आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख हराएको भन्दै प्राध्यापकले गरे सूचना भाइरल, के हो वास्तविकता ?

क्याम्पस प्रमुख भन्छन्– राजनीतिका नाममा मेरो र संस्थाको बदनाम गर्ने काम भयो
शुक्रबार, १४ भदौ २०८१, २० : ४१
शुक्रबार, १४ भदौ २०८१

सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख माधवप्रसाद खनाल हराएको भन्दै एक सूचना सार्वजनिक भएको छ । सामाजिक सञ्जालमै ‘क्याम्पस प्रमुख हराएको सूचना’ भाइरल भइरहेको छ ।

उक्त सूचना क्याम्पसका आंशिक प्राध्यापक संघ एकाइ समितिले बनाएर सार्वजनिक गरेको बताइएको छ । सूचनामा क्याम्पस प्रमुख खनाल भदौ ६ गतेदेखि हराएको उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ‘सुर्खेत बहुमुखी क्याम्पस’को अवस्था केही समयदेखि तनावग्रस्त छ । प्राध्यापक र विद्यार्थी सङ्गठनहरूले लगातार आन्दोलन गर्दै आएका छन् । आंशिक प्राध्यापक संघका सचिव रिदेश गिरीले आफूहरूले राखेका माग सम्बोधन नगरेर क्याम्पस प्रमुख १५ दिनदेखि सम्पर्कविहीन भएकाले सूचना सार्वजनिक गरिएको बताए ।

‘उहाँ कहाँ हुनुहुन्छ, थाहा छैन । क्याम्पस पनि आउनुहुन्न, उहाँको नम्बरमा पनि फोन लाग्दैन,’ उनले भने, ‘कसैको सम्पर्कमा नभएकाले हराएको सूचना सार्वजनिक गरिएको हो ।’

क्याम्पस प्रमुख खनाल काठमाडौँमा बसेर सहायक क्याम्पस प्रमुख ओमप्रकाश न्यौपानेलाई निमित्तको जिम्मेवारी दिएको र न्यौपानेले डम्बर खत्रीलाई जिम्मेवारी दिएको उनीहरूको भनाइ छ ।

खत्रीले क्याम्पस प्रमुख बाहिर रहेको र आफू निमित्त भएकाले माग सम्बोधन गर्न नसक्ने भन्दै उल्टै राजीनामा दिए । त्यसपछि विद्यार्थी सङ्गठन र प्राध्यापक संघहरू विरोधमा उत्रिएका हुन् ।

क्याम्पस प्रमुखले क्याम्पसलाई धराशायी बनाइ काठमाडौँ गएर अवैधानिक रूपमा दुई जना प्राध्यापकलाई मात्रै करार प्रक्रिया थालेको भन्दै आंशिक प्राध्यापक संघ एकाइ समितिले विरोध जनाएको छ ।

यस्तै विद्यार्थी सङ्गठनहरूले नियमित कक्षा सञ्चालन नगरेको, अनावश्यक रूपमा शुल्क वृद्धि गरेको, क्याम्पस प्रशासनले विद्यार्थी भर्नामा गरेका निर्मम अन्याय गरेको, सुनियोजित तरिकाले विद्यार्थीलाई परीक्षा फारम भर्न लगाएर परीक्षा दिनबाट वञ्चित गराएका विषयमा विरोध जनाएका छन् । क्याम्पसको रकममा पनि अनियमितता भएको विद्यार्थीहरूको आरोप छ ।

तर क्याम्पस प्रमुख खनाल भने क्याम्पसकै कामका लागि केन्द्रीय कार्यालयमा गएको र त्यहाँ क्याम्पसकै काममा खटिएको जवाफ दिए । आफू सबैको सम्पर्कमै रहेको तर राजनीतिका नाममा आफ्नोसहित शैक्षिक संस्थाको समेत बदनाम गर्न प्राध्यापक र विद्यार्थी सङ्गठन लागेको उनको आरोप छ ।

‘म सबैको सम्पर्कमै छु, उहाँहरूसँग पनि फोन भइरहेको छ,’ रातोपाटीसँग उनले भने, ‘म काठमाडौँ डुल्न आएको होइन । क्याम्पसको कामको लागि आएको हो ।’

राजनीतिका नाममा आफ्नो चरित्र हत्या गर्ने काम भएको भन्दै उनले प्रश्न गरे, ‘यसले मेरो परिवार र आफन्तलाई कस्तो असर पर्छ ?’

यो क्याम्पस कर्णालीको सबैभन्दा धेरै विद्यार्थीहरू अध्ययन गर्ने शैक्षिक संस्था हो । राजनीतिका नाममा प्राध्यापक र विद्यार्थी सङ्गठनका कारण अन्य विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको क्याम्पस प्रमुख खनालको भनाइ छ । आफूले नियमसम्मत् काम गरिरहेको पनि उनको दाबी छ ।

sucana

क्याम्पस प्रमुख खनालको भनाइ उनकै शब्दमा

हामी पहिला ६४ जना शिक्षक थियौँ । बिस्तारै आधा घट्नुभयो । क्याम्पसमा आंशिक समय पढाउने शिक्षकको आवश्यकता भयो । म आउनुभन्दा पहिला ११७ जना त्यस्ता साथी राखिएको थियो । मान्छे धेरै, विषय थोरै भयो । त्यसैले त्यस्ता शिक्षकको सङ्ख्या धेरै भयो । अहिले पनि ८० जना छन् ।

ती शिक्षकलाई त्रिविले केही दिँदैन, सबै क्याम्पसले दिने हो । प्राध्यापक सङ्गठनहरूले जति पनि राख्न सकिन्छ भन्नेजस्तो कुरा गर्नुभयो, तर आवश्यकता त्यो होइन । मिलाएर ल्याउनुहोस् भनेर उहाँहरूलाई नै भनियो र ३२ जनाको नाम ल्याउनुभयो । हुन्छ त भनियो । चार जनाको स्वीकृति पहिला नै आइसकेको थियो । म्यानेजमेन्टतिर १५ सय जना विद्यार्थी छन् । उहाँहरूलाई जिम्मेवारी दिइयो तर यो–यो विषयको भनेर भन्न सक्नुभएन ।

दुई जना शिक्षक केन्द्रबाटै पदाधिकारीले नियुक्त गर्नु भएको छ । आंशिक साथीहरू विषय अनुसार हैन कि जति पनि राखौँ भन्नुहुन्छ । पपुलेसनमा ७ जना हुनुहुन्छ तर जम्मा पाँच पिरियडमात्रै हो । अरुअरु विषयमा पनि त्यस्तै छ ।

करार नबनाएको झोकमा उहाँहरूले त्यस्तो गरिरहनु भएको छ । अस्ति मेरो घरमा पनि उहाँहरू जानुभएको रहेछ । मेरो पत्नी मुटुको बिरामी हो । जुलुस लिएर घर जानु भनेको गलत कुरा हो, त्यो कस्तो शैली हो ? यो आज होइन, तीन वर्षदेखि लगातार गरिरहनुभएको छ । सधैँ भर्नाको बेलामा त्यस्तो गरिरहनु हुन्छ ।

यो भनेको मेरो बदनाम र संस्थाको बदनाम गरिरहनु भएको छ । मैले सिधै नियुक्त गर्ने हैन, केन्द्रीय कार्यालयले गर्नुपर्छ । प्रक्रियामा जाउँ भन्दा पनि नमान्ने, एकोहोरो विरोध गर्ने । यो त राजनीतिका नाममा मेरो चरित्र हत्या भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप