मुख्यमन्त्रीमाथि अनेक आरोप, भोक हड्तालमा बस्ने चेतावनी
विराटनगर । केन्द्रको गठबन्धनजस्तै कोशी प्रदेशमा पनि कांग्रेस र एमालेको गठबन्धन सरकार छ । आफ्नो पार्टी सरकारमा सहभागी नभए पनि कांग्रेस शुक्रबारदेखि सत्तापक्षमा बसेको छ । कांग्रेसले आन्तरिक विवादका कारण मन्त्री पठाउन नसकेको हो ।
तर, गठबन्धनको सुरुवाती चरणमै कांग्रेससँग मुख्यमन्त्रीको खटपटी देखिएको छ । शुक्रबारको प्रदेश सभाको बैठकमा कांग्रेसका तर्फबाट विशेष समय लिएर निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस सांसद केदार कार्कीले लामो मन्तव्य राखे । त्यस क्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई उनले आरोपमात्रै लगाएनन्, चेनावनीको भाषा पनि बोले । व्यङ्ग्य वाण पनि हाने ।
पूर्वमुख्यमन्त्री कार्कीले बोल्न सुरु गर्दा मुख्यमन्त्री कार्की भने प्रदेश सभाबाट बाहिरिए । जब उनले बोलिसके, मुख्यमन्त्री कार्की पुनः प्रदेश सभा प्रवेश गरे ।
प्रदेश सभामा बोल्ने क्रममा पूर्वमुख्यमन्त्री कार्कीले आफू जनप्रतिनिधि पनि भएको र जनप्रतिधिले ‘जेजे बाहुन बाजे, उसैउसै जजमान नगर्ने’ घोषणा गरे । ‘असल जनप्रतिनिधिले खबरदारी गरिरहन्छ,’ उनले भने ।
उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई सत्ता पक्षमा हुँदा र प्रतिपक्षमा हुँदा खेलेको भूमिकाले काबिल रहेको प्रमाणित गरेको भन्दै व्यङ्ग्य गरे । ‘उहाँको काबिलताको मैले प्रश्न उठाउन मिल्दैन । उहाँ इमानदार पनि हुनुहुन्छ । आफूलाई सरकारबाट समर्थन छोड्यो भने मानसिक विचलन भएको, विक्षिप्त भएको भनेर भनी पनि हाल्नुहुन्छ,’ उनले भने, ‘फेरि सत्तामा आइसकेपछि गाईले बाच्छो पाउने बित्तिकै ... चाटेजस्तो सफा पनि गरिदिनुहुन्छ । उहाँसँग एकदमै कला छ । त्यसकारण हजार जिब्रो भएको शेष नागले पनि उहाँको वर्णन गर्न सक्दैन । हामीले वर्णन गर्नलाई त कहाँको तागत हुन्थ्यो र ?’
उनले आफ्नो नेतृत्वको सरकार हुँदा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने कार्यक्रम, शैलजा आचार्यको नाममा स्थापना गरिएको हृदय रोग अस्पताल, महिला स्वयंसेवीलाई सेवा सुविधा वृद्धि गर्ने कार्यक्रम वर्तमान सरकारले नराखेको भन्दै आक्रोश व्यक्त गरे । ‘शैलजा आचार्य हृदयरोग अस्पताल अघिल्लो मुख्यमन्त्रीले सुरु गरेको । त्यही भएर बजेटमा नामोनिसाना मेटियो,’ कार्कीले आक्रोशित हुँदै भने, ‘तर, अघिल्लो मुख्यमन्त्री बसेको सिटमा त बसेको देखेकै छु । गाडीमा पनि चढेको देखेकै छु । छोइछिटो लाएर चढेको हो कि ?’
मुख्यमन्त्री कार्कीले एक जना महिला सचिवलाई हिंसा हुने गरी जथाभावी फोनबाट धाक धम्की दिएको पनि आरोप लगाए । ‘मलाई याद छ, एक जना महिला सचिवलाई तथानाम भनेर हकारेको । उहाँले उजुरी दिन लाग्नु भएको थियो । मैले उजुरीचाहिँ नदिनुस् भनेँ । बरु, म आफैँ कुरा गर्छु भनेँ । त्यसरी एउटा महिलालाई तथानाम गाली गर्न हुँदैन मुख्यमन्त्रीज्यू ? तपाईं मुख्यमन्त्री भइसक्नु भएको छ । तपाईंले बोलेको कुरा उहाँले रेकर्ड गरेर राख्नुभएको छ । मैले भनेको छु नि,’ कार्कीले भने ।
उनले आफू विद्रोही भएको भन्दै आफूले सुरु गरेका कार्यक्रमहरू पुनः सुरु नगरे भोक हड्तालमा उत्रने चेनावनी पनि दिए । ‘पार्टीलाई पनि नटेरिकन मुख्यमन्त्री बन्नसक्ने व्यक्तिले जनताको पक्षमा उभिएर भोक हड्ताल गर्न सक्छ र भोक हड्ताल बस्दा माला लगाएर होइन, कात्रो लिएर बस्छ,’ पूर्वमुख्यमन्त्री कार्कीले भने, ‘जनताका पक्षमा, आम जनताका बालबालिकाको जीवन रक्षाका लागि, आम बालबालिकाको शिक्षाको लागि, आम ती महिला स्वयंसेवीहरूका लागि माला लगाएर होइन, आफैँ कात्रो किनेर आफैँ अनसन बस्न सक्छु ।’
उनले मुख्यमन्त्री कार्कीलाई कार्यक्रम सच्याउन सात दिने अल्टिमेटम दिँदै भने, ‘सात दिनभित्र सच्याउनु भएन भने आठौँ दिनमा सडकमा भेट हुन्छ र मुख्यमन्त्रीज्यूले कात्रो लिएर आउनु होला ।’
सरकारलाई समर्थन गरेको कारण विधेयक पास गर्न सही गरे पनि जनताको विरुद्धमा, जनजीविकाको विरुद्धमा सर्वहाराको विरुद्धमा हुने कुनै पनि दमनको साक्षी किनारा नबस्ने उनले घोषणा गरे ।
‘जनजीविका र जनपक्षका विरुद्धमा जति निर्णय भएका छन्, त्यो क्याबिनेटले सच्याउन सक्छ । त्यो आधार तय गर्न सक्छ । मैले पहिले पनि भनेको हुँ तर, मुख्यमन्त्रीले मजाकमा उडाइदिनुभयो,’ पूर्वमुख्यमन्त्री कार्कीले भने, ‘अब त्यो दोबाटोमा राम्रोसँगले भेटौँला ।’
उनले कांग्रेसको समर्थनमा सरकार बने पनि लोकतन्त्र, जनअधिकार र जनजीविकामा गडबड गरेर (सभामुखसमेतलाई) झुक्याएर काम गर्न नहुने बताए । ‘कांग्रेसले खबरदारीसहित सहभागिता जनाउँछ । कांग्रेसलाई राम्रोसँग थाहा छ । यो सरकार हाम्रो सहयोगी पनि हो र प्रतिस्पर्धी पनि हो । कांग्रेसलाई नबुझाइकन त्यतिकै लिएर आएका छौँ भन्ने कुरा नसोचिकन सकारात्मक हिसाबले सोच्नु जरुरी छ,’ उनले भने, ‘झगडा अझै बाँकी छ त्यहाँ (सर्वोच्च अदालतमा) । यहाँ हामी एकै ठाउँमा छौँ ।’
पूर्वमुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा आफूले हालेको मुद्दाको फैसलाको पूर्णपाठ नआएसम्म एमालेसँग झगडा जारी रहने बताए । उनले मुख्यमन्त्री टिकटकमा आएर आफ्नाविरुद्ध बोलेको भन्दै आक्रोश व्यक्त गरे । ‘मुख्यमन्त्रीज्यूलाई जनजीविका, जनअधिकारको बारेमा मजाक उडाउने काम, टिकटकमा दिएर आफूलाई एकदमै भाइरल गर्ने काममा लाग्ने हो भने भाइरल त भेलु बाजे हुनुहुन्थ्यो । कांग्रेसको पनि समर्थन भएको मुख्यमन्त्रीलाई भेलुबाजे नबन्नु हुन आग्रह गर्दछु,’ कार्कीले भने ।
कमिसन र सेटिङ भत्केको चिन्ता हो : मुख्यमन्त्री सचिवालय
यसैबिच प्रदेश सभामा कांग्रेसकै सांसद तथा पूर्वमुख्यमन्त्रीले गरेको भाषण र टिप्पणीप्रति मुख्यमन्त्री कार्यालयले गम्भीरतापूर्वक नलिएको जनाएको छ । मुख्यमन्त्रीको सचिवालयका एक सदस्यले पूर्वमुख्यमन्त्रीले आफू मुख्यमन्त्रीबाट हट्नुपर्दाको छटपटी व्यक्त गरेको बताए । ‘उहाँ विक्षिप्त देखिनु भयो । यसरी बर्बराहट गर्नु हुँदैन थियो,’ सचिवालय स्रोतले भन्यो, ‘१० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचारको नाममा नोबेल अस्पतालबाट करोडौँ रकम कमिसन खाने र केशलिया करिडोरको नाममा आफ्नो जग्गाको भाउ बढाउने सेटिङमा ठेस लागेपछिको यो चिच्याहट हो ।’
कार्कीद्वयको लडाइँ
मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश सभाको अघिल्लो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए । तत्कालीन नेकपा र एमाले विभाजनपछि शेरधन राई नेतृत्वको सरकार ढलेसँगै कार्कीको मन्त्री पद खोसियो । त्यसपछि बनेको नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईको नेतृत्वको सरकारमा केदार कार्की सोही मन्त्रालयको मन्त्री बने ।
प्रदेश सभाको दोस्रो कार्यकालमा पनि कार्कीद्वय प्रदेश सभामा निर्वाचित भए । दोस्रो प्रदेश सभा गठन भएपछि एमाले–माओवादी गठबन्धनबाट २०७९ पुस २५ गते सरकार बन्यो र मुख्यमन्त्री हिक्मतकुमार कार्की नियुक्त भए । त्यसबेला कांग्रेस प्रतिपक्षमा थियो । प्रतिपक्षी दलमा रहँदा केदार कार्कीको सम्बन्ध तत्कालीन मुख्यमन्त्रीसँग सुमधुर हुन सकेन । एमाले र माओवादीको समीकरण भत्किएर कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा दुई पटक कांग्रेस दलका नेता उद्धव थापा मुख्यमन्त्री बने । थापा नेतृत्वको दुवै सरकार सर्वोच्च अदालतले विघटन गरिदियो ।
त्यसपछि पुनः हिक्मतकुमार कार्की मुख्यमन्त्री बने । संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत लिने अवस्था अन्त्य भएपछि सोही धाराको उपधारा ५ अनुसार सरकार बन्ने भयो । उपधारा ५ अनुसार सरकार बनाउन तत्कालीन चार दलीय गठबन्धनले इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गर्यो । तर, एमाले र हिक्मतकुमार कार्की कै सहयोगमा कांग्रेसबाट ८ सांसदलाई विद्रोह गराउँदै केदार कार्की मुख्यमन्त्री बन्न सफल भए । २०८० असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका केदार कार्की नेतृत्वको सरकार केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भत्किएर एमाले–माओवादीको गठबन्धन बनेपछि २०८१ वैशाखको तेस्रो हप्तामा प्रदेश प्रमुखमार्फत विघटन भयो । उक्त सरकार विघटन भएसँगै पुनः हिक्मतकुमार कार्की माओवादीको सहयोग लिएर वैशाख २७ गते मुख्यमन्त्री बने ।
यद्यपि केदार कार्कीले मुख्यमन्त्रीबाट आफूलाई बर्खास्त गर्ने र अर्को सरकार गठन हुन नसक्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराए । अदालतले उनको रिट खारेज गरिदियो । त्यसबेला अदालतमा पनि झगडिया बनेका कार्कीद्वयको टसलले कांग्रेस–एमालेको सहकार्यमै समस्या सिर्जना गर्नसक्ने देखिएको छ ।