संसदीय समितिमा सांसदहरूको आक्रोश– निगममाथि अप्रेसन चलाउनुपर्छ
काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार बसेको बैठकमा सांसदहरूले नेपाल वायुसेवा निगममाथि तीव्र आक्रोश पोखेका छन् । निगमको व्यवस्थापकीय सुधारका लागि दर्जनौँ पटक अध्ययन तथा सुधार समिति बने पनि, छानबिन प्रतिवेदन तयार भए पनि कार्यान्वयनमा निगमको कार्य सुव्यवस्थामा कहिल्यै सुधार आउन नसकेको भन्दै सांसदहरूले आक्रोश पोखेका हुन् ।
‘नेपाल वायुसेवा निगममा कहिले सुधार आउने हो ? सधैँ गनगन सुन्नुपर्ने हो ?’ सांसद दामोदर पौडेल (वैरागी) ले निगम सञ्चालकमाथि आक्रोश पोख्दै भने, ‘जहाज बिग्रियोस् कि सप्रियोस् हामीलाई मतलब छैन । तर, राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको जहाज ठिकठाक हुनुपर्यो, नियमित चल्नुपर्यो । सर्वसाधारणले सहज हवाई सुविधा पाउनुपर्यो ।’
तर, कहिले के त कहिले के निहुँ गरेर निगमको जहाज ग्राउन्डेड गर्न नपाइने उनले बताए ।
वाइडबडी र न्यारोबडी गरी हाल चारवटा विमानमार्फत निगमले अन्तर्राष्ट्रिय उडाउन भर्दै आएको छ । तर, पछिल्लो पटक समयमा नै जहाज मर्मत नगर्दा तीनवटा जहाज ग्राउन्डेड भएको समाचार बाहिरिएको थियो । यस लगत्तै बिहीबार डाकिएको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले खरो प्रश्न गरेपछि निगमका कार्यवाहक अध्यक्ष युवराज अधिकारीले राजनीतिक नियुक्ति र नियामक प्राधिकरणको निगमप्रतिको गलत बुझाइले पनि समस्या पारेको तर्क गरेका थिए ।
यस लगत्तै बोलेका सांसद पौडेलले आफूहरू निगमका कर्मचारीको भाषण सुन्न नआएको र राजनीतिक भागबन्डा र नियुक्तिलाई देखाएर नेतृत्व भाग्न नमिल्ने बताए ।
यस्तै असन्तुष्टि एमालेका सांसद तथा पर्यटन समितिका सदस्य सुनिता बरालले समेत राखेकी छिन् । ‘राजनीतिक नियुक्तिले कहाँ कसरी प्रभाव पार्यो ? हामीले पनि जान्न पाउनुपर्यो । निगम सुधार्ने जिम्मेवारी तपाईँहरूको हो कि होइन ?’ प्रतिप्रश्न गर्दै सांसद बराल निगमका सञ्चालक तथा कर्मचारी माथि खनिइन् ।
निगम चलाउन सकिन्न भने निजी कम्पनीलाई दिऊँ : भट्टचन
बैठकमा कडा रूपमा प्रस्तुत भएका सांसद देवी प्रकाश भट्टचनले सरकारले चलाउन सक्दैन भने वायुसेवा निगम सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने प्रस्ताव गरे । तर, सधैँको समस्या सधैँको वादविवाद हुन नहुने उनले बैठकमा धारणा राखे ।
‘निगमसँग जम्मा चारवटा जहाज छन् । त्यो पनि तीनवटा ग्राउन्डेड भन्ने सुनिएको छ । यसो हो भने निगमले कति बिजनेस गर्छ ? कसरी नाफा कमाउँछ ?,’ प्रश्न गर्दै भट्टचनले आक्रोश पोखे, ‘त्यही चारवटा जहाज भएको हिमालयन एयरलाइन्स फाइदामा जाने अनि चारवटै जहाज भएको निगम चाहिँ सधैँ घाटामा जानुपर्ने ? हिमालयन एयरलाइन्सको जहाज बिग्रिएको ग्राउन्डेड भएको त कहिल्यै सुनिएको छैन त । तपाईँहरूले सुन्नु भएको छ ?’ उनले जवाफ मागे ।
सोही अवसरमा सांसद भट्टचनले अहिलेको व्यवस्थापनले निगम चलाउन सक्दैन भने निजी क्षेत्रलाई दिनुपर्ने प्रस्ताव राखे । ‘बरु वायुसेवा निगमको जहाज चलाउन हिमालयन एयरलाइन्सलाई नै पो दिने हो कि ! उनले व्यङ्ग्य गरे ।
निगममाथि अप्रेसन चलाउन आवश्यक छ : पूर्वमन्त्री किराती
बैठकमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निगममाथि अप्रेसन नै चलाउनुपर्ने आवश्यकता रहेको धारणा राखे । ‘शरीरमा ज्वरो आएको छ भने यो बुझ्नपर्छ कि समस्या भित्रै छ । यसको भित्री समस्याको उपचार गर्नुपर्छ । अहिले निगममा भएको यहीँ हो’ पूर्वमन्त्री किरातीले भने, ‘निगमको सुधारका लागि नीतिगत र संरचनागत रूपमा नै परिवर्तन गर्न आवश्यक छ । यसरी निगममाथि अप्रेसन गर्न सकियो भने सुधार हुन्छ । नत्र यहीँ गतिमा निगमको अधोगति जारी रहन्छ’उनले भने ।
‘हाम्रा सार्वजनिक खरिद ऐन निकै पुराना र पुरातनवादी भए । पहिले सार्वजनिक सूचना गोरखापत्रमा छपाएर उक्त पत्रिका ताप्लेजुङ पुगेपछि टेन्डर हाल्ने प्रणालीले अब काम गर्दैन । समय सापेक्ष यसको परिमार्जन खाँचो छ’ वायु सेवा निगमको जहाज खरिद तथा मर्मतका लागि सार्वजनिक खरिद ऐन अनुसार जाँदा समेत छिटो काम नहुँदा जहाजहरू ग्राउन्डेड हुन पुगेको उनले तर्क गरे ।
‘निगमसँग जम्मा चारवटा जहाज छ । यहीँ जहाज डुलाएर संसार धान्नुपर्ने स्थिति छ । यहीँ चारवटा जहाज केही भइहाल्यो भने समस्या त आउने भयो नै । हामीसँग अरू धेरै जहाजहरू हुन्थ्यो भने यस्तो समस्या आउने थिएन’ किरातीले भने ।
निगमको व्यवस्थापकीय सुधारको सवालमा आफू मन्त्री हुँदा मात्र ९ वटा समिति बनेको बताउँदै किरातीले त्यी सबै समितिहरूले दिएका प्रतिवेदनहरूले औँल्याएका सुधारका पक्षहरू कार्यान्वयनमा नगएको बताए । सरकार अविच्छिन्न उत्तराधिकार निकाय भनिए पनि पहिलाको मन्त्रीले तथा नेतृत्वले ल्याएको योजना पछिल्ला आउने मन्त्रीले अपनत्व नलिइदिँदा पनि समस्या आइरहेको उनले तर्क गरे ।
सोही अवसरमा बहालवाला मन्त्री बद्रीप्रसाद पाण्डेले अहिलेसम्म भए गरेका अध्ययन तथा छानबिन प्रतिवेदनहरूमाथि नै छानबिन गर्नुपर्ने आवश्यकता औँल्याए । अध्ययन समितिहरूले गरेका अध्ययन ठिक थियो कि थिएन सोही मुद्दामा छानबिन हुनुपर्ने अवस्था आएको मन्त्री पाण्डेले बताए ।
दुईवटा जहाज मात्र ग्राउन्डेड हो : निगम
चारवटा जहाज मध्ये तीनवटा जहाज ग्राउन्डेड भएको चर्चा चलिरहेका बेला यता वायुसेवा निगमले भने दुईवटा जहाज मात्र प्राविधिक कारणले ग्राउन्डेट भएको तर्क गरेको छ । निगमको दुईवटा वाइडबडी ए३३० जहाज मध्ये ९एन–एएलवाई हाल इटालीमा नियमित मर्मत ‘सी चेक’ मा रहेको र अर्को ९एन–एएलजेट जहाजको पनि नियमित सी चेकका लागि समय भएकाले ग्राउन्डेड गरिएको निगमले जनाएको छ ।
जहाज मर्मतका लागि भएको तेस्रो पटकको टेन्डरमा इटालीको एमएस एटीटीच एसपीए कम्पनी छनोट भएको र जहाज मर्मतका लागि पठाइएकोमा २५ अगस्ट २०२४ मा नै जहाज मर्मत हस्तान्तरण गर्ने जनाइएको थियो । तर विविध प्राविधिक कारणले कम्पनीले समयमा नै जहाज मर्मत गर्न नसकेको निगमको भनाइ छ ।
अर्को ए३३० ९एन–एएलजेट पनि नियमित मर्मतका लागि पठाउनुपर्ने हुँदा २८ अगस्ट, २०२४ मा दुबई हुँदै इटाली पठाइने कार्यक्रम रहेको निगमले समितिलाई जानकारी दिएको छ । जहाज पुग्ने बित्तिकै सी चेक गर्ने र देखिएका समस्या, कमीकमजोरीको ग्याप एनालाइसिस् गरेर काम गर्ने र सेप्टेम्बर अन्तिमसम्ममा जहाज नेपाल आउने निगमले जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौँ : कुलमान घिसिङ
-
टीआरसी ऐनविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट दर्ता
-
उपनिर्वाचनमा माओवादी पहिलो भयो भनेर भ्रामक सन्देश प्रवाह गरियो : ओली
-
ओलीको राजनीतिक प्रतिवेदन : प्रचण्डको दाउपेचका कारण नयाँ राजनीतिक कोर्ष
-
एमाले केन्द्रीय समिति बैठकमा ओलीद्वारा ४७ पृष्ठ लामो प्रतिवेदन पेस
-
वरिष्ठ पत्रकार थापालाई शहिद बैकुण्ठहरि स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार