हिंसा के हो ? इतिहासको ऐनाअगाडि उभिएर एमाले नेतृत्वले आफ्नै अनुहार हेरोस्
सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले तीन प्रमुख दलका शीर्ष नेतासमक्ष प्रतिवेदन हस्तान्तरण ग-यो ।
त्यसलगत्तै ओलीले सामाजिक सञ्जालमा लेखे, ‘लामो समयदेखि थाती रहेको हिंसात्मक द्वन्द्व अन्त्यको दिशातिर अगाडि बढ्यो ।’
यो व्यवस्था ल्याउन रतिभर योगदान नगरेका, जनयुद्ध तुहाउन दरबारसँग घाँटी जोडेका ओली यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यकारी प्रधानमन्त्री छन्; जुन क्रान्तिको जगबाट आएको व्यवस्थामा उनी आज प्रधानमन्त्री छन्, त्यही क्रान्तिलाई उनी ‘हिंसा’ भन्दै छन् । यो ओलिटिक्स हो, जुन देश र जनताले बुझेको छ । त्यस क्रान्तिलाई कि महान् क्रान्ति भन नत्र विष वमन नगर ।
ओलीको ‘अनुकरण’ गर्दै हिजो संसदमा एमालेका अर्का नेताले उही कुराको सुगा रटान लगाए । उनी केटौले शैलीमा प्रस्तुत भए र गैरजिम्मेवार ढंगले दलिलहरू पेस गरिरहे । उनलाई त लागेको होला— अरुमाथि हिलो छ्यापिरहँदा बिछट्टै गरेँ; प्रधानमन्त्रीको ध्यान खिचेँ; माओवादीलाई गाली गरेर माओवादीको कट्टर विरोधी प्रधानमन्त्रीपछिको रोल क्रम २ मा भएँ; कमरेड ओलीको पदचाप पछ्याउने एक मात्र उत्तराधिकारी मै भएँ भन्ने । तर त्यो सब मुतको न्यानोजस्तै हो । किनकि माओवादी जनयुद्धलाई हिंसा मान्ने हो भने सबैभन्दा पहिला एमालेले झापा विद्रोहलाई हिंसा भन्नुपर्छ । र ओलीले आफूलाई हिंसात्मक विद्रोहको कमान्डर स्वीकार गर्नुपर्छ । नत्र एमालेको राजनीतिक पृष्ठभूमि भोगेको, देखेको, पढेको हरेकले ओली र उनका अनुयायीको रोदन राम्रैसँग बुझेका छन् ।
माओवादी जनयुद्धलाई हिंसा मान्ने हो भने सबैभन्दा पहिला एमालेले झापा विद्रोहलाई हिंसा भन्नुपर्छ । र ओलीले आफूलाई हिंसात्मक विद्रोहको कमान्डर स्वीकार गर्नुपर्छ ।
आजको एमालेको राजीनतिक पृष्ठभूमि २०२८ सालको झापा विद्रोह हो । त्यही झापा विद्रोहताका वर्गशत्रु सफायाको अभियान सञ्चालन गर्नेमध्येका एक कमान्डर यतिबेला देशको प्रधानमन्त्री छन् । ‘वान मेन वान कन्ट्याक्ट, वान मेन वान स्क्वाड, वान स्क्वाड वान एक्सनको वर्ग शत्रु सफायाकोको सैन्य फर्मेसन बनाएर दर्जनौँको टाउको कटुवाहरूले इतिहासको ऐनाअगाडि उभिएर आफ्नो रक्तमुछेल अनुहार हेरे पुग्छ ।
हुन त एमालेले त्यो क्रान्ति सप्तकोशीमा उहिल्यै बगाइसकेको छ । तर विश्व समुदायले मानेको राजनीतिक संघर्ष युगान्तकारी परिवर्तनलाई हिंसा देख्ने तिम्रो राजनीतिक अन्धताप्रति खेद छ । जनताको अधिकार स्थापित गर्ने क्रान्तिलाई हिंसा देख्ने तिम्रो दृष्टिदोषप्रति घृणा छ । यतिका परिवर्तनको रसास्वादन गरेर महान् बलिदानप्रतिको अपमानको, तिम्रो अहङ्कार र दम्भको कुनै एक समय मूल्य चुकाउनुपर्नेछ ।
वर्ग वैरीहरूका लागि हिंसा वा आतङ्क लाग्न सक्छ, क्रान्ति । किनकि क्रान्तिले शोसित र उत्पीडित जनतालाई न्याय दिन्छ, समानता दिन्छ, अधिकार दिन्छ; त्यो वर्ग वैरीहरूको हातबाट खोसेर दिन्छ । जो जनताको भाषामा क्रान्ति हो, वर्ग वैरीहरूको लुटतन्त्रका लागि हिंसा या आतङ्क होला । जनता र वैरीहरूको सोच, विचार र भाषा एउटै हुँदै हुँदैन ।
अहिले बर्बराएका तिनै वर्ग वैरीहरूसँग यो बेला न नयाँ एजेन्डा छ, न त नयाँ कार्यक्रम नै छ । यसर्थ सरकारको नेतृत्व गरेका र उसका चाकडीबाजहरू यसबेला माओवादीलाई गाली गरेर विषयान्तर गर्न खोज्दै छन् । उनीहरू यतिबेला सरकारको असफलता लुकाउन, असक्षमता ढाकछोप गर्न प्रमुख प्रतिपक्षीलाई उत्तेजित बनाउँदै संविधानले समेत सशस्त्र द्वन्द्व स्वीकार गरेको हो ।
नेकपा गठनका बखत जनयुद्ध मान्न तयार भएकाहरू आज ‘हिंसा’को दर्जा दिएर विस्तृत शान्ति सम्झौताको मात्र अपमान गरेका छैनन्; त्याग, समर्पण र बलिदानको जगमा प्राप्त उपलब्धिमाथि नै धावा बोल्ने दुस्साहस गरेका छन्, यसको डटेर प्रतिवाद गरिनेछ ।
- भ्रष्टाचारको ब्रह्मनालबाट जन्मेको सरकार
ठुला दुई दल एमाले–कांग्रेस यतिबेला सरकारमा छन् । परीक्षणकाल रहेको यो सरकारले देशमा बढ्दो निराशालाई आशा जगाउने उल्लेखनीय काम गर्न सकेको छैन । बरु एकपछि अर्को विवादित र जनविरोधी हर्कत गरिरहेको छ । यो सरकार केका लागि बनेको हो, किन बनेको हो भन्ने उनीहरुले जनतालाई जवाफ दिन सकिरहेका छैनन् । यो सरकार एक त बेमेल गठबन्धनको दुष्चक्रमा फसिरहेको छ । अर्को कुरा, सरकारसँग न नयाँ योजना नै छ, न त जनतालाई आशावादी बनाउने कुनै कार्यक्रम छ ।
बुझ्नेहरू भन्छन्— भ्रष्टाचारको ब्रह्मनालबाट यो सरकारको उदय हुन पुगेको हो । घटनाहरूले पनि त्यस्तै प्रमाणित गर्दै छन् ।
यो सरकारलाई देश र जनताका पक्षमा परिणाममुखी काम गर्नुपर्छ भन्ने नै छैन । विभिन्न काण्डमा जोडिएका आफ्ना मान्छेलाई कसरी उन्मुक्ति दिने, राज्यका हरेक ठाउँमा आफ्ना मान्छे सेटिङ गरेर वैधानिक लुटतन्त्र कसरी मजबुत बनाउने भन्नेमै यो सरकारको अर्जुनदृष्टि छ ।
अहिले देशकै ठुलो दुश्मन भनेको भ्रष्टाचार हो, जनताले खोजेको सुशासन हो । भ्रष्टाचार र सुशासन एक–अर्काको विपरीत प्रवृत्ति हो ।
प्रचण्ड सरकारका समयमा भ्रष्टाचार विरुद्धको कारबाही अभियानात्मक रूपमा अगाडि बढेको थियो । त्यस बखत जनतामा आशाको ग्राफ बढेको थियो । भ्रष्टाचार विरुद्धका कारबाही व्यापक बन्दै जाँदा त्यसमा जनसमर्थन बढ्दै गइरहेको थियो । हरेक ठुला भ्रष्टाचार र अनियमितताको फाइल खोल्न जनताको साथ समर्थन थियो । सरकार पनि एकपछि अर्को फाइल खोल्न प्रतिबद्ध थियो । सुशासनको त्यस प्रकारको राष्ट्रिय अभियानले राजनीतिक र नेतृत्व वृत्तमा ठुलो तरंग पैदा भएको कुरा जगजाहेरै छ । त्यसबाट आतङ्कित सुशासन विरोधीहरूले रातारात जनपक्षीय सरकार ढाले र दलालहरूको बुख्याँचा सरकार बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पाले तोड्यो बाहुबलीको रेकर्ड
-
भारतसहित ५ देशमा नियुक्त भएका राजदूतहरूले लिए शपथ
-
अल्लू अर्जुनको घरमा तोडफोड गर्नेले पाए जमानत
-
जनार्दन शर्माको निष्कर्ष– ओली सरकार असफल, गम्भीर राजनीतिक संकटको खतरा देखियो !
-
विकासलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या बनाएको छ : मुख्यमन्त्री लामा
-
मस्क अमेरिकाको राष्ट्रपति बन्न सक्लान् ?