बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

तीन दशक पर्यटनमा सिकेको ज्ञान टानमार्फत बाँड्न चाहन्छु : सागर पाण्डे

‘म व्यक्तिगत फाइदाका लागि अध्यक्ष बन्न लागेको होइन’
शुक्रबार, १४ भदौ २०८१

पदयात्रा व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमितिका लागि भदौ १७ गते निर्वाचन हुँदैछ । यस पटकको चुनावमा दुई वटा प्यानल खडा भएका छन् ।

तीन दशकभन्दा बढी समय पर्यटन व्यवसायमा सक्रिय सागर पाण्डेले अध्यक्ष पदका लागि उम्मेदवारी दिँदैछन् । पाण्डेले बिहीबार समावेशी र व्यावसायिक प्यानलको उम्मेदवार तथा एजेण्डा सार्वजनिक गरेका छन् ।

प्रस्तुत छ, अध्यक्ष पदका उम्मेदवार पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश -

  • चुनाव जित्नका लागि तपाईंले अगाडि सारेका मुख्य एजेण्डा के–के छन् ?

चुनाव जित्नका लागि एजेन्डाले मात्र पुग्दैन । त्यो टिमको नेतृत्व मुख्य कुरा हो । एजेन्डा जति नै राम्रो भए पनि नेतृत्व र टिम सही छैन, टिमको दृष्टिकोण छैन, सहकार्य गर्ने स्वभाव छैन भने काम गर्न सकिँदैन ।

मेरो नेतृत्वमा बनेको टिम टानमा जान पायो भने पर्यटन उद्योगका लागि ठुलो गर्वको कुरा हो । मैले उठाएका एजेण्डा नितान्त व्यवसायसँग जोडिएका छन्, काल्पनिक, ठुलो महत्वाकांक्षा बोकेका छैनन् । पूरा गर्न सकिने खालका छन् । पर्यटन क्षेत्रमा रहेका समस्या बुझ्न जरुरी छ ।

मैले दुई भागमा बाँडेको छु । टानको दुई वर्षे कार्यकालमा कार्यसमितिले पूरा गर्न सक्ने काम समयमै पूरा गर्छौं । त्यो बाहेक मन्त्रालय, पर्यटन बोर्ड, स्थानीय निकाय, पर्यटनसँग सम्बन्धित संस्थाहरूसँग समन्वय गरेर दिगो पर्यटनको विकासको आधार तयार गर्ने, योजना बनाउने र कार्यान्वयन गर्ने लक्ष्य छ ।

  • तपाईंले कस्तो टिम बनाउनु भएको छ ? टिम समावेशी छ कि छैन ?

नेपाल बहुजातीय, बहुभाषा, हिमाल, पहाड, तराईसँग जोडिएको छ । हामीले शेर्पा, ब्राह्मण, क्षेत्री, राई, तामाङ, गुरुङ, अल्पसङ्ख्यक जाती, महिला सबैलाई समेटेर समावेशी टिम बनाएका छौँ । समावेशीमात्र होइन, संस्था हाँक्ने नेतृत्व र अन्य सदस्य पनि योग्य र सक्षम हुनुहुन्छ ।

म ३० वर्षदेखि पर्यटन क्षेत्रमा छु । यो व्यवसायका समस्या, चुनौतीलाई नजिकबाट नियालेको छु । संस्थालाई हाँक्ने नेतृत्वमा दृष्टिकोण र योजना हुनुपर्छ । हामीले जुन घोषणापत्र बनाएका छौँ, त्यो हामी आफैँले बनाएको हो । हामी अरु कसैको घोषणापत्र बोकेर आएका होइनौँ । यथार्थपरक र व्यावहारिक एजेन्डा छन् । हाम्रो कार्यकालमा पूरा गर्न नसकेका एजेन्डा राज्य र सरोकारवालाले पूरा गर्नैैपर्ने खालका छन् ।

  • पर्यटनसँग सम्बन्धित अन्य संस्था नाटा, हान र स्थानीय तहसँग समन्वय गर्नेबारे के योजना छ ?

पर्यटनमा क्रियाशील सबै संस्था र निकायसँग समन्वय गर्ने मेरो स्वभाव छ । सबैलाई एकै ठाउँमा राखेर विषयवस्तुलाई उजागर गरेर अगाडि बढ्न चाहन्छु । कतिपय ठाउँमा नेतृत्व गर्ने मानिस एक्लै हिँड्छन् । निजी क्षेत्रमा अर्को सबैभन्दा ठुलो रोग भनेको क्रेडिट कसले लिने भन्ने हो । मेरो स्वभाव त्यो छैन । म राम्रो कामको क्रेडिट व्यक्तिगत रूपमा लिन चाहन्नँ । सबैको शुभेच्छाले म नेतृत्वमा पुग्ने हो । संस्थाको भित्तामा फोटो झुन्ड्याउने रहरले म अध्यक्षमा उम्मेदवारी दिएको होइन । 

मैले ३० वर्ष पर्यटनमा लाग्दा सिकेको ज्ञान, अनुभव बाँड्न चाहन्छु । संस्थामा गएर समग्र पर्यटन उद्योग, आफूले गर्न सक्ने कामहरू, देशकै पर्यटनको विकासमा लगाउन चाहन्छु । मैले यसलाई अवसरका रूपमा लिएको छु ।

  • दिगो पर्यटनको स्थायित्व र विकास लागि पर्यटन मन्त्रालय र सम्बन्धित सरोकारवालासँग समन्वयका एजेन्डा के–के छन् ?

पहिला हामी व्यवसायीहरू नै तयार हुनुपर्छ । किनकि हामीलाई यो चाहिएको छ । दिगो पर्यटन के हो, त्यहाँ पुग्नका लागि के–के प्यारामिटर पूरा गर्नुपर्छ, त्यो बुझ्नुप¥यो । अहिले कतिपयले ८ सयमात्रमा पनि ट्रेकिङ बेचिरहेका छन्, ४ हजार रुपैयाँमा पनि ट्रेकिङ बेचिरहेका छन् । चल्न त चलिरहेको छ । तर, सस्टेनेबल कसरी हुन्छ ? त्यतातिर ध्यान दिनुप¥यो । हामीले दिने सेवामा पनि ध्यान दिन उत्तिकै जरुरी छ । यो कुरा निजी क्षेत्रले मात्र लागु गर्न सक्दैन । राज्यको पनि संलग्नता चाहिन्छ ।

  • नेपालमा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन के गर्ने ?

नेपाल एयरलाइन्सले जहाज थप्नुपर्छ । नेपाल एयरलाइन्सको सही रूपमा व्यवस्थापन र यसको विकास गर्नुपर्छ । निजी क्षेत्रले नाफामात्र हेर्छन् । पर्वतीय पर्यटन फस्टाउनका लागि पनि पर्यटक भित्र्याउनै पर्छ । त्यसका लागि पनि कम्तीमा २० वटा राष्ट्रिय एयरलाइन्स चाहिन्छ ।

  • पर्यटन क्षेत्रमा युवाहरूलाई आकर्षित गर्न के गर्न सकिन्छ ?

राज्यले नेपालमा व्यापार व्यवसाय गर्ने वातावरण बनाउनुप¥यो । पर्यटनको विकास गर्न र रोजगारी कसरी सिर्जना गर्ने भन्ने प्रश्नको उत्तर सजिलो छैन । त्यसका लागि पहिल्यै योजना हुनुपर्छ । संयन्त्र बलियो हुनुपर्छ । समयको महत्त्व चिन्न सक्नुपर्छ । समय अनुसार चल्न सक्नुपर्छ । राज्यलाई झक्झक्याउनुपर्छ । हामी पनि बिउँझिनुपर्छ । नेपालमै राम्रो कमाइ गर्न सकियो भने कोही पनि बिदेसिनु पर्दैन ।

  • पर्यटकहरूले अनिवार्य गाइड साथमा लिनुपर्छ भन्ने विषयमा कत्तिको दृढ हुनुहुन्छ ?

यो कुरामा म एकदमै दृढ छु । पर्यटकहरूले अनिवार्य गाइड साथमा लग्ने हो भने गाइडलाई मात्र होइन, राज्यलाई पनि फाइदा हुन्छ भन्ने कुराको महत्त्व बुझाउन सक्नुप¥यो । राज्यले पनि आफ्नो दायित्व के हो, त्यो महसुस गर्नुप¥यो ।

  • चुनाव जित्छु भन्नेमा तपाईं कत्तिको आशावादी हुनुहुन्छ ?

चुनावमा जाने भनेको जित्छु भनेर नै हो । यसमा अपवाद छैन । यति समय म पर्यटन उद्योगमा लागेँ, मेरो व्यक्तिगत फाइदाका लागि चुनावमा उठ्न लागेको होइन । समग्र पर्यटन उद्योगलाई योगदान दिने मेरो चाहना हो । सबै साथीहरूको कुरा सुन्दा मलाई अध्यक्षको जिम्मेवारी दिनुहुन्छ भन्ने विश्वास छ ।

मेरो आफ्नै व्यवसाय राम्रो चलिरहेको छ । कुनै फाइदाका लागि म अध्यक्ष बन्न लागेको होइन । मैले जानेको, सिकेको कुरा पर्यटन उद्योगमा योगदान दिन सक्छु भनेर नै नेतृत्वमा जान लागेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया