गण्डकी गाउँपालिकामा विषादीकै कारण क्यान्सर र मिर्गौला रोगी बढेका हुन् ?
पोखरा । गाउँपालिकाबाट क्यान्सरको औषधि सेवा लिइरहेकामध्ये अधिकांश किसान भएको समाचार केहीदिनअघि सार्वजनिक भएपछि कृषितर्फका विज्ञहरूको ध्यान गोरखाको गण्डकी गाउँपालिकामा केन्द्रित भएको छ ।
बुधबार विषादी र कृषि तथा स्वास्थ्यका विज्ञहरू गण्डकीका विभिन्न वडामा पुगेर एग्रोभेट पसल, तरकारी तथा फलफूल, माटो र पानीको नमूना सङ्कलन गरेका छन् । सरकारले यसबारे अध्ययन गर्नका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
कार्यदलमा वैज्ञानिक काशीनाथ चिलुवाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत रिजन कार्की, केन्द्रीय कृषि प्रयोगशालाका अधिकृत विवेक सुनार, बाली संरक्षण अधिकृत माधव भट्ट सदस्य छन् ।
कार्यदललाई १ महिनाको समय दिइएको छ । उनीहरूले गण्डकी गाउँपालिकाका विभिन्न ठाउँमा उत्पादन हुने तरकारी तथा फलफूल र फसलमा प्रयोग हुने विषादी, पानी र त्यहाँको माटोको परीक्षण गरेर रिपोर्ट निकाल्नेछन् ।
तरकारी खेती गरेकै कारण क्यान्सर र मिर्गौला रोग लागेको पुष्टि नभए पनि धेरैजसो रोगी किसान पाइएकाले शङ्का गर्ने ठाउँ रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले बताए ।
‘क्यान्सरको तथ्याङ्कचाहिँ ठिक हो । विषादीका कारण रोग लागेको भन्नेचाहिँ आधिकारिक कुरा होइन,’ उनले भने, ‘धेरैजसो किसान नै भएकाले आशङ्का गर्ने ठाउँ छ ।’
केन्द्रमा बनेको अध्ययन कार्यदलसँग मिलेर आफूहरूले वास्तविकता पत्ता लगाउन सहयोग गर्ने उपरकोटीको भनाइ छ । उनले ती क्षेत्रहरूमा क्यान्सर, मिर्गौला रोगसँगै अपाङ्गताको समस्या पनि बढेको बताए ।
‘क्यान्सरको समस्या २०–२५ वर्ष उमेरका युवायुवतीमा पनि छ । त्योभन्दा बढी समस्या अपाङ्गतातिर छ,’ उनले भने, ‘नयाँ जन्मिने बच्चाहरूमा अपाङ्गता भएकाको सङ्ख्या उल्लेख्य भएपछि हाम्रो ध्यान पनि आकर्षित भएको छ ।’
विषादीकै कारण यस्तो भएको हो कि भनेर पालिकाले ४–५ वर्षदेखि सचेतनामूलक कार्यक्रम गर्दै आएको उपरकोटीको भनाइ छ । सचेतनामूलक कार्यक्रमका लागि बर्सेनि लाखौँ रुपैयाँ खर्च गरे पनि सुधार नभएको उनले बताए ।
पालिकाकी उपाध्यक्ष ललिता अधिकारीले पालिकाभरि समस्या रहे पनि ६, ७ र ८ नम्बर वडामा यो समस्या बढी रहेको बताइन् । ‘समग्रमा सबै ठाउँमा छन् । ६, ७ र ८ नम्बर वडामा बढी समस्या छ,’ उनले भनिन्, ‘तर किसान बनेकै कारण रोग लागेको भन्ने कतैबाट अध्ययन भएको होइन ।’
क्यान्सरका धेरै कारण भए पनि विषादीकै कारण क्यान्सर लाग्यो भन्ने पुष्टि आफूहरूले गर्न नसक्ने उनको भनाइ छ । ‘विभिन्न कुरा छन् । विषादी अत्यधिक प्रयोग भएको छैन भन्न सकिने ठाउँ छैन,’ उनले भनिन्, ‘तर त्यसैका कारणले लागेको हो भनेर हामीले बोल्न मिलेन । अध्ययन गरेपछि रिपोर्टले देखाउने कुरा हो ।’
पालिकाका जनस्वास्थ्य निरीक्षक विमल रेग्मी पनि विषादीकै कारण क्यान्सर लागेको भन्न नसकिने बताउँछन् । ‘मैले थाहा पाएदेखि घ्यालचोक क्षेत्र तरकारी पकेट एरिया त हो । विषादी प्रयोग सबै ठाउँमा भएकै छन् । ठ्याक्कै विषादीकै कारण क्यान्सर र मिर्गौला रोग देखियो भन्न सकिन्नँ,’ उनले भने, ‘वडा नम्बर २ तरकारी खेती हुने ठाउँ होइन । त्यहीँ नै बढी क्यान्सर पीडित छन् । अब के कुरालाई आधार मान्ने ?’
पछिल्लो एक वर्षमा क्यान्सरपीडित बिरामी झण्डै दोब्बर बढेको उनले बताए । आर्थिक वर्ष २०७९÷८० मा ३८ जना बिरामी रहेकोमा गएको वर्ष बढेर ६१ पुगेको हो । तीमध्ये किसान कति छन् भन्ने विवरण निकालिएको छैन । रेग्मीले छालाको क्यान्सर नदेखिएको बताए । ‘विषादी भए छालामा क्यान्सर हुनुपर्ने हो । बढी फोक्सो, पाठेघर, कानका क्यान्सर पीडित छन्,’ उनले भने, ‘कहिले देखिएको, कुन क्यान्सर लागेको ? परिवारमा तरकारी खेती गर्ने÷नगर्ने के थियो ? कलकारखाना छन् कि छैनन् भनेर हामी रुट एनालाइसिसमा लागेका छौँ ।’
उनका अनुसार पालिकामा मिर्गौला पीडित १५ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौँ : कुलमान घिसिङ
-
टीआरसी ऐनविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट दर्ता
-
उपनिर्वाचनमा माओवादी पहिलो भयो भनेर भ्रामक सन्देश प्रवाह गरियो : ओली
-
ओलीको राजनीतिक प्रतिवेदन : प्रचण्डको दाउपेचका कारण नयाँ राजनीतिक कोर्ष
-
एमाले केन्द्रीय समिति बैठकमा ओलीद्वारा ४७ पृष्ठ लामो प्रतिवेदन पेस
-
वरिष्ठ पत्रकार थापालाई शहिद बैकुण्ठहरि स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार