शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
कथा

तिजमा नाचेको भिडियो भाइरल भएपछि...

शनिबार, १५ भदौ २०८१, ११ : ५९
शनिबार, १५ भदौ २०८१

गाउँ–सहरमा तिजको रौनकता छाएको छ । बजारमा गरगहना र लत्ताकपडा किन्ने ग्राहक दिदीबहिनीको घुइँचो लागेको देखिन्छ । बजारमा नयाँ नयाँ फेसनको माग बढिरहेको छ । ठाउँठाउँमा डिजे र साउन्ड सिस्टमका आवाजले मान्छेका कानै खाएका छन् । 

बेदीखोलामा झन् तिजको चहलपहल नबढ्ने कुरै भएन । त्यहाँका अधिकांश पुरुषहरू वैदेशिक रोजगारीमा छन् । श्रीमानले डलर पठाएपछि श्रीमतीलाई मनपर्दो तरिकाले जे किने पनि भयो र जसरी नाचे पनि भयो ।

‘ओइ रौमती ! तिजका लागि सामान किन्न जाने होइन ? जाउँ हिँड क्या ! आज दुधनाउलीमा बजार लाग्छ बजार ।’ टिकुली टुटुनीले गाउँभरि सुन्ने गरी चर्को स्वरमा रौमती रनाहालाई बोलाई । 

टाढैबाट ‘किन बोलाइस् ओइ टिकुली आज मेरो घरमा काम छ । जाने भए तैँ जा, म जान्नँ ।’ रौमतीले अलि सानो स्वरमा जवाफ फर्काई ।

कस्ती रैछ बिचरी ! त्यसो नभन न नाच्न पाइन्छ, रमाउन पाइन्छ । सबै उस्तै हुन्छन् र ?

‘आइज क्या, आइज । बरु नजालिस् भएन त । मेरो घरसम्म आइज न ।’ टिकुलीले कर गरेपछि रौमती दौडेर गई र  सोधी, ‘क्या भनिस् त हँ ? काँ जाने भनिस् ?’ उसले सोधेपछि टिकुलीले बेलीविस्तार लगाई, ‘दुधनाउलीमा आज मेला लाग्छ । कपडा किनौँला जाउँ हिँड । मैले सबै नयाँ कपडा किन्नुपर्ने भएको छ । बुढाले पनि किन्नु भन्नुुभएको छ । मसँग अरू साथी छैनन्, जाउँ हिँड साथी बनेर ।’

‘मसँग पैसा केही छैन । गएपछि केही त किन्नुपर्‍यो । बुढासँग पनि केही पैसा छैन अरे ।’ रौमतीले अलि अप्ठेरो मानेझैँ गरेर भनी, ‘तिजसिज नआए पनि हुने थियो । पैसा हुँदैन किनौँ भने पनि । कपडा–सपडा र गरगहना पनि छैनन् ।’ 

‘कस्ती रैछ बिचरी ! त्यसो नभन न नाच्न पाइन्छ, रमाउन पाइन्छ । सबै उस्तै हुन्छन् र ? बरु मबाट एक हजार रुपैयाँ जोहो लैजा ल । जहिले होला तेहीले दिएस् हुँदैन र ?’ टिकुलीले दराजमा रहेको छालाको पर्स निकाली । त्यसभित्र हजार–हजारका पचासवटा नोट थिए । एक–एक गरेर गनी । ‘पोर साल किनेको सारी, यसपालि नि के लाउने !’ रौमतीलाई सुनाई । 

टिकुलीका श्रीमान् वैदेशिक रोजगारीमा गएको नौ वर्ष पुग्यो । ऊसँग पैसाको केही कमी छैन । छोराछोरी पनि सानै छन् । स्कुल, क्याम्पस वा बोर्डिङको फी कसरी तिरुँला भन्ने पीर पनि छैन । सासु–ससुराले बुहारीले गरेको खर्चपर्चतिर खासै चासो दिँदैनन् । 

dabal mahatara katha (1)‘जाने त भनिस् अनि कसरी जाने त ? हिँडेर भ्याइँदैन क्यारे ।’ रौमतीले मन्द स्वरमा प्रश्न गरी । 

‘केको चिन्ता मानिस् त मैले जिपवालालाई कन्ट्याक्ट गरिसकेको छु क्या । चाँडो जाउँ बरु, चाँडै फर्कौैंला । हुँदैन ?’ टिकुलीले सासु–ससुरालाई कुनै जानकारी नगराई घरबाट निस्की । रौमती भने आफ्नो घरमा पसेर श्रीमान्लाई बजार जाने कुरा बताई । 

‘कोसँग जाने ? किन जाने ? पैसा पनि छैन । नजा है भैगो । त्यत्तिकै बजारमा गयो भने लाज मात्रै हुन्छ । सबै लत्ताकपडा किन्छन्, आफू ट्वाल्ल परेर हेर्नुपर्छ । बरु अर्को वर्ष म कमाउन जान्छुु त्यतिबेला जालिस् हुँदैन र ?’ उसको श्रीमान् रोहन रनाहाले श्रीमतीलाई भन्यो ।

टिकुलीले साथी गइदिन आग्रह गरेको र उसले एक हजार रुपैयाँ जोहो पनि दिएको कुरा रौमतीले श्रीमानलाई बताई । यो कुरा सुनेर रोहनको मुटु चिसो भयो । आफूले पनि त्यसरी पैसा कमाउन पाएको भए चाडबाडका बेला यसरी पैसा जोहो गर्न पर्दैनथ्यो भन्ने लाग्यो । स्वास्थ्यले साथ नदिँदा उसले घर नछाडेको वर्ष दिन पुग्दै थियो । उसका आँखा रसाए, श्रीमतीलाई गरगहना र लत्ताकपडा किन्न नसकेकामा । श्रीमान्को पीडा बुझेर अहिलेसम्म रौमतीले तिजको शब्द समेत उच्चारण गर्न सकेकी थिइन ।

‘जा त जा । राम्रोसँग गएर छिटै फर्किनू ।’ मायालु स्वरमा रोहनले खटियामा भएको दोपट्टा श्रीमतीको मुन्टोमा सप्को हालिदिँदै भन्यो । रौमती बाहिर निस्कनेबित्तिकै ट्याँट्याँ गर्दै जिप आइपुग्यो । टिकुली अघिल्लो र रौमती पछिल्लो सिटमा बसे । जिप हुइँकिएर परसम्म जाँदा रोहनले हेरिरह्यो ।

पल्लो बलपुरचोकमा कन्दनी कनिया उभिरहेकी थिई । जिप आउनेबित्तिकै उसले रोकेर भनी, ‘गुरुजी सिट छ ?’ ड्राइभरले छ भन्न नभ्याउँदै भित्रबाट टिकुली कराई, ‘ओइ कन्द्या काँ हो जाने ?’  

जिपभित्र दुवैका ठुल्ठुला स्वर सुनिन्थे । बेला बेला ‘हा हा हा’ गरेर हाँसेको बाहिरै सुनिन्थ्यो । बजार नजिकै आयो ।

‘बजार क्या बजार । यो टिकु पनि यतै रैछ त । तँ पनि जान्छेस् र ?’

‘अँ त नि । आइज आइज बस्, आइज ।’ ऊ पनि जिपभित्र पसी । कन्दनीको श्रीमान् पल्टनको लाहुुरे थियो । उसलाई पैसा–पानीको कुनै चिन्ता थिएन । टिकुली र कन्दनी जिपभित्र आ–आफ्ना श्रीमान्को कमाइका बारेमा निकै बेरसम्म गफिइरहे । यति मात्र होइन, केही दिनअघि मात्रै बजार गएर दुई–दुई तोलाका सिक्री, चार–चार आनाका औँठी, जन्तरमन्तर सबै किनेको कुरा पनि सुनाए । 

उनीहरूका कुरा सुनेर रौमतीलाई नराम्रो लाग्यो । मनमनै सोची, ‘नआउनुपर्ने रैछ । मेरो भाग्यमा त सिक्री, जन्तर लेख्दै नलेखेको रहेछ । उही भएको सानो तिलहरी पनि बुढाको उपचारका लागि धरौटीमा राखिएको छ । यो तिज त गरिबका लागि नआए पनि हुन्थ्यो ।’ 

जिपभित्र दुवैका ठुल्ठुला स्वर सुनिन्थे । बेला बेला ‘हा हा हा’ गरेर हाँसेको बाहिरै सुनिन्थ्यो । बजार नजिकै आयो । ‘ए ! रोक भैया रोक । यतै रोक ।’ टिकुलीले भनी । हाटबजारमा मान्छेको घुइँचो थियो । बजारमा पुुरुष कम र जताततै महिला नै महिला देखिन्थे ।

ठुलो महँगो कपडा पसलमा गएर टिकुली र कन्दनी उभिए । त्यतिबेला त टिकुलीलाई रौमती आई कि आइन भन्ने याद पनि रहेन । रौमतीले कुन्नि कसरी हो बाटो बिराएर अर्कै पसलमा पुगी । उसले त्यहाँनजिकै एउटा ग्यारेन्टीवाला पसल देखी र त्यहीँबाट एउटा सानो ग्यारेन्टीवाला सिक्री किनेर खल्तीमा हाली ।

टिकुलीले १० हजारको सारी, पाँच हजारको ब्लाउज, तीन हजारको फेसनवाला पाइन्ट–टिसर्ट किनी र कन्दनीलाई पनि त्यस्तै कपडा किन्न लगाई । 

टिकुलीले सुनाई, ‘सारी र ब्लाउज माइती घर दर खान जाँदा लगाउनुपर्ला । पाइन्ट–टिसर्ट घर नजिकैको चौमालचोकमा नाच्दा लगाउनुुपर्ला ।’ 

उसलाई रौमतीको याद भयो र खोई भन्दै चिच्याई । यताउता खोजेर नभेटेपछि जिप भएको ठाउँमा गए दुवै जना । रौमती त्यहीँ पर्खेर बसिरहेकी थिई ।

‘यो बिचरी त कस्ती रैछ । हाम्रो पछि पछि आउनुपर्दैन । मेरो त होसहवास् नै उडाइदिस् तैँले त ।’ रिसाएजस्तै गरेर टिकुलीले भनेपछि रौमतीले पनि जवाफ फर्काई, ‘त्यतिबेला आफ्नो पछाडिकी साथी आई कि आइन भनेर थाहा नपाउने अनि अहिले आएर कराउने !’

बजारमा नास्तासास्ता खाएर उनीहरूको जिप घरतिर फर्कियो । बाटोमा कोही गाडी, कोही मोटरसाइकल त कोही साइकल चलिरहेका थिए । ट्याँट्याँ र टुँटुुँ गरेर हर्न बजाउँदै जिप हुँइकियो । महँगो सपिङ गरेर फर्केका टिकुली र कन्दनी मख्ख थिए । रौमती भने निराश देखिन्थी । तीनैजना आ–आफ्नो घर पुग्दा झिसमिसे भइसकेको थियो । 

बेलुका खानासाना खाएर टिकुलीले श्रीमान्लाई भिडियो कल गरी । बडो खुसी र आनन्दित मुद्रामा आफूले किनेका लत्ताकपडाका बारेमा जानकारी दिई । पाइन्ट र टिसर्टका बारेमा भने केही बोलिनँ । यसका बारेमा भन्यो भने श्रीमान् सिंहजस्तै गर्जन्छन् र मोबाइल–सोबाइल नै फुटाउँछन् भन्ने उसलाई थाहा थियो । उसले श्रीमानसँग राति अबेरसम्म कुरा गरी भिडियो कलमा । उता ड्युटी रहेको श्रीमानले श्रीमतीको अनुहारभन्दा पनि कामको चापतिर ध्यान दिइरहेको थियो । तैपनि नारीहरूको महान् पर्व तिजका बेलामा श्रीमतीको किन मन दुखाउने भनेर फोन नराखीकनै लामो समयसम्म होमा हो मिलाइरह्यो । बोल्दाबोल्दै टिकुली भुसुक्कै निदाई ।

चौमालचोकमा डिजे घन्कियो । वृद्ध आमाहरूको अनुरोधमा महिलाका पीर–व्यथा समेटिएका पुराना गीत लगाएर सारीमा सजिएका अधबैँसे दिदीबहिनीहरू नाचिरहेका थिए । रौमती आफ्नै घरको छतबाट हेरेर मुसुमुसु हाँसिरहेकी थिई । उसले सोची, ‘त्यहाँ गएर पो के छुट्टै पाइनेवाला छ र ? नाच त मेरै घरको छतबाट देखिइहाल्छ नि ।’

जब टिकुली र कन्दनी त्यहाँ पुगे, डिजेमा गीतको भाका र लय फेरियो । गीतका शब्द र भाव फेरिए । नाच फेरियो, नाच्नेवालाको रूप–रङ्ग र ढङ्ग फेरियो । दुवैजना नाच्न सुरु गरे, अघिल्लो दिन किनेको पाइन्ट र टिसर्टमा सजिएर । उनीहरूपछि अरू पनि त्यस्तै पाराका अल्लारे केटा र केटीहरू जम्मा भएर डिस्को नाच्न थाले । कोही हाप पाइन्टमा नाचिरहेका देखिन्थे । घुँडामा च्यातिएको पाइन्ट लगाएका थिए । त्यहाँ तिजको डान्सभन्दा पनि जाँड–डान्स भन्दा फरक नपर्ने खालको थियो ।

‘आऊ केटाकेटी सबै मिलेर नाचौँ । हामीसँग नाचे के हुन्छ र ?’ कन्दनीले जबर्जस्त एउटा केटालाई नाच्न बाध्य पारी । 

नाच हेर्न आएका वृद्ध बा–आमाहरूले नाक खुम्च्याउँदै मुखामुख गर्न थाले । बिस्तारै बुढापाका छेउ लागे । ‘तिज त दिदीबहिनीका पीरमर्का पोख्ने माध्यम हो । वर्षभरि पीडा सहेका महिलाले पीडा ओकलेर मन हलुङ्गो बनाउने चौतारी हो । अहिले त अहँ यस्तो छैन,’ स्थानीय शिक्षिका तथा महिला अधिकारकर्मी पानपुरी परानाले भनिन् । उनले तिजको नाममा अहिले कलङ्क भित्रिएकोमा चिन्ता व्यक्त गरिन् ।

डिजेमा बज्ने प्रायः सबै गीतमा तिजका मर्म छैनन् । महिलाका पीर–व्यथा छैनन्, महिला अधिकारका कुरा छैनन् । खालि उरन्ठेउला भावहरू मात्रै बोकेका गीत बजिरहेका छन् । बाटोमा हिँडिरहेका ८० वर्षीय वृद्ध सुदानन्द पाध्याले दुखेसो यसरी पोखे, ‘नाच पनि कस्ता कस्ता आए, सँगै बाबुआमा, छोराछोरी, छोराबुहारी बसेर हेर्न नमिल्ने, छि छि !’ हातमा लौरो टेक्दै सुुस्त–सुस्त उनी आफ्नो घरतिर लागे ।

‘आऊ केटाकेटी सबै मिलेर नाचौँ । हामीसँग नाचे के हुन्छ र ?’ कन्दनीले जबर्जस्त एउटा केटालाई नाच्न बाध्य पारी । 

‘हामीसँग नाच्यौँ भन्या तिम्रा पोइ रिसाउलान् क्या, नगर नगर । पैसापन पठाउन छाड्लान अनि नाचौली !’ लामो कपाल पालेको, कानमा मुन्द्रा लगाएको, मुखमा सुर्ती चपाइरहेको त्यो केटाले जवाफ फर्कायो ।

‘हाम्रा पोइ क्या अहिले हेर्न आउन्या छन् र ?’ भन्दै कन्दनी त्यो केटालाई ‘हामी पनि नाच्ने हो, मन परेको गर्ने हो’ भन्ने गीतको भाकामा नचाई छाडी । ऊ मात्र होइन, त्यहाँ अरू केटाकेटीहरू पनि एकापसमा मस्कीमस्की नाचिरहेका थिए । सबैभन्दा बढी त कन्दनी र टिकुली नाचे । गाउँका केटाहरूले भिडियो खिचेर ‘हाम्रो ठाउँमा तिजको रौनक’ भनेर फेसबुक र युट्युबमा अपलोड गरे । नाच भाइरल भयो ।

त्यो नाच देखेर टिकुलीका श्रीमान्ले राती टिकुलीलाई बेस्सरी थर्कायो । ‘मैले विदेशमा यति दुःख गरेर पैँसा पठाएको त्यसै गर्न हो ! अनि शरीर छोपिने कपडा वा सारी लगाएर नाचेको भए के हुन्थ्यो ? मैले पठाएको हिसाब पनि एक–एक गरेर राखेस्, कहाँ कहाँ खर्च गरिस् ? यदि होइन भने डिभोर्स दिन्छुु, ख्याल गर ।’

टिकुली रुन थाली, माफ मागी तर श्रीमानले रिसाएर फोन काट्यो । ऊ तिजको दिनसम्म घरबाहिर निस्किन । दर खान सुटुक्क माइतीघर गई बेलुकी फर्किहाली ।

भाइरल भिडियो हेरेर उनीहरुलाई गाउँलेले भेटेरै गाली गर्न थालेका थिए भने अरु धेरैले सामाजिक सञ्जालमा आलोचना गरिरहेका थिए ।

पल्टनको लाहुरे अतिशान्तले फोन गरेर आफ्नी श्रीमती कन्दनीलाई आदेश दियो, ‘तु घर छोड्ने कि सुध्रिने ? छिटो भन् !’ उसले पनि चोकमा भएको भाइरल डान्सको भिडियो हेरेको थियो । 

कन्दनीले रुँदै माफ मागी । श्रीमान्ले पनि पहिलोपटकलाई माफी दियो । 

भाइरल भिडियो हेरेर उनीहरुलाई गाउँलेले भेटेरै गाली गर्न थालेका थिए भने अरु धेरैले सामाजिक सञ्जालमा आलोचना गरिरहेका थिए । मानिसहरुको आलोचनाका कारण टिकुली र कन्दनी घरबाट बाहिर निस्केका थिएनन् । उनीहरुको अवस्था थाहा पाएर रौमती भेट्न गई । 

कन्दनी, टिकुली र रौमती मिलेर अर्को भिडियो बनाए र सामाजिक सञ्जालमार्फत प्रसारण गरे । सभ्य किसिमको नृत्यसहितको त्यस भिडियोमा उनीहरुले आफूहरुको अधिकारको कुरा, आफूहरुको दायित्व वा जिम्मेवारीका कुरा अनि समाजले महिला र पुरुषलाई हेर्ने नजरका बारेमा पनि बोलेका थिए । त्यस भिडियोलाई धेरैले मन पराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डबल महतारा
डबल महतारा
लेखकबाट थप