बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
क्यान बैठक

क्यानले सातवटै प्रदेशका क्रिकेट खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने

बिहीबार, १३ भदौ २०८१, २० : ३१
बिहीबार, १३ भदौ २०८१
  •  टी–२० विश्वकपमा सहभागी टोलीका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख
  • नेपाल प्रिमियर लिगमा ८ टोलीको सहभागिता
  • वाई–वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता कोशी प्रदेशमा
  • एलिट कप प्रतियोगिता जनकपुर र वीरगन्जमा
  • आईसीसी यू–१९ महिला विश्वकप एसिया क्वालिफायर बन्द प्रशिक्षक दाङको लमहीमा
  • लेखबहादुर क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय राष्ट्रिय टिम छनोट समिति गठन
  • क्यानको वार्षिक साधारणसभा असोज ११ र १२ गते पोखरामा
  • आदिल आलमको निलम्बन फुकुवा प्रक्रियाबारे आईसीसीको निर्णयको प्रतीक्षा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सातवटै प्रदेश क्रिकेट संघका खेलाडीहरुलाई मासिक पारिश्रमिक दिने भएको छ । क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सातवटै प्रदेश क्रिकेट संघलाई दुई महिला र तीन पुरुष गरी पाँचजना खेलाडीका लागि मासिक रूपमा जनही १५ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ । यस आधारमा सातवटै प्रदेश क्रिकेट संघ गरेर कुल ३५ जना खेलाडीले पारिश्रमिक पाउने छन् ।

क्यानका अनुसार, सेप्टेम्बर १ तारिखदेखि लागू हुने यो निर्णय हाललाई एक वर्ष अवधिका लागि हुनेछ । यस्तो पारिश्रमिक सम्बन्धित प्रदेश संघहरुले नै खेलाडीसँग सम्झौता गरी उपलब्ध गराउने क्यानले जनाएको छ ।

यसैगरी, क्यानको बैठकले हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी राष्ट्रिय टोलीका प्रत्येक खेलाडी र प्रमुख प्रशिक्षकलाई जनही तीन लाख रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय पनि गरेको छ ।

उक्त विश्वकपमा सहभागी सपोर्ट स्टाफलाई भने जनही एक लाख ५० हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता उपलब्ध गराइने छ । बैठकले आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म काठमाडौँमा आयोजना हुने नेपाल प्रिमियर लिगमा आठवटा टोलीलाई सहभागी गराउने निर्णय पनि गरेको छ ।

यसैगरी, बैठकले वाई–वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी सेप्टेम्बर/अक्टोबरमा कोशी प्रदेशमा आयोजना गर्ने निर्णय पनि गरेको छ । संघको वार्षिक कार्यक्रम अनुसार सञ्चालन गरिने एलिट कप प्रतियोगिता अक्टोबरको अन्तिम सातादेखि जनकपुर र वीरगन्जमा आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी, आईसीसी यू–१९ महिला विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप सेप्टेम्बर १५ तारिखबाट दाङको लमहीमा प्रथम चरणको बन्द प्रशिक्षण सञ्चालन गर्ने निर्णय पनि क्यानको बैठकले गरेको छ ।

यसैगरी, बैठकले लेखबहादुर क्षेत्रीको संयोजकत्वमा युनिल श्रेष्ठ र मुर्तुजा हवारी सदस्य रहने गरी तीन सदस्यीय राष्ट्रिय टिम छनोट समिति गठन गर्ने निर्णय पनि गरेको छ । क्यानको वार्षिक साधारणसभा असोज ११ र १२ गते पोखरामा आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।

यसैगरी, बैठकले म्याच फिक्सिङ आरोपमा अदालतबाट सफाई पाएका निलम्बित राष्ट्रिय क्रिकेट खेलाडी आदिल आलमको निलम्बन फुकुवा प्रक्रियाबारे संघको अनुशासन समितिबाट प्राप्त प्रतिवेदनका सम्बन्धमा उक्त प्रतिवेदन तथा आवश्यक कागजातहरु क्यान इन्टेग्रिटी कमिटीका संयोजकमार्फत आईसीसी एन्टी करप्सन युनिटमा पेस गरी आईसीसीबाट प्राप्त निर्देशनका आधारमा संघबाट निर्णय गर्ने निर्णय भएको जानकारी क्यानका प्रवक्ता छुम्बी लामाले दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप