मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले  भवन  शिलान्यास

शनिबार, १५ भदौ २०८१, ११ : २२
शनिबार, १५ भदौ २०८१

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ । आज बिहान  उपप्रधानमन्त्री तथा अर्थमन्त्री  विष्णुप्रसाद पौडेलले सो भवनको शिलान्यास गरेका हुन्।

६ अर्ब १८ करोड बढीको लागतमा निर्माण हुने सो अस्पताल लुम्बिनी प्रदेशको ड्रिम प्रोजेक्ट हो । प्रदेशको  गौरवको आयोजनाको रूपमा रहेको प्रादेशिक अस्पताल नयाँ भवन निर्माण प्रक्रिया अघिल्लो आर्थिक वर्षमा सुरु भए पनि भवनको औपचारिक शिलान्यास भएको थिएन ।

प्रदेश सरकारका चार वटा गौरवको आयोजनामध्ये लुम्बिनी प्रादेशिक अस्पताल निर्माण पनि महत्त्वपूर्ण आयोजना हो ।  २०७६ सालमा तत्कालीन सरकारले ड्रिम प्रोजेक्टको रूपमा सो अस्पताल भवन निर्माणको कामलाई अघि बढाउने प्रक्रिया थालेको थियो ।

लुम्बिनी प्रदेशका बिरामी विशेषज्ञ उपचार सेवा लिन काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गर्नेगरी सो अस्पताललाई एक हजार दुई सय र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ६ सय श्ययाको अस्पताल बनाउने प्रक्रिया अघि बढेको थियो । प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको लागि  चालू आर्थिक वर्षमा एक अर्ब ८० करोड बजेट समेत विनियोजन गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पुरानो संरचना हटाएर नयाँ संरचना निर्माणको काम समेत सुरु भएको छ । अस्पताल भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ ।

भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिए।

अस्पतालको नयाँ बन्ने भवनमा बहिरङ्ग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुनेछन् । भवनको माथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ । क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्ने इन्जिनियर पोख्रेलले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप