बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

कोरोना बीमाको दाबी भुक्तानीका लागि पहल भइरहेको छ : अध्यक्ष सिलवाल

शुक्रबार, १४ भदौ २०८१, १८ : ००
शुक्रबार, १४ भदौ २०८१

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानीका लागि सरकारसँग पहल भइरहेको बताएका छन् । शुक्रबार लुम्बिनी प्रदेशको बुटवलमा उद्योग वाणिज्य सङ्घ, रुपन्देहीसँगको सहकार्यमा आयोजित बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । 

‘बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने हुनाले सबै दाबी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुन्छन् । यसमा प्राधिकरणले पनि नजिकबाट नियमन गरिरहेको हुन्छ’ अध्यक्ष सिलवालले भने, ‘कोरोना कालमा भएको कोरोना बीमाको बक्यौता दाबी भुक्तानी छिटोभन्दा छिटो भुक्तानी गराउन प्राधिकरणले सरकारसँग आवश्यक पहल गरिरहेको छ ।’

बीमितले आफूले लिएको बीमालेख राम्रोसँग पढ्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष सिलवालले भने, ‘बीमक, बीमित र अन्य पक्षको साझेदारीबाट नै बीमाको प्रवर्द्धन हुन्छ । प्राधिकरणले सम्बद्ध सबैको भावना समेटेर नीति निर्देशिका बनाउने गरेको छ । उद्योगीहरूको समस्या समाधान गर्न प्राधिकरण सधैँ तत्पर छ’ उनले भने ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बीमा गर्दा सहज हुने तर दाबी भुक्तानी पाउन कठिन हुने हुनाले त्यसलाई सरलीकरण गर्नुपर्ने र आफूले रोजेको जोखिमको मात्र बीमा गर्न पाउने व्यवस्था हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा दाबीलाई सरल तुल्याउँदै लगिएको र बीमा कम्पनीमा छिटो प्रतिवेदन प्राप्त होस् भनेर बीमा सर्भेयरलाई सङ्ख्या तोकेर काममा लगाउने व्यवस्था गरिएको बताए । उनले बीमादरलाई समयानुकूल बनाउन परिमार्जन गरिएको समेत स्पष्ट पारे ।

निर्देशक सुवेदीले हुलदङ्गा लगायतका बीमालाई स्वेच्छिक बनाउन र प्रहरी मुचुल्का तथा प्रहरी प्रतिवेदनलाई डिजिटल गर्न लागिएको समेत जानकारी दिए ।

कार्यक्रममा सहभागीहरूले बीमा दाबी प्रक्रियालाई सरल तुल्याउनुपर्ने, हुलदङ्गा बीमालाई अनिवार्य नगरी स्वैच्छिक बनाउनुपर्ने, तेस्रो पक्ष बीमामा दायित्व रकम बढाउनुपर्ने, मोटर बीमामा ह्रास कट्टीलाई न्यून गर्नुपर्ने, प्रहरी मुचुल्का र प्रहरी प्रतिवेदनमा देखिएको समस्या समाधान गर्नुपर्ने लगायतका विचार व्यक्त भएका छन् । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लगायतका पदाधिकारी, उद्योगी व्यवसायी, बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश र शाखा कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप