शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

पलेशालाई नेपाली खेलकुद इतिहासकै ठुलो उपलब्धि

६५ लाख रुपैयाँ पुरस्कार पाउने
शनिबार, १५ भदौ २०८१, १५ : ३९
शनिबार, १५ भदौ २०८१

काठमाडौँ । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिक– २०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी छन् ।

पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार अबेर राती सम्पन्न रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाइन् । रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् ।

रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । क्वाटरफाइनलमा भने पलेशा आफूले अधिकांश समय अग्रता लिएको खेलमा अन्तिम समयमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसंग ८–१० ले पछि परिन् । सिल्भानले पनि कांस्य नै जितिन् । पराजित भएपनि पलेशाले रिपेचज खेल्ने अवसर पाइन् । क्वाटरफाइनलदेखि पराजित हुनेलाई मात्र रिपेचेज खेल्ने अवसर दिइएको थियो । पहिलो चरणमै हार व्यहोर्नेलाई यो सुविधा थिएन ।

लगातार दोस्रो पारा ओलम्पिक खेलेकी पलेशाले टोकियो पारा ओलम्पिकको सोही तौल समूहको रिपेचेजमामा पनि मरिजालाई नै हराउँदै कांस्य पदक भिडन्त पक्का गरेकी थिइन् । कांस्य पदकका लागि भएको भिडन्तमा भने पलेशा चीनकी लि युजीसंग १२–९ ले चुकेकी थिइन् । यिनै लिले स्वर्ण जित्दै पेरिस यात्रालाई सुखद बनाइन् । लिले फाइनलमा टर्कीकी गाम्जे गुर्डेललाई ११–० ले पाखा लगाइन् ।

2

पलेशाले पाएको उपलब्धि नेपाली खेलकुदकै अहिलेसम्मको ठुलो हो । कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले हालसम्म पदक जित्न सकेका छैनन् । नेपालले पारा ओलम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको थियो । गृष्मकालीन ओलम्पिकमा नेपालले तेक्वान्दोमै प्रदर्शनी खेलमा कांस्य जितेको इतिहास छ । सन् १९८८ मा दक्षिण कोरियामा भएको २४ औँ संस्करणको सिओल ओलम्पिकमा विधान लामाले त्यो उपलब्धि हासिल गरेका थिए । प्रदर्शनी खेल भएकाले पदक तालिकामा भने उक्त पदकको गणना गरिएको थिएन ।

जावलाखेलस्थित डिएभी स्कुलमा अध्ययनरत रहँदा १० वर्षको कलिलो उमेरदेखि तेक्वान्दो खेल्न सुरु गरेकी पलेशा सन् २०१६ मा राष्ट्रिय पारा तेक्वान्दो टिममा आबद्ध भएकी थिइन् । सन् २०१७ मा दक्षिण कोरियाको छुन्चियोनमा भएको एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप पलेशाको ‘डुब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यो प्रतियोगितामा उनी पाँचौँ स्थानमा रहिन् ।

पिता प्रदीप र आमा मनीताका ३ छोरी मध्ये माइली सन्तान २१ वर्षीयाँ पलेशाले पेरिस पारा ओलम्पिकसहित करियरमा ६ अन्तर्राष्ट्रिय पदक जितेकी छन् । त्यसमा ३ स्वर्ण र उत्तिनै कांस्य रहेको छ । पलेशाले नेपालमा भएको दोस्रो काठमाडौँ ग्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोयिगता– २०१८, बहराइनको मानामामा भएको एसियाली युथ पारा गेम्स– २०२१ तथा चीनको ताइयानमा पेरिस ओलम्पिककै लागि भएको एसियाली छनोट– २०२४ मा पलेशाले स्वर्ण जितेकी थिइन् । ताइयानकै प्रतियोगितामा हासिल गरेको सफलतामा पलेशाले पेरिस पारा ओलम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । पारा ओलम्पिकमा छनोट चरण पार गरेर खेल्ने पलेशा एक्लो नेपाली खेलाडी हुन् । टोकियो पारा ओलम्पिकमा भने पलेशा वाइल्ड कार्ड मार्फत सहभागी भएकी थिइन् ।

त्यस्तै पलेशाले सन् २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो तथा चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद– २०२२ मा कांस्य जितेकी थिइन् । एसियाली पारा खेलकुदमा पलेशाले जितेको कांस्य नेपालले पाएको हालसम्मकै एक मात्र पदक हो ।

पलेशासंग लन्डन र टर्कीमा भएको २ विश्व च्याम्पियनसिप, जोर्डनमा भएको पाँचौँ एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप, टोकियो पारा ओलम्पिकको छनोट, टोकियो पारा ओलम्पिक, साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स तथा भियतनाममा भएको नवौँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव छ ।

पलेशाले राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, नेपाल खेलकुद पत्रकार मञ्च, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदान गर्ने वर्षको उत्कृष्ट पारा एथलिट अवार्ड जितिसकेकी छन् । काठमाडौँ महानगरपालिका वडा २८, बागबजारकी पलेशा नेपाल सरकारबाट जनसेवाश्री पञ्चम श्रेणीबाट पनि विभूषित भइसकेकी छन् ।

पेरिस पारा ओलम्पिकका लागि नेपाली तेक्वान्दो टोलीले १ महिना युकेको म्यान्चेसटरमा तयारी प्रशिक्षण गरेको थियो । पारा ओलम्पिकमा सहभागी टोली म्यान्चेसटरबाटै अगस्ट २५ तारिखमा पेरिस पुगेको थियो ।

पलेशाका प्रशिक्षक कविराज नेगी लामाको भने प्रशिक्षकका रूपमा यो ११ औँ अन्तर्राष्ट्रिय पदक हो । अन्तर्राष्ट्रिय लेभल– २ प्रशिक्षक लामाको प्रशिक्षणमा नेपाली खेलाडीले हालसम्म ३ स्वर्ण, २ रजत र ६ कांस्य जितेका छन् । लामा नेपाली पारा तेक्वान्दोका सफल प्रशिक्षक हुन् ।

पलेशाले मेहनतको फल प्राप्त भएको र आफूले जितेको पदक आफ्नो मात्र नभई सिंगो राष्ट्रका लागि भएको प्रतिक्रिया दिइन् ।

‘मेहनतको फल पाएको अनुभूति भइरहेको छ । यो पदक मेरो मात्र होइन । सिंगो नेपाल र सम्पूर्ण नेपालीहरूको हो ।’ पलेशाले भनिन्– ‘अब हामी गर्वका साथ भन्न सक्छौँ । ओलम्पिकमा हाम्रो पनि पदक छ भनेर ।’

6

पलेशाले अगाडि भनिन्– ‘सबैको म प्रति भरोसा थियो, पदक जित्छ भनेर । उहाँहरूको भरोसालाई कायम राखेर देशका लागि पदक जित्न पाएकोमा खुसी छु ।’

पलेशाले आफ्नो यात्रामा सहयोग गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल पारा ओलम्पिक कमिटी, नेपाल तेक्वान्दो संघ, परिवार, शुभचिन्तकलगायत सबैलाई धन्यवाद दिँदै अझ राम्रो तयारी गर्न सके यो भन्दा बढी उपलब्धि हासिल गर्न सकिने बताइन् ।

प्रशिक्षक लामाले टोकियो ओलम्पिकमा जित्न नसकेको पदक पेरिसमा आएर जित्न सकेकोमा खुसी व्यक्त गर्दै पलेशाले जितेको पदक सम्पूर्ण देशवासीका लागि उपहार भएको बताए । उनले पलेशा र सम्पूर्ण टिमको मेहनतले सफलता सम्भव भएको बताउँदै पलेशाको सफलताले नेपाल पनि ओलम्पिकमा पदक जित्न सक्षम छ भन्ने सन्देश दिन सफल भएको धारणा व्यक्त गरे ।

राखेपका, नेपाल पारा ओलम्पिक कमिटी एवं नेपाल तेक्वान्दो संघका सदस्य समेत रहेका टोलीका व्यवस्थापक रामचन्द्र श्रेष्ठले लामो समयदेखि राष्ट्रले चाहेको पदक जित्न सफल भएकोमा पलेशालाई बधाई र धन्यवाद दिँदै अझ लगानी वृद्धि गर्ने हो भने स्वर्ण पदक पनि टाढाको विषय नभएको बताए । उनले अनुकूल वातावरण पाए नेपाली खेलाडी पनि कुनै पनि देशको खेलाडी भन्दा कम छैनन् भन्ने गतिलो उदाहरण पलेशा भएको प्रतिक्रिया दिए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले इतिहास रच्न सफल पलेशालाई बधाई दिँदै पलेशाले जितेको पदक खेलकुद क्षेत्रका लागि मात्र नभई राष्ट्रकै लागि अमूल्य उपहार भएको बताए ।

तेक्वान्दोसहित नेपाली पारा ओलम्पिक टोली सेप्टेम्बर ४ तारिख नेपाल आइपुग्ने छन् । पेरिस पारा ओलम्पिकमा नेपालबाट पौडीका भीमबहादुर कुमालले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । उनले सेप्टेम्बर २ तारिखमा एस ९ क्याटगोरीअन्तर्गत पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । पेरिस पारा ओलम्पिकमा नेपालबाट ३ खेलाडी सहभागी छन् । तेक्वान्दोका भरतसिंह महता अगस्ट २९ तारिखमै जापानका मित्सुया तानाकासंग पहिलो चरणमै १९–३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइसकेका छन् । उनले के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

पलेशाले ६५ लाख पुरस्कार पाउने

पेरिस पारा ओलम्पिक– २०२४ की ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोबर्धनले ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउने छिन् । राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ मा भएको पुरस्कार सम्बन्धी व्यवस्था अनुसार पलेशाले ६५ लाख नगद पुरस्कार पाउने भएकी हुन् । सोही नियमावलीमा भएको पुरस्कार अनुसार चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा पनि कांस्य जितेकी पलेशाले १३ लाख नगद पुरस्कार पाएकी थिइन् ।

त्यस्तै प्रशिक्षकले ५ लाख ८५ हजार, व्यवस्थापकले २ लाख ९२ हजार र सम्बन्धित खेल संघले ११ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप