आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
प्राकृतिक प्रकोप

कर्णाली राजमार्ग पहिरोले छियाछिया, किन गइरहेको छ एउटै ठाउँमा बारम्बार पहिरो ?

राजमार्गको स्तरोन्नतिमा राज्यको छैन ध्यान
शुक्रबार, १४ भदौ २०८१, ०७ : २३
शुक्रबार, १४ भदौ २०८१

सुर्खेत । बुधबारदेखिको अविरल वर्षाका कारण पहिरो आएर कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला)लाई छियाछिया पारेको छ । जसका कारण सुर्खेतदेखि माथिल्लो कर्णाली र माथिल्लो कर्णालीदेखि सुर्खेततर्फ आउने दर्जनौँ सवारी साधन बिच बाटोमा अलपत्र परेका छन् ।

राजमार्ग अन्तर्गत कालिकोट जिल्लामा मात्रै पाँच वटा ठाउँमा पहिरोले क्षति पु‍र्याएको छ भने दैलेख खण्डको पनि चार वटा ठाउँमा पहिरो खसेको छ । प्रहरीका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोला, एसमोड, दहिखोला, खाडाचक्र नगरपालिका–२, जितेगडा र कालेखोलामा ठुलो पहिरोले राजमार्गलाई छियाछिया पारेको छ ।

यस्तै मेअरखोलामा माथिबाट ठुलो ढुङ्गा आएर सडक अवरुद्ध भएको छ । यता दैलेखतर्फ आठबिस नगरपालिका–५, को मालचौरमा माथिबाट आएको पहिरोले सडकलाई पूर्ण रूपमा क्षति गरेको छ भने सडक किनारामा रहेका घरहरुमा समेत क्षति पुगेको छ ।

दैलेखतर्फनै किट्टु भिर, दहीखोला, खुराखोला लगायतका ठाउँ–ठाउँमा साना–ठुला पहिरोले राजमार्ग छियाछिया भएको इलाका प्रहरी कार्यालय राकम कर्णालीका इञ्चार्ज हरिलाल सेजुवालले रातोपाटीलाई बताए ।

गगनेखोलाको पहिरोले राजमार्गको नामनिसाना नै मेटाइदिएको छ । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इञ्जिनियर वीरबहादुर जिटीका अनुसार सोही ठाउँमा राजमार्गलाई जिरो पोइन्ट मानेर शुभकालिका गाउँपालिकाले आफ्नै ट्रयाक खोलेको छ । अहिले त्यही ठाउँमा माथिबाट ठुलो पहिरो आएर राजमार्ग बगाएको उनले बताए ।

यस्तै दहीखोलाको कल्भर्ट पुल नै क्षतिग्रस्त बनेको छ । उक्त ठाउँमा एउटा ट्र«कसमेत अड्किएको छ । सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाका अनुसार दैलेखतर्फ सडक सुचारु हुन कम्तीमा तीन दिन लाग्ने छ भने कालिकोटतर्फ करिब एक हप्ता लाग्ने अनुमान गरिएको छ ।

4

पहिरो पन्छाउनका लागि हेभी इक्विपमेन्ट परिचालित भइसकेका छन् । जुम्लातर्फबाट थप एउटा मेसिन पठाइएको छ भने एउटा मेसिन क्षतिग्रस्त ठाउँमै तैनाथ रहेको जिटीले रातोपाटीलाई बताए । सडक डिभिजन जुम्लाले दहीखोलाबाट जुम्लासम्म हेर्छ भने सुर्खेतदेखि दहीखोलासम्म सुर्खेत कार्यालयले हेर्छ ।

सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी इञ्जिनियर टोपनारायण पौडेलले दैलेखतर्फ अवरुद्ध भएको ठाउँमा मेसिन लगाइरहेको र उक्त मेसिनमा समस्या आएकाले स्काभेटर मगाइएको रातोपाटीलाई बताए । उनका अनुसार क्षति भएको ठाउँमा पन्छाउने भन्दा पनि नयाँ कटिङ नै गर्नुपर्ने स्थिति छ ।

‘आज स्काभेटर मगाएका छौँ, बेलुकासम्म आइपुग्यो भने बाटो सुचारु हुन ३÷४ दिन लाग्ला,’ उनले भने, ‘यता भन्दा उता (कालिकोटतर्फ) एक हप्ता लाग्ने देखिन्छ ।’

एउटै ठाउँमा बारम्बार पहिरो किन ?

यो राजमार्गको माथि उल्लेखित ठाउँ गगनेखोला, दहीखोला, एसमोडमा एक पटक होइन, वर्षौंदेखि पहिरो आउने र सडक क्षति हुने गरेको छ ।

बारम्बार सडक बनाउँदा पनि किन पहिरो जान्छ भन्ने रातोपाटीको प्रश्नमा सडक डिभिजन जुम्लाका इञ्जिनियर वीरबहादुर जिटीले भने, ‘यी ठाउँहरू प्राकृतिक रूपले नै निकै अप्ठ्यारा छन् । माथि गगनचुम्बी पहाड छ, त्यही ठाउँमा एक पटक पहिरो गएपछि त्यहाँ बिरुवा रोप्ने लगायतका काम हुँदैनन् । जसका कारण पटक–पटक पहिरो जाने गरेको छ ।’

यही क्षेत्रलाई सडक डिभिजनका अधिकारीहरूले ‘क्रिटिकल जोन’ रूपमा घोषणा गरेको छन् । यिनै ठाउँमा सवारी दुर्घटना पनि पटक–पटक हुने गरेका छन् । असार महिना लागेसँगे यी तीन वटा मुख्य ठाउँमा १० पटक जति पहिरो गइसकेको छ । पहिरो गएर सडक अवरुद्ध भएपछि सडक डिभिजनले पहिरो पन्छाउने काम गर्छ । तर पुनः पानी पर्ने बित्तिकै पहिरो गइहाल्छ ।

बारम्बार सडक बनाउँदा पनि किन पहिरो जान्छ भन्ने रातोपाटीको प्रश्नमा सडक डिभिजन जुम्लाका इञ्जिनियर वीरबहादुर जिटीले भने, ‘यी ठाउँहरू प्राकृतिक रूपले नै निकै अप्ठ्यारा छन् । माथि गगनचुम्बी पहाड छ, त्यही ठाउँमा एक पटक पहिरो गएपछि त्यहाँ बिरुवा रोप्ने लगायतका काम हुँदैनन् । जसका कारण पटक–पटक पहिरो जाने गरेको छ ।’

यी ठाउँको समस्या दीर्घकालीन समाधानका लागि सडक विभागमा भनिएको उनले बताए । उनले अगाडि भने, ‘यो कस्तो प्रकृतिको हो, पूर्व–पश्चिम राजमार्गको कृष्णभिर जस्तै हो कि, त्यो अध्ययन गर्नुपर्ने छ । हामीले बारम्बार विभागमा अनुरोध गरिरहेका छौँ । हामी अध्ययन टोली पठाउँछौँ भनेर भनिरहनु भएको छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विनिता कठायतले कर्णालीको लाइफ लाइन मानिएको कर्णाली राजमार्गको स्तरोन्नतिको माग गर्दै प्रतिनिधि सभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएकी छन् ।

नयाँ प्रविधि प्रयोग गरेर अनुसन्धान गरेर काम गरेमात्रै दीर्घकालीन समाधान हुने, नभए गाह्रै हुने उनको भनाइ छ । अहिले पहिरो जाने, पन्छाउने काममात्रै भइरहेको र मेसिनको प्रयोग गर्दा झन् क्षति हुने गरेको छ । मृत्यु मार्गको उपमा पाएको कर्णाली राजमार्ग आफैँमा असुरक्षित छ ।

साँधुरो र जीर्ण राजमार्गमा बर्सेनि सडक दुर्घटनामा परी कयौँले ज्यान गुमाइरहेका छन् । तर पनि राज्यले कर्णाली राजमार्गको स्तोरन्नतिको लागि ध्यान दिएको देखिँदैन ।

हरेक वर्ष सडक टालटुलका लागिमात्रै बजेट विनियोजन हुने गरेको छ ।

स्तरोन्नतिको माग गर्दै सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विनिता कठायतले कर्णालीको लाइफ लाइन मानिएको कर्णाली राजमार्गको स्तरोन्नतिको माग गर्दै प्रतिनिधि सभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएकी छन् ।

उनको प्रस्तावमा सांसद सोबिता गौतम, मैना कार्की, अम्मरबहादुर थापा, अनिशा नेपाली, कान्तिका सेजुवाल, चन्द्रबहादुर विश्वकर्मा, सुमना श्रेष्ठ, तोसिमा कार्की, छिरिङ लामा लगायतका सांसदले समर्थन गरेका छन् ।

बुधबार दर्ता गराएको प्रस्तावमा कर्णालीको आर्थिक समृद्धि र जीविकोपार्जनसँग जोडिएको राजमार्गको स्तरोन्नतिमा केन्द्र सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताइएको छ ।

प्रस्तावमा भनिएको छ, ‘पुरानो कालोपत्रे उप्किएको छ, ठाउँ–ठाउँमा बनेका खाल्डाले दुर्घटनाको जोखिम बढेको छ । साँधुरो बाटोे र द्वन्द्वकालमा निर्माण कार्यमा बिलम्व भएकाले निर्माण कार्य पूर्ण हुन नसकेकाले यो राजमार्गमा कर्णालीवासीले सास्ती खेपिरहेका छन् । राजमार्ग पुनःस्थापना मात्र नभइ सडक कालोपत्रेका लागि सरकारले बजेट छुट्ट्याउन सके कर्णालीको दीगो विकासमा टेवा पुग्ने छ ।’

कर्णालीका सडक : राजमार्ग की मृत्युमार्ग ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप