सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रधानमन्त्रीको संशय

घरेलु मामिलामा विदेशी ‘जलप’ : ओलीसँग अमेरिका र भारत चिढिएकै हुन् ?

सत्ता स्वार्थ अलगअलग भए पनि राष्ट्रिय स्वार्थमा एक हुन नसक्दाको परिणाम : डा भट्टराई
शुक्रबार, १४ भदौ २०८१, १६ : १६
शुक्रबार, १४ भदौ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफू नेतृत्वको सरकार र आफ्नो पार्टीमाथि चौतर्फी आक्रमणको प्रयास भइरहेको भन्दै शक्ति राष्ट्र अमेरिका र भारतसँग सशङ्कित देखिएका छन् ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको  सचिवालय बैठकमै अमेरिका र भारतको नाम लिएर उनीहरूले नेपालमा अराजकता मच्चाउन चलखेल गरेकाले सचेत र सतर्क हुँदै प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।

‘संसारभर नै उनीहरू (अमेरिका र भारत)को बोलवाला छ । नेपालमा पनि चलखेल गर्ने र अराजकता मच्चाउने प्रयास भइरहेको छ’, ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले रातोपाटीसँग भने, ‘उनीहरूको योजना पहिला नेतृत्वलाई खुइल्याउने अनि पार्टी, सरकार र आन्दोलनमाथि नै आक्रमण गर्ने हो । त्यसअन्तर्गत नेपालमा पनि वितण्डा मच्चाउने सङ्केत देखिएका छन् ।’

ओलीले त्यसकै आडमा मुलुकमा अराजकता फैलाउने पात्रहरू सक्रिय रहेको भन्दै अराजक गतिविधि नियन्त्रण गर्न सरकार सजग भए पनि पार्टीका तर्फबाट समेत सचेतता अपनाउन आवश्यक रहेको बताएका छन् । ‘जनतालाई साथमा लिएर त्यस्ता गतिविधिको प्रतिवाद गर्न जरुरी छ’, ओलीको भनाइ छ ।

संसदको अङ्कगणितका हिसाबले ओली नेतृत्वको वर्तमान सरकार निकै बलियो मानिन्छ । यति हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीले किन यस्तो संशय प्रकट गरेका हुन् ? वा घरेलु समस्यामा अन्तर्राष्ट्रिय जलप लगाएका मात्र हुन् ? भन्ने प्रश्न उब्जिएको छ ।

प्राध्यापकसमेत रहेका राजनीतिक विश्लेषक कृष्ण पोखरेल ओलीको अभिव्यक्ति धरातलीय यथार्थभन्दा फरक रहेको टिप्पणी गर्छन् । तर अर्का विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम भने अन्तर्राष्ट्रिय शक्ति राष्ट्रका बारेमा बोल्दा सन्तुलित हुनुपर्ने भए पनि प्रधानमन्त्री ओलीले त्यसमा ध्यान नदिएको बताउँछन् ।

परराष्ट्र मामिलाका जानकार डा. दिनेश भट्टराईले राष्ट्रिय स्वार्थमै असर गर्नेगरी विदेशीले ‘कर्नर’ गर्न थालेका हुन् भनेर भनिएको भए त्यो नेपाल र नेपाली जनता सबैलाई सजग गराएको रूपमा बुझ्नुपर्ने बताउँछन् ।

‘दुई ठुला दल (नेपाली कांग्रेस र नेकपा एमाले) सम्मिलित सरकारबारे अमेरिका या भारत चिढिनुपर्ने कुनै कारण देखिँदैन’, पोखरेलले रातोपाटीसँग भने, ‘धरातलीय यथार्थ र प्रधानमन्त्री ओलीको भनाइबिच मेल खाँदैन ।’

अमेरिकाको ठुलो चासोको विषय नेपालमा (एमसीसी) सम्झौता पूरा भइसकेको भन्दै त्यस सम्झौताका बेला ओली प्रतिपक्षमा भए पनि अमेरिकालाई सहयोग नै गरेको पोखरेलको भनाइ छ ।

‘देउवा त एमसीसी सम्झौताका बेला सरकारमै थिए । उनी तयार हुने नै भए । अहिले पनि ओली र देउवा नेतृत्वका पार्टी सरकारमा छन्,’ उनले भने, ‘यो अवस्थामा ओली नेतृत्वको सरकार र एमालेलाई गिराउनुपर्ने वा खुइल्याउनुपर्ने कुनै कारण छैन ।’

उनले भारतसँग पनि ओली र देउवाको नराम्रो सम्बन्ध नरहेको दाबी गरे । ‘देउवाको पनि भारतसँग नराम्रो छैन । ओली पदमा बस्न जे कम्प्रोमाइज गर्न पनि तयार हुन्छन्’, पोखरेलको भनाइ छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला केही बोली सोचेर, सम्झेर र योजनावद्ध ढङ्गले नआएको आफूलाई लागेको बताए ।

‘यसमा म गलत पनि हुनसक्छु । तर कहिलेकाहीँ घरेलु खपतका लागि नेताहरूले विदेश मामिलामा पनि केही यस्ता कुरा भन्दिन्छन्’, उनले भने, ‘त्यसो भनेपछि सम्बन्धित मुलुकले किन यसो भन्यो भन्ने कुरा आउँछ । त्यसरी कुरा उठ्दा आफू जोगिनलाई उनीहरूले घरेलु खपतका लागिमात्र बोलेको भनिदिने गरेको अन्तर्राष्ट्रिय अभ्यास नै छ ।’

त्यस्तो अवस्थामा अर्को देशले पनि मान्दिने गरेको उनले सुनाए । ‘किनभने आन्तरिक राजनीतिमा केही कुरा नमिलेपछि यसले बोल्यो होला भन्ने अर्थमा उनीहरूले लिन्छन् र त्यति गम्भीरतापूर्वक हेर्दैनन्’, पोखरेलको विश्लेषण छ ।

बरु उनले सरकारविरुद्ध प्रकट भइरहेका असन्तोष ‘डाइभर्ट’ गर्ने प्रयासस्वरुप ओलीले त्यस्तो अभिव्यक्ति दिएको हुनसक्ने बताए । ‘जनताबाट असन्तोष प्रकट भइरहेको छ, मौका मिल्दा जनताले विरोध चर्काउने हुन् कि भन्ने पनि छ । प्रतिपक्ष पनि कडै ढङ्गले प्रस्तुत भएको छ’, उनले भने, ‘अस्ति भर्खरै एउटा कार्यक्रममा नाराबाजी नै भयो । यसको अर्थ असन्तोष घरेलु कारणले होइन, बाह्य कुरासँग हो भनेर घरेलु समस्यालाई बाहिरी जलप लगाइदिएपछि आफूलाई सहज हुन्छ भनेर बोलेको हुनुपर्छ भन्ने लाग्छ ।’

तर अर्का विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम अन्तर्राष्ट्रिय शक्तिहरूका बारेमा बोल्दा संयमता र सन्तुलनमा बोल्नुपर्ने बताउँछन् । ‘अन्तर्राष्ट्रिय शक्तिहरूका बारेमा बोल्दा संयमता र सन्तुलनमा बोल्नुपर्ने हुन्छ’, उनले भने, ‘किनभने त्यसै कारणले नसोचेको दुर्घटना पनि हुनसक्छ । आशंकाहरू बढ्न सक्छन् र अवस्था अर्को दिशामा मोडिन पनि सक्छ ।’

परराष्ट्र मामिलाका जानकार तथा पूर्वराजदूत डा. दिनेश भट्टराईको मत भने भिन्न छ । उनले प्रधानमन्त्री ओलीले दुई देशको नामै किटेर त्यस्तो अभिव्यक्ति दिएको भए सचेत र सतर्क गराउन खोजिएको हुनसक्ने बताए ।

यद्यपि बाहिरियाहरूलाई चलखेल गर्ने अवस्था अरु कसैले नभएर हामी आफैँले सिर्जना गरेको कुरा भुल्न नहुने डा. भट्टराईको भनाइ छ । ‘राजनीतिक अस्थिरता, सत्ता स्वार्थ, आत्मपरक, सत्तामै रमाउने गतिविधि र राष्ट्रिय संस्थाहरूलाई कमजोर बनाएको अवस्थामा बाहिरियाहरूका लागि खेल्ने अनुकूल वातावरण हो’, भट्टराईले रातोपाटीसँग भने, ‘तर हामी राष्ट्रिय इन्ट्रेस्टमा चनाखो भएर एक हुनुपर्दछ ।’

भट्टराईले सत्ता स्वार्थ अलगअलग भए पनि राष्ट्रिय स्वार्थमा एक हुन नसकेको भन्दै मुलुक रहेमात्र सत्ताको राजनीति चल्ने बताए । ‘सत्ताको लागि राजनीतिक नेताहरू खेलुन् तर राष्ट्रिय संस्थाहरू बलिया हुनुपर्छ । त्यसो भयो भने ती संस्थाहरूले निगरानी गरिरहेका हुन्छन् । तर नेपालमा त्यो अवस्था पनि छैन,’ उनले भने, ‘यो अर्थमा प्रधानमन्त्रीले हामी सबैलाई सजग बनाएको हुनुपर्छ ।’

उनले नेपालमाथि नै वा पार्टीमाथि कसलाई भनेको भन्ने कुराले पनि फरक अर्थ लाग्ने बताए । ‘एमालेमाथिको आक्रमणमात्र भनेको हो भने नो कमेन्ट । तर नेपालको राष्ट्रिय स्वार्थमा असर गर्नेगरी बाहिरियाले कर्नर गर्न थाले भनिएको हो भने नेपाल र नेपाली जनतालाई सजग गराएको हो’, भट्टराईको बुझाइ छ ।

परराष्ट्र मामिलाका अर्का जानकार तथा राजनीतिक विश्लेषक समेत रहेका अरुण सुवेदी प्रधानमन्त्रीले भनेको कुरालाई होइन भनेर भन्न नसक्ने बताउँछन् ।

‘प्रधानमन्त्रीले नै भनेपछि केही न केही स्रोत होला । प्रधानमन्त्रीको कुरालाई होइन भन्न सक्दिनँ, हो भन्नलाई स्रोत र तथ्यहरू पनि मसँग छैनन्’, सुवेदीले भने, ‘यसका बारेमा प्रधानमन्त्रीसँगै स्रोत र तथ्यको अपेक्षा गर्ने अथवा बाहिरबाट स्रोत र तथ्य कहिले आउँछन्, त्यो पर्खनेबाहेक विकल्प हुन्न ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप