शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
संसद् बैठक

संसदमा एमाले–माओवादी द्वन्द्व थप चुलियो, कांग्रेसको निसानामा रास्वपा

बिहीबार, १३ भदौ २०८१, २० : ०८
बिहीबार, १३ भदौ २०८१

काठमाडौँ । संसदमा सत्ता र प्रतिपक्षी दलबिच वादविवाद बढ्न थालेको छ । भदौ ११ मा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेपछि संसदमा वाकयुद्धनै चल्न थालेको छ ।

नेकपा एमाले र माओवादी केन्द्र शब्द–शब्दमा झगडा गर्ने मनस्थितिमा पुगेका छन् । एमालेको सोझो निसानामा माओवादी केन्द्र परेको छ । माओवादीले पनि आफ्नो निसाना एमालेलाई बनाएको छ ।

संसद्को दुई ठुला शक्ति नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेपछि संसदमा दलहरू बिच वादविवाद गहिरिन थालेका हो । एमाले–माओवादी मुठभेडको मनस्थितिमा पुग्दा अर्को सत्तारूढ दल नेपाली कांग्रेसको निसानामा राष्ट्रिय स्वतन्त्र पार्टी छ । जसको नमुना बुधबारको प्रतिनिधिसभा बैठकमा देखियो ।

प्रचण्डले सदनमा सम्बोधन गर्दै वर्तमान सत्ता गठबन्धन र त्यसमाथि नेकपा एमालेलाई लक्षित गरी एकपछि अर्को प्रहार गरेका थिए । उनले अब सत्तामा नफर्कने भन्दै भाषण गरेकै दिन रघुजी पन्तले केन्द्रीय समिति बैठकबाट निर्णय गरेर देखाउन चुनौती दिएका थिए । त्यसको भोलिपल्ट अर्थात् बुधबारको प्रतिनिधि सभा बैठकमा एमाले–माओवादीबिच जनयुद्ध हिंसा थियो भन्ने विषयमा व्यापक भनाभन भएको थियो । बिहीबारको प्रतिनिधि सभा बैठकमा पनि त्यसैको निरन्तरता देखियो ।

योगेशमाथि हतियार तस्करको आरोप

बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयदेखिनै माओवादी सांसदहरू आक्रमक देखिए । बुधबार एमाले सांसद योगेश भट्टराईले बोलेको विषयमा उनीहरूले काउन्टर दिए । योगेशलाई जनयुद्धको समयमा चन्दा उठाउने र हतियार तस्करीसम्मको आरोप माओवादी सांसदहरूले लगाए ।

भट्टराईलाई जनयुद्धको समयमा हतियार ओसारपसार गर्ने कार्यमा संलग्न भएको भन्दै माओवादी सांसदहरूले छानबिनको माग गरे ।

शून्य समयमा बोल्दै सांसद छिरिङ डम्डु लामा भोटेले एमाले सांसद भट्टराईलाई लक्षित गर्दै ‘जनयुद्धको नाममा चन्दा र हतियार तस्करले जनयुद्धलाई हिंसाको संज्ञा दिएको’ बताए ।

‘जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने नाइकेले महान् जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो,’ उनले भने ।

अर्का सांसद छिरिङलामू लामा तामाङले त सांसद भट्टराई हतियार तस्करीमा संलग्न भएको आरोप छ नि भन्दै छानबिन गर्न माग गरिन् ।

‘एमालेबाट प्रतिनिधित्व गरेर संसद्को मान पनि नराखी पटकपटक यो व्यवस्था निर्माण गर्न जनयुद्ध लडेको माओवादीलाई अपमान गरियो । यस्तो रवैयाले देशलाई अर्को द्वन्द्वमा लाने भित्री मनसाय प्रकट भएको हो कि,’ उनले भनिन्, ‘उहाँको विषयमा कन्ट्रोभर्सी छ । उहाँ मन्त्री हुँदा नारायणहिटीको बतास काण्ड होस् वा केही समय अघि एक जना माननीयज्यूले जनयुद्धमा हतियार खरिद बिक्री र ओसारपसारको आरोप लगाएको कुरा होस् । यसमा छानबिन होस् ।’

विशेष समयमा पनि एमाले–माओवादी वाकयुद्ध

विशेष समयमा पनि एमाले–माओवादी दोहोरी चलिरह्यो । बैठकमा एमालेका सांसद गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धम्की र विद्रोहको भाषा नबोल्न चेतावनी दिए । बाँस्कोटाले प्रचण्डको बङ्गलादेश बनाउने अभिव्यक्ति र विद्युत् प्राधिकरणको बक्यौता उठाउने प्रसङ्ग निकाल्दै यस्तो भाषा प्रयोग नगर्न चेतावनी दिएका हुन् ।

प्रचण्डले मंगलबार संसदमा सम्बोधन गर्दा नेपाल बङ्गलादेश र श्रीलङ्का हुनसक्ने भन्दै सरकारलाई सतर्क गराएका थिए । उनले सोही विषयलाई लिएर लेखा समितिको सभापति फेर्ने कुरा प्रचण्डले गरेको भन्दै यदि फेर्ने भए सबै समितिका सभापति फेर्न चुनौती दिएका थिए ।

उनले जनताको म्यान्डेट विपरीत नबोल्न चेतावनी दिँदै भने, ‘फेर्ने भए सबै समितिका सभापति फेरौँ, जनताले दिएको म्यान्डेट केही होइन, अनि सत्ताबाट बाहिर निक्लने बित्तिकै बङ्गलादेश बनाउने ? बङ्गलादेश बनाएको त हामीले उही बेला देखेको हो नि ! सिंहदरबार कब्जा गर्न आउँदा पनि हेरेर ६ दिन चिउरा खाएर फर्केको थियो ।’

बास्कोटाले एमाले–कांग्रेस पनि नमरेको भन्दै आन्दोलनबाटै आएको बताए । ‘उद्वेलित धेरै हुनु पर्दैन । एक जना सांसदले बोल्यो भने ट्रोल बनाउने ?’ उनको प्रश्न छ ।

बास्कोटाले सबैभन्दा धेरै समय माओवादी नै सरकारमा बसेको भन्दै जस लिने, अपजस नलिने प्रवृत्ति छोड्न चेतावनी दिए ।

यता प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले हरेक दिन एकै विषयमा कति टोकेको भन्दै प्रश्न गरे । ‘पूर्व प्रधानमन्त्रीले नतिर भनेको भए छाती खोलेर बहस गर्न तयार छौँ । आजभन्दा ८ वर्ष पहिले हिउँदमा १८ घण्टा, बर्खामा ९ घण्टा लोडसेडिङ थियो । आजको दिनमा १३ करोड ११ लाखको विद्युत् निर्यात हुन्छ । अनि माओवादीलाई आज पनि टोकेको छ, भोलि पनि, पर्सि पनि टोकेको छ, के गर्न खोजेको हो ?’ पौडेलले प्रश्न गरे ।

शान्ति प्रक्रियाको काम अघि बढाउने हात नेकपा एमालेको पनि उत्तिकै भएको भन्दै ‘अन्ट सन्ट’ नबोल्न उनले चेतावनी दिए । न्यायका निम्ति लडिएका आन्दोलनको सम्मान गरिएको भन्दै उनले भने, ‘ऐतिहासिक जनयुद्धमा दिलबहादुर रम्तेलले स्कुलको आगमनमा रगत बगाए । कसका छोराछोरी थिए ? कृष्णसेन इच्छुक को हुनुहुन्थ्यो ?’

जनताको छोराछोरीले लडेको युद्ध जनयुद्ध भएको भन्दै उनले भने, ‘शब्द प्रयोग गर्दा ख्याल गर्न अनुरोध गर्दछु । अनुरोध स्वीकार गर्ने/नगर्ने यहाँको कुरा हो । हजार वर्षसम्म पनि नेपालमा र संसारभर विज्ञले इतिहास लेख्यो भने जनताले चलाएको आन्दोलनलाई जनयुद्ध भनेर लेख्ने छ ।’

यस्तै नेकपा एमालेका सांसद पदम गिरीले सुन तस्करीमा निष्पक्ष छानबिन भएको भए माओवादी केन्द्रका धेरै नेता जेलमा हुने दाबी गरे । उनले सुन तस्करीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले इतिहास रचेको आरोपसमेत लगाए ।

‘पारदर्शी ढङ्गबाट छानबिन भएको भए सायद तपाईंको पार्टीको हेडक्वार्टरमा कोही बाँकी रहँदैन थिए । सबै जेलको छिँडीमा हुन्थे,’ उनले भने ।

गिरीले पूर्वप्रधानमन्त्री प्रचण्डले सुशासन, भ्रष्टाचार विरोधी गफ दिन नमिल्ने बताए ।

सांसद माधव सापकोटाले प्रतिपक्ष दलले ‘आइ लभ यु केपी बा भनिदिनुपर्ने हो ?’ भन्दै सत्तापक्ष सांसदलाई सोधे । उनले प्रतिपक्षले संघर्ष गर्ने भन्दै त्यसका लागि सत्तापक्ष तयार रहन चेतावनी पनि दिए । उनले संसदमा वैचारिक बहस गर्न अपिल गरे ।

‘प्राधिकरणका दुई जना सञ्चालकले बक्यौता उठाउनुपर्छ भन्दा अपदस्थ गरेको होइन ? त्यो महान कार्य हो भनेर आइलभ यु केपी बा भनिदिनुपर्ने हामीले ? आइ एम विथ केपी ओली भनिदिनुपर्ने ?’ उनको प्रश्न छ । 

उनले सशस्त्र संघर्षलाई एमाले सांसद योगेश भट्टराईले हिंसा भनेकोमा आपत्ति जनाए । आन्दोलनलाई अबमूल्यन गर्ने अधिकार कसैलाई नभएको उनले चेतावनी दिए ।

‘आन्दोलनलाई अबमूल्यन गर्ने अधिकार छैन । कमरेड योगेश भट्टराईलाई आफ्नो नेतृत्वको चाकडी गर्ने स्वतन्त्रता छ,’ उनले भने, ‘जनयुद्धका बारेमा विरोध गर्न उहाँको बैठक, भेलामा उहाँलाई स्वतन्त्रता छ ।’

‘विपक्षी भनेको वाच डग हो । उसले आफ्नो ड्युटी पूरा गर्छ । तयार भएर बस्नुहोला,’ उनले भने ।

कांग्रेसको निसानामा रास्वपा

बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसदहरूको निसानामा रास्वपा परेको थियो । बैठकमा बोलेका कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले सहकारीविरूद्ध खै प्रमाण भनेर प्रश्न सोधेका रास्वपा सांसदहरूलाई जवाफ दिए । उनले रास्वपा सांसदहरूलाई आफूसँग भएको तथ्य–प्रमाण समितिमा पुगिसकेको जानकारी दिए ।

‘प्रमाण खोई, प्रमाण खोई भनेर खोजेको पाएँ । तथ्य–प्रमाण भएरै होला संसदीय समिति बनाएका छौँ । नत्र हामीसँग भएको तथ्य प्रमाण पुग्थेन होला समितिमा,’ उनले भने, ‘९ मिनेटमा चट भनेकोमा ९घण्टासम्म बयान दिनुपरेको तथ्य प्रमाणले आएको हैन होला । मलाई समितिमा पूरा विश्वास छ ।’

उनले बयान दिँदैमा सबै विषय सम्पन्न भइनसकेको भन्दै थपे, ‘साथीहरू झुक्किनुभयो कि भन्ने लागेको छ । बयान हो, बयान सफाइ हैन । फैसला आउन बाँकी छ । फैसला कुरेर बसेको छु ।’ उनले फैसला आउने दिन गनेर बस्न अनुरोध गर्दै भने, ‘दिन गनौँ, औला भाँचेर गनौँ, लेखेर गनौँ, खरीले गनौँ, मसीले गनौँ । फैसला आउने दिन गनौँ ।’

यस्तै सांसद रामहरि खतिवडाले पनि राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध आक्रोश पोखे । उनले बोलेकै भरमा महामन्त्रीलाई पार्टीबाट निकाल्नेले लोकतन्त्रको कुरा गर्न नसुहाउँने भन्दै कटाक्ष गरे । उनले अरू पार्टी प्रजातान्त्रिक छैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएकोमा आपत्ति जनाए ।

‘प्रजातन्त्रको दुहाई दिने साथीहरूको कुरा सुनेका छौँ । पार्टीभित्र बोल्ने बित्तिकै निकाल्ने, महामन्त्रीजस्ता मान्छेलाई घोक्रेठ्याक लगाएर निकाल्ने अनि अरू पार्टी प्रजातान्त्रिक भएनन् भनेर भाष्य सिर्जना गर्ने काम पनि यहीँभित्र भएको छ,’ खतिवडाले भने ।

राज्यव्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका उनले कसैलाई तर्साएर कानुन आफ्नो हातमा लिने पक्षमा सत्तारुढ गठबन्धन नरहेको पनि प्रस्ट पारे ।

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोमन आचार्य
रोमन आचार्य
लेखकबाट थप