बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

हामी ८२.२ डिग्री सेल्सियसको गर्मी सहन सकौँला ?

शुक्रबार, १४ भदौ २०८१, १७ : ३९
शुक्रबार, १४ भदौ २०८१

तेहरान । गर्मीको समयमा यो पटक जस्तो गर्मी त कहिले पनि भएको थिएन । पारा ४२/४३ डिग्री सेल्सियस पुग्दै गर्मीकै कारण ज्यान जान्छ कि क्या हो भन्ने भनाई कयौंको मुखमा सुनिन्छ । तर कुनै ठाउँमा तापमान ८२.२ डिग्री सेल्सियस पुग्यो भने त्यो ठाउँको अवस्था कस्तो होला ? तपाई अनुमान गर्न सक्नु हुन्छ ।

दक्षिणी इरानको एक मौसम स्टेशनले ८२.२ डिग्री सेल्सियस (१८० डिग्री फरेनहाइट) हिट इन्डेक्स रेकर्ड गरेको बताएको छ । पुष्टि भयो भने यो पृथ्वीमा रेकर्ड गरिएको सबैभन्दा उच्च तापमान हुनेछ । त्यहाँको एउटा विमानस्थलको मौसम स्टेशनमा यो रेकर्ड भएको हो । विमानस्थल वरपर हावाको तापमान ३८ .९ डिग्री सेल्सियस थियो भने ८५ प्रतिशत सापेक्ष आद्र्रताले अभूतपूर्व हिट इन्डेक्स उत्पन्न गराएको थियो ।

यो तथ्यांक सत्य हो भन्न प्रमाणित गर्न आधिकारिक जाँच हुनुपर्ने एक अमेरिकी मौसमविद् कोलिन म्याकार्थीले सामाजिक सञ्जालमा भनेका छन् । पुष्टि भयो भने यसले तापक्रमको अघिल्लो रेकर्ड तोड्नेछ । विश्वव्यापी जलवायु परिवर्तन र तापमान वृद्धिका कारण अत्यधिक गर्मीको घटना झन् तीव्र बन्ने सम्भावना रहेको जलवायु वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

मध्य पूर्वमा अत्यधिक गर्मी

इरानको मौसम विज्ञान संगठनले अगस्ट ३१ देखि तापक्रममा क्रमिक वृद्धि हुने अपेक्षा गरेको छ । इरान र छिमेकी देशहरूमा अधिकारीहरूले गर्मीबारे चेतावनी नै जारी गरेका छन् र बासिन्दाहरूलाई गर्मीका कारण उत्पन्न हुन सक्ने रोगविरुद्ध सावधानी अपनाउन आग्रह गरिएको छ । मध्यपूर्वले हालैका हप्ताहरूमा अभूतपूर्व गर्मीको लहरसँग जुझिरहेको छ । गर्मीका कारण यहाँका सबै क्षेत्रमा विद्युत् कटौती हुने गरेको छ । इराक र इरानको तापक्रम झण्डै ५० डिग्री सेल्सियससम्म पुगेको छ ।

हिट इन्डेक्स

हिट इन्डेक्सलाई स्पष्ट तापक्रम भनेर पनि बुझिन्छ । यसले हावाको तापक्रमसँग सापेक्षिक आद्र्रता मिलाउँदा मानव शरीर कत्तिको तातिन्छ भन्ने कुरा मापन गर्छ । यसको गणना छायाँदार क्षेत्रहरूको लागि गरिन्छ । यसमा सूर्यको प्रत्यक्ष किरण, शारीरिक गतिविधि वा हावालाई समावेश गरिन्न । उदाहरणका लागि, तापमान ७० प्रतिशत सापेक्षिक आद्र्रताको साथ ३२ डिग्री सेल्सियस छ भने हिट इन्डेक्स ४१ डिग्री सेल्सियस हुन्छ । गर्मीको तीव्रता र यसले मानिसहरूमा उत्पन्न गराउने खतरातर्फ संकेत गर्न मद्दत गर्ने भएकोले हिट इन्डेक्सको निकै महत्त्वपूर्ण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप