सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
नागरिकता

को हुन् नागरिकता पाउन प्रधानमन्त्रीको ‘आदेश’ चाहिने प्रकाश तामाङ ?

बिहीबार, १३ भदौ २०८१, १९ : ०६
बिहीबार, १३ भदौ २०८१

विराटनगर । नागरिकता पाउनु हरेक नेपालीको अधिकार हो । दुर्भाग्य: पछिल्लो समय एक नागरिकले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ‘आदेश’ कुर्नुपर्‍यो । र, पनि उनको हातमा नागरिकताको प्रमाणपत्र परिसकेको छैन । 

युट्युब च्यानल ‘हेर्ने कथा’मा सार्वजनिक भएको ‘काले तामाङ’ उर्फ प्रकाशको जीवन सङ्घर्षको कथा अहिले सामाजिक सञ्जालमा भाइरल छ । हेर्ने कथाको टिमले १६ महिना अगाडि उनलाई गोरखाको चुमभ्यालीमा भेट्टायो र, कथा बनायो । यही क्रममा प्रकाशले आफ्ना आमा बुबालाई भेटेका थिए । यो कथा १६ महिनापछि युट्युब च्यानलमा सार्वजनिक भएपछि सर्वत्र चर्चित भयो ।

यो चर्चासँगै जोडिए प्रधानमन्त्री ओली । उनले प्रकाशको नागरिकता बनाइ दिन मङ्गलवार बेलुका गृह सचिव एकनारायण अर्याललाई निर्देशन दिए । यो स्टन्टका लागि थियो वा देशको शासन शैली नै एउटा नागरिकताका लागि प्रधानमन्त्रीको ‘आदेश’ नै चाहिने खालको छ भन्ने बहस गर्ने विषय बनेको छ । तर, ओलीको निर्देशनपछि गृह सचिव अर्यालले तत्कालै भोजपुरका प्रमुख जिल्ला अधिकारी नरबहादुर थापालाई फोन गरेर नागरिकताका लागि सहजीकरण गर्न निर्देशन दिए ।

‘काले तामाङ’ उर्फ प्रकाशलाई नागरिकता प्रमाणपत्रका लागि सिफारिस नदिने वडा कार्यालय अहिले उनको घरमै पुगेर सिफारिस दिन आतुर देखिन्छ ।

प्रमुख जिल्ला अधिकारीले प्रकाशको बुबा–आमा बसेको षडानन्द नगरपालिका १० नम्बर वडाका वडाध्यक्ष पेमा दोर्ची शेर्पालाई फोन गरे । वडाध्यक्षसहितको टोली बुधवार नै त्यहाँ पुग्यो र आवश्यक विवरण सङ्कलन गर्‍यो । शेर्पाका अनुसार प्रकाशको घर परिवारसँग कुरा गर्नुको साथै उनलाई फोन गरेर नागरिकता लिन एक हप्तामा आइपुग्न आग्रह गरेका छन् । ‘घरैमा पुगेर विवरण टिपेर ल्याएका छौँ । उहाँलाई बोलाएका छौँ । फेरि गोरखा नै जानु भएको रहेछ, उहाँ त्यहाँबाट  आउने बित्तिकै नागरिकताका लागि सिफारिस दिन्छौँ,’ वडाध्यक्ष शेर्पाले रातोपाटीसित भने ।

समय बदलिएको छ । करिब एक वर्ष अगाडि आफ्नो नागरिकता बनाउन वडा कार्यालय पुगेर पनि सिफारिस नपाएका प्रकाशलाई अहिले सिफारिस लिन बोलाइएको छ । उति बेला ‘डकुमेन्ट’ पुर्‍याएर आउनू भनेर वडा कार्यालयले  फर्काइ दिएको थियो । ‘नागरिकता बनाउन खोजेको, तर भएन । जन्म दर्ता चाहिन्छ । झापाबाट आएको बसाइसराइ चाहिन्छ भने,’ नागरिकताको सिफारिस लिन वडा कार्यालय जाँदा कर्मचारीले दिएको जवाफ सम्झँदै उनले बिहीबार रातोपाटीसित भने ।

अहिले भने उनै प्रकाशलाई नागरिकताको सिफारिस दिन वडा कार्यालय र नागरिकताको प्रमाणपत्र दिन जिल्ला प्रशासन कार्यालय हतारिएका छन् ।

उति बेला सर्जिमिन मुचुल्का खोज्ने वडा कार्यालय अहिले सिफारिस लिन आग्रह गरिरहेको छ । ‘बुबा–आमाको नागरिकता भएपछि उहाँको पनि नागरिकता बन्छ । तर, २५ वर्षभन्दा माथिको भएपछि गाउँ सर्जिमिन गर्नुपर्ने भएको कारण मान्छे लिएर आउनु भनेको रहेछ । त्यसपछि नागरिकता पछि बनाउँला भनेर हिँड्नु भएको रहेछ,’ शेर्पाले उति बेलाको स्मरण गरे ।

प्रकाशका बुबा लोकबहादुर तामाङ र आमा सञ्चमाया तामाङ अहिले भोजपुरको षडानन्द नगरपालिका १० स्थित खोट डाँडामा बस्छन् । ‘अहिले उहाँहरू अर्काको जग्गामै बस्नु भएको छ,’ वडाध्यक्ष शेर्पा भन्छन् । तामाङ परिवारलाई ६७ सालको नागरिकता वितरण घुम्ती टोलीले नागरिकता प्रदान गरेको थियो । ‘टोलीले दिएको उनको बुबा–आमाको नागरिकतालाई टेकेर गाउँमा सर्जिमिन मुचुल्का बनाउँछौँ । त्यसकै आधारमा हामी घरमै गएर नागरिकताको सिफारिस दिन्छौ,’ वडाध्यक्ष शेर्पाले भने । 

यद्यपि जन्म दर्ता नभएकाले उनको नाम के राखेर सिफारिस दिने भन्ने अन्यौलता कायम छ । उनको नाम के राख्ने भनेर छलफल गरिने शेर्पाले बताए ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी थापाले आवश्यक प्रक्रिया पुरा  गरेपछि नागरिकता दिइने बताउँछन् ।

‘उहाँले निवेदन दिनुपर्‍यो । त्यसपछि वडा कार्यालयले नाता प्रमाणित, जन्म दर्तालगायतको अनुसूची भरेर सिफारिस गरेको आधारमा हामी नागरिकता वितरण गर्छौँ,’ उनले रातोपाटीसित भने, ‘हाम्रोमा कागज पत्र पठाएको खण्डमा एक घण्टामा नागरिकता दिन सक्छौँ । गृह सचिवज्यूले पनि निर्देशन दिनु भएको छ । अब सम्बन्धित मान्छेले प्रक्रिया पुर्‍याएर निवेदन दिएपछि नागरिकता दिन्छौँ ।  त्यसका लागि सहजीकरण पनि गरिरहेका छौ ।’ 

नागरिकता लिने कानुनी व्यवस्था र प्रक्रिया 

कानुनतः नागरिकता लिन चाहने व्यक्तिको निवेदन पत्र, उनको आमा–बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रमाणपत्र, शैक्षिक प्रमाण–पत्र, विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र, पति, आमा-बाबुको नागरिकताको प्रमाणपत्र, बसाई सराई गरी आएको हकमा बसाई सराई सम्बन्धी प्रमाणपत्र, नेपालमा विवाह भई आएको भारतीय महिलाको हकमा रासन कार्ड, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस, प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि, अङ्गीकृत नागरिकताको हकमा साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारबाही चलाएको पुष्टि गर्ने कागजातहरू लिएर आफ्नो वडा कार्यालयमा जानु पर्ने उल्लेख छ । यस्तै स्थायी बसोबास भएको कागजात (घर निर्माण सम्पन्न पत्र, बत्तीको बिल वा पानीको बिल), २ वटा फोटो चाहिने व्यवस्था छ । यस्तै नागरिकताको सिफारिस लिनु अगाडि नागरिकताको अनुसूची फारममा सबै विवरण ठिकसँग भरेर फोटो टाँस गरी आफ्नो स्थायी ठेगाना भएको वडा कार्यालयमा फारम बुझाउनु पर्छ । वडाले फारममा सिफारिस गर्दछ । वडा कार्यालयले गरेको सिफारिसको आधारमा प्रशासन कार्यालयको नागरिकता फाँटबाट नागरिकता दिइन्छ ।

को हुन प्रकाश ? 

प्रकाश अहिले पनि गोरखाको चुमभ्यालीस्थित छेकम्पार मै छन् । वडाध्यक्ष शेर्पाले दिएको जानकारी अनुसार उनका बुबा लोकबहादुरको परिवार सोलुखुम्बुको मुलखर्क (हाल दूधकोशी गाउँपालिका) बाट ४४–४५ सालमा झापा झरेको थियो । झापामा अर्काको जग्गामा बसेको तामाङ परिवार केही महिनापछि भोजपुरको साम्पाङ पुग्यो । तामाङ परिवार फेरि झापा झर्‍यो । भोजपुर साम्पाङबासी एक जनाले घर जग्गा सम्हालेर बस्न भनेर बोलाएपछि तामाङ परिवार पुनः ४७ सालतिर भोजपुर नै फर्किएर स्थायी ढङ्गले बसोबास गरिरहेको छ ।

प्रकाशका एक जना दाइ विराट तामाङ र कान्छो सञ्जीव तामाङ हुन् भने उनी माइला हुन् । उनको न्वारानको नाम शुक्र तामाङ हो । तर, कालो वर्णको भएको कारण उनका बुबा आमाले उनलाई ‘काले’ भनेर बोलाउँथे । गोरखामा भने उनको नाम प्रकाश रह्यो । हेर्ने कथामा उल्लेख भएअनुसार झण्डै ३५ वर्ष अगाडि झापाबाट प्रकाश गलैँचा बुन्न भनी उनकी दिदी शान्ति तामाङसँग काठमाडौँ गए । काठमाडौँमा उनलाई सानै भएको भनेर काम गर्नै दिइएन । त्यसपछि उनकी दिदी झापा नै फर्किइन् । तर, प्रकाश बेपत्ता भए । उनलाई उत्तरी गोर्खाका मान्छेले गोठालोको रूपमा काम गर्न भन्दै चुम भ्याली पुर्‍याए । त्यसपछि उनले वर्षौँसम्म गोठाले जीवन बिताए । प्रकाशको जन्म झापामै भएको उनका बुबा लोकबहादुरले बताएको वडाध्यक्ष शेर्पा बताउँछन् । ‘चुनावको बेलामा पनि म लोकबहादुर तामाङको घर गएको थिएँ । तर, छोरा हराएको कुरा गर्नुभएको थिएन,’ शेर्पा भन्छन् । अहिले पनि तामाङ परिवार अर्काकै जग्गामै बसिरहेका छन् । 

पालिकाले उनलाई केही राहत सहयोग गर्ने विषयमा कुनै निर्णय नगरेको शेर्पाले बताए । ‘अब वडा कार्यालयको र कार्यपालिकाको बैठक बसेर उहाँलाई गर्नुपर्ने राहत सहयोगको विषयमा निर्णय गर्छौँ,’ उनले भने । 

सहयोगको आश्वासनै आश्वासन 

यस्तै कोसी प्रदेश सरकारले भने तामाङलाई सहयोग गर्ने घोषणा गरेको छ । ‘तामाङलाई कोसी प्रदेश सरकारले कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गरेको छ,’ मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले मुख्यमन्त्रीको भनाई उद्धृत गर्दै भने, ‘शैक्षिक योग्यता भएको भए सरकारी रोजगारी दिन सकिन्थ्यो । त्यो नभएपछि उहाँको सीपलाई समेत प्रयोग गर्न सक्ने गरी कृषि या पशुपालनमा सहयोग गर्ने तयारी गरेका हौँ ।’

यस्तै भोजपुरबाट निर्वाचित प्रतिनिधिसभाका सांसद सुदन किराँतीले उनलाई घर बनाइदिने घोषणा गरेका छन् । उनले आफ्नो संयोजकत्वमा माओवादी पार्टीका कार्यकर्ता सम्मिलित समितिले श्रमदानबाट एउटा घर, एउटा शौचालय, केही लत्ता–कपडा र ६ महिना खाने (गाँस, बास र कपास) जस्ता आधारभूत कुराको बन्दोबस्त गरिदिने बताएका छन् । यस्तै प्रकाशको घर निर्माणका लागि षडानन्द नगरपालिका १० कै भूपू गोर्खा सैनिक एवम् माओवादी पार्टीका केन्द्रीय सदस्य कृष्ण कुमार राईले जग्गा उपलब्ध गराउने भएका छन् । अहिले प्रकाश र उनको बुबा आमालाई सहयोग गर्ने भन्दै विभिन्न अभियान सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप