१० बजे, १० समाचार
आज मिति २०८१ साल भदौ महिनाको १३ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
मन्त्रिपरिषद्को निर्णय
सरकारले गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव बनाउने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई बताए ।
बैठकले एनसेलको नवीकरण गर्ने, चलचित्र विकास बोर्डमा अध्यक्ष नियुक्त गर्नेलगायतका निर्णय पनि गरेको छ ।
एमाले बैठक
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र आफ्नो नेतृत्वको सरकारविरुद्ध अन्तर्राष्ट्रिय शक्तिहरू खासगरी भारत र अमेरिकाले चलखेल र घेराबन्दी गर्दै गतिविधि बढाएकाले सर्तक हुनुपर्ने बताएका छन् ।
बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै उनले नेपालमा पनि उनीहरुले विभिन्न माध्यममार्फत अराजकता बढाउने किसिमका गतिविधि गर्नसक्ने भन्दै सचेत रहनुपर्ने बताएका हुन् ।
एकीकृत समाजवादीको बैठक
नेकपा (एकीकृत समाजवादी)ले तीन जना नेतालाई वरिष्ठ नेतामा मनोनीत गरेको छ । केन्द्रीय कमिटी बैठकले बेदुराम भुसाल, प्रवेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनीत गरेको हो ।
वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरेका तीन जनालाई बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको हो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन भएका थिए । तर १७ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि मतदान भएको थियो ।
टीआरसी विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो ।
एमाले–माओवादी तनाव
संसदमा सत्ता र प्रतिपक्षी दलबिच वादविवाद बढ्न थालेको छ । भदौ ११ मा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेपछि संसदमा वाकयुद्धनै चल्न थालेको छ ।
नेकपा एमाले र माओवादी केन्द्र शब्द–शब्दमा झगडा गर्ने मनस्थितिमा पुगेका छन् । एमालेको सोझो निसानामा माओवादी केन्द्र परेको छ । माओवादीले पनि आफ्नो निसाना एमालेलाई बनाएको छ ।
संसद्को दुई ठुला शक्ति नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेपछि संसदमा दलहरू बिच वादविवाद गहिरिन थालेका हो । एमाले–माओवादी मुठभेडको मनस्थितिमा पुग्दा अर्को सत्तारूढ दल नेपाली कांग्रेसको निसानामा राष्ट्रिय स्वतन्त्र पार्टी छ । जसको नमुना बुधबारको प्रतिनिधिसभा बैठकमा देखियो ।
सर्वोच्चको आदेश
सर्वोच्च अदालतले श्याम ज्ञवालीसहितका प्रहरीका अधिकारीको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै छलफलमा बोलाउने आदेश गरेको छ ।
निगमका अध्यक्षसँग स्पष्टीकरण
सेवा अवरुद्ध हुनेगरी एकैपटक दुईवटै वाइडवडी जहाज सी–चेकका लागि पठाइएको सम्बन्धमा सरकारले नेपाल वायुसेवा निगम (एनएसी)का अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ ।
प्रदेशका थप समाचार
सरुवाको सिजन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आफूलाई पायक पर्ने कार्यालय तथा निकायमा सरुवाको माग गर्दै एक हजारभन्दा बढी कर्मचारीहरूले निवेदन दिएका छन् ।
भदौ महिनामा मन्त्रालयले आफू मातहतका विभिन्न कार्यालयमा रहेका कर्मचारीहरूको सरुवा गर्ने प्रक्रिया अनुसार सरुवा चाहने कर्मचारीहरूबाट निवेदन माग गरेको थियो । इमेलबाट प्राप्त निवेदनहरू अध्ययन गर्ने काम भइरहेको मन्त्रालयको संघीय मामिला शाखा प्रमुख उपसचिव कमल भट्टराईले जानकारी दिए ।
सेयर बजार
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३६.८३ अंकले घटेको छ । २७९१ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच २७४९ बिन्दुमा पुगेर रोकिएको हो ।
क्यानको निर्णय
नेपाल क्रिकेट संघ (क्यान) ले सातवटै प्रदेश क्रिकेट संघका खेलाडीहरुलाई मासिक पारिश्रमिक दिने भएको छ । क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सातवटै प्रदेश क्रिकेट संघलाई दुई महिला र तीन पुरुष गरी पाँचजना खेलाडीका लागि मासिक रूपमा जनही १५ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ । यस आधारमा सातवटै प्रदेश क्रिकेट संघ गरेर कुल ३५ जना खेलाडीले पारिश्रमिक पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ अमेरिकी सेना थिए ट्रम्पको होटल अगाडि पड्किएको ट्रकको चालक
-
पशुपति क्षेत्र विकास कोषका दुई जना परिषद् सदस्यविरुद्ध दायर रिट खारेज
-
कर्तव्यज्यान मुद्दाका आरोपी प्रहरी कार्यालयमा हाजिर
-
एमसीसीद्वारा नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत
-
कीर्तिमानी पर्वतारोही मिङ्मालाई भव्य स्वागत, तस्बिरहरू
-
पाँच महिनामा सात करोड बढी राजस्व सङ्कलन