आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
संगीत

तिज गीत : लगानी गर्ने डुब्छ, गाउनेलाई डबल फाइदा !

गीतको प्रचारमा साथ नदिएको निर्माताको गुनासो
शुक्रबार, १४ भदौ २०८१, १३ : ५१
शुक्रबार, १४ भदौ २०८१

काठमाडौंँ । साङ्गीतिक बजारमा यतिबेला तिज लक्षित गीतसङ्गीतको चर्चा छ । हिट, फ्लप, नयाँ, पुराना सबै खालका गायक/गायिकाको स्वरमा तिज गीत सार्वजनिक भइरहेका छन् । फरक यति हो– केही गीत मौलिक छन् भने केहीमा विकृति, विसङ्गतिले भरिएका ।

कतिपय गीत मौलिक भएका कारण चर्चामा छन् भने कतिपय विकृतीका कारण पनि चर्चित भइरहेका छन् । अझै केही कलाकार तिज गीत ल्याउने तरखरमै छन् ।

करिब दुई महिना अगाडिदेखि तिज गीत सार्वजनिक हुन थालेका हुन् । त्यो क्रम अहिले पनि जारी छ । तिजका दिनसम्म पनि यस्ता गीत आउने क्रम जारी नै रहन्छ ।

वर्षको एकदिन पर्ने महिलाहरूको महान चाड तिजलाई लक्षित गर्दै बर्सेनि सयदेखि डेढसय हाराहारीको नयाँ तिज गीत भित्रिन्छन् । यो वर्ष तिज गीत भित्रिएको रफ्तार हेर्ने हो भने गएका वर्षको तुलनामा बढी हुने देखिएको छ । यो वर्ष तिज भदौ २१ गते परेको छ । यो वर्ष बजारमा तीन सय हाराहारीका तिज गीत भित्रिने अनुमान गीतसङ्गीत क्षेत्रका व्यक्तिले गरेका छन् ।

यसरी भित्रिने गीतमा निर्माता (पैसा लगानी गर्ने व्यक्ति गीतकार, सङ्गीतकार, गायक–गायिका जो पनि हुन सक्छ) लगानी पर्ने गरेको छ । अडियो र भिडियो गरेर न्यूनतम २ लाखदेखि १०/१२ लाख रुपैयाँसम्म एक गीतमा लगानी हुने गरेको छ । एकदुई महिनामा मात्र प्राथमिकता पर्ने भएकाले यस्ता गीतको लगानी सुरक्षित हुन मुस्किल पर्छ ।

saru

गायिका सरु गौतम तिज गीतमा गरेको लगानी उठ्न मुस्किलै रहेको बताउँछिन् । ‘खर्च गर्दिनँभन्दा पनि एक तिज गीतमा अडियो, भिडियो गरेर ३ लाख रुपैयाँ लाग्छ’, गौतमले भनिन्, ‘यो वर्ष लगानी उठ्ने त कुरै हुँदैन । आगामी वर्षहरूमा पनि प्राथमिकतामा पर्ने भएकाले ३/४ वर्षमा लगानी उठ्न सक्छ कि भनेर आस गर्न सकिन्छ ।’

गायिका गौतमले आफ्नो लगानीमा यस वर्ष तिज गीत ‘नाम जोडियो’ ल्याएकी छन् ।

वरिष्ठ लोकगायक तथा सङ्गीतकार कस्तुप पन्तले पनि तिजका लागि एक गीत ‘बिजुली चमक्कै’ ल्याएका छन् । तिजका लागि भनेर बनाएको गीतमा एक प्रतिशतले पनि लगानी सुरक्षित गर्छ भन्ने आफूलाई नलागेको उनी सुनाउँछन् ।

‘कतिपयले चाडपर्व भनेर, कतिले लहलहैमा र कतिले आफ्नो च्यानलमा नयाँ गीत दिन पनि तिज गीत बनाउने गरेका छन्’, पन्तले भने, ‘यो वर्ष निकालिएका गीत आगामी धेरै वर्षमा प्राथमिकतामा प¥यो भने लगानी उठ्ला, नत्र बालुवामा पनि हो ।’

आफ्नो काम नै साङ्गीतिक क्षेत्रमा भएकाले लगानी उठे पनि, नउठे पनि गीत भने वर्षैपिच्छे ल्याउने गरेको उनी बताउँछन् । 11

गायक/गायिकालाई डबल फाइदा

तिज गीतको लगानी उठाउन निर्मातालाई धौधौ भए पनि यस्ता गीतबाट गायक–गायिकालाई भने फाइदा हुने गर्छ । उनीहरू गीत गाएबापत राम्रो पारिश्रमिक लिन्छन् भने त्यही गीत स्टेज कार्यक्रममा प्रस्तुत गरेर थप आम्दानी समेत गर्छन् । यो हिसाबले गायक–गायिकालाई दुवै हातमा लड्डुभन्दा फरक पर्दैन ।

तिज गीतबाट पैसा लगानी गर्ने निर्माता (लगानी गर्ने सर्जक, सङ्गीतकार वा गायक/गायिका कुनै व्यक्ति)लाई भन्दा पारिश्रमिक लिएर अर्काको गीत गाउने गायक/गायिकालाई मात्र लाभ हुने गरेको गीतकार लोकराज अधिकारी बताउँछन् ।

‘गायक गायिकाले निर्मातासँग मागेजति पारिश्रमिक पनि लिन्छन् । त्यही गीत स्टेजमा गाएर बेग्लै आम्दानी पनि गर्छन्’, अधिकारीले भने, ‘सिधै भन्दा गायक/गायिकालाई डबल फाइदा छ ।’

डबल फाइदा लिँदा पनि निर्माताको नामसमेत लिने नगरेको अधिकारीको दुखेसो छ । उनले भने, ‘अहिले तिज गीत निकाल्नु भनेको गायक÷गायिका धनी बनाउनुमात्र हो ।’

lokraj

पशुपति म्युजिक प्रालिका प्रमुख शिव पौडेल पनि तिज गीतबाट गायक÷गायिकाले डबल फाइदा लिने गरेको बताउँछन् । ‘गीत गाउँदा भनेजति पारिश्रमिक लिनु उहाँहरूको अधिकारको कुरो हो । त्यसमा केही घटाउन भन्दा मान्नु हुन्न’, पौडेलले थपे, ‘परिश्रमिक लिएर गायकको गीत स्टेजमा गाउँदा अनुमति लिने कुरा त परै जावस्, नामसमेत लिनुहुन्न ।’

गायक–गायिकाले गीत गाएको पैसा पनि लिने, स्टेजमा गाएर अतिरिक्त कमाउने समेत गरेर दुईवटै हातमा लड्डु पार्ने गरेको उनको भनाइ छ । त्यही गीतमा लगानी गर्नेचाहिँ घाटामा जानुपर्ने अवस्था रहेको उनले बताए ।

गायक/गायिकाले अर्काको लगानीका गीत स्टेजमा गाउने हो भने त्यसको पारिश्रमिकमा विचार गर्नुपर्ने पौडेलको धारणा छ ।

shiv

प्रमोसन गर्दैनन्

‘आफूले पारिश्रमिक लिएर गीत गाइसकेपछि आफूले गाएको गीत सेयर गर्नसमेत लाज मान्ने, अल्छी मान्ने, भाउ खोज्ने र प्रमोसन नगर्ने गायक गायिकाको समाचार बन्यो कि बनेन ?’

माथिको प्रश्न लोकप्रिय गायक बद्री पंगेनीले सामाजिक सञ्जालमा केही अगाडि उठाएका हुन् । यस्तो प्रश्न अहिले धेरै गीत–सङ्गीतका निर्माताको सामाजिक सञ्जालमा देख्न सकिन्छ । प्रश्न मोटो पारिश्रमिक लिएर गीतको प्रचार नगर्ने गायक–गायिकाप्रति लक्षित छ ।

गायक बद्री पंगेनी पनि परिश्रमिक लिएर गाएको गीत सार्वजनिक हुँदा आफ्नो सामाजिक सञ्जालमा सेयर नगर्नु निर्माताप्रति अन्याय भएको बताउँछन् ।

गीतकार लोकराज अधिकारी पनि आफूले पारिश्रमिक लिएर गाएका गीत प्रचारप्रसारमा सघाउन सकिन्न, सामाजिक सञ्जालमा सेयर गर्दा लाज हुन्छ भने नगाउँदा ठिक हुने बताउँछन् ।

‘कतिपय गायक–गायिका गीत चर्चामा आयो भनेमात्र सेयर गर्छन्,’ उनले भने, ‘आफ्नो गीत सबैले माया गर्दा राम्रो हुने हो ।’

arjunसङ्गीतकार अर्जुन पोखरेल यसको दुई वटा पाटो रहेको बताउँछन् । ‘गीत गाउन बोलाउँछन्, गइन्छ । तर गीतको भिडियो अश्लील बनाएर ल्याउँछन् । यो केसमा गायक गायिकाले साथ नदिँदा म दोष देख्दिनँ’, अर्जुनले थपे ‘समस्या कहाँनेर हो भने गीत गाउँदा पैसा लिनका लागि जस्तो शब्द भए पनि गाउने, पैसा लिएर गएपछि वास्ता नगर्ने प्रवृत्ति खराब हो ।’

गीतप्रतिको दायित्व पूरा नगर्ने, गीत चल्यो भने लाजै पचाएर ट्रयाक माग्दै देशविदेशको यात्रा गर्ने पनि प्रशस्त रहेको उनले बताए । ‘यस्ता गायक–गायिकालाई स्टेज कार्यक्रमका आफ्नो गीत गाउन रोक लगाउन, ट्रयाक नदिन र गाएको खण्डमा पारिश्रमिक बाँड्न लगाउनुपर्छ,’ उनले भने । तिज गीतमा अहिले चल्तीका गायक गायिकाहरुमा शान्तिश्री परियार, खुमन अधिकारी, रचना रिमाल, पशुपति शर्मा, राधिका हमाल, एलिना चौहानलगायत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप