बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सडक

चाडपर्वमा सडक यात्रा सहज बनाउन के गर्दैछ सरकार ?

बिहीबार, १३ भदौ २०८१, १६ : ५१
बिहीबार, १३ भदौ २०८१

काठमाडौँ । पछिल्लो समय हरेक दिनजसो सानोठूलो सडक दुर्घटना भइरहेको छ । बर्खाको समय र यात्रुको चाप त्यति नभएको बेलामा समेत भइरहेका लगातारका दुर्घटनाले धेरैलाई अत्त्याएको छ । चाडपर्व नजिकिँदै छ । चाडबाडमा आवतजावत गर्ने यात्रुको चाप बढ्छ । यो बेला दुर्घटनाको जोखिम झन् बढ्छ । 

चाडपर्वमा दुर्घटना कम र यात्रा सहज गर्नका लागि सरकारले हरेक वर्ष सडक मर्मत गर्छ । तर बर्खा कायमै भएकाले सरकारले अहिले नै सडक मर्मत गर्ने योजना बनाएको छैन । चाडबाड अघि मर्मत गर्ने तयारी भने गरेको छ । 

नेपालमा ८३ वटा स्वीकृत राष्ट्रिय राजमार्गहरू छन् । यी राजमार्ग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको सडक विभागले मर्मत गर्छ । 

वर्षात्को समय सकिएलगत्तै उक्त राजमार्गहरुको १४ हजार ९१३ किलोमिटर सडक मर्मत गर्ने तयारी गरेको विभागका योजना तथा अनुगमन महाशाखा प्रमुख तथा सूचना अधिकारी अमितकुमार शर्माले जानकारी दिए  । 

यसबाहेक विभागको क्षेत्राधिकारभित्र पर्ने सहायक राजमार्ग र अन्य मार्गहरू पनि मर्मत गरिने शर्माको भनाइ छ ।

‘वर्षात्को समय सकिएलगत्तै यी राजमार्गहरुको मर्मतसम्भार गर्ने तयारी गरेका छौँ । यी बाहेक सहायक मार्गहरू पनि थुप्रै रहेका छन्,’ उनले भने, ‘चाडपर्वलक्षित भनेर नै हुँदैन तर चाडपर्वलाई लक्षित गरेर अलि बढी प्राथमिकतामा राखेर यात्रा सहज बनाउनका लागि सडक मर्मत गर्छौँ ।’

आकस्मिक रूपमा अवरोध भएका सडक मर्मत गर्ने, पहिरो हटाउने काम नियमित भइरहेको उनले बताए । 

हाल सडक विभाग अन्तर्गत देशैभर ३३ वटा सडक डिभिजन छन् । ती डिभिजन अन्तर्गत नियमित तथा आकस्मिक कामहरू भइरहेको शर्माको भनाइ छ ।

‘कहाँकहाँ समस्या भएको छ सडक विभाग अन्तर्गतका कार्यालयहरूले मर्मत गरिरहेका छन्,’ उनले भने, ‘बेलीबृज राख्ने, खाल्डाखुल्डी पुर्ने, पहिरो सोहोर्ने जस्ता सडक मर्मतका काम सडक डिभिजनले नै गरिरहेको छ ।’ 

विभागको कार्यक्रमअनुसार चाडपर्वमा यात्रा सहज बनाउनभन्दा पनि प्रत्येक ६ महिनामा सडक मर्मत गर्ने कार्य भइरहन्छ । त्यही ६ महिनाको कार्यक्रमभित्र चाडपर्व पर्ने भएकाले मर्मतलाई प्राथमिकता दिइने सूचना अधिकारी शर्मा बताउँछन् ।

यस्तै ३३ डिभिजन कार्यालयमध्ये धेरैले सडक मर्मतका लागि  ठेक्का आह्वान गरिसकेको उनको भनाइ छ । 

‘कतिपय ठेक्का खोल्ने कार्य जारी रहेको छ । कतिपयले काम पनि सुरु गरिसके,’ उनले भने ।

चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले सडक बोर्डका लागि ४ अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको  छ । त्यसबाहेक सडक बोर्डमा आन्तरिक रूपमा पनि बजेटको व्यवस्थापन गरिन्छ । 

तर सडक मर्मतसम्भारका लागि वार्षिक रूपमै बजेट छुट्टाइएको नहुने सूचना अधिकारी शर्माको भनाइ छ ।

‘बजेट कति छुट्टाइएको छ भन्दा बजेट छुट्टाउने क्रममा रहेको छ । मर्मतसम्भारका लागि आर्थिक वर्षमाभन्दा पनि नियमित रूपमा बजेट छुट्याउनुपर्ने हुन्छ,’ उनले भने, ‘सडक मर्मतका लागि नियमित रूपमा सडक बोर्डमा बजेट छुट्टाइरहेको हुन्छ । त्यसको कार्य विभाजन कुनमा कति भनेर सडक बोर्डले निर्णय गर्छ ।’ 

अघिल्लो वर्ष सडक विभागको प्रगति कति ?

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभागले सडक कालोपत्रेको वार्षिक लक्ष्य ९५६ किलोमिटर) राखेको थियो । वर्षभरिमा सो लक्ष्यको ७५६.३ किमी अर्थात् ७९.११ प्रतिशत सडक कालोपत्रे भएको छ । 

ग्राभेल तरको सडक स्तरोन्नति गर्ने विभागको लक्ष्य ४०० किमी रहेको थियो । तर लक्ष्यअनुसार स्तरोन्नति हुन सकेको छैन । लक्ष्यको ८२ प्रतिशत अर्थात्  ३२८ किमी मात्रै स्तरोन्नति गरेको छ ।

यस्तै विभागले माटे सडक निर्माणको वार्षिक लक्ष्य १५० किमी राखेकोमा लक्ष्यभन्दा माथि प्रगति भएको छ । लक्ष्यको १११.३३ प्रतिशत अर्थात १६७ किमी माटे सडक निर्माण भएको छ । 

आवधिक मर्मत २५० किमी लक्ष्य राखिएकोमा २६१ किमी प्रगति भएको छ । यो  लक्ष्यको १०४.४ प्रतिशत हो । १५० को  सङ्ख्यामा पुल निर्माण गर्ने लक्ष्य राखिएकोमा २०२ वटा पुल निर्माण भएको छ । यसमा लक्ष्यको  १३४.६६ प्रतिशत प्रगति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप