वैशाखमा होला लोसपा नेपालको प्रथम महाधिवेशन ?

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल पहिलो महाधिवेशनको तयारीमा जुटेको छ । तमलोपा हुँदै विभिन्न पार्टीसँग एकीकरण तथा टुटफुट हुँदै पछिल्लो समय जनता समाजवादी पार्टी पार्टीबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी बनेको हो ।
लोसपा नेपाल बनेको पनि तीन वर्ष भइसक्यो । भदौ ९ गते लोसपाले वार्षिकोत्सव समेत मनाएको छ । तलोपा हुँदै लोसपासम्मको यात्रामा एक पटक २०७३ मा महाधिवेशन भएको यो पार्टीमा आठ वर्षपछि पुनः महाधिवेशन हुन लागेको हो ।
लोसपा नेपालको महाधिवेशन वैशाखमा हुन लागेको छ । तमलोपापछि राजपा, जसपा नेपाल हुँदै लोसपा नेपाल बनेको हो । त्यो अवधिमा एउटा महाधिवेशन मात्र गराएका लोसपाका अध्यक्ष महन्थ ठाकुर यस पटक २०८२ वैशाखमा जसरी पनि महाधिवेशन गर्ने तयारीमा जुटेका छन् । त्यसका लागि साधारण सदस्यता वितरण कार्य सुरु भइसकेको छ । सदस्यता वितरणको विवरण पनि पार्टी कार्यालयमा आउन सुरु भएको महासचिव मनिष मिश्रले बताए ।
असार मसान्तसम्म पहिलो चरणको सदस्यता वितरण कार्यक्रम सुरु गरिएको थियो । जिल्ला जिल्लामा त्यसका लागि पाँच लाख सदस्यता पठाइएको थियो । त्यसमध्ये कति काटियो, कति बाँकी छ भन्ने अभिलेख पार्टीले तयार गरिरहेको उनले बताए ।
२०८२ को वैशाखसम्म स्थानीय तहदेखि प्रदेशसम्म तथा भ्रातृ सङ्गठनहरू पनि सङ्ठगित गर्ने र विभिन्न अभियान चलाएर सदस्यता वितरण कार्यक्रमलाई निरन्तरता दिने मिश्रले बताए । महाधिवेशनकै तयारीका लागि भदौ १९ गते पदाधिकारीको बैठक बस्ने लोसपा नेपालका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले बताए ।
सो बैठकले महाधिवेशनका लागि के कस्तो तयारी गर्ने भन्नेबारेमा छलफल गर्नुको साथै आवश्यकता अनुसार तयारी समिति बनाउने उनले बताए ।
सोनलले भने, ‘वैशाखमा महाधिवेशन गर्ने निश्चित भएको छ तर मिति तोकिएको छैन । अरू तयारी गर्दै जाने र पछि मिति घोषणा गर्ने आन्तरिक तयारी छ । तर यी सबै कुराको छिनोफानो भदौ १९ गते बस्ने पदाधिकारी बैठकले गर्छ ।’
गत मंसिरमा महोत्तरीमा बसेको केन्द्रीय समितिको बैठकले २०८२ वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । लोसपा महाधिवेशनको तयारीमा जुटे पनि साङ्गठनिक सम्पूर्ण काम बाँकी नै छन् ।
पार्टीमा जम्बो पदाधिकारी समिति तथा कार्यकारिणी समिति बाहेक अरू कुनै समिति बनेको छैन । भ्रातृ संगठनको नाम सार्वजनिक गरे पनि अधिकांशको साङ्गठनिक संरचना बाँकी नै छन् । कुनै पनि पदाधिकारी तथा नेताले पार्टीमा जिम्मेवारी पाएका छैनन् ।
स्थानीय तहका जनप्रतिनिधि, प्रदेश तथा संघका मन्त्री र सांसदबाहेक पार्टीको अरू कुनै पनि पदाधिकारी क्रियाशील छैनन् । पार्टीका अधिकांश पदाधिकारी दिनभर पार्टी कार्यालयमा बसेर समय बिताउने गरेका हुन्छन् ।
जिल्ला तथा प्रदेशमा पनि पार्टीका गतिविधि प्रायः शून्य नै छ । यस अवस्थामा पार्टी महाधिवेशनको तयारीमा जुटेको छ ।
महासचिव मनिष मिश्रले महाधिवेशनअघि सम्पूर्ण समिति बन्ने बताए । यसैका लागि भदौ १९ गते पदाधिकारी बैठक बस्न लागेको उनको भनाइ छ ।
मिश्रले भने, ‘तपाईँहरू बाहिरबाट हेर्नुहुन्छ । लोसपा केही गरिरहेको छैन भन्नुहुन्छ । तर आन्तरिक रूपमा धेरै काम भइरहेको छ । कतिपय कुरा बाहिर आउँछ, कतिपय आउँदैन तर लोसपा साङ्गठनिक रूपमा सक्रिय छ । पार्टीका पदाधिकारी तथा नेताहरू सक्रिय छन् ।’
अर्का महासचिव डा. सुरेन्द्र झा भन्छन्, ‘लोसपामा साङ्गठनिक संरचना देखिएको छैन, सक्रिय छैन भन्ने बाहिरबाट देखिएको छ । तर त्यस्तो छैन । पार्टीले आफ्नो काम गरिरहेको छ ।’
महासचिव झाका अनुसार पार्टीलाई क्रियाशील बनाउन, जीवन्त देखाउने महाधिवेशन नै हो । ‘महाधिवेशनपछि पार्टीका सबै कुरा स्पष्ट देखिन थाल्छन्,’ उनले भने, ‘यो लोसपामा मात्र होइन, हरेक पार्टीमा त्यस्तै देखिएको हुन्छ ।’
पार्टीको विधान अनुसार पाँच वर्षभित्र महाधिवेशन गरिसक्नु पर्ने हो । तर यसपालि पाँच वर्ष नकट्ने महासचिव झाले दाबी गरे । तोकिएको समयमा महाधिवेशन गर्न पार्टीका सम्पूर्ण कार्यकर्ता तथा नेता यतिबेला सक्रिय रहेको उनले बताए । पदाधिकारी बैठकपछि अझै सक्रिय भएर लाग्ने उनको भनाइ छ ।
पदाधिकारी बैठकपछि लोसपाले एउटा राजनीतिक दिशा पनि तय गर्ने महासचिव झाले बताए । उनले भने, ‘देशको राजनीतिक अवस्था, भूराजनीतिक अवस्था, गठबन्धन, सरकार, मधेसको मुद्दा लगायतका विषयमा पनि पदाधिकारी बैठकले छलफल गर्छ । यी सम्पूर्ण विषयमा लोसपा स्पष्ट भएर अगाडि बढ्छ ।’
२०७३ मा महाधिवेशन भएपछि लामो समय पार्टी आन्दोलनमै रहेको बताउँदै महासचिव झाले विभिन्न ६ वटा दलसँग एकीकरण गरेर राजपा नेपाल बनाएर २०७४ को चुनावमा भाग लिएको स्मरण गराए । चुनावपछि राजपा नेपालको महाधिवेशन गर्ने तयारी भइरहेको समयमा विभिन्न प्राविधिक कारणले त्यतिबेला पनि महाधिवेशन हुन नसकेको उनले बताए ।
त्यसपछि समाजवादी पार्टीसँग एकीकरण गरेर जसपा नेपाल बनेको बताउँदै महासचिव झाले एकताको महाधिवेशन गर्ने तयारी चलिरहेको समयमा पार्टी विभाजन भएर लोसपा नेपाल बनेको प्रस्ट पारे । लोसपा नेपाल बनेदेखि नै महाधिवेशनको चर्चा सुरु भएको र वैशाखमा गर्ने निश्चित भएको बताउँदै उनले निर्धारित समयमा महाधिवेशन हुने दाबी गरे ।
उनले भने, ‘ढुक्क हुनुस् । यसपालि तोकिएको समयमा महाधिवेशन हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा