८ वर्षसम्म टुङ्गिएन मादी गाउँपालिकाको केन्द्र

पोखरा । २०७३ फागुनमा स्थानीय तह घोषणा गर्दा मादी गाउँपालिकाको केन्द्र याङजाकोट (साविक थुमाकोडाँडा गाविस कार्यालय) तोकियो । नयाँ जनप्रतिनिधि आएपछि ६ महिनाभित्र पालिकावासीलाई पायक पर्ने ठाउँमा उनीहरूले केन्द्र सार्न सक्ने व्यवस्था सुरुमै गरिएको थियो ।
याङजाकोट मादीवासीका लागि अपायक छ । सुरुदेखि नै बहुसङ्ख्यक नागरिकहरूले केन्द्र तत्काल सार्नुपर्ने आवाज उठाए । तर राजनीतिक र अन्य विभिन्न कारणले केन्द्र सर्न सकेन ।
पहिलो कार्यकालमा केन्द्र सार्ने प्रयास नभएको पनि होइन । २०७५ साल भदौ २६ गते ४ वटा विकल्प सहित केन्द्र सार्ने प्रस्ताव प्रदेशमा पठाइयो । प्रदेश सरकारले २०८८ कात्तिक २१ गते उपयुक्त नाम पालिकासँग माग्यो । पालिकासँगको समन्वयमा प्रदेशले मादी ४ बेतेनीलाई नयाँ केन्द्रका रूपमा निर्णय गरेर केन्द्रमा पठाइदियो । २०७७ माघ ५ गते प्रदेशले गरेको सिफारिस सङ्घ सरकारबाट निर्णय नहुँदै माघ २२ गते सर्वोच्च अदालतमा केन्द्र सार्न नहुने माग सहित रिट प¥यो ।
सर्वोच्चले लामो समय उक्त रिटलाई थाँती राख्यो । २ वर्षपछि २०७९ माघ १६ गते न्यायाधीशद्वय प्रकाशमान सिंह र तिलप्रसाद श्रेष्ठको इजलासले रिट नै खारेज गरिदियो । त्यसबेला पहिलो कार्यकालका जनप्रतिनिधिको जिम्मेवारी सकिएर दोस्रो कार्यकाल सुरु भैसकेको थियो । नयाँ निर्वाचन भएकोले केन्द्र विवाद पनि नयाँ कार्यकालका जनप्रतिनिधिले मिलाउने भन्दै पालिकालाई नै जिम्मेवारी फर्काइएको छ ।
त्यसयता पालिका केन्द्र सार्ने विषयमा औपचारिक छलफल न कार्यपालिकामा भएको छ न त गाउँसभामा । पछिल्लो कार्यकालमा जनप्रतिनिधि निर्वाचित भएका पनि साढे २ वर्ष हुन लागिसक्यो । नागरिक तहबाट पुनः पालिका केन्द्रका विषयमा बहस उठेको छ ।
मादी ४ का खेम सापकोटा सेवाग्राहीलाई पालिका कार्यालय अपायक भएको बताउँछन् । ‘कार्यालय कहाँ छ भन्ने ठुलो कुरा भएन । तर सबै नागरिकलाई पायक पर्ने ठाउँमा त हुनुप-यो नि,’ उनले भने, ‘धेरै पहिलेदेखि आवाज उठाएका हौँ । अहिलेसम्म सुनुवाइ भएको छैन ।’
बर्खा लागेपछि पालिका कार्यालयसम्म पुग्ने सडकको कन्तबिजोग हुन्छ । ‘न सडक राम्रो छ । न कार्यालय नजिक छ । यही अवस्था हो भने सिंह दरबार घरघरमा भन्ने नारा त काम लागेन,’ उनले थपे, ‘कम्तीमा पालिका कार्यालयसम्म पुग्ने बाटो बाह्रै महिना सहजै गाडी गुड्ने हुनुपर्छ । यो त न्यूनतम माग हो नि ।’
मादी ७ का बुद्धिबहादुर सापकोटा सानातिना योजनाको सम्झौता र भुक्तानी वडाबाटै गरिदिए पालिका अपायक नै भए पनि जनताले धेरै दुख पाउनुपर्ने अवस्था नआउने बताउँछन् ।
‘१–२ लाखका योजना सम्झौता वडाबाटै गरे भइहाल्छ । भुक्तानी लिन पनि वडाबाटै पाए सजिलो हुन्छ,’ उनले भने, ‘कहिले सम्झौता, कहिले बैंक खाता खोल्न, कहिले फरफारक भनेर पटक पटक पालिका कार्यालय पुग्नुपर्ने बाध्यताले समस्या थपिएको छ । जनप्रतिनिधिले वडालाई अधिकार प्रत्यायोजन गर्नुपर्छ ।’ मादीका अधिकांश वडाबाट नागरिकहरू पालिका केन्द्र पुग्न पोखरा महानगरपालिका झर्नुपर्छ ।
‘आफ्नै पालिका जान पोखरा नगई हुँदैन । यो अवस्थाको अन्त्य कहिले हुन्छ ?,’ ५ नम्बर वडाका हुमनाथ कुइँकेलले भने, ‘पालिका केन्द्रको स्थायी टुङ्गो पहिले लगाऔँ । त्यसपछि सडक संरचना निर्माण गर्न थालौँ ।’ उनले मध्य पहाडी लोकमार्गको आसपास पालिका केन्द्र सार्दा सबैलाई सहज हुने सुझाव दिए । स्थानीय चिरञ्जीवी पौडेलले पालिका अध्यक्षलाई सोधे, ‘केन्द्रको टुङ्गो कहिले लाग्छ ? याङजाकोटमै कार्यालय राख्ने हो भने मादी नाम फेरेर थुमाकोडाँडा राखे हुन्छ ।’ केन्द्रको टुङ्गो नलागेकै कारण पालिकाका १२ वटै वडा कार्यालय भवन बनिसक्दा पालिकाको प्रशासनिक भवन अहिलेसम्म निर्माण प्रक्रियामा अघि बढेको छैन ।
गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले हिउँदे अधिवेशनबाट केन्द्रको टुङ्गो लाग्ने बताए । सकेसम्म सर्वसम्मत र नभए मतदानबाटै भए पनि केन्द्र विवाद लामो नराख्ने उनको भनाई छ । ‘यसअघि पनि सामान्य छलफल नभएको होइन । तर निणयार्थ अघि बढेको छैन,’ उनी भन्छन्, ‘अब आउने हिउँदे सभाबाट टुङ्ग्याउने योजना छ । सकेसम्म सर्वसम्मत रूपमा टुङ्गो लगाउँछौँ । भएन भने मतदानबाट भए पनि निकास निकाल्छौँ ।’
केही वडाबाहेक अधिकांशले पालिका केन्द्र भैँसे आसपास मध्य पहाडी लोकमार्गको नजिक सार्नुपर्ने सुझाव दिएका छन् । अघिल्लो पटक पालिका केन्द्र विवादले नाराबाजी र कार्यालय तालाबन्दीसम्मको अवस्था सिर्जना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश विकास गर्न सरकार अग्रसर छ : उपप्रधानमन्त्री सिंह
-
लागूपदार्थ मुक्त देश बनाउन स्थानीय सरकारले पहलकदमी लिनु पर्छ : गृहमन्त्री लेखक
-
क्रिस गेलको नाममा सर्वाधिक रन
-
नेपाल ओलम्पिक कमिटीको नामबाट देशको सहभागिता हुने कुरा अवैधानिक : परिषद्
-
दराजको ३.३ मार्च म्याडनेस, ६०% सम्मको छुट
-
रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या