शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

उत्कृष्ट पुरुष र महिला फुटबल खेलाडीलाई कार पुरस्कार

शुक्रबार, १४ भदौ २०८१, १४ : ४२
शुक्रबार, १४ भदौ २०८१

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडीलाई कार पुरस्कार दिने निर्णय गरेको छ । एन्फाको सातौँ कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले प्रत्येक वर्ष एक जना महिला र एक जना पुरुषतर्फ उत्कृष्ट फुटबल खेलाडी छनोट गरी एक– एकवटा कार पुरस्कार दिने निर्णय गरेको हो ।

यसका अतिरिक्त वर्षको उत्कृष्ट रेफ्री र प्रशिक्षकलाई पनि नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ । उत्कृष्ट रेफ्री र प्रशिक्षक दुई लाख रुपैयाँ नगद र मोटरसाइकल प्रदान गरिने छ ।

यसैगरी, एन्फा बैठकले लाइफ टाइम एचिभमेन्ट अवार्ड पनि प्रदान गर्ने निर्णय गरेको छ । लाइफ टाइम एचिभमेन्ट अवार्डबापत एक जनाले पाँच लाख रुपैयाँ नगद र मोटरसाइकल वा स्कुटर पुरस्कार प्राप्त गर्ने बताइएको छ ।

उत्कृष्ट महिला तथा पुरुष खेलाडी, रेफ्री र प्रशिक्षक छनोट गर्न तीन सदस्यीय समिति पनि गठन गरिएको छ । समितिको संयोजकमा पुरुषोत्तम थापा तथा सदस्यमा हरि खड्का र सञ्जीव मिश्र रहेको एन्फाले जनाएको छ ।

यसैगरी एन्फा बैठकले ‘बी’ डिभिजन लिग फुटबलका लागि आवश्यक रकम तीन करोड ९५ लाख ८६ हजार पाँच सय ८१ रुपैयाँमध्ये करिब दुई करोड रुपैयाँ फिफा फरवार्ड २.० शीर्षकबाट खर्च गर्ने निर्णय पनि गरेको छ ।

बैठकले राष्ट्रिय फुटबल खेलाडीहरूलाई आवागमनका लागि सुविधा सम्पन्न सटल बस खरिद गर्न एक लाख अमेरिकी डलर (करिब एक करोड ३४ लाख नेपाली रुपैयाँ) विनियोजन गर्ने निर्णय पनि गरेको बताइएको छ । यसका अतिरिक्त लगेज डेलिभरी भ्यान खरिद गर्न पनि बैठकले २५ हजार अमेरिकी डलर रकम छुट्टाएको छ ।

यसैगरी, बैठकले महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी अक्टोबर १७ देखि ३० तारिखसम्म दशरथ रङ्गशालामा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । एन्फाले यसै वर्षदेखि आगामी तीन वर्षसम्म देशव्यापी रूपमा ग्रासरुट कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप