आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सांसदहरूको प्रस्ताव : नेपाल वायुसेवा निगमलाई निजीकरण गरौँ

बिहीबार, १३ भदौ २०८१, १६ : १४
बिहीबार, १३ भदौ २०८१

काठमाडौँ । संसदीय समितिमा सांसदहरूले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचन र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिसमशेर जबराले यस्तो प्रस्ताव राखेका हुन् । 

सांसदहरूले सरकारले वायुसेवा निगम चलाउन नसकेको भन्दै निजीकरण गर्नुपर्ने प्रस्ताव समितिमा राखे । उनीहरूले निगम आर्थिक रूपमा कमजोर बन्दै गएको र निगमले जहाज सञ्चालन गर्नसक्ने अवस्था नभएको भन्दै निजीकरण गर्नुपर्ने प्रस्ताव गरे । भारत जस्तो ठुलो देशमा एयरइण्डिया निजी कम्पनीले सञ्चालन गरेको उदाहरण दिँदै नेपालमा पनि त्यही मोडलमा जाँदा केही समस्या नहुने सांसदहरूको धारणा थियो । 

सांसदहरूले नेपाल वायुसेवा निगम सुधारको एउटा मात्रै विकल्प निजीकरण वा निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिनुपर्ने बताए । सांसदहरूले निजी कम्पनीका जहाजहरू अहिलेसम्म ग्राउण्डेड भएका समाचारहरू सुन्न नपर्ने तर नेपाल वायुसेवा निगमका चार वटा जहाजमा ३ ग्राउण्डेड भनेर सधैँ सुन्नुपर्ने अवस्था रहेको बताए । उनीहरूले एउटा जहाज एक महिनाभित्र सी चेक भएर नेपाल आउनुपर्ने भएपनि चार पाँच महिनासम्म आउन नसक्नुको निगम अध्यक्षसँग कारण माग गरे ।   

एमालेका सांसद देवीप्रकाश भट्टचनले निगमले हवाई जहाज चलाउन नसकेको दाबी गरे । उनले भारतमा पनि एयर इण्डियाले चलाउन नसक्दा टाटा एयरलाइन्सले सञ्चालन गरेको उदाहरण रहेको भन्दै त्यही मोडलमा नेपाल जान आवश्यक रहेको औँल्याए । उनले सरकारले चलाउन नसक्ने भए सरकारले प्रक्रियागत रूपमा निजी क्षेत्रलाई दिनुपर्ने बताए । उनले नेपाल वायुसेवा निगम सरकारले चलाउँदा चल्न नसकेको स्पष्ट देखिएकाले प्राधिकरणको नेतृत्वले निजी क्षेत्रलाई चलाउन दिने प्रस्ताव ल्याउनुपर्ने बताए । उनले हिमालय एयरलाइन्ससँग चार वटा जहाज रहेको भएपनि त्यसमा अहिलेसम्म समस्या आएको भन्ने सुन्नमा नआएको बताए । उनले चीन सरकारको सहयोग रहेकाले भारतमा उडान गर्न नसके पनि अन्य २० देशमा उडान गरिरहेको बताए ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले नेपाल वायुसेवा निगमको वर्तमान समस्याको हल निजीकरण भए मात्रै समाधान हुने बताए । उनले सबै समस्या हल गरी राम्रोसँग निगम सञ्चालन गर्न निजीकरण गर्नुपर्ने धारणा राखे । उनले राष्ट्रिय ध्वजावाहक निजीकरण गर्नु राम्रो नभए पनि सधैँ समस्या र आर्थिक रूपमा कमजोर बनाएर चलाउन नहुने बताए । उनले भारतमा निजीकरण गर्न मिल्छ भने नेपालले पनि गर्न मिल्ने तर्क राखे । उनले नेपाल वायुसेवा निगममा फण्डामेण्टल समस्या रहेको भन्दै एउटा वाइडवडी जहाजले अन्तर्राष्ट्रिय सबै उडान गर्न नसक्ने बताए । उनले धेरै जहाज किन्न सरकारसँग पैसा नभएको भन्दै पुँजीको लागि निजी क्षेत्रलाई सञ्चालनको लागि दिन उपयुक्त हुने बताए ।  

एमालेकी सचेतक सुनिता बरालले व्यापार हुने समयमा चार वटा जहाजमध्ये ३ वटा जहाज ग्राउण्डेड भएको भन्दै नेतृत्वको क्षमतामाथि प्रश्न उठाइन् । उनले निगमको नेतृत्व जहाज सञ्चालन गर्ने सन्दर्भमा जिम्मेवार नभएको बताइन् । उनले विश्वका धेरै देशमा दुई वटा जहाज हुँदा पनि राम्रोसँग उडान गरिरहेको भन्दै नाफामा पुगेको बताइन् । उनले निगमको नेतृत्वले राजनीतिक दलहरूलाई दोष दिएर भाग्न नमिल्ने बताइन् । 

नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले नेपाल वायुसेवा निगमका ७५ प्रतिशत जहाज ग्राउण्डेड रहेको बताए । उनले चार वटा जहाजमा एउटै समयमा ३ जहाज ग्राउण्डेड हुने विश्वका कुनै पनि देशमा नहुने उल्लेख गरे । उनले जहाज मर्मतको लागि इजरायल, इटली जाँदा फर्कँदै नफर्कनुको कारण के हो ? भन्दै प्रश्न गरे । 

माओवादी केन्द्रका सांसद सुदन किराँतीले सार्वजनिक खरिद ऐन पुरानो भएको कारण पनि जहाज मर्मत लगायतमा समस्या भएको बताए । उनले निगमको संरचनागत सुधार गर्न पनि आवश्यक रहेको बताए । उनले निगमसँग जहाज नभएको कारण पनि समस्या निरन्तर आइरहेको बताए । उनले निगम व्यवस्थापनलाई व्यवस्थित गर्न भएका अध्ययन र अनुसन्धानलाई राजनीति स्वार्थ भन्दा माथि उठेर समाधान गर्न आवश्यक रहेको बताए ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले जहाजका पाट्र्सहरु कुन समयमा बनाउनुपर्छ भन्ने सबै सेड्युलमा हुँदा पनि ३ जहाज एकै पटक ग्राउण्डेड हुनु राम्रो नभएको बताए । उनले निगमले जहाजहरू सञ्चालनको लागि सामान्य व्यवस्थापन समेत गर्न नसकेको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप