साताको सेयर बजार : १४५ अंकको करेक्सन
काठमाडौँ । यो साताको चार दिन सेयर बजारको कारोबार भयो । अघिल्लो साताको अन्तिम दिन ६ अंकको वृद्धि भएको बजार यो साताको पहिलो दिन नै ७९.८८ अंकले घट्न पुग्यो ।
आइतबार परिसूचक २८९४ बिन्दुमा पुगेर कारोबार रोकियो । सोमबार सार्वजनिक बिदा भएकाले सेयर कारोबार भएन ।
मंगलबार बजारमा भारी करेक्सन देखियो । १११.९६ अंकले बजार घट्दै परिसूचक २७८२.६० बिन्दुमा झ¥यो । बुधबार कारोबारको अन्तिम समयमा आएर बजारमा झिनो अंकको वृद्धि भयो । त्यो दिन ३.८० अंकले परिसूचक उक्लियो ।
साताको अन्तिम कारोबार दिन बिहीबार ३६.८३ अंकले बजार करेक्सनमा गयो । तीव्र उतारचढावका बीच बिहीबार परिसूचक २८०० बिन्दुसम्म उक्लिएको थियो । अन्त्यमा २७४९.५७ बिन्दुमा आएर कारोबार रोकियो ।
बिहीबार ३२२ कम्पनीको २८ लाख ३४ हजार सेयर खरिदबिक्री भयो । नेप्सेका अनुसार यस दिन कुल १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँको कारोबार भयो ।
नेप्से परिसूचकसँगै यो साता कारोबार रकम पनि घट्यो । आइतबार १९ अर्ब ४६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । मंगलबार १८ अर्ब ४६ करोड र बुधबार १३ अर्ब ४९ करोडको सेयर किनबेच भयो । यो साताको नेप्से परिसूचकको उच्च बिन्दु २८९४ बिन्दु रह्यो ।
अघिल्लो साता तीन दिनमात्रै सेयर कारोबार भएको थियो । जसमा परिसूचक १० अंकले उक्लिएको थियो । अघिल्लो साताको उच्च बिन्दु २९७४ थियो ।