधिमा वृद्धि भएको हो । धार्मिक संस्थाहरूको निर्माण, मठ–मन्दिरहरूको स्थापना, धार्मिक गतिविधि एवंं प्रचार–प्रसार बढेको हो । यसको आरम्भ चालीसको दशकको उत्तराद्र्धदेखि नै भएको थियो । धार्मिक गतिविधिहरू प्राचीन समयदेखि नै हुँदै आएका छन् । गतिविधिहरूको ग्राफ बढ्ने र घट्ने गरेको छ ।
शासन सत्ताहरू धर्मद्वारा निर्देशित रहेका छन् । धार्मिक गतिविधि, धर्मको प्रचार एवं उन्नयनमा निरन्तरता पाइए पनि आज धर्मको विस्तार अलि तीव्र रूपमा भएको छ । यसका कैयौँ पक्षमा परिवर्तन आएका छन् । सामाजिक, सांस्कृतिक प्रणालीको शृङ्खलाको रूपमा रहेको धर्मको बजार अनुरूप अनुकूलनको प्रक्रियालाई अघि बढाइएको छ । सम्भवतः वर्तमानमा धर्ममा देखिएको यो सबैभन्दा ठुलो परिवर्तन हो ।
धर्म र पुँजीबिच विचित्रको गठबन्धन पनि यस अवधिमै देखिएको छ । ज्ञानको तथ्यपरक मीमांसालाई खारेज गर्ने र धर्मलाई स्थापित गर्ने विचारहरू हलक्क बढेका छन् ।
धार्मिक गतिविधिको विस्तारको दृष्टान्तका रूपमा यस अवधिमा बनेका असङ्ख्य मठ–मन्दिरलाई लिन सकिन्छ । हरेक वर्ष आयोजना हुने सयौँ धार्मिक अनुष्ठानहरू पनि यसका उदाहरण हुन् । धर्ममा गरिने लगानीको परिमाण अविश्वसनीय ढङ्गले बढेको छ । व्यक्ति र संस्थाहरूबाट मात्र होइन, राज्यबाट पनि विभिन्न नाममा लगानी भएका छन्् । धर्मको विस्तारसँगै तार्किकता, आलोचनात्मक विवेक एवंं वैज्ञानिक चेतनामा ह्रास आएको छ । आफूलाई द्वन्द्वात्मक भौतिकवादी ठान्ने हजारौँ कम्युनिस्टहरूमा धर्म, कर्मकाण्ड, अध्यात्म, भाग्य, स्वर्ग–नर्क आदिप्रति बढेको विश्वास र प्रेम यसको सबैभन्दा सटीक उदाहरण हो ।
भनिन्छ, नेपालमा धर्ममा जति लगानी गरिँदै छ, सामाजिक कार्यमा त्यति लगानी हुने हो भने नेपाली समाजमा ठुलै परिवर्तन आउँथ्यो । धर्मको विस्तार नेपालमा मात्रै होइन, वैश्विक रूपमै भएको छ । आरम्भमा मूलतः मानव कल्याण, मानवीय मूल्य, नैतिक आदर्श, अनुशासन र कर्तव्यबोधका रूपमा रहेको धर्म समय क्रममा बढी कर्मकाण्ड, अन्धविश्वास, रुढी, अतार्किकता, रहस्यात्मकता, भाग्य, स्वर्ग–नर्क आदिको वाहक बन्यो । ऊ आफ्नो मूल मर्मबाट क्रमशः टाढियो । धर्मलाई सत्तारुढ वर्गले सत्ताको रक्षा र उत्पीडनको उपकरणका रूपमा प्रयोग गर्न सुरु गर्यो । धर्म आम मानिसको चेतनालाई आफू अनुकूल बनाउने माध्यम बन्यो । फलतः सुरुमा धर्म जस्तो थियो र धर्म भन्दा जे बुझिन्थ्यो, त्यो त्यस रूपमा रहेन । यो क्रमशः फेरिदै यहाँसम्म आइपुग्दा धेरै बदलियो ।
सुरुदेखि नै धर्मको चरित्र तर्कप्रधान होइन, आस्था र भक्तिप्रधान रहेको छ । ईश्वर वा परमात्माप्रति आस्था धर्ममा आरम्भदेखि नै पाइन्छ । यति हुँदाहुँदै पनि यसको चरित्र बढी मानवीय थियो । वर्ग र राज्यको उदय एवं समाजको श्रेणीकरणसँगै यसको चरित्र पनि फेरियो । यसको मानवीय चरित्रमा क्रमशः ह्रास आउन सुरु गर्यो । यसले बलियो संस्थागत रूप मात्रै ग्रहण गरेन, सामाजिक, सांस्कृतिक, राजनीतिक जीवनका हरेक क्षेत्रमा निर्णायक हुन थाल्यो । धर्मका नाममा भएका अत्याचारहरूले मानव जातिको इतिहास भरियो । यसकै नाममा लाखौँ मानिस मारिए । आम मानिसको धर्मप्रतिको आस्थालाई निकृष्ट स्वार्थ एवं उद्देश्यका निम्ति उपयोग गरियो । यो यथार्थ कमबेसी आज पनि जीवित छ ।
धर्मको विस्तारसँगै तार्किकता, आलोचनात्मक विवेक एवंं वैज्ञानिक चेतनामा ह्रास आएको छ । आफूलाई द्वन्द्वात्मक भौतिकवादी ठान्ने हजारौँ कम्युनिस्टमा धर्म, कर्मकाण्ड, अध्यात्म, भाग्य, स्वर्ग–नर्क आदिप्रति बढेको विश्वास र प्रेम यसको सबैभन्दा सटीक उदाहरण हो ।
भारतीय अर्थशास्त्री गिरिश मिश्रले आफ्नो पुस्तक ‘नवउदारवाद’मा समकालीन सन्दर्भमा धर्मलाई नवउदारवाद, भूमण्डलीकरण र पुँजीवादसँग जोडेर हेरेका छन् । जुन रूपमा धर्मको विस्तार र व्यापारीकरण भएको छ, मिश्रका शब्दमा यो पुँजीवादको मुनाफामुखी चरित्र र असफलतासँग जोडिएको छ । उनका अनुसार बदलिएको परिस्थितिले ‘ईश्वर मण्डी’लाई जन्म दिएको छ । मण्डीको अर्थ बजार हो । धर्म बजारको अङ्ग बनेको छ र धन्दामा बदलिएको छ भन्ने अभिप्राय मिश्रको रहेको छ । धर्म कसरी बजारको अङ्ग बनेको छ भनेर बुझ्न धेरै घोत्लिनुपर्दैन । धार्मिक संस्था, अनुष्ठान र मठ–मन्दिरहरूलाई धेरै रकम दिनेहरूलाई गरिने सम्मान, धर्मको आश्चर्यलाग्दो विज्ञापन, आडम्बरले भरिएका धार्मिक गतिविधि, यससँग सम्बन्धित उद्योग र व्यापारको विस्तार, नवउदारवादी मूल्य अनुसार धार्मिक मूल्यहरूको अनुकूलन आदिले यसलाई राम्रोसँग पुष्टि गर्छन् ।
‘द गड मार्केट’ भन्ने आफ्नो पुस्तकमा लेखिका मीरा नन्दा नवउदारवादी आर्थिक चिन्तन र भूमण्डलीकरणको प्रक्रिया अघि बढेसँगै भारतमा हिन्दु धार्मिक ज्वार उठ्न सुरु गर्यो र राज्य, मन्दिर एवं कर्पोरेटहरूको गठबन्धन अघि बढ्यो भन्छिन् । उनले विनियमनकारी व्यवस्थाले नवउदारवादी बजार व्यवस्थालाई बढायो र धार्मिक अनुष्ठान एवंं ईश्वर मण्डीको विस्तारलाई असाधारण टेवा मिल्यो भनेर उल्लेख पनि गरेकी छन् ।
धार्मिक अतिवाद, सङ्कीर्णता र द्वन्द्व बढेका छन् । राजनीतिमा धर्मको उपयोग बढेको छ । धर्मनिरपेक्षता बढी कृत्रिम लाग्छ ।
धार्मिक अनुष्ठानहरूको विस्तार मुनाफा, मनुष्यको अतार्किकीकरण, अन्धविश्वास र रुढीहरूको फैलावट, विज्ञान र धर्मनिरपेक्षताको आलोचना, धार्मिक युटोपियाको निर्माण आदिसँग गहिरो गरी जोडिएको छ । आम मानिस धार्मिक संस्था र तिनका गतिविधिबारे जसरी सकारात्मक रूपमा सोच्छन्, स्थिति त्यस्तो छैन । आज धर्मको अत्यास लाग्ने गरी व्यापारीकरण भएको छ । धर्मभित्र पनि वर्गहरू छन्, श्रेणी क्रम छ । कुनै जमानामा युरोपमा धर्माधिकारीहरू स्वर्ग जाने लाइसेन्स बाँड्थे, यो धन्दा प्रकारान्तरले आज पनि जीवित छ । सामान्य मानिस धर्मबाट सबैभन्दा उत्पीडित छन् ।
धर्मको विस्तारलाई बुझ्न यस विषयलाई अझ गहिराइमा हेर्न आवश्यक छ । धर्मको विस्तारसँगै यसको साम्प्रदायीकरण र राजनीतीकरण पनि भएको छ । धार्मिक अतिवाद, सङ्कीर्णता र द्वन्द्व बढेका छन् । राजनीतिमा धर्मको उपयोग बढेको छ । धर्मनिरपेक्षता बढी कृत्रिम लाग्छ । यससँगै अराजकता, अतार्किकता र चरम व्यक्तिवाद हुर्किएका छन् । ‘उत्तरसत्य’जन्य मूल्यहरू समाजको अघिल्तिरको यात्राको बाधकका रूपमा छन् । धर्मको विस्तार र वर्तमान रूप आजको वैश्विक स्थितिसँग जोडिएको छ । नेपाल यसबाट अलग छैन ।
पुनर्जागरण र भौतिकवादी चिन्तनको विकासले तर्कबुद्धिवाद, विज्ञान र धर्मनिरपेक्षतालाई स्थापित गर्यो । धर्मसत्ता कमजोर बन्यो । माक्र्सवादको जन्म र विकासले यसलाई अझ कमजोर बनायो । सामन्तवादका विरुद्ध संघर्ष र त्यसको निषेधबाट जन्मिएको र विकसित भएको पुँजीवादको आरम्भिक प्रगतिशील चरित्र यसका निम्ति सहायक थियो । तर यो स्थिति लामो समय रहेन । यहाँसम्म आइपुग्दा पुँजीवाद धेरै बदलिएको छ र अझ बढी मानवद्वेषी भएको छ । सबै प्रकारका अतिवादको विकासमा यसको मुख्य भूमिका छ । विषमता र विसम्बन्धनको सबैभन्दा ठुलो कारण पुँजीवाद नै रहेको छ । यसबाट पीडित मनुष्य एकातिर धर्मको सहारा खोजिरहेछ, अर्कातिर मठाधीशहरू धर्मलाई धन्दा बनाइरहेछन् । यो धन्दा व्यापारदेखि राजनीतिसम्म फैलिएको छ ।
सन् १९७० को दशकदेखि धर्म र यसको पुनः प्रतिष्ठा एवं विस्तारको चित्र देखिन सुरु गरेको हो । सन् १९७९ को इरानको इस्लामिक क्रान्ति धर्मको पुनः प्रतिष्ठाको दिशामा महत्त्वपूर्ण परिघटना थियो । चाल्र्स क्रुजमानले ‘द अनथिङ्केबल रिभोल्युसन इन् इरान’ भन्ने आफ्नो पुस्तकमा धार्मिक सत्ताको अन्त्य नजिक छ भन्ने कैयौँ विद्वान्हरू यसबाट हतप्रभ भएको उल्लेख गरेका छन् । सन् १९८० को दशकदेखि यसको अझ बढी विस्तार हुन सुरु गर्यो ।
धार्मिक गतिविधिबाट मुक्त राखिएका अमेरिकी विद्यालयहरूमा इसाई धर्मको शिक्षा दिनुपर्छ भन्न थालियो । ‘न्यु क्रिस्चियन राइट’ र ‘न्यु रिलिजियस राइट’जस्ता संस्थाहरूले नैतिक सङ्कट बढ्दै गएका कारण मानिसलाई धर्मसँग जोड्न र बाल्यकालदेखि नै नैतिक शिक्षा दिन जरुरी छ भन्न थाले । अमेरिकी विद्यालयहरूमा यससम्बन्धी विषय पुनः पढाउन थालियो । ‘रिलिजन एन्ड द अमेरिकन एक्सपेरियन्स’ नामक आफ्नो पुस्तकमा डोनाल्ड सी. स्विफ्टले यस विषयमा गम्भीर चर्चा गरेका छन् ।
सोभियत समाजवादको अन्त्यपछि यस्तै दृश्य त्यहाँ पनि देखापर्यो । इरान, अमेरिका र रुसमा मात्र होइन, अन्य कैयौँ मुलुकमा पनि धर्म र धार्मिक सत्ताले पुनः प्रतिष्ठा प्राप्त गर्न थाले । लेखक बोदर्युले चीनले समेत धर्मलाई लिएर आफ्ना कैयौँ नीतिलाई परिवर्तन गर्नुपर्यो भनेका छन् । भारतीय विद्वान् मणिन्द्रनाथ ठाकुरका विचारमा राजनीति यसबाट गम्भीर रूपमा प्रभावित छ । धार्मिक राष्ट्रवाद र अस्मिता चेत ‘पपुलिजम्’का आधार बनेका छन् । यसबाट विभिन्न राजनीतिक विचारधारा, पार्टी र गतिविधिहरू प्रभावित छन् ।
धर्मको पुनः प्रतिष्ठा र विस्तारको विश्वव्यापी प्रक्रियामा आज तीन किसिमका आन्दोलनहरू देखिन्छन् । स्टिभ ब्रुसका अनुसार एउटा आन्दोलन धार्मिक अस्मिताको आन्दोलनको रूपमा रहेको छ । यो आन्दोलन लोकतान्त्रिक, अलोकतान्त्रिक दुवै विधिबाट सत्तामा हाबी हुन चाहन्छ । अर्को शब्दमा यसलाई ‘धार्मिक अतिवाद’का रूपमा पनि उल्लेख गर्ने गरिन्छ । आन्दोलनको अर्को धाराले आफूलाई ‘नवधारा’ दाबी गर्छ तर क्रिसडेस र विल्किन्सजस्ता विद्वान्हरूका दृष्टिमा यो बजारको निकट छ ।
‘उत्तरसत्य’जन्य मूल्यहरू समाजको अघिल्तिरको यात्राको बाधकका रूपमा छन् । धर्मको विस्तार र वर्तमान रूप आजको वैश्विक स्थितिसँग जोडिएको छ । नेपाल यसबाट अलग छैन ।
आजको बजारवाद आफू अनुकूलको धर्मसत्ता चाहन्छ । बाफजस्ता लेखकका मतमा अर्को धारा आफ्नो मूल तत्त्वका आधारमा ‘मुक्तिकामी धर्म’का रूपमा अघि बढ्न चाहन्छ ।
धर्मको पुनः प्रतिष्ठा र विस्तारका कारणबारे पनि तीन किसिमले विचार गरिएको पाइन्छ । एकथरी वर्तमान परिस्थितिलाई यसको कारक मान्छन् । अर्काथरी भूमण्डलीकरणलाई यसको कारक ठान्छन् । यसको कारण धर्ममै नियाल्नेहरू पनि छन् । उनीहरूका अनुसार धर्ममा निहित सकारात्मक तत्त्वका कारण आधुनिक चिन्तनको हजारौँ कोसिसका बाबजुद पनि धर्म जीवित रह्यो र पुनः प्रतिष्ठा प्राप्त गर्दै छ । यसलाई ‘तृतीय विश्व’को घटनाका रूपमा लिने र एक किसिमको ‘नयाँ शीतयुद्ध’का रूपमा विश्लेषण गर्ने जुर्गेस्मायरजस्ता चिन्तकहरू पनि छन् । उनका अनुसार यो धर्मनिरपेक्ष राष्ट्रवाद र धार्मिक राष्ट्रवाद बिचको शीतयुद्ध हो ।
धर्मको विस्तार र पुनः प्रतिष्ठाका आन्तरिक र बाह्य कारणहरू छन् । आन्तरिक कारण धर्ममा अन्तर्निहित मानवीय एवं आध्यात्मिक पक्षसँग जोडिएको छ । बाह्य कारणका रूपमा मूलतः समकालीन पुँजीवाद रहेको छ । आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक समस्या र संङ्कट, अस्वस्थ प्रतिस्पर्धा, चरम उपभोक्तावाद र व्यक्तिवाद, मनुष्यको वस्तुकरण, एक्लोपनको विकास, नैतिक पतन एवं बजारको निर्णायक भूमिकाका कारण मानिसमा धर्म र धार्मिक गतिविधिप्रति आस्था बढेको छ । धर्म र पुँजीबिच विचित्रको गठबन्धन पनि यस अवधिमै देखिएको छ । ज्ञानको तथ्यपरक मीमांसालाई खारेज गर्ने र धर्मलाई स्थापित गर्ने विचारहरू हलक्क बढेका छन् ।
भूमण्डलीकरणका कारण सिर्जित अस्मिता सङ्कट, अस्मिता आधारित राजनीतिको उभार एवं सांस्कृतिक तथा सभ्यतागत द्वन्द्वका कारण मानिस आफ्ना धार्मिक एवं सांस्कृतिक जराहरूतर्फ फर्कन चाहेको पाइन्छ । उनीहरूमा आलोचनात्मक विवेकबाट परै रहेर आफ्नो इतिहास, सभ्यता, संस्कृति, धर्म आदिको महिमागान गर्ने प्रवृत्ति बढेको छ । उनीहरू त्यसमै आफ्नो अस्तित्व सुरक्षित देख्दै छन् । धर्मलाई आत्मिक सङ्कटमोचनको अचुक औषधि ठानिँदै छ ।
धर्म मनुष्यको वैयक्तिक आस्था हो तर यो यस रूपमा मात्र कहिल्यै रहन सकेन । यसले संस्थागत रूप ग्रहण गर्यो । बिस्तारै मनुष्यमाथि संस्था निर्मित धारणा, मूल्य र पद्धतिले शासन गर्न थाले । धर्मका नाममा उत्पीडन सुरु भयो । धेरै धार्मिक संस्थाहरू आज धर्मका नाममा व्यापारमा सक्रिय छन् । धर्मप्रति आस्था राख्ने आम मानिसलाई यसको पत्तो नै छैन । वैश्विक रूपमै देखिएको भद्दा अतीतमुखी प्रवृत्ति मनुष्यको उध्र्वगामी यात्राका निम्ति बाधक छ । आधुनिक युगको आरम्भपछि मनुष्य यति विधि भावनात्मक, अतार्किक र आलोचनात्मक विवेकरहित कहिल्यै बनेको थिएन ।
दुई साताअघि पशुपतिमा सम्पन्न भएको कोटिहोम होस् वा त्यसअघिका कोटिहोम र अन्य धार्मिक अनुष्ठानहरू होऊन्, तीमध्ये धेरै भक्तहरूको आस्थाको दोहन र अन्धविश्वास, रुढी र अतार्किकताको वाहकका रूपमा रहेका पाइन्छन् । धर्मलाई अवैज्ञानिक चिन्तन, मूल्य एवं पद्धतिबाट मुक्त गर्दै मानव कल्याणका निम्ति लगाउँदा उत्तम हुन्थ्यो भन्ने सोच यसका वाहकहरूमा पाइन्न । धर्मलाई झन् बढी मानवविरोधी बनाइँदै छ । धर्मको केन्द्रमा रहेका परमसत्ता र रहस्यवादले यसलाई धेरै मानवीय हुन नै दिन्नन् । धर्मका प्रमुख अवधारणाहरू मानवीय हितसँग बाझ्छन् ।
अहिलेलाई हामीसँग मनुष्यले आफ्नो विवेकका अतिरिक्त अन्य कसैलाई आफ्नो अधिष्ठाता नठान्ने समय आउनेछ र सूर्य स्वाधीन मनुष्यमाथिको आकाशमा चम्कनेछ भन्ने माक्र्विस कान्डरसेटको भनाइलाई दोहोर्याउनुको विकल्प छैन । तर यसका निम्ति सतत् सङ्घर्षको खाँचो छ । धार्मिक र सांस्कृतिक जडताबाट मुक्त भएपछि मात्रै मनुष्य वास्तविक रूपमा स्वाधीन हुनेछ । दासता बाह्य मात्रै होइन, आन्तरिक पनि हुन्छ । आन्तरिक दासता अझ डरलाग्दो हुन्छ । मनुष्य आफ्नो अधिष्ठाता आफैँ बन्न सक्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालयमै थन्कियो गाँजालाई वैधानिकता दिने कार्यविधि
-
सुन्दर गाउँघर, तस्बिरहरू
-
लुम्बिनी फाइनलमा, कोशी प्रतियोगिताबाट बाहिरियो
-
जकार्ताको तेल कारखानामा आगलागी हुँदा नौ जनाको मृत्यु, चार घाइते
-
ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू
-
गण्डकीका दुई आयुर्वेद अस्पतालमा सेवा विस्तार हुँदै